― Advertisement ―

नयाँ FCC राउटर नियमहरूले पुरानो ISP हार्डवेयर प्रयोग गरेर लाखौंलाई फसाउन सक्छ किनकि आपूर्ति श्रृंखलाले स्तरवृद्धि रोक्छ र सुरक्षा समाधानहरू जटिल बनाउँछ।

FCC मा पुरानो रुटहरू रहँदा नयाँ नियमहरू, FCC मा रहन नयाँ नियमहरू लामो समयसम्मसुरक्षा जोखिमहरू व्यापक रूपमा परिचित हुँदा पनि ISP ग्राहकहरूले राउटरहरू अपग्रेड...
HomeLatest news‘सिनियर पुस्ताको सहमतिमै नेतृत्व हस्तान्तरण गर्नुपर्छ’

‘सिनियर पुस्ताको सहमतिमै नेतृत्व हस्तान्तरण गर्नुपर्छ’



नेकपा एमालेमा नेतृत्व हस्तान्तरण कि यथास्थितिलाई अनुमोदन गर्ने भन्ने बहस चर्केको छ । दुई कित्तामा विभाजित भएर नेताहरूले आफ्ना कुरा सार्वजनिक गरिरहेका छन् ।

केपी शर्मा ओलीलाई तेस्रोपटक पनि अध्यक्ष बनाउनुपर्छ भन्नेहरूले मुलुकको संकटलाई देखाएर यथास्थितिको अडान लिएका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नयाँ अध्यक्ष बनाउनुपर्छ भन्नेहरूले पनि देशकै संकटलाई देखाएका छन् । तर उनीहरूले ओलीकै नेतृत्वमा संकट समाधान संभव नहुने बताइरहेका छन् ।

पोलिटब्यूरो सदस्य ठाकुर गैरे नेतृत्व परिवर्तनको पक्षमा उभिएका छन् । उनी भन्छन्, ‘सिनियर पुस्ताको लिडरसिपले एक ठाउँमा उभिएर पार्टीको एकतालाई बचाउन सहमतिका साथ नेतृत्व हस्तान्तरण गर्ने प्रक्रियामा जानुपर्छ ।’

प्रस्तुत छ, ठाकुर गैरेसँग अनलाइनखबरकर्मी सइन्द्र राईले गरेको कुराकानीको सम्पादित अंश:  

एमालेभित्र जस्तो शक्ति अभ्यास हुँदै आएकोे थियो । त्यसमा परिवर्तन देखिएको छ । यो स्वभाविक हो ?

भदौ २२ र २३ गते नेपालमा जुन घटना भयो, त्यसपछि नेकपा एमालेको आन्तरिक जीवनमा नेतृत्व हस्तान्तरणको बहस मुखरित भएर आयो । यथास्थितिमा चल्ने प्रक्रियाबाट मुक्त भएर पार्टी अग्रगामी बाटोमा जानुपर्ने आवश्यकता देखियो । पुनर्गठनको प्रश्न केवल केन्द्रीय कमिटी वा अध्यक्षको मात्र नभएर वडा र टोल स्तरसम्म मुखरित भएर आयो ।

यद्यपि यो विषय विधान महाधिवेशनमा पनि थियो । विधान महाधिवेशनमा एक प्रकारले जबरजस्ती तरिकाबाट ७० वर्ष उमेर हद हटाउने र दुई कार्यकालको अवधि नराख्ने कुरा भयो ।

तर भदौ २२/२३ जुन घटना भयो, त्यसले यो बहसलाई मुखरित ढंगले अगाडि ल्यायो । अहिले पार्टीभित्र नेतृत्वलाई यथास्थितिमा राख्ने वा नेतृत्व बदल्ने, र पार्टीको समग्र जीवनको पुनर्गठनको विषयमा दुई ध्रुवको सिर्जना हुन पुगेको छ ।

उमेर हदको व्यवस्था हटाएर प्रतिस्पर्धामा आउनु गलत थियो ?

