राष्ट्रिय
समाचार.
- राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन आयोजनाको ठेक्का तोडिएपछि पुनर्मूल्याङ्कन र नयाँ टेन्डर प्रक्रिया अगाडि बढाइएको छ।
- ऊर्जा मन्त्री कुलमान घिसिङले आयोजनास्थल निरीक्षण गरी मूल्याङ्कन दुई महिनाभित्र सम्पन्न गरी नयाँ टेन्डर तुरुन्त अघि बढाउन निर्देशन दिनुभयो।
- ठेक्का तोडिएपछि पटेल–रमण जेभीको ३ अर्ब ६० करोड रुपैयाँ बैंक ग्यारेन्टी जफत गर्ने प्रक्रिया सुरु गरिएको छ।
७ पुस, काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध (हेडवक्र्स), विद्युत् गृहसहित सिभिल संरचना, हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानको कामको ठेक्का तोडिएपछि पुनर्मूल्याङ्कन थालिएको छ ।
आयोजनाले २४ कात्तिकमा उक्त प्याकेज निर्माणका लागि पटेल—रमण जेभीसँग ठेक्का सम्झौता तोड्ने १४ दिने सार्वजनिक सूचना जारी गरेको थियो । सम्झौतामा भएको व्यवस्था बमोजिम गत ८ मंसिरबाट ठेक्का तोडिएको थियो ।
सम्झौताबमोजिम ठेक्का तोडिएपछि निर्माण व्यवसायीका सम्पूर्ण उपकरण, साइट कार्यालय, निर्माणस्थल आयोजनाले आफ्नो नियन्त्रणमा लिएको छ । आयोजनाको अहिलेसम्म भएको काम, त्यहाँ रहेका उपकरण, बाँकी रहेका तथा थप गर्नुपर्ने काम लगायतको मूल्याङ्कन गरी लागत अनुमान तय गर्ने एवम् टेन्डरका कागजात बनाउने काम भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
ऊर्जा मन्त्री कुलमान घिसिङले सोमबार रामेछापको मन्थली नगरपालिका–६ सेलेघाटस्थित आयोजनाको हेडवक्र्स निर्माण क्षेत्रको निरीक्षण गरी टेन्डर रद्द गरिएपछिको साइट अवस्था र नयाँ टेन्डर प्रगतिबारे जानकारी लिए ।
मन्त्री घिसिङले आयोजनास्थलमै आयोजना व्यवस्थापन र परामर्शदातासँग छलफल गरी हाल भइरहेको मूल्याङ्कनको काम दुई महिनाभित्र सम्पन्न गरी नयाँ टेन्डर प्रक्रिया अगाडि बढाउन निर्देशन दिए ।
उनले भने, ‘हालसम्म भएको काम, बाँकी काम, निर्माणका क्रममा देखिएका थप कामलाई समेत समेट्ने गरी मूल्याङ्कन गरेर सोही बमोजिम नयाँ टेन्डर गर्नुपर्दछ, सुरुङ बनिसकेको आयोजनाको निर्माणमा ढिलाइ गर्नु हुँदैन, नयाँ तालिका बमोजिम निर्माण सम्पन्न हुने सुनिश्चित गरी नयाँ टेन्डरको प्रक्रिया तत्काल अघि बढाउनुपर्छ ।’
ठेक्का सम्झौताको अवधि करिब ६१ प्रतिशत सकिँदा पनि भौतिक प्रगति एकदमै न्यून करिब १० प्रतिशत मात्र रहेको, प्रगति बढाउन कुनै तदारुकताका नदेखाएको, सम्झौताको प्रावधानअनुसार कामका सुधार गर्न सूचना जारी गर्दा समेत त्यसतर्फ कुनै चासो नदिएकाले पटेल—रमण जेभीसँगको ठेक्का टोडिएको थियो ।
आयोजनाले ठेक्का सम्झौता रद्दको प्रक्रियासँगै पटेल—रमण जेभीले कार्यसम्पादन जमानत वापत राखेको २ अर्ब ४० करोड र अग्रिम भुक्तानीको १ अर्ब २० करोड गरी ३ अर्ब ६० करोड रुपैयाँ बैंक ग्यारेन्टी जफतको प्रक्रिया अगाडि बढाइएको थियो ।
आयोजना निर्माणका लागि पटेल—रमण जेभीसँग १४ अर्ब ८ करोड ८ करोड रुपैयाँ (करसहित)मा ठेक्का सम्झौता भएको थियो । पटेल—रमण जेभीले अनुमानित लागतभन्दा करिब ३२ प्रतिशत कम रकम कबोल गरेको थियो । माघ २०७९ बाट काम सुरु गरेको थियो ।
असार २०८४ भित्र निर्माण कार्य सम्पन्न गर्नु पर्ने सम्झौतामा उल्लेख थियो । तर, हालसम्मको भौतिक प्रगति करिब १० प्रतिशत मात्र छ । हालसम्म २ अर्ब १४ करोड (करिब १५ प्रतिशत) रकम भुक्तानी गरिएको छ । आयोजनाको १३.३ किलोमिटर टनेल बोरिङ मेसिनको प्रयोग गरी खनिएको थियो ।
सुरुङ २६ वैशाख २०८१ मा छिचोलिएको थियो । सिन्धुली र रामेछापको सीमानामा रहेको सुनकोशी नदीको पानीलाई बाँध बनाएर सुरुङमार्फत मरिण नदीमा खसाली बागमती सिँचाइ आयोजनामा पुर्याइने छ ।
हाल सिँचाइ भएको ४५ हजार ६०० हेक्टर जमिनसहित धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको कुल १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरी सिँचाइ सुविधा पुर्याउने लक्ष्य रहेको छ । सुनकोशीको पानी मरिण नदीमा पथान्तरण गरी ३१ मेगावाटको जलविद्युत् आयोजना उत्पादन गरिने छ ।
मधेश प्रदेशका उर्वर भूमि रहेका पाँच वटा जिल्लामा वर्षैभरी सिँचाइ सुविधा पुर्याई कृषि उत्पादकत्वको वृिद्ध किसानको जीविकोपार्जनमा उल्लेख्य सुधार, जलविद्युत् समेत उत्पादन गरी सिंगो देशको अर्थतन्त्रमा टेवा दिनुको साथै प्रादेशिक सुन्तुलनमा समेत योगदान दिने भएकाले सुनकोशी मरिणलाई राष्ट्रिय गौरव तथा रुपान्तरणकारी आयोजनाका रुपमा कार्यान्वयनमा ल्याइएको हो । आयोजनाको अनुमानित लागत ४९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।
विद्युत् लाइन काटियो
उता, आयोजना निर्माणका क्रममा खपत गरेको विद्युत् महसुल नतिरेपछि पटेल—रमण जेभीको लाइन काटिएको छ । पटेल—रमण जेभीको नाममा १ करोड ११ लाख रुपैयाँ बक्यौता छ । वक्यौता रकम तिर्न पटक पटक ताकेता गर्दा समेत नतिरेकाले लाइन काटिएको नेपाल विद्युत् प्राधिकरण रामेछाप वितरण केन्द्रले जनाएको छ ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

