― Advertisement ―

एक चिनियाँ एआईले एक दशक पुरानो गणितको समस्यालाई शून्य मानव सहयोगमा ८० घण्टामा हल गरेर प्रमाणित गरेको छ ।

एआईसँगको स्वचालित समाधान 2014Rethlas ले मानव गणितज्ञले जस्तै समस्या समाधान गर्ने रणनीतिहरू अन्वेषण गर्दछArchon ले सम्भावित प्रमाणहरूलाई लीन 4 प्रमाणिकरणकर्ताका लागि परियोजनाहरूमा रूपान्तरण गर्दछपेकिङ...
HomeLatest newsकुनैबेला गलैँचा कारखानामा कटिङ मास्टर थिए, अहिले तीनै छोरा डाक्टर बनाए

कुनैबेला गलैँचा कारखानामा कटिङ मास्टर थिए, अहिले तीनै छोरा डाक्टर बनाए


दलबहादुर सम्झन्छन्, ‘एक पटक छोरालाई खर्च पठाउन कहीँ कतैबाट पैसाको जोहो हुन सकेन । अन्तिममा श्रीमतीको कानको आधा सुन बेच्नुपर्ने बाध्यता आइपर्‍यो । त्यही आधा तोला सुन अहिले उनको कानमा झुन्डिरहेको छ । अहिलेसम्म थपेर दिन सकिएको छैन ।’


पर्सा ठोरी गाउँपालिकाका दलबहादुर स्याङ्बोलाई गाउँ–छिमेकले ‘मास्टर साप’ भनी सम्बोधन गर्थे । आधारभूत तहका शिक्षक स्याङ्बोको कर्म उही छ, तर उपमा फेरियो । मान्छेहरू भन्न थाले, ‘डाक्टर सापका बा ।’

यो रुपान्तरणभित्र एउटा रहरलाग्दो कथा छ । कथाको उद्घाटन हुन्छ, स्याङ्बोका तीन भाइ छोराबाट । यी छोराहरू मेलैसँग डाक्टर भए । अनि दलबादुर स्याङ्बो चाहिँ ‘डाक्टरका बा’ ।

भनिन्छ, दुनियाँमा बुबाआमा नै ती व्यक्ति हुन् जसले आफ्ना सन्तानलाई आफूभन्दा ‘ठूलो’ देख्न चाहन्छन् । दलबहादुरलाई लाग्दो हो, छोरोहरू मभन्दा ठूला भए । त्यसैले म भाग्यमानी भएँ । तर, यहाँ भाग्यको मात्र खेल छैन । खासमा त यो कर्मको खेल हो ।

किनभने डाक्टर आफैंमा प्रतिष्ठित पेशा मात्र होइन, उत्तिकै खर्चिलो र कठिन पनि । दिनहुँ कति जना डाक्टर बन्ने दौडमा लाग्छन् ? यसको ठ्याक्कै लेखाजोखा छैन । त सानो छँदा फुरुंग हुँदै ‘भविष्यमा डाक्टर बन्छु’ भन्नेहरू त्यही विन्दुमा आएर रोकिन्छन्, जहाँ यसका लागि अधिक खर्च र लगाव जरुरी हुन्छ ।

दलबहादुरका छोराहरू भने त्यो विन्दुमा रोकिएनन् । किनभने उनीहरूसँग बलियो इच्छाशक्तिसँगै दु:ख छिचोल्ने शक्ति थियो । त्यही शक्तिको आडमा तीन छोराले पालैपालोे चिकित्सा शिक्षा एमबीबीएसमा पूर्ण छात्रावृत्तिमा नाम निकाले ।

तीन छोरासँग दलबहादुर ।

जेठो छोरो पूर्ण छात्रवृत्तिमार्फत डाक्टर बनिसकेका छन् । माइलो छोरा एक वर्षपछि डाक्टर बन्दैछन् । कान्छो छोराले हालै चिकित्सा शिक्षा आयोगले लिएको परीक्षाबाट पूर्ण छात्रवृत्तिको कोटामा निकालेका छन् ।

