― Advertisement ―

सुरक्षा विशेषज्ञहरूले आईओएसमा आन्तरिक टनेल आईपी फिंगरप्रिन्टिङबाट बच्नको लागि प्रोटोन ‘केवल VPN’ हो भनेर प्रकट गर्दछ।

प्रोटोनले आईओएसमा औँला प्रिन्टनेल रिसर्च गर्ने VPN अनन्य रूपमा भन्नुहुन्छ Mullvad अन्य पोर्भाइडरहरू मध्ये एक हो जुन त्रुटिको लागि जोखिममा रहन्छ समस्या आईओएस नेटवर्किङ...
HomeLatest newsफागुन २१ को चुनाव, कसका कारण बढ्दैछ संशय ? – KhabarHost

फागुन २१ को चुनाव, कसका कारण बढ्दैछ संशय ? – KhabarHost



७ पुस, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सोमबार सिहंदरबारमा निर्वाचन आयोगका पदाधिकारीसहित सर्वदलीय बैठक राखेर चुनावको तयारीबारे ब्रिफिङ गरिन् । आफ्ना दलका दोस्रो तहका नेतालाई सिंहदरबारमा पठाएर कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले महाराजगञ्जमा भेट गरे ।

सिंहदरबारको छलफल चुनाव केन्द्रित थियो । महाराजगञ्जको मित्रमिलाप चाहिँ चुनावभन्दा प्रतिनिधिसभा पुनर्स्थापनाको एजेण्डा केन्द्रित ।

जेनजी आन्दोलनपछि उत्पन्न भएको संक्रमणकालीन व्यवस्थालाई चुनावले निकास दिने अपेक्षा जगाए पनि, चुनावको मिति नजिकिँदै जाँदा भएका यस्ता राजनीति भेटघाटले ‘चुनाव हुन्छ कि हुँदैन’ भन्ने बहस, हल्ला र अड्कलबाजीले मञ्च कब्जा गरिरहेको छ ।

विडम्बना के छ भने, चुनावको तयारीभन्दा बढी चुनाव नहुने आशंकामै राजनीति वृत्त र सामाजिक सञ्जालमा पनि बहस तरंगित हुन थालेको छ ।

संवैधानिक रूपमा चुनाव गराउने मुख्य जिम्मेवारी सरकार र निर्वाचन आयोगको हो । यी दुवै संस्थाले स्पष्ट रूपमा फागुन २१ मै चुनाव हुने दोहोर्‍याइरहेका छन् । सोमबार पनि सिंहदरबारमा आयोगले यही जानकारी गरायो ।

आयोगले प्राविधिक तयारी तीव्र रूपमा अघि बढेको भन्दै सबै दललाई आश्वस्त पार्‍यो । चुनावका लागि हालसम्म चुनावी कार्यतालिका अनुसारै काम अघि बढीरहेको छ । दल दर्ता भइसकेका छन् ।

अर्को साता समानुपातिकतर्फको उम्मेदवारी सूची बुझाउने कार्यतालिका छ । मतपत्र छपाईका लागि जनक शिक्षा सामग्री केन्द्र तयारी अवस्थामा बसिसकेको छ । आयोगले भन्नासाथ मतपत्र छपाइ गर्न सक्ने अवस्था छ ।

प्रधानमन्त्री सुशीला कार्कीले गत शनिबार सरकारको सय दिन पूरा भएको अवसरमा देशवासीलाई सम्बोधन गर्दै ‘कुनै हालतमा चुनाव सर्ने भ्रममा नपर्न’ आग्रह गरेकी छन् । यो भनाई उनले प्रधानमन्त्री कार्यालयमा भएको निर्वाचन आयोग र दलहरूबीचको छलफलमा पनि दोहोर्‍याएकी छन् । ‘निर्वाचन भनेको हाम्रा लागि कुनै संकटको घडी होइन, खुसीको घडी हो । परिवर्तनको मार्ग हो । आजसम्म नेपालमा केही परिवर्तन आएका छन् भने निर्वाचनले नै हौ,’ उनले भनिन् ।

