― Advertisement ―

UAE मा ठूला सौर्य फार्महरूले गल्तिले वर्षाको आँधी सिर्जना गर्न सक्छ जसले मरुभूमिहरूले पानीको अभावलाई कसरी व्यवस्थापन गर्न सक्छ भनेर पुन: आकार दिन सक्छ।

अँध्यारो मात्रै पानीमा परिणत हुँदैन, तातो बादलमा परिणत हुँदैन बिजुली२० वर्ग किलोमिटरको सौर्य फार्मले क्लाउड सिडिङको वर्षभन्दा बढी वर्षा उत्पादन गर्छपर्सियन गल्फको आर्द्र हावाले...
HomeLatest newsअपराजित सुदूरपश्चिम प्लेअफको नजिक, जित्‍न बिर्सँदै जनकपुर

अपराजित सुदूरपश्चिम प्लेअफको नजिक, जित्‍न बिर्सँदै जनकपुर


सुदूरपश्चिमले लगातार चार खेल जितेर प्लेअफको नजिकै पुगिसकेको छ भने ठीक विपरित जनकपुर बोल्ट्सको भने लगातार तेस्रो हार बेहोरेसँगै प्लेअफ यात्रा कठिन देखिन थालेको छ ।

राष्ट्रिय

समाचार.

  • सुदूरपश्चिम रोएल्सले लगातार चार खेल जितेर नेपाल प्रिमियर लिगमा शीर्ष स्थानमा रहँदै प्लेअफको लागि नजिक पुगेको छ।
  • जनकपुर बोल्ट्सले लगातार तीन हार बेहोरेपछि उपाधि रक्षा गर्न कठिनाइ भोग्दै प्लेअफमा पुग्न बाँकी चार खेल जित्नुपर्ने बाध्यता छ।
  • पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दै पहिलो जित हात पार्दा बिपिन खत्री र सुमित वर्माले महत्वपूर्ण योगदान दिएका छन्।

११ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा सुदूरपश्चिम रोएल्सलाई पराजित गर्दै जनकपुर बोल्ट्स च्याम्पियन बनेको थियो । फाइनलअघि सुदूरपश्चिमले जनकपुरलाई दुई पटक पराजित गरेपनि निर्णायक खेलमा जनकपुरले बाजी मार्दै ट्रफी उचालेको थियो ।

पहिलो संस्करणमा निर्णायक खेलमा मात्र चुकेको सुदूरपश्चिमले दोस्रो संस्करणमा जसरी पनि च्याम्पियन बन्ने लक्ष्य बनाएको थियो । त्यही अनुसार सुदूरपश्चिमले लगातार चार खेल जितेर अपराजित यात्रा कायमै मात्र राखेको छैन, प्लेअफको लागि निकै नजिक समेत पुगिसकेको छ ।

सुदूरपश्चिम ४ खेलबाट ८ अंक जोडेर हाल शीर्ष स्थानमा आसिन छ । लिग चरणमा बाँकी तीनमध्ये एक खेल मात्र जित्दा पनि सुदूरपश्चिम प्लेअफ पुग्नेछ । यदि अन्य टिमहरुको नतिजा आफू अनुकल आउने हो भने सुदूरपश्चिम अहिलेकै स्थितिमा पनि प्लेअफ पुग्न सक्छ ।

बिहीबार लुम्बिनी लायन्सलाई पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा एक खुड्किलो राखिसकेको छ । यस सिजन सुदूरपश्चिमले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई पराजित गर्दै यात्रा सुरु गरेको थियो । त्यसपछि काठमान्डु गोर्खाज र कर्णाली याक्सलाई पराजित गरेको थियो । अब सुदूरपश्चिमले जनकपुर बोल्ट्स, चितवन राइनोज र विराटनगर किंग्ससँग खेल्न बाँकी छ ।

सुदूरपश्चिमको भन्दा बिल्कुल फरक छ साविक विजेता जनकपुरको दोस्रो संस्करणको यात्रा । पहिलो संस्करणको च्याम्पियन जनकपुरले दोस्रो संस्करणमा एउटै लक्ष्य राखेको थियो उपाधि जोगाउने । च्याम्पियन भएकोले जनकपुरलाई उपाधि रक्षा गर्ने चुनौती पनि थियो । तर दोस्रो संस्कणरमा जनकपुरले लगातार तीन हार बेहोरिसकेको छ ।

पहिलो खेलमै काठमान्डु गोर्खाजसँग पराजित हुँदै उपाधि रक्षा अभियान थालेको जनकपुरले लगातार तेस्रो खेलमा हार बेहोरेपछि प्लेअफको सम्भावना समेत कमजोर बनिसकेको छ । प्रदर्शन हेर्दा जनकपुरले जित्‍न बिर्सँदै गएको होकि भनेर देख्न सकिन्छ ।

