― Advertisement ―

Asus ROG Xbox सहयोगी रेकर्ड-कम मूल्यमा खस्छ, तर स्टीम डेकले स्टक अभावको सामना गर्दा के यो उठाउन लायक छ?

ह्यान्डहेल्ड गेमिङ पीसीहरू हालै सबै क्रोधित भएका छन्, तर धेरै यन्त्रहरूले पनि मुख्य कम्पोनेन्टहरूसँग चलिरहेको आपूर्ति समस्याहरूको कारणले समान स्टक अभाव र मूल्य वृद्धिको...
HomeLatest newsत्रिवि क्रिकेट रंगशाला प्यारापिट र फ्लडलाइट सहित तयार, क्यानलाई हस्तान्तरण

त्रिवि क्रिकेट रंगशाला प्यारापिट र फ्लडलाइट सहित तयार, क्यानलाई हस्तान्तरण


राष्ट्रिय

समाचार.

  • सरकारको लगानीमा काठमाडौं कीर्तिपुरमा प्यारापिट र फ्लड लाइटसहित क्रिकेट रंगशालाको पहिलो चरणको काम पूरा गरी नेपाल क्रिकेट संघलाई हस्तान्तरण गरिएको छ।
  • सहरी विकासमन्त्री कुलमान घिसिङले रंगशालाको दोस्रो चरणको काम छिटो अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
  • नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले नयाँ संरचनाले नेपालमा डे–नाइट क्रिकेट सम्भव भएको बताए।

३० कात्तिक, काठमाडौं । सरकारको लगानीमा काठमाडौं कीर्तिपुरमा प्यारापिट र फ्लड लाइटसहित अत्याधुनिक क्रिकेट रंगशालाको पहिलो चरणको काम पूरा भएको छ ।

सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले त्रिभुवन विश्वविद्यालय कीर्तिपुर क्रिकेट रंगशालाको पहिलो चरणमा निर्माण गरिएका प्यारापिट र फ्लड लाइट नेपाल क्रिकेट संघ (क्यान) लाई आइतबार हस्तान्तरण गरेको छ ।

सहरी विकासमन्त्री कुलमान घिसिङ आइतबार साँझ कीर्तिपुर मैदान पुगेर हस्तान्तरण कार्यक्रममा सहभागी भए । योसँगै सोमबारदेखि  सुरु हुने ‘नेपाल प्रिमियर लिग’ (एनपीएल) क्रिकेटका लागि रंगशालाको नयाँ स्वरूप तयार भएको छ ।

त्रिभुवन विश्वविद्यालय र नेपाल क्रिकेट संघबीच क्रिकेट मैदान प्रयोग गर्न भएको जग्गा करार सम्झौता म्याद वैशाख २०८३ मा सकिँदैछ ।

गत असोज अन्तिम साता त्रिवि क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत गर्दै नयाँ सम्झौताका लागि सरोकारवाला निकायलाई निर्देशन दिइएको थियो ।

मन्त्रिपरिषद् बैठकले गुरुयोजना बमोजिम आवश्यक जग्गा प्राप्ति गर्न कानुन अनुसार त्रिवि, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् सहित निकायलाई निर्देशन दिइसकेको छ ।

अहिले रंगशालाको पहिलो चरणका काम पूरा गरी क्यानलाई हस्तान्तरण गरिएको हो । सहरी विकास मन्त्रालयका अनुसार स्वीकृत गुरुयोजना अनुसार भने यस संरचनामा थप १० अर्ब रुपैयाँ लगानी गरिने छ ।

पटक-पटक ताकेतापछि सकियो काम

३१ असार २०८१ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पहिलो बैठकले कीर्तिपुरमा सुविधा सम्पन्न क्रिकेट मैदान बनाउने निर्णय गरेको थियो ।

सोही बैठकले रंगशालामा दर्शक बस्ने प्यारापिट, रात्रिकालीन खेलकुदका लागि फ्लड लाइट र अन्य संरचना बनाउने तथा त्यस कामका लागि ३ सय दिनको समयसीमा समेत निर्धारण गरेको थियो । तर, समयसीमा अनुसार काम भने हुन सकेन ।

त्यसो त चैत २०७९ मै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा कीर्तिपुर मैदानमा फ्लड लाइट जडान प्रक्रिया अगाडि बढाइएको थियो । त्यो कामले समेत गति लिन सकेको थिएन ।

पछिल्लो पटक फागुन २०८१ मा प्यारापिट निर्माण र फ्लड लाइट जडान गर्न ठेक्का लागेको थियो । २४ वैशाख २०८२ भित्र काम सक्ने गरी सुरुमा सम्झौता भए पनि पुन: म्याद थप्दै कामलाई तीव्रता दिइएको थियो । यस रंगशालामा ४३ करोड ७७ लाख लागतमा प्यारापिट निर्माण गरिएको छ । जसको क्षमता १० हजार सिट बराबर छ ।

बीकेओआई केसीडीसी बिजी जेभीले प्यारापिट निर्माण गरेको हो । फ्लड लाइट जडानको काम विशाण–ईश्वरी जेभीले गरेको हो । जसको लागत ४२ करोड १९ लाख रुपैयाँ छ ।

