― Advertisement ―

के तपाईं मास्टर्स 2026 नि:शुल्क हेर्न सक्नुहुन्छ? कसरी फाइनल राउन्ड बिना लागत स्ट्रिम गर्ने

The Masters 2026 आज रोरी McIlroy ले क्यामरन यंगसँग लिडरबोर्डमा शीर्ष स्थानमा रहेको निष्कर्षमा पुग्छ। आठ खेलाडीहरू मात्र चार शटहरूद्वारा छुट्याएर यो एकदमै कडा...
HomeLatest newsरुसी युद्धमा बाँचे, नेपाल आएर गोली खाए – KhabarHost

रुसी युद्धमा बाँचे, नेपाल आएर गोली खाए – KhabarHost



१७ मंसिर, काठमाडौं । प्रकाश नढलेका भए यतिबेला कतारमा हुने थिए । तर तीन महिनायता उनी ट्रमा सेन्टरको शय्यामा छन् । २३ भदौपछि प्रकाशको प्रकाश नै बदलियो । ‘यसले देशको माया मान्यो । रगत बगायो,’ आमा नन्द बोहराले सुनाइन् । दैलेख नारायण नगरपालिका–८ का प्रकाश बोहरा पनि २३ भदौमा जेनजी आन्दोलनमा होमिएका थिए । नयाँ बानेश्वरमा गोली लागेर ढलेका थिए । आन्दोलनमा रक्ताम्य भएको जुत्ता प्रकाशको थियो ।

जुत्ता जेनजी आन्दोलनको आइकन बनिरहँदा उनी भने अस्पतालको शय्यामा आशा र निराशाको दोसाँधमा देखिए । ‘तीन महिना पुग्न लाग्यो । खुट्टा राम्रोसँग चलेको छैन,दायाँबायाँ हुदैन । थेरापीले ठिक हुन्छ कि,’ उनी मलिन सुनिए ।

तस्वीर : दिनेश गौतम/अनलाइनखबर

प्रकाशको मेजर र माइनर गरेर चार वटा अप्रेसन भयो । अब डिस्चार्ज हुने तयारीमा छन् । ‘१४ दिन आईसीयू । त्यसपछि एचडीयू हुँदै अहिले क्याबिनमा छु । अब डिस्चार्ज हुने योजना छ,’ उनले भने ।

त्यसपछि जीवनको लय कता मोडिने हो अनिश्चयमा छन् प्रकाश । खुट्टामा रड हालेको छ । हड्डी भाँचिएको छ । ‘खुट्टा जोगाउन अप्रेसन गरेर रड राखेको छ । डेढ वर्षपछि अर्को अप्रेसन गर्नुपर्छ । नसा तान्न मिलेको छैन । खुट्टा छोटो भएको छ,’ परिवर्तनका लागि गोली खाएकोमा मन ठूलो बनाउँछन् प्रकाश ।

र, २३ भदौमा फर्किन्छन् उनी ।

आन्दोलन अघि सामाजिक सञ्जालमा नेपोबेबी अभियान चलिरहेको थियो । देशको बेथिति देखेर प्रकाशलाई भित्रैदेखि रिस उठ्थ्यो । बेथितिविरुद्ध प्रकाश र उनको सालो भाइ विप्लव १२ बजेतिर माइतिघर पुगे । बाइक पार्किङ गरेर नयाँ बानेश्वरतर्फ लागे । नारा जुलुसमा सहभागी भए । बानेश्वर पुग्दा अश्रुग्यास प्रहार भइरहेको थियो । उनी फर्किएर बिजुलीबजारतिर आए । ‘फेरि फर्किएर बानेश्वरतर्फ नै गएँ,’ उनले भने ।

कोही युवा संसद् भभवनको पर्खालको इँट्टा निकालिरहेका थिए । कोही रेलिङ तानिरहेका थिए । एउटा रेलिङ झुन्डिरहेको थियो । त्यो रेलिङ तान्न प्रकाश अगाडि सरे । ‘ड्वाङ् गोली चल्यो । मेरै खुट्टामा लागेछ । सर्न खोजेको सकिन,’ उनीसँगै गएको उनको सालो भाइले खिचेको भिडियो देखाउँदै उनले भने ।