अवश्य पनि । विगतमा हामीले गरेको विधानको व्यवस्था, जेनजी आन्दोलन र त्यसपछि विकसित राष्ट्रिय राजनीतिलाई मध्यनजर गरेर निर्णय लिइनुपर्थ्यो ।

आज म आएर हेर्दा एमालेले हतारमा यो महाधिवेशन गर्नु नै गलत भयो भन्छु । तर यो परिस्थितिमा जो ७० वर्ष उमेर पुगिसक्नुभएको छ र ५०–५५ वर्ष यो आन्दोलनमा योगदान गरिसक्नुभएको छ, उहाँहरूले अत्यन्त सम्मानजनक ढंगबाट बिदा हुने र एउटा सम्मानित संरचना निर्माण गरेर त्यहाँ बसेर पार्टी निर्माणमा योगदान गर्ने बाटोमा लाग्नुपर्ने थियो ।

प्रतिस्पर्धा गर्न आउनुपर्ने विषय थिएन । उहाँहरूको सामूहिक समझदारीमा नेतृत्व टुंग्याउने महाधिवेशनको रूपमा यसलाई लैजान सक्नुपर्‍थ्यो ।

केपी शर्मा ओली, ईश्वर पोखरेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य लगायत जो ७० वर्ष कट्नुभएको छ, उहाँहरूले सामूहिक रूपले बिदा हुनुपर्थ्यो ?

हो, जसले यो आन्दोलनमा लगातार ५५ वर्षको वरिपरि योगदान गर्नुभयो र उमेरले ७० काट्नुभएको छ, उहाँहरूले सामूहिक रूपले बिदा भएर यो पार्टीमा नयाँ ऊर्जा दिनेगरी योगदान गर्नु पर्थ्यो । यो ठूलो अवसर नेताहरूले गुमाउनुभयो भन्ने म ठान्छु । तर अझैपनि परिवर्तनको सन्देश दिन सकिन्छ, त्यो हिम्मत गनुपर्छ ।

नेतृत्व परिवर्तन भयो भन्ने सन्देश दिनु मुलुकको लागि हितकर हुँदैन । त्यसले विदेशीहरूले जितेको सन्देश जान्छ पनि भनिँदैछ नि ?

यो संकट केवल नेकपा एमालेका अध्यक्षको संकट भनेर बुझियो भने त्यो अपूर्ण हुन्छ । अध्यक्षमाथि कुनै आरोप आउँछ भने त्यो आरोप सिंगो एमालेको परिवारमाथि आएको आरोप हो भन्ने बुझ्नुपर्दछ ।

२३ र २४ भदौमा जस्तो घुसपैठ भयो । त्यसमा हामीले बुझ्नुपर्ने के छ भने त्यो परिस्थिति निर्माणको कारण आन्तरिक हो कि बाह्य हो ? बाह्य हस्तक्षेप छ, घुसपैठ छ । अनेक स्वार्थ समूहले नेपाललाई ‘डिप स्टेट’ बनाउने उद्देश्यका साथ गतिविधिहरू भएका छन् । तर त्यो परिस्थिति निर्माण हुने कुराको लागि आन्तरिक कारण चाहिँ महत्वपूर्ण छ भन्ने कुरालाई हामीले रियलाइज गर्नु पर्दछ । त्यसो भयो भने बल्ल हामी ठीक ठाउँमा जान सक्छौं ।

 

तपाईं केपी कमरेड र एमालेलाई छुट्याएर नहेर्ने कुरा गर्दै गर्दा जेनजी आन्दोलनमा त एमालेको विरुद्धमा नारा लागेको सुनिएन, त्यहाँ त केपी ओलीकै विरुद्धमा नारा लागेको थियो नि ?

त्यो कुरा छुट्टिनुपर्छ भन्ने कुरा स्वाभाविकै हो । तर फेरि, अध्यक्षको ठाउँबाट सोच्दा र हामीले अध्यक्ष भनेर हेर्दाखेरि पार्टीको अध्यक्ष आफैँमा संस्था पनि हो । त्यसकारणले अध्यक्षमाथि लागेका आरोपहरूलाई छुट्याएर हेर्नुपर्छ ।

अनाश्यक रुपमा लागेका आरोपहरूलाई खण्डन र प्रतिवाद गर्नुपर्दछ । यदि उठेका प्रश्नहरू जायज छन् भने त्यसलाई रियलाइज गर्नुपर्छ । र त्यसलाई सम्पूर्ण पार्टीले ओनरसिप लिने हिसाबले जानुपर्ने हो ।

तर हामीकहाँ भयो के भन्दाखेरि पछिल्लो समय एमालेको संस्थागत जीवन कमजोर भयो । पार्टीको आन्तरिक लोकतन्त्र बलियो हुन सकेन । पार्टी विधिसम्मत, विधानसम्मत चल्नुपर्थ्यो, त्यो चल्न सकेन । सामूहिकताको अभ्यास कमजोर हुँदै गयो । जसले गर्दाखेरि जस पनि एकजना नेतालाई दिने र अपजस पनि एकजना नेतालाई दिने परिस्थितिको निर्माण भयो । त्यस्तो नहुनुपर्ने हो ।

तपाईँले सुनाउनुभएको निष्कर्षमा नेतृत्व सहमत देखिन्न । अध्यक्षले त्यो आन्दोलन अराजक, आतंकवादी रहेको भन्दै हुनुहुन्छ नि ?

