― Advertisement ―

Amazon को नयाँ AI बायो डिस्कवरी उपकरणले ‘प्रत्येक अनुसन्धानकर्ता’ लाई ‘ल्याब-इन-द-लूप ड्रग डिस्कवरी’ प्रदान गर्न सक्छ – 40+ AI जीवविज्ञान मोडेलहरूले 300,000 उपन्यास एन्टिबडी...

AWS नयाँ औषधि पत्ता लगाउनुहोस् उपकरणAmazon Bio Discovery ले उच्च कम्प्युटेशनल AI प्रयोगहरूमा प्राविधिक अवरोधहरू हटाउँछउपकरणले औषधि परीक्षणको समयलाई उल्लेखनीय रूपमा कटौती गर्न सक्छ...
HomeLatest news‘हस्ताक्षरले कांग्रेसका सबैको भावना समेटेको छ’ – KhabarHost

‘हस्ताक्षरले कांग्रेसका सबैको भावना समेटेको छ’ – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाली कांग्रेसमा १४औँ महाधिवेशनका ५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाइसकेका छन्।
  • केन्द्रीय कार्यसमितिको बैठकमा नियमित महाधिवेशनमै जानुपर्ने पक्षले विशेष महाधिवेशनको एजेन्डा नपरेको बताएका छन्।
  • अभियानकर्ता गुरुराज घिमिरेले मङ्सिर मसान्तभित्र नियमित महाधिवेशन नहुँदा विशेष महाधिवेशन अगाडि बढ्ने बताए।

नेपाली कांग्रेसमा यतिबेला नियमित कि विशेष महाधिवेशन भन्ने बहस चलिरहेको छ । १४औँ महाधिवेशनका झन्डै ५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाइसकेका छन् ।

१४ औं महाधिवेशनका २ हजार ४८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेको हस्ताक्षर अभियानकर्ताहरूको दाबी छ । नेता गुरुराज घिमिरे सहितका १०९ जना महाधिवेशन प्रतिनिधिले ६ असोजबाट अभियान थालेका थिए ।

हस्ताक्षर बुझाइएको एक दिनपछि बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने नेताहरूले भने पार्टी नियमित महाधिवेशनमै जानुपर्ने बताएका छन् ।

कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा विशेष महाधिवेशनको एजेन्डा नै नपरेको अवस्थामा हस्ताक्षर अभियानको अगुवाइ गरेका नेता घिमिरेसँग अनलाइनखबरकर्मी केशव सावदले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

पार्टी सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनकारीको आक्रमणमा परी घाइते हुनुभयो । तपाईंले भने विशेष महाधिवेशनका लागि प्रतिनिधिको हस्ताक्षर अभियान थाल्नुभयो । सभापति उपचाररत रहेकै बेला हस्ताक्षरको आह्वान गर्नु आवश्यक थियो ?

हामीले १४औँ महाधिवेशन सकिएदेखि नै १५औँ महाधिवेशन निर्धारित समयभित्रै सम्पन्न गर्नुपर्छ भन्दै आयौँ । गत वर्षदेखि हामी सरकारमा छौँ । सरकारमा जाने साथीहरूले सरकार चलाइरहनुभएको छ । बहुमतको सरकार छ, त्यताको चिन्ता धेरै छैन ।

सरकारलाई प्रभावकारी बनाउने र सुशासन दिने काम अगाडि बढाउँदै पार्टीमा महाधिवेशनको तयारी पनि अगाडि बढाऊँ भनेर हामीले गत वर्षदेखि र त्यसअघि नै रूपान्तरण अभियानका दौरानमा पनि भन्यौँ ।

तर, ६ महिना मात्रै समय बाँकी हुँदासम्म पनि महाधिवेशन गराउनेतर्फ अग्रसरता देखिएन । केन्द्रीय कार्यसमितिले आधारभूत कामहरू सम्पन्न गर्ने अग्रसरता लिँदै लिएन ।

२३ र २४ भदौमा जेनजीहरूले आन्दोलन गरेर नेपालको राजनीतिमा अभूतपूर्व, अकल्पनीय र अनपेक्षित परिवर्तन ल्याए । त्यसपछि हामीलाई लाग्यो- अहिले उत्पन्न विषम राजनीतिक परिस्थितिको विवेचना र समीक्षा गर्नुपर्छ ।

हामी २०४८ सालदेखि निरन्तर शासनको केन्द्रमा छौँ र देश यो अवस्थामा आउनमा कतै हामी पनि दोषी छौँ कि ? अथवा कुन–कुन शक्तिको कारणले यो स्थिति आयो ?