जेठो छोरा डा. छिरिङ विशेषज्ञता हासिल गर्न एक वर्षअघि मात्रै बेलायत गए । माइलो छोरा विश्वजित भैरहवामा एमबीबीएसको अन्तिम वर्षको पढाइ गरिरहेका छन् ।

यी त भए सफलताको कथा । तर, हरेक सफलताको पछाडि कठोर संघर्ष लुकेको हुन्छ । एउटा सामान्य घरपरिवार, प्राथमिक तहका शिक्षक, सीमित आयआर्जनको पृष्टभूमीमा तीन छोरो कसरी डाक्टर बने ?

यो प्रश्नले एउटा मार्मिक र प्रेरणादायी कथा खोतल्छ । कथाका केन्द्रमा छन्, दलबहादुर स्याङ्बो ।

000

दलबहादुर स्याङ्बो किसान परिवारमा जन्मिए, जसको जायजेथा भनेकै १० कट्ठा जमिन थियो । मनग्ये खान लाउन पुग्दैनथ्यो, लेखपढ गर्न परको कुरा । तैपनि दलबहादुरले जसोतसो पढे । गाउँको विद्यालयबाट आधारभूत तहको पढाई सकाए । त्यसबेला गाउँमा अर्को विद्यालय थिएन, जहाँबाट उनले पढाईलाई निरन्तरता दिन सकोस् । माध्यामिक तह पढ्नका लागि पनि गाउँ छाड्नुपर्थ्यो, जिल्ला छाड्नुपर्थ्यो ।

दु:खजिलो गरेर उनी छिमेकी जिल्ला बाराको जितपुर गए र नागोल माविमा भर्ना भए ।

दलबहादुर स्याङ्बो

उनका बुबा मिस्त्री काम गर्थे । त्यही काम गरेर जेनतेन पढाइ खर्च पठाइदिन्थे । अभाव र कष्ट झेल्दै उनले २०४८ सालमा एसएलसी पास गरे । पढाईमा उनी तगडा थिए र एसएलसी नतिजामा विद्यालयकै दोस्रो भएका थिए । उनी थप पढ्न चाहन्थे । तर, पढ्ने खर्च थिएन । अब के गर्ने त ?

उच्च तहमा पढ्नका लागि उनी काठमाडौं आए । गलैचा कारखानामा काम खोजे । त्यहाँ उनलाई कटिङ मास्टरको काम दिइयो । काम गर्दै उनी चावहिलस्थित पशुपति क्याम्पस पढ्न थाले । मानविकी संकायमा प्रमाणपत्र तह (प्लस टु सरह) सकाए ।

त्यसपछि के गर्ने ? पढ्ने मेलोमेसो थिएन । किनभने परिवारको बोझ उनको थाप्लोमा थियो । गाउँ फर्किए । घरजाम गरे । अनि केही टाढा रहेको ओडार स्कुलमा निजी स्रोतमा पढाउन थाले ।

 उनको पढाइप्रतिको भोक मेटिएको थिएन । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा स्नातक तहमा भर्ना भए ।  स्व:अध्ययन गरेर २०५४ सालमा एच्छिक अंग्रेजी विषयमा स्नातक तह पूरा गरे । उनको पढाइ अझै रोकिएन । उनले शिक्षण र अध्ययनलाई सँगसँगै अघि बढाए र एमएसम्मको पढाइ पूरा गरे ।

000

लगाव, संघर्ष र सफलताको यो कथाले उनमा शिक्षाप्रति कस्तो अभिरुची थियो भन्ने त छर्लङ्ग पार्छ । यसले दलबहादुर स्याङ्बोलाई शिक्षित मात्र बनाएन, असल अभिभावक पनि बनाइदियो ।