दोस्रो खेलमा इस्टर्न डर्बीमा विराटनगर किङ्ससँग पराजित भएको जनकपुर बिहीबार पोखरा एभेन्जर्ससँग पराजित भयो । प्लेअफमा पुग्ने सम्भावना कायम राख्न जनकपुरले अब बाँकी रहेको चारवटै खेल जित्नुपर्ने बाध्यता छ । अब एक हारले पनि जनकपुर लिग चरणबाटै बाहिरिन सक्छ ।

सुदूरपश्चिमको रवाफ, लुम्बिनी अलमलमै

बिहीबारको पहिलो खेलमा सुदूरपश्चिमले लगातार चौथो जित निकाल्दा लुम्बिनी लायन्सले भने लगातार तेस्रो हार बेहोर्‍यो । पहिलो खेलमा चितवन राइनोजलाई हराएको लुम्बिनी कर्णाली याक्स, काठमान्डु गोर्खाज र आज सुदूरपश्चिमसँग पराजित भएको हो ।

सुदूरपश्चिमले रवाफ कायमै राख्दा लुम्बिनी अझै अलमलमै देखिएको छ । आजको खेलमा लुम्बिनी लायन्सले ब्याटिङ अर्डरमा पनि फेरबदल गरेको थियो तर फलदायी हुन सकेन । यसअघि ओपनिङमा ल्याइएका सन्दीप जोरा आज मिडल अर्डरभन्दा पनि तल पठाइए । उनको ब्याटबाट रन बन्न सकेन ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले १० ओभरसम्म ७०-२ अनि १४ ओभरमा ११४-२ मा भएको अवस्थाबाट १४३ रनमा अलआउट हुने गरी खेल पल्टियो ।

सुदूरका लागि हर्मीत सिंह र अविनाश बोहराल ३-३ विकेट लिए भने हेमन्त धामीले २ तथा स्कट कुग्लेइनले १ विकेट लिए । मध्यम योगफल खडा गरेको लुम्बिनीले जोगाउन सकेन ।

सुदूरपश्चिमले पावरप्लेभित्रै दुई अस्ट्रेलियन ब्याटर- जोश ब्राउन र क्रिस लिनलाई गुमाएको भएपनि त्यसपछि तेस्रो विकेटका लागि विनोद भण्डारी र आरिफ शेख मिलेर ९९ रनको साझेदारी गरे ।

आरिफ ३९ रनमा आउट हुँदा विनोदले अर्धशतक पूरा गरिसकेका थिए भने अन्त्यसम्मै नटआउट रहेर ६९ रन बनाए । सुदूरले आरामले खेल आफ्नो पक्षमा पार्‍यो । विनोद ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

खेलपछि कुरा गर्दै विनोदले विदेशी खेलाडी टप अर्डरमा हुँदा मनोबल उच्च भएको र त्यसैअनुसार राम्रो हुँदै गएको बताए । ‘टिममा सबैले कुनै दबाब नलिइकिन खेल्नुभएको छ, त्यही भएर जितिरहेका पनि छौं’

यस हारपछि लुम्बिनीलाई पनि अब बाँकी ३ खेलमा शतप्रतिशत जित आवश्यक हुनेछ । खेलपछि कुरा गर्दै कप्तान रोहित पौडेलले सुरुवात राम्रो भएपनि फिनिसिङ गर्न नसकेको स्वीकार गरे ।

‘हाम्रोमा विदेशी र नेपाली दुवै खेलाडीहरू स्टेप अप गर्न सक्नुभएको छैन, त्यही कुरामा हामी मिसआउट गरिरहेका छौं। विदेशी खेलाडी पनि चल्नु महत्वपूर्ण हुन्छ जुनसुकै टिमको लागि’ उनले भने ।

रोहितले धेरै कुराहरूमा सुधार आवश्यक रहेको बताउँदै अझै पनि ३ खेल बाँकी रहेको र कमब्याक गर्न सक्ने विश्वास राखेको उल्लेख गरे ।

पोखराको पहिलो जितमा सुमित र बिपिन नायक

पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स दुवै यस खेल खेल्नुअघिसम्म जितविहीन थिए । आजको खेल ‘ब्याटल अफ द बटम’का रूपमा समेत थियो । यस खेलमा जित हात पार्दै पोखराले हारको शृंखला तोड्यो भने जनकपुर अझै जितविहीन नै रह्‍यो ।

पोखराको जितमा आज नायक बने युगाण्डाका अलराउण्डर सुमित वर्मा र पोखराकै रैथाने खेलाडी बिपिन खत्री । बिपिनले ब्याट र बल दुवैमार्फत योगदान दिए । बिपिनले पनि बलिङमार्फत पोखरातर्फ खेल ढल्काएका थिए ।

टस जितेर पहिले ब्याटिङ रोजेको पोखराका ओपनर दिनेश खरेल र एडम रोसिङटनले राम्रो सुरुवात दिलाउँदा पावरप्लेमा बिना कुनै विकेटको क्षतिमा ४५ रन बनाएको थियो ।