भएको संसद् गयो, संवैधानिक प्रक्रिया अवरुद्ध भयो र अहिले मूलधारमा रहेका राजनीतिक पार्टीहरू सत्ताको केन्द्रबाट किनारामा धकेलिए । यो विषयको समीक्षा गरौँ, आउने सम्भावित निर्वाचनका लागि तयारी गरौँ र भोलि कुनै आन्दोलन गर्नुपर्‍यो भने त्यसका लागि पनि तयारी गरौँ ।

मुख्य कुरा, पार्टीलाई नयाँ पुस्ताको भावनाअनुसार चल्ने पार्टीको रूपमा अगाडि बढाउनका निम्ति केही नीतिगत तथा संरचनागत बन्दोबस्त मिलाऊँ, विधान संशोधन गरौँ र नेतृत्व परिवर्तन गरौँ भनेर हामीले महाधिवेशनको माग गर्‍यौँ । मागलाई सार्थक बनाउने दिशातर्फ पार्टी अगाडि नबढेपछि गत ६ असोजदेखि हामीले विशेष महाधिवेशनको माग गरेका हौँ ।

हस्ताक्षर अभियान अगाडि बढाउँदै गर्दा के-कस्ता अप्ठ्यारा वा बाधा–अड्चन भोग्नुपर्‍यो ?

पार्टीका साथीहरूले यसलाई हार्दिकतापूर्वक लिनुभयो । देशभरिका साथीहरू सहभागी हुनुभयो । यो हाम्रो र मुलुककै आवश्यकता हो भनेर साथीहरूले सहर्ष ग्रहण गर्नुभयो । अभूतपूर्व रूपमा समर्थन गर्नुभयो । त्यसैले अभियान सफल पनि भयो ।

हामीले हस्ताक्षर पार्टी केन्द्रीय कार्यालयमा बुझाइसक्यौं । यसले पार्टीलाई नवजीवन दिने काम गरेको छ । महाधिवेशनतर्फ नेतृत्वको जुन अन्योलपूर्ण गतिविधि थियो, त्यसलाई विश्वसनीय बनाउन योगदान पुर्‍याएको छ । त्यसैले, अब मङ्सिर मसान्तभित्र नियमित महाधिवेशन गर्नुको विकल्प छैन । यदि मङ्सिर मसान्तभित्र नियमित महाधिवेशन नहुने हो भने विशेष महाधिवेशन अगाडि बढ्छ ।

जेनजी आन्दोलनको ‘रिफ्लेक्सन’ कस्तो पाउनुभयो ? यदि आन्दोलनअघि अभियान सञ्चालन गर्नुभएको भए अहिले तपाईंहरूले दाबी गरिरहनुभएको जति महाधिवेशन प्रतिनिधिहरू पुग्थे ?

जेनजी आन्दोलनअघि पनि यो माग मुखर रूपमा उठाउँदै आएकै हौँ । जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थिति बनेपछि अनुकूलता प्रदान गरेको चाहिँ सत्य हो । तर पार्टीको नियमित महाधिवेशन समयमा हुनुपर्छ भन्ने कुरामा साथीहरू सबै एकमत हुनुहुन्थ्यो र दबाबपूर्ण अभियान चलाउने सुरसारमै थियौँ ।

वास्तवमा, हामीले देशभरिका महाधिवेशन प्रतिनिधिहरूलाई दशैँ र तिहारको बीचमा केन्द्रमा बोलाउने योजना पनि बनाएका थियौँ । त्यसको तयारीका लागि कोशी, मधेश र गण्डकी प्रदेशमा हामीले भेला तथा अन्तर्क्रिया सम्पन्न गरिसकेका थियौँ । त्यसलाई टुङ्ग्याएर तिहार लगत्तै महाधिवेशन प्रतिनिधिको राष्ट्रिय भेला बोलाउने तयारीमै थियौँ ।

