― Advertisement ―

रोमानियाली ह्याकरहरूले व्यक्तिगत र भुक्तानी जानकारीलाई लक्षित गर्दै ठूलो फिसिङ जाल बनाएपछि लाखौंले नक्कली बुटहरूका सौन्दर्य प्रस्तावहरू प्राप्त गरे।

नक्कली इमेल ठेगानाहरू मार्फत लाखौं ठूलो संख्यामा पुग्यो। अभियानह्याकरहरूले उनीहरूको धोखाधडी बुट चेकआउट पृष्ठ होस्ट गर्न सरकारी वेबसाइट प्रयोग गरेरोमानियाली आक्रमणकारीहरूले सम्झौता गरिएको व्यापार...
HomeLatest news‘सरकारी कामकाजमा मातृभाषा कार्यान्वयनमा नीतिगत तथा व्यावहारिक जटिलता’

‘सरकारी कामकाजमा मातृभाषा कार्यान्वयनमा नीतिगत तथा व्यावहारिक जटिलता’



१ माघ, काठमाडौँ । सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन अझै पूर्ण रूपमा हुन नसकेको सरोकारवालाहरूले बताएका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) उपत्यका प्रदेश समन्वय समितिद्वारा बुधबार काठमाडौँमा आयोजित ‘फोनिज संवाद’ कार्यक्रममा सहभागी वक्ताहरूले बागमती प्रदेश सरकारले कामकाजी भाषाको रूपमा लागू गरेको नेपाल भाषा र तामाङ भाषाको कार्यान्वयनमा नीतिगत तथा व्यावहारिक जटिलता कायम रहेको बताएका हुन् ।

‘बागमती प्रदेश सरकारले कामकाजी भाषाको रूपमा प्रयोगमा ल्याइरहेको नेपाल भाषा र तामाङ भाषाको कार्यान्वयन, समस्या र चुनौती’ विषयक संवाद कार्यक्रममा ऐन आंशिक रूपमा कार्यान्वयनमा आए पनि आवश्यक विनियमावली निर्माण नहुँदा कार्यान्वयन प्रक्रिया जटिल बनेको धारणा व्यक्त गरिएको थियो ।

नेपाल आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले मातृभाषा संवैधानिक अधिकार भएको उल्लेख गर्दै त्यसको कार्यान्वयनका लागि आयोगले निरन्तर सरकारलाई सुझाव दिँदै आएको बताए । उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै कार्यान्वयनतर्फ अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

अध्यक्ष मगरले भने, “मातृभाषा संवैधानिक अधिकार हो भनेर आयोगले सरकारलाई सिफारिस गर्दै आएको छ । सरकारी कामकाजको भाषा बनाउने कानुन पनि बनिसकेको छ । अब ‘इफ’ र ‘बट’ भनेर बस्ने होइन, कार्यान्वयन गर्नुपर्छ ।” उनले सरकारले बनाएको कानुन कार्यान्वयन गर्ने दायित्व पनि सरकारकै रहेको उल्लेख गर्दै सबैले आ–आफ्नो जिम्मेवारी बुझेर अघि बढ्नुपर्नेमा जोड दिए ।

नेपाल सरकार ऊर्जा मन्त्रालयका सह–सचिव रुद्रसिंह तामाङले मातृभाषाको संरक्षण र प्रवर्धन समुदाय र घरदेखि नै सुरु हुनुपर्ने बताए । मातृभाषालाई सरकारी कामकाजको भाषा घोषणा गर्नु मात्र पर्याप्त नभई शिक्षा र व्यवहारमा प्रयोग बढाउनुपर्ने उनको भनाइ थियो ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले नीति बने पनि कार्यान्वयन हुन नसक्नु ठूलो समस्या भएको बताए । बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाको रूपमा अघि बढाइएको प्रक्रिया उपलब्धिमूलक भएको उल्लेख गर्दै उनले प्रदेशभित्र रहेका अल्पसङ्ख्यक भाषाको समेत सूची तयार गरी चरणबद्ध रूपमा कार्यान्वयन गर्न सुझाव दिए ।

कार्यक्रममा भाषा आयोगका कार्यबाहक सचिव डा. लोकबहादुर लोप्चनले ‘प्रदेश सरकारी कामकाजको भाषा कार्यान्वयन, सिकाइ र भावी कार्यदिशा’ विषयमा कार्यपत्र प्रस्तुत गरे । कार्यपत्रमा मातृभाषाका अनुवादक नियुक्त भए पनि कार्यालय प्रवेश गर्न नपाएको, ऐन तथा नियम निर्माणमा देखिएका समस्या, कार्यान्वयन गर्ने जिम्मेवार निकाय स्पष्ट नहुनु, अल्पसङ्ख्यक भाषाको सम्बोधन नहुनुजस्ता चुनौतीहरू उल्लेख गरिएको थियो ।

संस्कृति मन्त्रालयका उपसचिव तथा पर्यटन विभागका प्रमुख पवन पोखरेलले बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयन गर्न विभिन्न पहल हुँदै आएको बताए । वैशाख २४ गतेलाई भाषा दिवस घोषणा गरी सो दिन सार्वजनिक बिदा दिइनु मातृभाषाप्रतिको सम्मानको संकेत भएको उनको भनाइ थियो । बारम्बारको सरकार परिवर्तन र राजनीतिक अस्थिरताले समन्वयमा समस्या सिर्जना हुने गरेको पनि उनले बताए ।

नेपाल आदिवासी जनजाति महासङ्घ सङ्घीय परिषद्का महासचिव दिवस राईले मातृभाषालाई सरकारी कामकाजको भाषाको रूपमा कार्यान्वयन गर्न सिङ्गो समाज नै सक्रिय हुनुपर्ने बताए । संघीयता र संविधान लामो जनआन्दोलनको ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै उनले बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषा सरकारी कामकाजी भाषाका रूपमा कार्यान्वयन हुनु आदिवासी आन्दोलनकै महत्वपूर्ण उपलब्धि भएको धारणा राखे ।

फोनिजका अध्यक्ष लक्की चौधरीले मातृभाषा पत्रकारिता प्रवर्धनमा राज्यको लगानी अत्यन्त न्यून रहेको बताए । सबै मातृभाषालाई कार्यान्वयनमा ल्याउन शिक्षा क्षेत्रमा विशेष जोड दिनुपर्ने उनले बताए ।

भाषा आयोगको सिफारिसमा बागमती प्रदेश सरकारले २०८० चैत २३ गते ऐन बनाएर प्रमाणीकरण गरे पनि दुई वर्ष दुई महिना बितिसक्दा समेत तामाङ र नेवा भाषाको सरकारी कामकाजी भाषा रूपमा कार्यान्वयन सुस्त रहेको भन्दै सरोकारवालाहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।





Read More