― Advertisement ―

गुगलको क्वान्टम चेतावनीले बिटकोइन ईन्क्रिप्शन चाँडै असफल हुन सक्छ भनी क्यूबिट आवश्यकताहरू भविष्यको साइबर सुरक्षा जोखिमहरूको बारेमा धारणाहरू परिवर्तन गर्ने सुझाव दिन्छ।

क्वान्टम रिसोर्सको अनुमानको तुलनामा द्रुत गतिमा कमी हुन सक्छ अपेक्षितकम गरिएको क्यूबिट आवश्यकताहरूले सैद्धान्तिक आक्रमणहरूलाई व्यावहारिक वास्तविकताको नजिक ल्याउँछबिटकोइनको क्रिप्टोग्राफिक आधारहरूले क्वान्टम एल्गोरिथ्म दक्षतालाई...
Homeविचार/ब्लग‘वामपन्थीहरू हिँड्न छाड्नु हुँदैन, म दुरी बढाउदिनँ’

‘वामपन्थीहरू हिँड्न छाड्नु हुँदैन, म दुरी बढाउदिनँ’



१९ कात्तिक, काठमाडौं । वाम दलहरुबीच एकता र ध्रुवीकरणको श्रृंखला चलिरहेका बेला नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मंगलबार बेलुकी भेटवार्ता गरे । बुधबार बिहान उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट्ने बताएका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहितको ठूलो समूहले माओवादी केन्द्रसँग एकताको निर्णय गरिसकेको र रामकुमारी झाँक्रीसहितको टोली एमालेसँग एकताको तयारीमा रहेका समाचार आइरहेका बेला झलनाथले ओलीसँग र प्रचण्डसँगको भेटको श्रृंखला किन चलाइरहेका छन् ? यसै सन्दर्भमा नेता खनालसँग विनोद घिमिरेले गरेको कुराकानी –

हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा के कुराकानी भयो ?

म मेरो मेडमको उपचारको क्रममा छु । उपचार गर्ने सिलसिलामा उहाँले पनि जुन सद्‍भाव सहानुभूति प्रकट गर्नु भएको थियो, त्यसका लागि धन्यवाद दिन गएको हुँ । मैले धन्यवाद दिएँ । त्यो सिलसिलामा नेपालको परिस्थितिबारे सामान्य कुराकानी भयो ।

नेपालको परिस्थितिबारे के कुरा भयो ?

जेनजी आन्दोलन र त्यसबाट विकसित परिस्थितिबारे सामान्य चर्चा भयो ।

पार्टी एकता र फुटको श्रृंखला चलिरहेको छ । यसबारे कुराकानी भएन ?

केही पनि भएन ।

भर्खरै तपाईंको पार्टी फुट्यो । त्यहीबेला तपाईंहरुबीच भेट भएको छ । केही पनि कुरा भएन भन्दा त अनौठो लाग्ने के । ?

मानिसहरुलाई अनौठो लाग्न सक्छ । नेपालमा यस्तै अनौठा घटनाहरु भइरहेका छन् । भदौ २३-२४ को घटना तपाईंले कल्पना पनि गर्नुभएको थिएन । मान्छेले अनुमान गरेभन्दा बेग्लै घटना भइरहेका छन् । त्यस्तै त हो नि ।

तपाईंहरुलाई पुरानै घर फर्किनुस् भनेर केपी ओलीले आह्वान गर्नु भएको थियो । त्यसबारे पनि केही कुरा भएन ?

मैले सोधें उहाँलाई- यो वाम एकता अहिलेको प्रबल आवश्यकता बनिरहेको छ । त्यसबारेमा के सोच्नु हुन्छ ? भनेर । उहाँले वाम नै कहाँ छन् र ? कोसँग एकता गर्ने ? त्यो वाम नै देख्दै देखिँदैन, सबै स्वार्थी तत्वहरु मात्र देखिन्छन् । त्यसकारण वाम एकता भन्ने कुराको औचित्य आवश्यकता नै देख्दिनँ भन्ने कुरा गर्नुभयो । अनि त्यसमा लामो कुरा गर्ने कुरै भएन नि ।

तपाईंकै पार्टीका केही नेताहरुले पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ । यसबारे जानकारी छ ?

छैन । कसले गर्दै रहेछ ?

रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतले पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ । तपाईंलाई जानकारी छैन ?

ए हो ? मान्छेको आफ्नो आत्मनिर्णयको अधिकार हुन्छ । त्यो उहाँहरुको आत्मनिर्णयको अधिकार हो । अब यो नेपाली कम्युनिस्ट आन्दोलनमा उथलपुथल, विभाजन, पुनर्गठन, रुपान्तरण लगायतका प्रक्रियाहरु जारी छन् । त्यसमा विभिन्न व्यक्ति-व्यक्तित्वहरु आफ्नो ढंगले संलग्न छन् । उहाँहरुको हकको कुरा हो । त्यसमा मेरो भन्नु केही छैन ।

उहाँहरु एमालेमा मिसिने सम्भावनाका कुरा भइरहेका छन् । तपाईंसँग छलफल भएको छैन ?