एकजानले गोली लागेको खुट्टामा लगाएको जुत्ता खोल्देउ न भनेको उनलाई याद छ । त्यही जुत्ता बानेश्वर चोकमा थियो । जुन जुत्ता आन्दोलनको आइकन बन्यो । उनको त्यो जुत्ता हामीले कैद गरेका थियौं । अस्पताल पुग्दासम्म उनी होसमै थिए । ‘अप्रेसन थियटरमा लगेपछि केही थाहा भएन,’ उनले भने ।

८ दिनपछि सालो भाइ प्रकाशलाई भेट्न अस्पताल पुगे । ‘भिनाजु जुत्ता त भाइरल छ नि,’ बल्ल प्रकाशले थाहा पाए । खुट्टामा गोली लागेको छ । उनले खासै वास्ता गरेनन् । तर ११औँ दिनमा अस्पतालको सिस्टरसँग मोबाइल मागेर उनले सामाजिक सञ्जाल खोले । जहाँ उनको रक्ताम्य भएको जुत्ता भाइरल भएको थियो । ‘यसो हेर्छु त जुत्ता त मेरै छ । जतातै भाइरल छ,’ उनी आश्चर्यमा परे ।

उनको रक्ताम्य जुत्ताको शालिकदेखि पोस्टरसम्म बनेको छ । आन्दोलनको बलमा सरकार बनेको पनि ९० दिन पुग्न लाग्यो । ‘तर हामीले चाहेको जस्तो काम भएको छैन । देशका लागि गोली खाएकोमा गर्व लाग्थ्यो । तर अहिले निराशा छाएको छ । सुशासन होला । पहिला नचाख्न पाएको स्वाद पाइएला कि भन्ने थियो, त्यो भएको छैन,’ अस्पतालको शय्यामा उनी सुशासन पर्खिरहेका छन् ।

रुसी सेनाबाट फर्किएका थिए

प्रकाशलाई सानैदेखि आर्मी बन्ने रहर थियो । उनले इन्डियन आर्मीमा पनि गए तर उनको इच्छा पूरा हुन सकेन ।  एचए अध्ययन गरेका प्रकाशले केही समय प्रोजेक्टमा काम गरे । यहाँ भविष्य नदेखेपछि उनी सन् २०२३ मा विद्यार्थी भिसामा रुस पुगे । जहाँ रुस र युक्रेन युद्ध चलिरहेको थियो । रुस पुगेपछि उनी रुसी सेनामा भर्ती भए । साढे १७ महिना उनी रुसी सेना भएर काम गरे । उनीसँगै भर्ती भएका कति नेपाली साथी त्यतै ढले । कति अंगभंग भए । तर उनी सकुशल काम सकेर नेपाल फर्किए । ‘उता ज्यान जोगियो । नेपाल आएर गोली खाइयो,’ उनले भने ।

अझै उनको ४–५ वर्ष उपचारमै जाने छ । साथमा परिवार छ । तर कसरी चलाउने भन्ने चिन्तामा छन् प्रकाश । ‘मेरो करिअर बनाउने समय थियो । बुनेको सपना एकातिर छ । तर टुटेको महसुस भएको छ । हिँड्न सक्छु कि सक्दिन भनेर मन आत्तिन्छ,’ उनी भन्छन्, ‘डाक्टरले खुट्टा चल्न नि सक्छ नचल्न नि सक्छ भन्नु भएको छ । मनोबल बेलाबेला गिरेको जस्तो हुन्छ ।’

तर उनीसँगै अस्पतालमा आमा, श्रीमती र १७ महिनाको छोरा साथैमा थिए । आमा नन्दले प्रकाशलाई ढाडस दिन्छिन् । ‘हाम्रो आधार नै यही हो । बाबा पनि औषधि खाएर बाच्नु हुन्छ ।  तिमी सन्चो हुनपर्छ,’ छोरलाई ढाडस दिँदै गर्दा आमाका आँखाबाट आँसु झरे ।