कांग्रेसमा थुप्रै गुट–उपगुट छन् । यो हस्ताक्षर अभियानमा कुन गुटका प्रतिनिधिको बढी सहभागिता छ ? अनि कस्तो प्रकृतिका प्रतिनिधिहरूले तपाईंहरूलाई साथ दिनुभयो ? यो अभियानमा शीर्ष नेताहरूको साथ थियो ?

विल्कुलै यो साझा अभियान हो । गुट निरपेक्ष अभियान हो । यहाँ सबै साथीहरू संलग्न हुनुहुन्छ । पार्टीलाई लामो समयदेखि योगदान पुर्‍याउनुभएका त्यागी, समर्पित, योग्य साथीहरू, अवसर नपाएका र अवसरबाट वञ्चित भएका साथीहरू संलग्न हुनुहुन्छ । गुटको पटक्कै प्रभाव छैन ।

१४औँ महाधिवेशनमा विभिन्न नेताहरूलाई भोट हालेका साथीहरू संलग्न हुनुहुन्छ । यो पार्टीलाई रूपान्तरण गर्ने, गतिशील बनाउने र जुनसुकै चुनौती आए पनि (चाहे निर्वाचन होस् वा आन्दोलन) त्यसको सामना गर्नसक्ने पार्टी निर्माण गर्ने दिशामा अगाडि बढ्ने साथीहरूको अग्रसरता हो ।

तपाईंहरूको माग पार्टीले सम्बोधन गर्छ भन्ने ग्यारेन्टी छ ? सम्बोधन नभए आगामी ‘स्टेप’ के हुन्छ ?

गर्ने र नगर्नेमा विभाजन हुनुहुँदैन । यो पार्टीका सम्पूर्ण साथीहरूको भावना हो । कसैले हस्ताक्षर गर्नुभयो होला, कसैले गर्नुभएन होला, तर पार्टी त सबैको साझा हो । हामी सबैको योगदानले पार्टी यहाँ छ । इतिहासमा पनि हामी सबै सँगै लड्यौँ, सङ्घर्ष गर्‍यौँ, योगदान पुर्‍यायौँ । त्यसैले, पार्टी सबैको साझा हो ।

यो हस्ताक्षर अभियानले सबैको भावना समेटेको छ । ५४ र ४६ प्रतिशत भन्ने यसमा कुनै विभाजन छैन । यो शतप्रतिशत साथीहरूको अभियान हो । कोही अग्रसर भएर प्रकट रूपमा देखिनुभयो, कोही देखिनुभएको छैन ।

त्यसैले, यो पार्टीलाई समयसापेक्ष रूपान्तरण गर्ने, गतिशील बनाउने र समयसापेक्ष नेतृत्व चयन गर्ने अभियान भएको हुनाले सबै साथीहरू एकै साथ छौँ । अब नियमित महाधिवेशन गर्ने कि नगर्ने भन्ने कुरामा विभाजित हुनु जरुरी छैन ।

नियमित महाधिवेशन होस् या विशेष महाधिवेशन यी दुवै वैधानिक व्यवस्था हुन् । विशेष महाधिवेशन भनेको बीपी कोइराला र सुवर्ण शमशेरले अभ्यास गरेको व्यवस्था हो ।

त्यसो भएको हुनाले, विशेष महाधिवेशनको हस्ताक्षरकर्ता भएको नाताले मैले पार्टी नेतृत्वलाई विनम्रतापूर्वक के आग्रह गर्छु भने, मङ्सिरभित्रै नियमित महाधिवेशनको भरपर्दो तालिका ल्याउनुभयो भने हाम्रो आपत्ति हुँदैन । यदि फेरि पनि लम्ब्याउने वा कार्यसमितिको म्याद बढाउनेतर्फ अग्रसर हुनुभयो भने विशेष महाधिवेशनको विकल्प छैन ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More