भदौ २३ र २४ गतेलाई दुई भागमा छुट्याएर हेर्नैपर्छ । २३ गते युवा पुस्ताले भ्रष्टाचारको अन्त्य हुनुपर्छ, सुशासन कायम हुनुपर्छ, बन्द भएका सामाजिक सञ्जाल खुल्नुपर्छ भनेर शान्तिपूर्ण प्रदर्शन गरे । त्यो अवधि करिब साढे तीन बजेसम्म रह्यो, र त्यस क्रममा भएको सरकारी दमन र त्यहाँ भएको विभत्स हत्या एउटा फरक विषय भयो । त्यसपछि त ‘घुसपैठ भयो’ भनेर उनीहरू स्वयं पछि हटे ।

२४ गतेको निष्कर्षमा त तपाईँहरू एकैठाउँ उभिनु भएको छ । तर विद्यार्थीहरूको हत्याको घटनामा लफडा पर्ने देखियो ?

त्यसमा म के भन्छु भन्दाखेरि २३ गतेको घटनामा छुट्टै इन्भेस्टिगेसन होस् । त्यसमा दोषी को हो ? सरकारको कमजोरी के हो ? त्यसभित्र पनि घुसपैठ थियो कि थिएन ? त्यसको निष्पक्ष इन्भेस्टिगेसन हुन जरुरी छ ।

अध्यक्षले सार्वजनिक फोरमहरूमा भन्दै हुनुहुन्छ कि मलाई अध्यक्ष हुनु अगाडि नै पक्राउ गरोस्, थुनोस्’ भन्ने हेतुले पार्टीभित्र गोली चलेको जिम्मेवारीको विषय उठाइएको छ । सत्य कुरा यही हो ?

यसलाई म के भन्छु भन्दाखेरि २३ र २४ को घटनालाई विषयवस्तु बनाएर पार्टीको आन्तरिक जीवनमा कलह पैदा गर्ने, जिताउने र हराउने विषयवस्तु बनाउने रुपले त्यो घटनालाई जोडेर जानुपर्छ भन्ने मलाई लाग्दैन ।

म त के भन्छु भने, सम्भव हुन्छ भने अहिले पनि सिनियर पुस्ताको लिडरशिपले एक ठाउँमा उभिएर पार्टीको एकतालाई बचाउन सहमतिका साथ नेतृत्व हस्तान्तरण गर्ने प्रक्रियामा जानुपर्छ ।

अध्यक्षले छोडेर अर्को व्यक्तिको नाममा सर्वसहमति गर्नुपर्छ ?

आज देशव्यापी कार्यकर्ता पङ्क्तिको, आम नेपाली जनताको चाहना के छ भने एकताबद्ध एमाले । आजको राष्ट्रिय आवश्यकता पनि एकताबद्ध एमाले हो ।

आज धेरै राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरू एमाले यो महाधिवेशनबाट विभाजित होस् भन्ने चाहना राखिराख्या छन् । देश संवैधानिक संकटमा छ, लोकतन्त्र स्वयं संकटमा छ । यस्तो बेलामा एमालेको नेतृत्वले पार्टीको आन्तरिक जीवनलाई एकताबद्ध गर्ने, सुदृढ बनाउने र गतिशील बनाउने कुरामा जिम्मेवारपूर्ण भूमिका आवश्यकता हो । त्यो भूमिका उहाँहरूले निर्वाह गर्नुभयो भने उहाँहरू अर्को स्यालुटयोग्य पात्र बन्नुहुनेछ ।

तर नेतृत्व परिवर्तनको कुरा उठाउनेहरूलाई भीम रावल बनाइने चेतावनी पनि दिइँदै छ नि ?

त्यस्तो कुरा सोच्ने नेताहरूले त भीम रावल लगायत हिजो विभिन्न कारणले छोडिएका सबै कमरेडलाई एमालेको झण्डामुनि गोलबन्द गर्ने परिस्थिति निर्माणमा लाग्नुपर्ने होइन र ! त्यो दायित्व उहाँहरूको होइन र !