मसँग छलफल त हुँदै आएको छ । छलफलको क्रममा एकताको प्रक्रिया अलि फराकिलो ढंगले कुराकानी गर्न पाएको भए हुन्थ्यो । पहिला नेकपा एकीकृत समाजवादीभित्रै यो चार वर्षको अवधिको राम्रो समीक्षा गरेर हामीले किन विद्रोह गरेका थियौं ? त्यो विद्रोह गरेर हामी कहाँ पुग्यौं ? अनि अहिले आएर अर्को पार्टीमा विलय हुने अवस्था कसरी सिर्जना भयो ? आदि कुराहरुको बारेमा अलि गहिरो गरी समीक्षा होस् भन्ने धेरैको चाहना थियो । त्यसका विपरीत पार्टी एकीकरण गर्ने ठाउँमा पुगिसक्यो । त्यसले गर्दा अलि तितरवितर हुने अवस्था बनेको छ । त्यसैका अभिव्यक्ति हुन् के यिनीहरु ।

तपाईंले एकीकरणका लागि चारवटा सर्त राख्नु भएको थियो । ती सर्तहरु अहिले पनि कायमै छन् कि बदलिँदो परिस्थितिमा केही फेरिएका छन् ?

मेरो त कायम छ त्यो । वामपन्थी बीचमा एकता गर्ने हो भने तिनीहरु नै आधारभूत सर्तहरु हुन् । त्यो कुरालाई पालना गर्नेहरु एक ठाउँमा आउन सक्छन् । त्यसलाई आवश्यक नठान्नेहरु आ–आफ्नो ढंगले हिँड्न सक्छन् ।

अहिले तपाईंबाट पनि छुट्टिएर एमालेमा जाने तयारीमा रहेकाहरुबारे के धारणा छ ?

म कुनै पनि समूहप्रति अहिलेको अवस्थामा शत्रुता हुन्छ नि, अनावश्यक नकारात्मकता सिर्जना गरेर जाने पक्षमा छैन । मेरो अपिल छ सबैलाई हामी साझा आधारमा एकताबद्ध भएर जाऔं । राष्ट्र संकटमा छ, यो संकटमा रहेको मुलुकलाई बचाउन सबै वामपन्थीहरु साझा आधारमा उभिएर अगाडि बढौं । यो अपिल मेरो निरन्तर रहन्छ, जारी रहन्छ ।

तपाईंले नयाँ पार्टी गठन गर्ने भनेर पनि समाचारहरु आएका थिए । त्यसको तयारी के छ ?

मैले केपी ओली कमरेडलाई भेटेँ । आज म प्रचण्ड कमरेडलाई पनि भेट्दै छु । उहाँहरु सबैसँग कुरा गर्छ म । जहाँ कमन ग्राउण्ड भेटिन्छ, कमन ग्राउण्डमा, कमन बाटोमा हिँडिहालिन्छ । त्यो भेटिएन भने आफ्नो बाटो तय गरेर हिँडिन्छ । हिँड्ने कुरा चाहिँ रोकिनेवाला छैन ।

मूल बाटो हिँड्ने सम्भावना छ कि तपाईंको आफ्नै गोरेटो बाटो छ ?

सकेसम्म मूलबाटो हिँडौं, साझा बाटो हिँडौं, भएन भने आफ्नै गोरेटो बाटो । हिँड्न चाहिँ पटक्कै नछोडौं ।

मैले भनेको छु नि चारवटा सर्तहरु । ती चार वटा सर्तहरु जसले स्वीकार गर्छ र मान्छ, त्यो समूहसँग मेरा निकटताहरु बढ्दै जान्छन् । जसले मान्दैन ऊसँग मेरो निकटता बढ्दैन, म दुरी पनि बढाउँदिनँ ।

तपाईंले भन्नुभएको छ नि हिँड्न छाड्नु हुँदैन भनेर । माधव नेपालहरु हिँडिसक्नु भयो । रामकुमारी झाँक्रीहरु पनि हिँड्ने निश्चित गरिसक्नु भयो । तपाईं तै एक्लै पर्ने सम्भावना पो देखियो त ?

ठिक छ । आज म प्रचण्ड कमरेडसँग पनि कुरा गर्छु । उहाँको दृष्टिकोण के रहेछ । उहाँहरुलाई पनि मैले धन्यवाद दिनुपर्ने छ । माधव नेपाललाई त पार्टी भित्रै भएको हुनाले मैले धन्यवाद दिइसकेँ । त्यो सिलसिलामा कुरा गर्छु म ।

यसको मतलब तपाईं एकता प्रक्रियाप्रति सकारात्मक हुनुहुन्छ ?

देशका सबै वामपन्थी साथीहरु साझा आधारमा एकताबद्ध बनौं । अरु कुनै विकल्प छैन । यदि देश, जनता, राष्ट्र, परिवर्तन, रुपान्तरण, समाजवाद, आदिको निम्ति काम गर्ने हो । राष्ट्रको स्वाधिनताको निम्ति काम गर्ने हो भने सबैले साझा आधारमा उभिनुको अर्को कुनै विकल्प छैन । त्यसमा अलि फराकिलो दृष्टिकोण बनाएर, फराकिलो छाति बनाएर हामी सबैले सोचौं र एक ठाउँमा आऔं ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More