त्यसपछि पोखराले नवौं ओभरदेखि ११औं ओभरको बीचमा ४ विकेट गुमाएपछि दबाबमा आएको थियो । अनि क्रिजमा थिए सुमित वर्मा र तृतराज दास ।

यी दुईले पाँचौं विकेटका लागि अर्धशतकीय साझेदारी गरे । सुमित अन्त्यसम्मै नटआउट रहेर खेल्दै २९ बलमा २ चौका र ४ छक्कासहित ५० रन बनाए ।

अर्धशतक प्रहार गरेका सुमित

उनको अर्धशतकमा पोखराले २० ओभरमा १५५ रन बनायो । पछिल्लो समय डिफेन्ड हुने गरेको योगफल बनाएपछि पोखराको मनोबल पनि उच्च रह्यो ।

त्यसपछि १५५ रन डिफेन्ड गर्न मैदानमा उत्रिएको पोखराका लागि सुरुवाती ओभरमै बिपिन खत्री आए । उनलाई पहिलो बलमै जनकपुरका ओपनर माज सदाकतले छक्का हिर्काए ।

तर बिपिन दबाबमा आएनन् । त्यही ओभरको चौथो बलमा उनले आसिफ शेखलाई आउट गरे भने त्यसपछि ब्याटिङमा आएका शुभ कंसाकारले पहिलो बलमै चौका प्रहार गरेपनि त्यस लगत्तैको बलमा उनलाई पनि बोल्ड गरिदिए ।

यसरी पहिलो ओभरमै बिपिनले २ विकेट लिएपछि जनकपुर दबाबमा आइसकेको थियो । त्यसपछि बलिङमा आएका सुमित वर्माले २ रन मात्र दिए ।

इनिङको चौथो ओभर लिएर फेरि सुमित आए जसले निकोल लफ्टी इटनलाई आउट गरे । त्यही ओभरको अन्तिम बलमा माज सदाकतलाई पनि आउट गरेपछि जनकपुरले ५ ओभरभित्र ४ विकेट गुमायो ।

पावरप्ले लगत्तैको ओभर बलिङ गर्न आएका बिपिनले विपक्षी कप्तान अनिल साहलाई पनि आउट गरे । नवौं ओभरको पहिलो बलमा मयन यादवलाई पनि बिपिनले आउट गरे । यसरी बिपिनले आफ्नो स्पेलमा ४ विकेट अनि सुमित वर्माले २ विकेट लिएपछि जनकपुरले १० ओभरभित्रै ६ विकेट गुमायो ।

त्यहाँबाट जनकपुर खेलमा फर्कन सकेन । आजै पहिलो खेल खेलेका दक्षिण अफ्रिकी बलर वायन पार्नेलले ३८ बलमा अर्धशतक बनाएर जनकपुरको लाज भने बचाए । यद्यपी जितका लागि भने उनको यो एकल प्रयास पर्याप्त हुन सकेन ।

बिपिनले खेलपछि कुरा गर्दै पावरप्लेमा विकेट निकाले विपक्षी प्रेसरमा आउने सोचेर बलिङ गरेको र त्यो योजनाले काम गरेको बताए । ‘हामीलाई थाहा थियो विकेटले बलरलाई सहयोग गरेको छ भनेर, त्यही अनुसार योजना बनाउँदा सफल पनि भयौं’ उनले भने, ‘सबै विकेट क्रुसियल नै हुन् भन्ने हिसाबले सोचेका थियौं।’

पोखराले अन्तत: जित निकाल्दै अंकको पनि खाता खोल्यो । बिपिनले यो जितको खोजीमा रहेको र जित निकाल्दा खुसी लागेको बताए । ‘सुरुको २ हारले नराम्रो लागेको थियो, आज केही दिनको ग्यापपछि खेलेर जितेका छौं, यसरी नै आगामी दिनमा पनि जित निकाल्छौं’ बिपिनले थपे ।

खेलपछि कुरा गर्दै जनकपुरका कप्तान अनिल साहले सोचेजस्तो ब्याटिङ प्रदर्शन हुन नसक्दा लगातार हार बेहोरिरहेको बताए । ‘सुरुवातदेखि नै ब्याटिङ राम्रो भइरहेको छैन, धेरै परिवर्तनहरू पनि गरेका छौं, सफल भइरहेको छैन’ अनिलले भने, ‘आगामी खेलहरूमा कमजोर पक्षहरू सुधार गर्नेछौं।’

अंकतालिकामा हाल सुदूरपश्चिम ४ खेलमा ४ जितसहित ८ अंक जोडेर शीर्षस्थानमा छ भने विराटनगर किङ्स ४ खेलमा ६ अंकसहित दोस्रो र चितवन राइनोज ३ खेलमा ४ अंकसहित तेस्रो स्थानमा छ ।

समान २ अंक भएका काठमान्डु गोर्खाज, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स चौथो, पाँचौं, छैटौं र सातौं स्थानमा छन् । ३ खेलमा अंकविहीन जनकपुर पुछारमा छ ।





Read More