तर, यति स्पष्ट सरकारी अडान हुँदाहुँदै पनि राजनीतिक वातावरण अझै चुनावमैत्री बन्न सकेको छैन ।

चुनावमा सहभागी हुने भनिएका प्रमुख दलहरू नै चुनावका लागि मानसिक र राजनीतिक रूपमा तयार नभएको छनक दिइरहेका छन् ।

कांग्रेस, एमालेलगायत दलहरूले चुनावमा भाग लिने भनेर निर्वाचन आयोगमा दल दर्ता गराइसकेका छन् । तर अर्कोतर्फ, प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । बहुमत सांसदको हस्ताक्षरसहित फेरि अदालतमा पूरक निवेदन लैजाने कोसिस पनि जारी छ ।

सोमबार महाराजगञ्जमा भएको भेट यो प्रसंगसँग पनि जोडिएको छ । १५० भन्दा बढी सांसदहरुको हस्ताक्षर सहितको निवेदन पठाएर अदालतलाई संसद् पुनर्स्थापनाको मुद्दामा कानुनी र मनोवैज्ञानिक दबाब दिन खोजेका हुन् । यो दोहोरो रणनीतिले चुनावप्रति गम्भीर शंका उत्पन्न गरेको छ ।

सबै भन्दा बढी चुनाव हुन नसक्ने आवाज एमालेको तर्फबाट आइरहेको छ । एमालेको रोडम्याप छ- संसद पुनर्स्थापना, त्यसको आधारमा संविधान संशोधन, अनि अर्को सरकार गठन गरेर मात्र चुनावमा जाने ।

यो रोडम्यापको मूल डिजाइन एमाले अध्यक्ष केपी शर्मा ओलीले तयार पारेका हुन् । तर उनको यो रोडम्यापमा अहिले कांग्रेस सभापति शेरबहादुर देउवा पनि हिँडिरहेका छन् । लोसपा लगायतका दलहरू पनि तयार छन् ।

‘संसद् पुनर्स्थापना को एजेण्डा हामीले अघि सारेका छौं तर संसद् पुनर्स्थापना भयो भने हामी भन्दा बढी खुसी अरु दलहरु हुनेवाला छन् । कोही अहिले बोल्न नचाहेका मात्र हुन् । अब सर्वोच्चमा हस्ताक्षर सहितको पुरक निवेदन दिनका लागि चाहि धेरै सांसद जोडिने अवस्था बनेको छ’ पुरक निवेदनको तयारीमा रहेको एमालेका एक सांसदले भने ।

कांग्रेसभित्रै गगन थापा लगायतका नेताहरू प्रतिनिधि सभा पुनर्स्थापना केही असहमत देखिन्छन् । तर सोमबार गगन थापाले आफ्नो पार्टीको महाधिवेशनसँग जोडेर चुनावको कुरा गरे । उनले फागुन २१ को चुनाव अनिवार्य रहेको बताए । तर यो अभिव्यक्तिसँगै उनले पार्टीको महाधिवेशन नभएसम्म चुनावमा जान नसकिने कुरा गरे । यसले देखाउँछ दलहरूभित्रै पनि चुनावबारे स्पष्टता छैन ।

अर्कोतर्फ, पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजकत्वको नेपाली कम्युनिस्ट पार्टी चुनावमै जाने भन्दै आएको छ । चुनाव हुनुपर्ने विषयमा खबरदारी गरिरहेको देखिए पनि नेकपामा संयोजक पुष्पकमल दाहालले गत शनिबार काठमाडौंमा चुनावबारे दिएको अभिव्यक्ति अर्थपूर्ण र केही आशंका पैदा गर्ने खालको पनि छ ।

नेकपाको सन्देश सभामा प्रचण्डले ‘चुनाव सार्ने षड्यन्त्र भए स्वीकार्य नहुने चेतावनी’ दिए । तर उनले यो षड्यन्त्रको गन्ध कसरी थाहा पाए ? राजनीतिमा हावा नचली पात कसरी हल्लियो ? यसले केही पाकिरहेको संकेतको रुपमा पनि हेरिएको छ । सोमबार सिंहदरबारको सर्वदलीय बैठकमा नेकपाका नेता वर्षमान पुनले २१ को चुनावको समयसीमा अनिवार्य रहेको बताए । उनले राष्ट्रपतिले तोकेको समय भएकाले यसमा तलमाथि भए संसद् पुनर्स्थापनाको मुद्दा प्रवेश गर्ने स्पष्ट गरेका छन् ।

