काठमाडौं, साउन १
राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा)का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले बुधबार पार्टीको केन्द्रीय कार्यालय चमतीमा सपथ ग्रहण गरेका छन् ।
नवनिर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गर्नुअघि पार्टी अध्यक्ष रवि लामिछानेले केन्द्रीय कमिटी सदस्यहरुलाई सपथ गराएका थिए । उहाँले केन्द्रीय समितिका सदस्यहरुलाई प्रमाण पत्र र प्रतीकात्मक पार्टी घण्टी पनि उपहार दिनुभयो।
पार्टीको गत असार २१ देखि २६ गतेसम्म भरतपुर, चितवनमा भएको पहिलो महाधिवेशनमा नयाँ नेतृत्व चयन गरिएको हो ।
अधिवेशनले पार्टीका पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ।
नव निर्वाचित पदाधिकारीहरू
- अध्यक्ष: रवि लामिछाने (निर्विरोध निर्वाचित; सपथ लिइसकेका थिए)
- उपाध्यक्ष (खुला): डा स्वर्णिम वाग्ले (निर्विरोध)
- उपाध्यक्ष (महिला): शोविता गौतम
- महासचिव: विपिनकुमार आचार्य
- सहमहासचिव: असिम शाह, हरि ढकाल र निशा डाँगी
केन्द्रीय समितिमा खुला, समावेशी र प्रादेशिक विधामा निर्वाचित जनप्रतिनिधिहरु रहेका छन् । पार्टीले खस/आर्य, आदिवासी, थारु, मधेसी, दलित र मुस्लिम समुदायका साथै सात प्रदेशबाट पाँच–पाँच जना प्रतिनिधि निर्वाचित गरेको थियो।
पार्टीको उद्घाटन महाधिवेशनको दोस्रो चरणमा केन्द्रीय कमिटी सदस्यका लागि मतदान सकिएपछि पदाधिकारी चयन गरिएको थियो ।

