― Advertisement ―

शनिबार, अप्रिल १८ का लागि NYT Strands संकेत र जवाफहरू (खेल #776)

भिन्न दिन खोज्दै हुनुहुन्छ?प्रत्येक NYT Strand रातको लागि तपाईंको नयाँ समय क्षेत्र देखा पर्दछ। यसको मतलब कोही मान्छे सधैं 'आजको खेल' खेलिरहेका हुन्छन् भने...
HomeLatest newsट्रम्पसँग हारेकी कमला ह्यारिस फेरि राष्ट्रपतीय चुनाव लड्न सक्ने

ट्रम्पसँग हारेकी कमला ह्यारिस फेरि राष्ट्रपतीय चुनाव लड्न सक्ने


News Summary

Generated by OK AI. Editorially reviewed.

  • अमेरिकी पूर्वउपराष्ट्रपति कमला ह्यारिसले सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिन सक्ने बताएकी छन्।
  • ह्यारिसले ट्रम्पलाई ‘अत्याचारी’ भनेकी छन् र उनले ट्रम्पको अधिनायकवादी प्रवृत्तिबारे चेतावनी दिएकी थिइन्।
  • ह्यारिसले आफ्नो पराजयलाई ‘त्रासद र पीडादायी अनुभव’ भनेकी छन् र हाल ‘१०७ डेज’ नामक पुस्तक प्रचारमा छिन्।

८ कात्तिक, काठमाडौं । अमेरिकी पूर्वउपराष्ट्रपति कमला ह्यारिसले पुन: राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिन सक्ने बताएकी छन् ।

सन् २०२४ मा डोनाल्ड ट्रम्पसँग राष्ट्रपतीय चुनावमा पराजित भएकी ह्यारिसले सन् २०२८ को निर्वाचनमा उम्मेदवारी दिन सक्ने बताएकी हुन् ।

पराजयपछि पहिलोपटक बीबीसीलाई दिएको अन्तर्वार्तामा ह्यारिसले भनिन्, ‘मेरो समय अझै सकिएको छैन । म सम्भवत: फेरि एकदिन राष्ट्रपति बन्न सक्छु ।’

६१ वर्षकी ह्यारिसले एकदिन आफू अमेरिकाको महिला राष्ट्रपति बन्न सक्ने विश्वास व्यक्त गरिन् ।

उनले भनेकी छन्, ‘मेरो नातिनीहरूले आफ्नै जीवनकालमा अमेरिकामा पहिलो महिला राष्ट्रपति देख्नेछिन् ।’

उनले थप भनिन्, ‘मेरो समय अझै सकिएको छैन । मैले जीवनभर सेवा गरेको छु, र त्यो मेरो रगतमै बसिसकेको क्ुरा हो ।’

अन्तर्वार्तामा ह्यारिसले राष्ट्रपति ट्रम्पमाथि समेत निसाना साँधेकी छन् ।

उनले ट्रम्पलाई ‘अत्याचारी’ को संज्ञा दिँदै भनिन्, ‘मैले चुनाव अभियानका क्रममा ट्रम्पको अधिनायकवादी प्रवृत्तिबारे चेतावनी दिएकी थिएँ, र ती सबै कुरा अहिले आएर सत्य सावित भएका छन् ।’

राष्ट्रपति ट्रम्पले अमेरिकी न्याय मन्त्रालयलाई राजनीतिक हतियारको रूपमा प्रयोग गरेको उनको आरोप छ ।

हास्य कलाकार जिमी किमेलमाथि गरिएको कारबाहीलाई उदाहरण दिँदै ह्यारिसले भनिन्, ‘उनी (ट्रम्प) यति पातलो छालाका छन् कि एउटा जोक पनि सहन सक्दैनन् । व्यंग्य कार्यक्रम रोक्नका लागि उनले सम्पूर्ण मिडियामाथि दबाब दिएका छन् ।’

अमेरिकी उद्योगपतिहरू र ठूला संस्थाहरू समेत सत्तासँग नजिक हुन वा अनुसन्धानबाट जोगिन ट्रम्पका मागहरू पूरा गर्न झुकेको उनको आरोप छ ।

ह्यारिस डेमोर्क्याटिक पार्टीबाट सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बनेकी थिइन् । डेमोर्क्याटिक पार्टीभित्र उनको पराजयबारे आत्ममन्थन भइरहेको छ ।

धेरैले पूर्व राष्ट्रपति जो बाइडेनले ढिलो गरी उम्मेदवारी छोडेको आरोप लगाएका छन् । सन् २०२४ मा तत्कालीन राष्ट्रपति बाइडेनले नै दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएकोमा उनको स्वास्थ्य र उमेरबारे प्रश्न उठेपछि उम्मेदवारी फिर्ता लिएका थिए । त्यसपछि डेमोक्र्याटले ह्यारिसलाई रिपब्लिकनका ट्रम्पविरुद्ध राष्ट्रपतिको उम्मेदवार बनाएको थियो ।

ह्यारिसले छोटो समयका कारण आफू जनतासँग गहिरो सम्पर्क गर्न र अर्थतन्त्रजस्ता मुख्य विषयमा बलियो सन्देश दिन असफल रहेको बताउँछिन् ।

उनले भनिन्, ‘मलाई पर्याप्त समय नदिइएकाले म आफ्ना नीति र दृष्टिकोण जनतासमक्ष विस्तारमा राख्न सकिन ।’

ह्यारिसले जनमत सर्वेक्षणहरूलाई बेवास्ता गर्ने बताइन् ।

‘यदि मैले सर्वेक्षण सुनेकी भए, म कहिल्यै पहिलो वा दोस्रो पटक उम्मेदवार हुने थिइनँ — र निश्चित रूपमा म अहिले यहाँ हुने थिइनँ,’ उनले भनिन् ।

ह्यारिसले हालै ‘१०७ डेज’ नामक पुस्तक प्रकाशित गरेकी छन् ।

जसमा बाइडेनले उम्मेदवारी फिर्ता लिएपछि बाँकी १०७ दिनमा उनले चलाएको राष्ट्रपति अभियानको उतारचढावबारे लेखिएको छ ।

आफ्नो पराजयलाई उनले ‘त्रासद र पीडादायी अनुभव’ भन्दै स्मरण गरेकी छिन् । उनले भनिन्, ‘जब नतिजा आयो, म बारम्बार भन्दै थिएँ — हे भगवान्, हाम्रो देशको के हुने हो ?’

निर्वाचनको लोकप्रिय मतमा ट्रम्प र ह्यारिसको मतान्तर जम्मा २ प्रतिशतभन्दा कम थियो । तर ट्रम्पले निर्णायक रूपमा इलेक्टोरल कलेजमा जित हासिल गरेका थिए ।

हाल ह्यारिस आफ्नो पुस्तक यात्रामा युरोप भ्रमणमा छिन् । हालसम्म ह्यारिसले आधिकारिक रूपमा उम्मेदवारी घोषणा गरेकी छैनन् । तर बीबीसीसँगको अन्तर्वार्तामा खुलेकी ह्यारिसले सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने संकेत भने गरेकी छन् ।





Read More