सहरी विकास मन्त्रालयका अनुसार प्यारापिट बनाउने र फ्लड लाइट हाल्ने काम समयमै नसकिएपछि निर्माण कम्पनीलाई हर्जाना समेत लगाउनु परेको थियो । पूर्वसर्त र सम्झौता अनुसार कुल रकमको शून्य दशमलव ५ प्रतिशत दैनिक हर्जाना तिराएर काम गराइएको हो ।

यस्तो रकम दैनिक २ लाख हाराहारी हुन आउँछ । मन्त्रालयले ३२ असारमा सार्वजनिक गरेको विवरण अनुसार निर्माण कम्पनीलाई त्यही बेलादेखि दैनिक हर्जाना लगाउन थालिएको थियो ।

पछिल्लो समय सहरी विकासमन्त्री घिसिङले २३ असोजमा कीर्तिपुर मैदानको स्थलगत अवलोकन गर्दै क्रिकेट मैदान निर्माणको कामलाई सरकारले प्राथमिकता दिएको बताएका थिए ।

सोही क्रममा उनले छिटोभन्दा छिटो काम सम्पन्न गरी आयोजना हस्तान्तरण गर्नसमेत निर्माण कम्पनीलाई निर्देशन दिएका थिए । उनले यस मैदानमा दोस्रो चरणको काम समेत छिटोभन्दा छिटो अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल भित्रै अन्तर्राष्ट्रिय क्रिकेट सञ्चालन गर्न सक्ने स्थितिमा पूर्वाधार पुर्‍याउने उनले बताएका छन् । ‘नेपालको यो पहिलो प्राथमिकताको नयाँ स्टेडियम हो, हामीले खेलका धेरै पूर्वाधार बनाउनुपर्ने छ, अरू पनि पूर्वाधारलाई प्राथमिकतामा राखेर काम अगाडि बढाउनुपर्ने छ ।’

रंगशाला हस्तान्तरण कार्यक्रममा क्यान अध्यक्ष चतुरबहादुर चन्दले अब यो संरचना बनेसँगै नेपालमा पनि ‘डे–नाइट’ क्रिकेट खेल सम्भव भएको बताए । यसका लागि उनले केपी शर्मा ओली नेतृत्वको सरकारलाई धन्यवाद दिए ।

तत्कालीन सरकारले १० महिनाको समयसीमा तोकेकै कारण तुलनात्मक रूपमा छिटो आयोजना सम्भव भएको उनले बताए । उनले दोस्रो चरणको कामका लागि नयाँ सरकारले गरेको निर्णयप्रति समेत आभार व्यक्त गरे ।

उक्त निर्णयले क्यान उत्साहित भएको उनको भनाइ छ । हरेक प्रदेशमा यस प्रकारको पूर्वाधार बनाउन सके क्रिकेट विकासमा महत्त्वपूर्ण योगदान पुग्ने चन्दले बताए ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् सदस्यसचिव टंकलाल घिसिङले यो आयोजनाको काम छोटो समयमा काम सम्पन्न गर्न खेलकुद मन्त्रालय र सहरी विकास मन्त्रालयको संयुक्त पहलमा सम्भव भएको बताए ।

उनले रंगशालामा भएको लगानी खेलकुदमा भएको पहिलो यात्रा भन्दै उनले यो अब विस्तार हुने अपेक्षा गरे । पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती सहरी विकासमन्त्री कुलमान घिसिङको नेतृत्वमा हट्ने उनले विश्वास गरे । रंगशालाको दोस्रो चरणको काम छिटो अगाडि बढ्ने अपेक्षा समेत उनले गरे ।

रंगशाला हस्तान्तरण कार्यक्रममा सहरी विकासमन्त्री घिसिङले क्रिकेट मैदान उज्यालो हुने गरी उद्घाटन गर्न पाउँदा उज्यालो नेपाल भएको जस्तो लागेको बताए । यसका लागि उनले विगतका सरकारको निर्णयलाई समेत स्मरण गरे ।

पहिलो चरणको काम सम्पन्न भएको भन्दै उनले आफूले दुई महिना अगाडि आएर गरेको अनुगमन समेत स्मरण गरे । अलिकति समय बढी भए पनि नेपालमा छिटो सम्पन्न भएको परियोजनामा यो आयोजना परेको उनले बताए । यसका लागि उनले निर्माण व्यवसायीलाई धन्यवाद समेत दिए ।

रंगशालाको पहिलो चरण सम्पन्न भएसँगै वर्तमान सरकारले १० अर्बको गुरुयोजना स्वीकृत गरेर दोस्रो चरणको टेन्डर प्रक्रिया अगाडि बढाउन स्वीकृति दिएको जानकारी दिए ।

आगामी दुईदेखि तीन वर्षमा गुरुयोजनाको काम सम्पन्न हुने आश्वासन उनले दिए । त्यसपछि सबै पूर्वाधार सम्पन्न क्रिकेट ग्राउन्ड बन्ने उनको भनाइ छ ।

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर 





Read More