उनीहरूको कोखबाट तीन छोरा भए । सबै छोरालाई राम्रो शिक्षा दिए, संस्कार दिए । उनले झेलेका दु:ख र भोगेका अभावहरू छोराहरूका निम्ती छुटै पाठशाला बन्यो । छोराहरूले भनेजस्तै पढे । अनि पढेर डाक्टर बन्न चाहे ।

जबकि चिकित्सा शास्त्र पढाउने आर्थिक हैसियतका थिएनन् उनी । त्यसका लागि कति खर्च लाग्छ ? उनी अन्दाज मात्र लगाउन सक्थे ।

यही आइपुगेपछि उनलाई श्रीमती गंगामाया दोङको सार्थक सहयोगले अगाडि बढ्न हौसला दियो । ४ कक्षासम्म मात्र पढेकी श्रीमतीले खसी–बाख्रा–कुखुरा पाल्थिन् । सुर्तीखेती गर्थिन् । उनले खसीबाख्रा बेचेर खर्च जुटाइन् । केही सरसापट गरियो, केही ऋण खोजियो ।

घरको कामकाजमा व्यस्त दलबहादुरकी श्रीमती गंगामाया दोङ ।

दलबहादुर सम्झन्छन्, ‘बिहे गर्दा माइतीले उनको कानमा एक तोलाको सुन झुन्डाइ दिएको थियो । एक पटक छोरालाई खर्च पठाउन कहीँ कतैबाट पैसाको जोहो हुन सकेन । अन्तिममा उनको कानको आधा सुन बेच्नुपर्ने बाध्यता आइपर्‍यो । त्यही आधा तोला सुन अहिले उनको कानमा झुन्डिरहेको छ । अहिलेसम्म थपेर दिन सकिएको छैन ।’

त्यस अवधिमा उनीहरूले कहिल्यै रमाइलो गरेनन् । जमघटमा, भोजभत्तेरमा सामेल भएनन् । उनी सम्झन्छन्, ‘साथीभाइले रमाइला जमघटमा बोलाउँछन् भनेर ढोका थुनेर घरमै बस्थेँ । साथीहरूको फोन उठाउँदिन थेँ । यस्ता कार्यक्रममा सहभागी हुँदा हुने खर्च जोहो गरेर छोराहरूलाई पठाउँथेँ ।’

आखिर उनीहरूले दु:खलाई जिते । तीन जना छोरो मेलैसँग चिकित्सा शास्त्रको छात्रवृत्तिमा नाम निकाल्न सफल भए । अनि डाक्टर बने ।

सन्तानका खातिर उनीहरूले आफ्नो ‘आज’ त्यागेका थिए । तर त्यही त्याग र संघर्षले मनमा परम सन्तोष र खुसी थपिदिएको छ । अनि थपिदिएको छ, एउटा उदाहरण । अब मान्छेहरू भन्नेछन्, ‘बुबाआमा भनेको त फलानो जस्तो पो ।’

बोनस कथा : सामुदायिक विद्यालयबाटै डाक्टर

दलबहादुर सामुदायिक विद्यालयका शिक्षक हुन् । छोराहरूलाई पनि उनले सामुदायिक विद्यालयमै पठनपाठान गराए ।

जेठो छोरो छिरिङको कथा :  जेठो छोरा छिरिङ गाउँकै स्कुल श्री विजयबस्ती माविबाट २०६७ सालमा ७६ प्रतिशत अंकका साथ उत्तिर्ण भए । त्यसपछि उनले चितवनको भरतपुरमा रहेको नारायणी सामुदायिक विद्यालयबाट कक्षा ११ र १२ उत्तीर्ण गरे । ११ र १२ मा समग्रमा ७८ प्रतिशत ल्याएर उनी बोर्ड परीक्षामा विद्यालयकै दोस्रो भए । पढाइमा अब्बल छिरिङ त्यसपछि भने उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आए । उनले चिकित्सा शिक्षा आयोगले लिने छात्रवृत्ति परीक्षामा नाम निकाले । जनजाति कोटाबाट पूर्ण छात्रवृत्तिमा उनले सिनामंगलको केएमएसीबाट रेगुलर एमबीबीएस उत्तीर्ण गरे ।