बाहिर रहेकाहरूलाई ल्याउन भनेर एकातिर घरफर्क अभियान चलाउने, अनि अर्का तर्फ यहाँ भएको मान्छे बाहिरै हुन्थ्यो भन्ने चाहना राख्ने काम गर्नु हुँदैन ।

नेपालको कम्युनिस्ट आन्दोलनमा एमाले यसको मूल प्रवाह हो । यसमा सबैलाई हार्दिकतापूर्ण वातावरण निर्माण गरेर गोलबन्द हुने परिस्थितिको निर्माण गर्ने हो । आजको राष्ट्रिय राजनीतिमा आएका चुनौतीहरूलाई समाधान गर्न नेपालका सम्पूर्ण वामपन्थी शक्तिहरूसँग बृहत्तर सहकार्य गर्ने अवधारणा सहित एमालेले लिड गर्नुपर्छ ।

यो पृष्ठभूमि हेर्दा चितवन भाग–२ भन्दा धेरै टाढा जाँदैन होला भनेर टिप्पणी पनि भइरहेको छ नि ?

हामी स्वस्थ प्रतिस्पर्धा गरौँ भन्ने चाहन्छौं । पार्टीमा लामो समयदेखि योगदान गरेको हरेक कार्यकर्ताले यो महाधिवेशनमा निर्भयतापूर्वक आफ्नो मनोनयन दर्ता गर्ने, प्रतिस्पर्धामा भाग लिने र जे रिजल्ट हुन्छ, त्यो कुरालाई स्वीकार गरेर अगाडि बढ्ने परिस्थितिको निर्माण पार्टीको नेतृत्व चयनको प्रक्रियामा सुनिश्चित हुनुपर्छ ।

फेरि भिम रावल झैँ नेताहरूले पार्टी छोड्ने वातावरण बन्छ कि भन्ने चिन्ता त छ नि ?

भीम रावल उत्पादन… जताततै चर्चामा छ ।  पहिले टंक कार्की बनाइन्छ भन्थे । म के भन्छु भने सबै कम्युनिस्ट पार्टीलाई माया गर्ने, जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने सबै व्यक्तिहरू एमालेको झण्डामुनि गोलबन्द हुने परिस्थितिको निर्माण भयो भन्ने सन्देश यो महाधिवेशनले दिनुपर्छ । प्रतिस्पर्धा गर्दैमा पार्टीमा विभाजन हुन्छ भन्ने विचार सबैले त्याग्नु पर्दछ ।

पार्टीभित्र जुन प्रकारको अराजकता, अवसरवाद, बिचौलियाहरूको हाबी हुने प्रवृत्ति छ, त्यसको अन्त्य हुनुपर्‍यो । पार्टीभित्र न्यूनतम न्याय मर्दैन भन्ने कुराको ग्यारेन्टी त आम कार्यकर्ताले पाउनु पर्‍यो नि । त्यो परिस्थिति निर्माण हुन्छ भन्ने कुराको सन्देश सहित हामीले पोलिसी महाधिवेशन गर्नुपर्यो, र त्यसैलाई बोक्ने गरी नेतृत्व चयन गर्नुपर्‍यो ।

तर जबज पनि भन्ने, र कुनै व्यक्तिको नाममा एकताबद्ध पनि हौं भन्ने विरोधाभास त देखिन्छ नी ?

हामीसँग नेतृत्व त समयअनुसार बदलिँदै जान्छ, तर विचारले हामीलाई जहिले पनि लिड गर्छ । त्यसले गर्दाखेरि आज हामीले जनताको बहुदलीय जनवादी विचारको सिद्धान्तको वरिपरि गोलबन्द बनौँ।

र त्यो सिद्धान्तको वरिपरि गोलबन्द भएकाहरू मध्येबाट योग्यतम व्यक्तिलाई प्रतिस्पर्धाको माध्यमबाट नेतृत्वको चयन गरौँ । यो बाटोमा हिँड्नु पर्‍यो र यसलाई सबैले आत्मसात् गर्नु पर्‍यो ।

एमालेको लिडरशिप कस्तो हुनुपर्छ ? कस्तो मानिसलाई प्रतिनिधिहरूले भोट हाल्ने ?

बहसहरू एकदम व्यक्ति केन्द्रित बहस भइरहेको देख्छु । आज हामीले भनिरहेका छौँ, ‘जनताको बहुदलीय जनवादको प्रकाशमा समाजवादको आधार तयार गरौँ’ । यो आधार तयार गर्नका लागि रोजगारी सिर्जना गर्नु पर्यो, उद्यमशीलताको विकास हुनुपर्‍यो, उद्योग खुल्नुपर्‍यो, उत्पादन बृद्धि गर्नु पर्‍यो, अनि अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने ठाउँमा पुर्याउनु पर्‍यो । यो उद्देश्य हासिल गर्न पो हामीले नेतृत्व खोजेको हो नि !

