― Advertisement ―

GPD ले RTX-स्तर ग्राफिक्सको साथ एउटा सानो प्यान्थर लेक पावरहाउस निर्माण गर्‍यो, त्यसपछि उत्साहीहरूले सबैभन्दा बढी चाहेको सुविधा हटायो।

पीसीडीमा शक्तिशाली GPDi रेटेड प्यानटेग रेटेड प्रक्षेपण ग्राफिक्सकोर अल्ट्रा X7 358H ले RTX 3050M ग्राफिक्स कार्यसम्पादन नजिकै डेलिभर गर्दछMCIO 8i जडानले उच्च ब्यान्डविथ बाह्य...
HomeLatest news१० बोरा चिनी नियन्त्रणमा लिन रिक्सा चालकको छातीमा गोली !

१० बोरा चिनी नियन्त्रणमा लिन रिक्सा चालकको छातीमा गोली !



१७ पुस, काठमाडौं । बिहीबार राति पौने १ बजेतिर भारतीय सीमा नाकाबाट सुनसरीको कोशी गाउँपालिका–१ लौकही हुँदै तीन वटा रिक्सा (२ वटा अटो रिक्सा, १ वटा ई–रिक्सा) अघि बढ्दै थिए ।

लौकहीमा सशस्त्र प्रहरी बलका वरिष्ठ हवल्दारको कमाण्डमा पाँच जना ड्युटीमै थिए । ती अटो रिक्साहरूमा भन्सार छलेर भारतबाट अवैध सामानहरू नेपाल ल्याइएको भन्ने सूचना सशस्त्र प्रहरीले पायो ।

मध्यराति सडकमा सशस्त्र प्रहरीको उपस्थिति देखेपछि तस्करीको सामान ल्याउँदै गरेका रिक्साहरू भाग्न खोजे । सशस्त्र प्रहरीले पिछा गर्‍यो । जवाफमा तस्करीको समान ल्याएका तीन वटा रिक्सामध्ये एक रिक्साबाट गोली चल्यो ।

तस्करको समूहबाट मध्यराति गोली चलेपछि सुरक्षाकर्मीले असुरक्षित महसुस गरे । आत्मरक्षाका लागि जवाफी फायर गर्दा दुर्घटना भयो । सुनसरी घटनाबारे जानकारी लिँदा कोशी प्रदेशको बराह बाहिनी पोकलीका प्रमुख तथा डीआईजी कुमार न्यौपाने यी नै दलिलहरू गरे ।

‘उताबाट सुरुमा फायर भयो । कसैलाई लागेन, केही भएन । यताबाट आत्मरक्षाका लागि जवाफी फायर गर्दा दुर्घटना भयो,’ न्यौपानेले अनलाइनखबरसँग दाबी गरे ।

तस्करको समूहबाट सुरुमा गोली चलेको दाबी गरेपछि अनलाइनखबरले डीआईजी न्यौपानेलाई हतियार बरामद भए/नभएको भन्नेबारे जिज्ञासा राखेको थियो । तर उनले हतियार बरामद नभएको जवाफ दिँदै भने, ‘फायर गर्ने भागी हाले । अनि हतियार बरामद हुने अवस्था रहेन ।’

मध्यराति सशस्त्र प्रहरी बलले चलाएको गोली लागेर कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भयो । सशस्त्रले दुर्घटना भनेको यो प्रकरणमा मारिएका साह अटो रिक्सा चालक हुन् । उनलाई समान बोक्नका लागि कसैले भाडामा रिक्सा लगेको हुनुपर्ने बताइएको छ ।

सीमा नाका हुँदै कानुनीदेखि गैरकानुनी व्यापार पनि हुँदै आएको छ । यी दुवैको संरक्षणकर्ता सशस्त्र प्रहरी नै रहेको विश्लेषक चन्द्रकिशोर बताउँछन् ।

सशस्त्रले तस्करको समूहले गोली चलाएको दाबी गरे पनि यसको यकिन पुष्टि भने भएको छैन । आफ्नो गल्तीलाई छोप्न अर्को पक्षको गल्ती देखाएर चोख्याउन खोजेको आरोप स्थानीयले लगाएका छन् ।

अनावश्क रूपमा गोली चलाइएको, त्यो पनि लापरबाही तरिकाले गोली चलाउँदा छातीमै लागेको भन्दै सशस्त्र प्रहरीको भूमिकामाथि प्रश्न उठेको छ ।

तस्करीको १० बोरा चिनी नियन्त्रणमा लिन सशस्त्रले जुन किसिमको बल प्रयोग गरेको त्यो आवश्यक नरहेको बताइन्छ ।

घटनापछि तनावग्रस्त बनेको सुनसरीमा सडकमै शव राखेर स्थानीयले प्रदर्शन गरेका थिए । स्थानीय सशस्त्र प्रहरीको बिट तोडफोड गर्नेदेखि बोर्डर आउट पोस्ट (बीओपी) मा समेत आक्रमण गरे ।