प्रकाश हिँड्न सक्ने हो कि होइन भनेर आमा नन्दलाई पिरोल्छ । ‘लामो उपचार छ । बुबा आमालाई केही गर्ने सोचेको थियो होला । सानो १७ महिनाको छोरो छ । उसलाई पढाउनु पर्ने छ । भोलिका दिनमा के हुने होला । सरकारले हेर्नुपर्ने त हो,’ आमा नन्द सरकारप्रति आशा गर्छिन् ।

फेरि छोराको खुट्टामा जुत्ता लगाउने दिनको प्रतीक्षामा छिन् आमा । ‘गोली खाएर छोराको जुत्ता रक्ताम्य भयो । फेरि खुट्टामा जुत्ता लगाएर हिँड्ने दिन आओस्,’ उनी प्रतीक्षा गर्छिन् ।

आश्वान मात्र कहिलेसम्म ?

आश्वासनको पोका बोकेर सरकारी निकायका मान्छेहरू प्रकाशलाई भेट्न अस्पताल पुग्छन् । गृहमन्त्री, अर्थमन्त्री, स्वास्थ्यमन्त्री, शिक्षामन्त्री पुग्नु पर्ने सबै पुगिसकेका छन् । उनले जेनजी आन्दोलनको घाइतेको कार्ड पनि पाएका छन् ।

तर त्यो कार्डले के काम गर्छ ? सरकारी निकायलाई प्रकाश प्रश्न गर्छन् । तर स्पष्ट जवाफ पाएका छैनन् । ‘म दैलेख घर जान्छु । घर नजिकै जिल्ला अस्पताल छ । त्यहाँ यो कार्डले मेरो उपचार हुन्छ त ?  यसबारे सरकारले स्पष्ट भनेको छैन,’ प्रकाश गुनासो गर्छन् । कार्डको औचित्य स्पष्ट पार्न सरकारलाई उनको अनुरोध छ । प्रकाश आफ्मात्र होइन, जेनजी आन्दोलनका शहीद र घाइते सबैको आवाज बोल्छन् ।

‘घाइते र मृत्यु भएकाको परिवारलाई योग्यता अनुसारको सरकारले जागिर दिनुपर्छ । यसमा सरकारले निर्णय गर्नुपर्छ । हाम्रै बलमा बनेको सरकारले केही गरेन भने पहिलाको सरकारकोभन्दा नराम्रो असर पर्छ,’ उनी शय्याबाट सरकारलाई झकझकाउँछन् ।

सरकारलाई प्रश्नैप्रश्न

कतै सरकारले बाटो बिराउँदै गएको त होइन भन्ने संशय छ प्रकाशलाई । ‘आन्दोलनको उपलब्धि खतरामा परेको त होइन ? जेनजीले तपाईंलाई प्रधामनन्त्रीको कुर्सीमा पुर्‍याए । अहिले बिर्सन भएको त होइन ?,’ उनी प्रधानमन्त्री सुशीला कार्कीलाई प्रश्न गर्छन् ।

आन्दोलनको दोस्रो दिन २४ भदौमा कार्कीले दिएको अभिव्यक्तिले प्रकाशको मन बलियो भएको थियो । तर अहिले प्रधानमन्त्री कार्कीको बोली फेरिँदै गएकोमा उनी निराश छन् ।

‘आन्दोलनमा गोली चलाउनेलाई किन कारबाही हुँदैन ? पहिला भ्रष्टाचार पाँच दिनमा रोक्न सकिन्छ भन्नु हुन्थ्यो । अहिले तीन महिना भयो खोइ के भयो ?,’ प्रकाशसँग यतिबेला प्रश्नैप्रश्न मात्र छन् । उनी सरकारसँग सुशानको अपेक्षा राख्छन् । ‘हाम्रो बलिदान यतिकै खेर नजाओस् । अझैं आशा मरेको छैन,’ प्रकाश कुराको बिट मार्छन् ।

तस्वीरहरू : शंकर गिरी/अनलाइनखबर





Read More