― Advertisement ―

सावधान, ह्याकरहरूले मालवेयर वितरण गर्न, पैसा र डाटा चोरी गर्न एप्पल खाता सूचनाहरूको दुरुपयोग गर्दैछन्

Scammers'ph डोमेनमा कलब्याक प्रयोग गरी ईमेल पठाउनुहोस् सन्देशहरूप्रविधिले नक्कली खरिद अलर्टहरू इम्बेड गर्न Apple ID सिर्जना क्षेत्रहरू प्रयोग गर्छपीडितहरू कलिङ स्क्यामरहरू, जसले त्यसपछि संवेदनशील...
HomeLatest newsआत्महत्यामा प्रयोग भएको बन्दुक अर्ध स्वचालित, पूर्वब्रिटिस लाहुरेले लिएका थिए लाइसेन्स

आत्महत्यामा प्रयोग भएको बन्दुक अर्ध स्वचालित, पूर्वब्रिटिस लाहुरेले लिएका थिए लाइसेन्स



२३ पुस, काठमाडौं । भक्तपुरको थिमीमा मंगलबार एक व्यक्तिले आफ्नै कन्चटमा गोली हानी आत्महत्या गरे । उक्त घटनामा प्रयोग भएको बन्दुक अर्ध स्वचालित (पोइन्ट टु-टु) हतियार रहेको खुलेको छ ।

आत्महत्यामा प्रयोग भएको हतियार अत्याधुनिक किसिमको रहेको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार बरामद बन्दुकमा जिएस-५ जर्मन लेखिएको छ । यो बन्दुक सूर्यकुमार नेम्वाङले लाइसेन्स लिएर राखेको पाइएको छ । नेम्वाङ अवकाशप्राप्त ब्रिटिस आर्मी हुन् ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट उनले लाइसेन्स लिएर यो बन्दुक राखेको पाइएको हो । नेम्वाङ बेलायत-काठमाडौं जाने आउने गर्थे । भक्तपुरमा भने उनी मध्यपुर थिमी नगरपालिका-६ राई टोलस्थित ससुराली घरमा बस्थे । यो हतियार ससुराली घरमै राखिएको थियो ।

र्‍याप गरेर दराजमा राखिएको हतियार निकालेर नेम्वाङकै सालो ४० वर्षीय सनिप चाम्लिङ राईले कन्चटमा गोली हानी आत्महत्या गरेका थिए ।

आत्महत्या गरेका राई मानसिक समस्यामा रहेको उनका परिवारका सदस्यले प्रहरीसमक्ष बताएका छन् ।

भिनाजुको नाममा रहेको बन्दुकले राईले सोमबार दिउँसो साढे ३ बजे आत्महत्या गरे । मंगलबार दिउँसो साढे ३ बजेतिर साढे चार तले पक्की घरको चौंथो तलामा राईले कोठाको चुकुल लगाएर दराजमा राखेको बन्दुक निकालेर आफैंलाई गोली हानेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता प्रकाश जबेगुको भनाइ छ ।

एक अनुसन्धान अधिकृतका अनुसार उनले सुरुमा खुट्टाले ट्रिगर दाबेर दुई राउन्ड गोली पेटमा हानेका थिए । त्यसपछि तेस्रो राउन्ड गोली कन्चटमा हानेको पाइएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृत बताउँछन् ।

भित्र ठूलो आवाज आएपछि झ्यालको सिसा फोडेर आफन्त कोठामा छिरेका थिए । राई ढलेको देखेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी वृत्त ठिमीका डीएसपी जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी, अपराध अनुसन्धान कार्यालयको टोलीसमेत घटनास्थल पुगेर अनुसन्धान अघि बढाएको थियो ।

प्रहरीका सदस्यले मृतक राईले मानसिक समस्याको औषधि सेवन गर्ने गरेको बताएका छन् ।

नामसारी गरेर लिएका थिए नेम्वाङले हतियार

बरामद हतियार लिन नेम्वाङले जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट लाइसेन्स लिएको पाइएको छ । बरामद हतियारमा भएको नम्बर र लाइसेन्समा उल्लेख भएको नम्बरसमेत म्याच भएको छ । अन्य जाँचबाट उक्त हतियार पोइन्ट टु-टु रहेको पाइएको प्रहरीको भनाइ छ ।

नेम्वाङले उक्त हतियार ललितपुरकै गीता भण्डारी थापाबाट नामसारी गरेर लिएको पाइएको छ ।

नेम्वाङले २०८२ बाट २०८४ सम्मको लाइसेन्स लिएको देखिएको छ । अहिलेसम्मको अनुसन्धानले नेम्वाङले सबै कानुनी प्रक्रिया पूरा गरेर लाइसेन्स लिएको प्रहरीले बताएको छ ।