र, सँगसँगै नेपालको राष्ट्रियताको झण्डालाई बुलन्दीका साथ बोक्ने, लोकतन्त्रप्रति प्रतिबद्ध भएको नेतृत्व एमालेको नेतृत्व बन्नु पर्ने हो । जुन जुन नेतृत्व विधिसम्मत चल्छ, सामूहिक ढंगले चल्छ र जसको भागीदार पनि सामूहिक रूपले बन्न तयार हुन्छ । यस्तो संस्कार जबजले खोजेको हो ।

पार्टीभित्र जुन प्रकारको अराजकता, अवसरवाद, बिचौलियाहरूको हाबी हुने प्रवृत्ति छ, त्यसको अन्त्य हुनुपर्‍यो । पार्टीभित्र न्यूनतम न्याय मर्दैन भन्ने कुराको ग्यारेन्टी त आम कार्यकर्ताले पाउनु पर्‍यो नि । त्यो परिस्थिति निर्माण हुन्छ भन्ने कुराको सन्देश सहित हामीले पोलिसी महाधिवेशन गर्नुपर्यो, र त्यसैलाई बोक्ने गरी नेतृत्व चयन गर्नुपर्‍यो ।

आजको देशको मुख्य समस्या के हो ? भ्रष्टाचार, कमिसन, बिचौलियातन्त्र । त्यसका विरुद्ध लड्ने नेतृत्व चाहियो नि हामीलाई ।

तपाईं विद्यार्थी आन्दोलनमा एउटा आइकन नेता हुनुहुन्थ्यो । लामो समयदेखि एमाले केन्द्रीय कमिटीमा हुनुहुन्छ, तपाईँले कस्तो नेतृत्व आउनुपर्छ भन्ने लाग्छ ?

कस्तो आउनुपर्छ भन्दा अहिले जो प्रतिस्पर्धामा आफूलाई तयार गर्नु भा’छ, उहाँहरूको बीचबाटै आउने कुरा भैहाल्ने भयो । जसले बहुमत प्राप्त गर्छ उहाँ आउने कुरा हुने नै भयो। त्यसमा म फ्रेस लिडरशिप आयोस् भन्ने चाहन्छु ।

दोस्रो कुरा, आजको विज्ञान र प्रविधिको दुनियाँमा कसैलाई भत्काउनलाई गोलाबारुद पनि नचाहिँदो रहेछ नि । आइटीबाटै सबै कुरा हुँदो रहेछ । हातहातको मोबाइलबाट सबै कुरा हुँदो रहेछ । भनेपछि हाम्रो लिडरशिपले त्यो उचाइबाट सोच्ने र भोलि एमालेको नेतृत्व माथिल्लो तहमा जाम भएर बस्दैन है भन्ने सन्देश दिनुपर्छ ।

अहिले ‘क्लाइमेट चेन्ज’को बहस छ । हिमाली क्षेत्रतिर भएका ठूलाठूला हिमतालहरू समय–समयमा खोलेर पानी नबगाउने हो भने त्यसले देशमा ठूलो डिजास्टर ल्याउँदो रहेछ । भनेपछि हामीले पनि हाम्रो माथिल्लो तहमा जुन प्रकारको नेतृत्व जाम भएर बसेको छ, त्यो जामलाई चाहिँ खोल्नु आवश्यक छ ।

त्यो जाम खोल्ने गरी तपाईंको उम्मेदवारी हुन्छ ?

अनेरास्ववियूको अध्यक्ष भएर पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनदेखि लगातार म केन्द्रीय कमिटीमा छु । म केन्द्रीय कमिटीमा आएकै १७–१८ वर्ष भयो । त्यसैले अब अलमलिएर बस्नु हुँदैन, अगाडि बढ्नु पर्छ भनेर प्रोत्साहन गरिराख्नु भएको छ । मैले त्यो प्रोत्साहनलाई स्वाभाविक पनि लिएको छु । अब पदाधिकारीमा मैले उम्मेदवारी गर्दाखेरि प्रतिनिधिहरूबाट न्याय हुन्छ, र मलाई देश र जनताको सेवा गर्ने जिम्मेवारी प्राप्त हुन्छ भन्नेमा म विश्वस्त छु ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More