उता कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केही दिन अघि सरकार र जेनजीबीच भएको सहमतिको स्वागत गर्ने क्रममा चुनावको विश्वसनीय चुनावी वातावरण निर्माण गर्न परमा.. वैशाख पुग्नुपरे पनि केही बिग्रन्नँ भन्दै फागुन २१ को समय सीमा शंका पैदा हुने ट्विट गरे ।

चुनावको तयारी भइरहेका ठानिरहेका बेला प्रचण्डले चुनाव सार्ने षड्यन्त्रको कुरा किन प्रवेश गराए ? विश्वप्रकाश शर्माले वैशाखको प्रसंग किन ल्याए ? यसले राजनीतिक वृत्तमा पर्दा पछाडि केही चलखेल त भइरहेको छैन भन्ने शंकालाई बल पुर्‍याएको छ ।

नयाँ उदाएका राजनीतिक शक्तिहरूको दृष्टिकोण पनि फरक फरक जस्तो देखिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अदालतको आदेशबाट मुक्त भएपछि कुनै हालतमा चुनाव हुनुपर्ने अडान लिएका छन् ।

उनले प्रतिनिधिसभा पुनर्स्थापनातर्फ ‘आँखा नचम्क्याउन’ चेतावनी दिँदै पुराना दलहरूप्रति आक्रोश व्यक्त गरेका छन् । उनको दृष्टिमा चुनाव रोक्ने प्रयास भनेको जनआन्दोलनले ल्याउन खोजेको परिवर्तनलाई उल्ट्याउने प्रयास हो । तर नयाँ शक्तिको रुपमा उदाउन सक्ने ठानिएका रास्वपा लगायतका दलहरू पनि चुनाव अघि मिल्ने विन्दु खोज्दैछन् ।

चुनावबारे जेनजी आन्दोलनपछि जन्मिएका समूहहरू स्वयं भने एकीकृत देखिँदैनन् ।

रक्षा बम नेतृत्वको जेन–जी फ्रन्टलगायत समूहहरूले जसरी पनि चुनाव हुनुपर्ने र त्यसका लागि वर्तमान सरकारलाई सहयोग गर्नुपर्ने धारणा राखिरहेका छन् ।

तर सुदन गुरुङ, मिराज ढुंगाना लगायतका समूहहरू भने यथास्थितिमा चुनाव सम्भव नरहेको दाबी गर्दै आएका छन् । ढुंगानाको समूहले त सोमबार काठमाडौंमा सडक प्रदर्शन गरेको छ । यथास्थितिमा चुनाव हुननसक्ने र सरकार नै असक्षम भएको भन्दै ढुंगानाको समूहले सर्वपक्षीय सरकारको वकालत गरेको छ ।

सबैभन्दा रोचक भूमिका त सुदन गुरुङको देखिन्छ । जेनजीका ‘दाइ’ भनेर हिँड्ने उनलाई प्रधानमन्त्री सुशीला कार्कीले ‘जेठा छोरा” को संज्ञा दिएकी थिइन् । ती गुरुङ नै अहिले चुनाव नै नगर्ने दिशामा उभिएका छन् ।

गृहमन्त्री ओमप्रकाश अर्यालप्रति आक्रामक अभिव्यक्ति दिँदै उनले जेनजीको रगतमाथि उभिएर शासन गरिरहेको भन्दै आरोपित गरिरहेका छन् ।

जेन–जी अहिले चुनाव लड्न तयार नभएको, पुराना दलहरूसँग प्रतिस्पर्धा गर्ने अवस्थामा नपुगेको तर्क गरेका छन् । केही अघि गुरुङले गृहमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा अभियान नै चलाएका थिए ।