माइलो छोरो विश्वजीतको कथा : दाजु छिरिङ चितवनको नारायणी माविमा पढिरहेका कारण माइलो विश्वजितलाई पनि दलबहादुरले त्यही भर्ना गरिदिए । उनी पनि दाजु जस्तै पढाइमा राम्रो थियो । उनले पनि ८२.५ प्रतिशत ल्याएर एसएलसी पास गरे । उच्च मावि परिषद्ले लिने स्कुलरसिपको परीक्षामा पूर्ण छात्रवृतिमा उनले नाम निकाले । नारायणगढको बालकुमारी माविबाट पूर्ण छात्रवृतिमा विश्वजितले ११ र १२ कक्षा ७३ प्रतिशत अंक सहित पास गरे ।

दलबहादुरका तीन छोराहरू ।

उनी पनि काठमाडौं आए । चिकित्सा शिक्षा आयोगले लिएको परीक्षाबाट पूर्ण छात्रवृत्तिको कोटामा नाम निकाल्न उनी पनि सफल भए । अहिले उनी भैरहवा युनिभर्सल मेडिकल अफ साइन्समा एमबीबीएसको अन्तिम पढाइ गरिरहेका छन् ।

कान्छो छोरो अर्जुनको कथा : ७ कक्षासम्म घर नजिकैको ज्ञानज्योति स्कुल पढेका दलबहादुरका कान्छो छोरा अर्जुनले दुई दाजुले पहिल्याएको बाटो नपछ्याउने कुरै भएन । उनी पनि दाजुसँगै बसेर पढ्न भक्तपुर आए । उनले मध्यपुर थिमी आदर्श माविबाट ए प्लस ग्रेड ल्याएर एसईई पास गरे ।

 भक्तपुरकै सामुदायिक ख्वप कलेजबाट ११ र १२ पास गरे । पूर्ण छात्रवृतिमा नाम निकालेर एमबीबीएस गर्न उनले पनि घोडा धसेर पढ्न थाले । पूर्ण छात्रवृतिमा नाम ननिकाले उनको त्यो सपना पूरा हुने थिएन । किनकी दलबहादुर पैसा खर्चेर छोराहरूलाई एमबीबीएस पढाउने हैसियतमा थिएनन् । यो कुरा उनका छोराहरूले राम्ररी बुझेका थिए ।

अर्जुनको लगनशीलता र मिहेनत, परिवारको हौसलाले अर्जुनले पनि चिकित्सा शिक्षा आयोगले लिने परीक्षामा पूर्ण छात्रवृत्ति कोटामा नाम निकाल्न सफल भए । अन्तत: उनी पनि दुई दाजु हिंडेको चिकित्सा शिक्षाको गोरेटोमा पाइला चाल्न योग्य भएका छन् ।

दलबहादुरका तीनै जना छोराले पाएको यो सफलताले सामुदायिक विद्यालयले पनि अब्बल नतिजा दिन सक्छ भन्ने प्रमाणित गरेको छ  । यसका लागि विद्यार्थीमा लगनशीलता  र अभिभावकको सही मार्ग दर्शन भने आवश्यक हुन्छ । दलबहादुरका छोराहरूले प्रस्तुत गरेको यो उदाहरण समग्र नेपालका सामुदायिक विद्यालयका अभिभावक र विद्यार्थीका लागि एक आशाको किरण बनेको छ । एक सामान्य शिक्षकले देखाएको यो असाधारण अभिभावकीय भूमिका अनुकरणीय छ ।

०००





Read More