स्थिति नियन्त्रणमा केही सेल अश्रु ग्यास समेत प्रहार गरिएको कोशी प्रदेश प्रहरी कार्यालयका डीआईजी विनोद घिमिरे बताउँछन् ।

उनका अनुसार मध्यराति घटना हुँदा त्यहाँ नेपाल प्रहरी उपस्थित थिएन । घटना भइसकेपछि मात्रै खबर गरेपछि प्रहरी पुगेको थियो । घटनास्थलबाट गोलीका दुई वटा खोका बरामद भएका छन् ।

‘तस्करी गर्न सुरक्षा निकायसँगै हुन्छ लेनदेन’

सशस्त्र प्रहरीले जवाफी कारबाही भएको दाबी गरे पनि स्थानीय तथा मृतकका आफन्त भने त्यो मान्न तयार छैनन् । उनीहरू भने लेनदेनको विवादमा हत्या गरिएको दाबी गर्छन् । प्रदर्शनमा उत्रिएकाहरू सशस्त्रले रकम मागेको र भनेअनुसार नदिएपछि हत्या गरेको भन्दै गम्भीर आरोप लगाएका छन् ।

स्थानीयले भनेजस्तो तस्करीको लाइन सुरक्षा निकायलाई रकम बुझाउने परिपाटी भने देखिने गरेको लेखक, विश्लेषक तथा सीमा मामलाबारे जानकार चन्द्रकिशोर बताउँछन् ।

सीमा मामलाबारे जानकार चन्द्रकिशोर ।

उनका अनुसार तराईका मुख्य नाकाका छेउछाउमा अरू साना बाटाहरू पनि हुन्छन् । त्यसलाई २ नम्बरी बाटो भनिन्छ । अनि सुरक्षा निकायलाई मिलाएर त्यही बाटोबाट तस्करीको खुल्छ । यसलाई तराईमा लाइन खुलेको रूपमा चिनिन्छ । लाइन मिलेपछि यहाँ सुरक्षा निकायले रेफ्रीको मात्रै भूमिका निवार्ह गर्ने गरेको उनी बताउँछन् ।

पहिला नेपाल प्रहरीको उपस्थित हुने सीमा नाकामा अहिले सशस्त्र प्रहरीको उपस्थित छ । सशस्त्रले सीमा व्यवस्थापनको जिम्मेवारी पाएपछि स्वभाविक रूपमा सीमासँग जोडिएका अन्य विषयहरू पनि सँगै जोडिएर आउँछन् । सीमा नाका हुँदै कानुनीदेखि गैरकानुनी व्यापार पनि हुँदै आएको छ ।

यी दुवैको संरक्षणकर्ता सशस्त्र प्रहरी नै रहेको विश्लेषक चन्द्रकिशोर बताउँछन् । पहिला प्रहरीको संरक्षणमा हुने तस्करी अहिले सशस्त्रले चलाउन थालेको उनको दाबी छ ।

‘अघिल्लो दिन जहाँ गरियो सुरक्षा गोष्ठी, भोलिपल्ट त्यहीँ गोली दागेर नागरिकको ‘हत्या’

गृहमन्त्री ओमप्रकाश अर्याल मंगलबार मात्रै कोशी प्रदेश पुगे । मोरङको बुधनगरमा सन् २०२० देखि सञ्चालनमा आएको नेपाल–भारत एकीकृत भन्सार जाँच चौकीको स्थलगत निरीक्षण समेत गरे ।

भन्सार जाँच चौकी निरीक्षण गर्दै उनले भने–अहिलेको सरकारको मुख्य काम भनेकै नागरिकको सुरक्षा र तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउनु हो ।’

बुधबार कोशी प्रदेशमा भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठी ।

यसको भोलिपल्ट कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी विराटनगरमा सम्पन्न भयो । जहाँ उनै गृहमन्त्रीदेखि प्रदेशका मन्त्रीहरू, गृहमन्त्री, नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरी प्रमुख, गुप्तचर प्रमुख र सेनाको समेत उपस्थितिमा सुरक्षा गोष्ठी सम्पन्न भयो ।

शान्ति सुरक्षा मजबुत राख्ने, तोकिएकै समयमा निर्वाचन गराउने र नागरिकले ढुक्कले शान्ति सुरक्षाको महसुस गर्ने गरी सुरक्षा निकायले काम गर्ने बताउँदै सुरक्षा गोष्ठी सम्पन्न भयो । गोष्ठी सम्पन्न गरेर गृहमन्त्रीदेखि सुरक्षा निकायका प्रमुखहरू काठमाडौं आइपुग्न नपाउँदै सुरक्षाकर्मीकै गोली लागेर एक नागरिकको ज्यान गयो ।

सामान्य घटनामै गोली चलाउनुले माथिबाट तस्करी नियन्त्रणमा एकदमै कठोर बन्न निर्देशन दिएको हुनुपर्छ कि त सशस्त्र आफैंले अनाश्यक रुपमा बल प्रयोग गरेको हुनुपर्ने सशस्त्र प्रहरी बलका एक पूर्वएआईजीको बुझाइ छ ।