गुरूङ प्रस्ताव पनि अन्ततः संविधान संशोधन, सत्ता पुनर्संरचना र त्यसपछि मात्र चुनावमा जाने भन्ने नै हो । यसले जेन–जी आन्दोलनभित्रको वैचारिक द्वन्द्वलाई सतहमा ल्याएको छ ।

यस्ता परस्परविरोधी अभिव्यक्तिहरूले फागुन २१ को चुनावबारेको अनिश्चिततालाई झनै मलजल गरिरहेको छ ।

कतिपयले सुरक्षा व्यवस्थाका कारण चुनाव नहुने आशंका गरिरहेका छन् । जेनजी आन्दोलनपछि सुरक्षा निकायको मनोबल कमजोर भएको, लुटिएका हतियार अझै फिर्ता नभएको भन्ने तर्क गरिँदै छ । यस्तो तर्क विशेषगरी केपी शर्मा ओलीले दोहोर्‍याउँदै आएका छन् ।

तर व्यवहारमा सुरक्षा निकायहरू क्रमशः लयमा फर्किएको, चुनाव सुरक्षाका लागि आवश्यक तयारी भइरहेको देखिन्छ ।

चुनावी सुरक्षाका लागि केही साता भित्र म्यादी प्रहरी भर्ना खोल्ने तयारी समेत भइरहेको छ । यसका लागि ‍ बजेटको व्यवस्था भइसकेको छ । चुनावका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू समेत आउन तयार छन् । तर यति सबै हुँदाहुँदै पनि चुनावप्रति शंका कायमै छ ।

बंगलादेशको मोडलको चर्चा

यदि चुनाव भएन भने के हुन्छ ? धेरैको उत्तर हुनेगर्छ छ- नेपाल ‘बंगलादेश मोडल’ तर्फ जान सक्छ ।

बंगलादेशमा आन्दोलनमार्फत शेख हसिनाको सरकार अपदस्थ भएपछि २०२४ अगस्टमा मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकार बन्यो ।

नौ महिनाभित्र चुनाव गराउने प्रतिबद्धता जनाइए पनि अझै चुनाव हुन सकेको छैन, जसले त्यहाँ दीर्घकालीन अस्थिरता जन्माएको छ । केही दिन अघि विद्यार्थी आन्दोलनकै नेतृत्व गर्ने एक नेता सरिफ उस्मान हादीको हत्यापछि ढाकामा हिंसात्मक प्रदर्शनहरू भएका छन् । सञ्चार माध्यममाथि आक्रमण भएको छ । त्यहाँको तनाव झन् बढ्दै छ ।

नेपालमा पनि चुनाव रोकियो भने त्यस्तै अनिश्चित संक्रमण लम्बिने खतरा सबैले देखेका छन् । त्यसैले यतिबेला पक्रिनुपर्ने सही बाटो हो, हुन लागेको चुनावलाई सहयोग गरेर छिटो संक्रमणबाट बाहिर निस्कनु ।

तर, यथार्थमा दलदेखि जेनजी समूहसम्म सबैले आ-आफ्नो स्वार्थको रोटी सेक्ने प्रयास गरिरहेका छन् । कसैले वर्तमान सरकार विस्थापित गरी अर्को सत्ता समीकरणको कल्पना गरिरहेका छन् । यस्तो खेलले नेपालको संक्रमण समाप्त गर्छ कि झन् अनन्त बनाउँछ ?

यसको उत्तर आफूलाई जिम्मेवार ठान्ने सबै राजनीतिक दल, समूह र नागरिकले कसरी दिन्छन् ? यदि सबैले आफ्नो राजनीतिक नोफा–नोक्सानको हिसाबमा मात्र निर्णय गर्ने हो भने नेपाल अनन्त राजनीतिक दुश्चक्रमा फस्न सक्छ । लोकतन्त्रको सबैभन्दा न्यूनतम र सुरक्षित बाटो भनेकै चुनाव हो । त्यसैले लोकतान्त्रिक बाटोमा तगारो हाल्ने कि त्यसलाई सहज बनाउने ?

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More