बरामद हतियार हेर्दा अत्याधुनिक किसिमको देखिए पनि सेमी अटोमेटिक (अर्ध स्वचालित) रहेको प्रहरीको भनाइ छ ।

हतियार राख्नेका लागि हातहतियार तथा खरखजाना ऐन-२०१९ को व्यवस्थाअनुसार जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्छ । त्यसपछि जिल्ला सुरक्षा समितिबाट जाँच गराएपछि उपयुक्त देखिएको खण्डमा हतियार राख्न प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले हतियारको लाइसेन्स दिन्छन् । त्यसपछि हतियार किन्ने प्रक्रियाका लागि गृह मन्त्रालयमा निवेदन दिनुपर्ने हुन्छ ।

लाइसेन्स लिएपछि दुई तरिकाबाट हतियार राख्ने गरिन्छ । एउटा नेपालमै दर्ता भएको हतियार नामसारी गरेर पनि किन्न सक्ने प्रावधान छ भने अर्को बाहिरी मुलुकबाट पनि किनेर लयाउन सकिन्छ ।

अहिले बरामद हतियार भने गीता भण्डारी थापाबाट नामसारी गरेर नेम्वाङले खरिद गरेको पाइएको हो ।

प्रसाईं घटनाबाट नसिकिएको पाठ

पहुँचको भरमा हतियारको लाइसेन्स लिएर बन्दुक राख्ने प्रचलन रहेको पटकपटकका घटनाले देखाएका छन् । गुण्डागर्दीमा लागेका व्यक्तिदेखि राजनीतिक पहुँचका व्यक्तिले आवश्यकताभन्दा पनि रवाफ देखाउने प्रयोजनका लागि हतियार राख्ने प्रवृत्ति देखिन्छ ।

सुरक्षा थ्रेट विश्लेषण गरेर हतियार राख्ने दिने प्रचलनभन्दा पनि पहुँचका भरमा हतियारको लाइसेन्स लिँदा यस्ता दुर्घटना हुने गरेका छन् ।

यसअघि दुर्गा प्रसाईंका बडीगार्ड सर्वोच्च अदालत जस्तो संवेदनशील ठाउँमा अर्ध स्वचालित हतियार लिएर प्रवेश गरेका थिए । ५ चैत २०८० मा सर्वोच्चको गेटबाट प्रसाईंका बडिगार्ड रामकुमार धिमाल र दीपक खड्का पक्राउ परेका थिए । उनीहरूबाट अर्ध स्वचालित हतियार र १०० राउन्ड गोली बरामद भएको थियो ।

त्यसपछि गृह मन्त्रालयले सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा समिति बनाएर छानबिन गरेको थियो । तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई बुझाएको प्रतिवेदनमा लाइसेन्स वितरणमा कडाइ गर्नेदेखि हतियारको अभिलेख पनि राख्नुपर्ने औंल्याइएको थियो ।

कति हतियार लाइसेन्स लिएर राखिएका छन् भन्ने एकीकृत डाटासमेत गृहमा थिएन । लाइसेन्सप्राप्त हतियारको डाटा खोज्नसमेत ७७ जिल्लामा सर्कुलर गर्नेपर्ने अवस्था थियो ।

त्यसलाई सफ्टवेयर बनाएर एकीकृत डाटा राख्नुपर्ने भनिएको थियो । तर यसको प्रभावकारी कार्यान्वय हुन सकेको छैन ।

त्यसैगरी हातहतियार तथा खरखजाना ऐन, २०१९ हातहतियार तथा खरखजाना नियमावली, २०२८ र मलुकी फौजदारी अपराध संहिता, २०७४ मा पर्याप्त विषय नसमेटिएको भन्दै कानुनमा सुधार गर्नुपर्ने सुझाव समितिले दिएको छ । तर यसमा पनि कुनै सुधार भएको छैन ।

हतियारको अभिलेख व्यवस्थापन, इजाजत दिने बेला गरिने अध्ययन, हतियार लिइसकेपछिको नियमन र नवीकरणका बेला जाँच गर्नुपर्ने, हतियार लिइसकेपछि त्यसको दुरुपयोग भए/नभएको नियमन गर्नुपर्ने भए पनि त्यसमा गृहले कुनै चासो देखाएको देखिँदैन ।

नियमन नहुँदा भक्तपुरकै जस्तो दुर्घटना अन्य ठाउँहरूमा हुनसक्ने जोखिम बढ्ने जानकारहरू बताउँछन् ।





Read More