‘अहिलेको अवस्थामा सामान्य घटनामै जोखिम लिएर सुरक्षाकर्मीले गोली चलाइहाल्ने मुर्खता गर्दैन । अब सुनसरी घटनामा कसरी यस्तो हुन पुग्यो यो छानबिनको पाटो हो’ ती पूर्वएआईजी भन्छन् ।

यसअघि सुरक्षा गोष्ठीकै लागि १५ मंसिरमा कैलाली पुगेका मन्त्री अर्यालले भने दैनिक जिविकोपार्जनका लागि सहजीकरण हुने गरी काम गर्न निर्देशन दिएको भन्दै मन्त्री अर्यालयको सचिवालमार्फत जानकारी गराइएको थियो ।

कैलाली र कञ्चनपुरको सिमानामा पर्ने नेपाल–भारतको गौरीफन्टा नाकाको स्थलगत निरीक्षण गर्दै मन्त्री अर्यालले भनेका थिए, ‘नेपाली नागरिक तथा महिला दिदी बहिनीहरूको दैनिक जिविकोपार्जनमा सहजीकरण हुने गरी तर नियमित, संगठित र व्यावसायिक रूपमा भन्सार छली गरी मालवस्तु भित्र्याउने व्यक्ति वा समूहलाई पहिचान गरी त्यसको निगरानी बढाएर काम गर्नुस् ।’

गौरीफन्टा नाकाको स्थलगत निरीक्षण गर्दै मन्त्री अर्याल ।

तस्करीसँग जोडिएको अर्थ राजनीति

तराईको सीमाको तस्करी अर्थ–राजनीतिसँग जोडिएको विश्लेषक चन्द्रकिशोर बताउँछन् । अहिले पूर्व–पश्चिम सबै सीमा नाकामा सशस्त्र प्रहरीको उपस्थिति छ । गाउँ–गाउँमा पनि सशस्त्रको उपस्थिति छ ।

जसकारण सशस्त्रको सम्बन्ध सीमामा मात्रै नभएर गाउँ–गाउँका व्यापारीसँग पनि हुन्छ । अनि सशस्त्रसँगै लाइन मिलाएर तस्करी काम हुने गरेको उनको बुझाइ छ ।

‘तराईबाट हुने तस्करीमा अर्थ राजनीति राम्रोसँग जोडिएको छ । व्यक्तिगतदेखि राजनीतिक पहुँचको भरमा लाइन मिलाएर तस्करी हुन्छ । सामान्य व्यापारीहरू पनि रातारात धनाढ्यमा परिणत हुन्छन् । अनि भोलि चुनाव उठेर नेता बन्नेसम्मको अवस्था पनि देख्ने गरिन्छ,’ चन्द्रकिशोरले भने ।

साना पोकेदेखि, साइकल, ट्रयाक्टरहरूले कुरियरको काम गर्ने, सामान ओसारे वापत गुजारा चलाउने, केहीले गोदाम चलाउने अनि ठूलो स्केलमा व्यापार गर्नेसम्मको अवस्था तस्करीबाटै गर्दै आएका छन् ।

यसरी चलिरहेको लाइनमा कुरा नमिल्दा मुठभेड हुने अवस्था आउने उनको बुझाइ छ । ‘कतिपय सशस्त्र प्रहरी अफिसर राम्रो पनि हुनुहुन्छ । सबैको हकमा यो लागु नहोला । तर धेरैजसोले गर्ने यस्तै हो,’ उनी भन्छन् ।

अर्कोतर्फ तस्करीमै रजगज गरेर बसेकाहरू संख्या पनि बाक्लो छ । उनीहरूको बलमिच्याँईका कारण पनि मुठभेड हुने गरेको छ । जसकारण सुनसरीको आज बिहानको घटना ठ्याक्कै यही कारण भन्न अहिले नै नसकिने उनको बुझाइ छ ।

‘प्रदेश–प्रदेशमा सशस्त्रका मुख्यालय छन् । इन्चार्ज भएर पुगेपछि उनीहरूको पनि दौडाहा सुरु हुन्छ । सुरुमा टाइट गर्न खोज्छन् । यता तस्करहरूले लाइन खुलाउनका लागि पहिल्यै रकम बुझाएका हुन्छन् । रकम बुझाउँदा पनि सामान ल्याउन नपाएपछि तनाव हुन्छ, झडप हुन्छ । लाइनको दर बढाउन पनि कन्ट्रोल गर्ने रणनीति सुरक्षा निकायले बढाउँछन् अनि द्धन्द्ध सिर्जना हुन्छ’ चन्द्र किशोर भन्छन् ।

सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता तथा डीआईजी मनिष थापा भने छानबिन पछि मात्रै घटनाबारे के–कसो भएको हो भन्न सकिने बताउँछन् । ‘सशस्त्रको गोली लागेर एक जनाको मृत्यु भयो भन्ने रिपोर्टिङ आएको छ । कसरी घटना हुन पुग्यो छानबिनपछि मात्रै खुल्ला’ उनी भन्छन् ।

 

 

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More