― Advertisement ―

गुगलको क्वान्टम चेतावनीले बिटकोइन ईन्क्रिप्शन चाँडै असफल हुन सक्छ भनी क्यूबिट आवश्यकताहरू भविष्यको साइबर सुरक्षा जोखिमहरूको बारेमा धारणाहरू परिवर्तन गर्ने सुझाव दिन्छ।

क्वान्टम रिसोर्सको अनुमानको तुलनामा द्रुत गतिमा कमी हुन सक्छ अपेक्षितकम गरिएको क्यूबिट आवश्यकताहरूले सैद्धान्तिक आक्रमणहरूलाई व्यावहारिक वास्तविकताको नजिक ल्याउँछबिटकोइनको क्रिप्टोग्राफिक आधारहरूले क्वान्टम एल्गोरिथ्म दक्षतालाई...
Homeविचार/ब्लगराजनीतिले खोजेको रचनात्मक हस्तक्षेप – KhabarHost

राजनीतिले खोजेको रचनात्मक हस्तक्षेप – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • बेरोजगारी, भ्रष्टाचार र कुशासन नै राष्ट्रका मूलभूत समस्या हुन् । यसको समाधान शिक्षा, रोजगारी, स्थानीय सरकारमार्फत् गर्नुपर्छ।
  • राजनीति गर्न समयको पाबन्दी चाहिन्छ र अधिनायकवाद सिर्जना हुन नदिन एक पद एक व्यक्ति र पार्टी वा सरकारमा दुई कार्यकालभन्दा बढी रहन नपाउने व्यवस्था हुनुपर्दछ।
  • हाम्रो राष्ट्रको अब इतिहासमा भएका गलत निर्णयहरु नदोहोर्‍याउन र सुन्दर नेपालको निर्माण गर्न, योजनाकारहरू, नेतृत्व दिन सक्ने राष्ट्र सेवकहरु अगाडि बढ्नुपर्छ।

अहिले राजनीतिमा हस्तक्षेप किन जरुरी छ भन्ने प्रश्नमा प्रवेश गर्नुअघि म आफ्ना बारेमा केही भन्न चाहन्छु । मलाई लाग्छ, जीवनको सबैभन्दा ठूलो उपलब्धि ‘खुसी’ हो । मेरो विचारमा जीवनका हरेक पलमा नयाँ सोच, सिर्जनशीलता, करुणाभाव, नियमको पालना र इमानदारीपूर्वक गरिएको कार्यले नै साँचो खुसी प्रदान गर्छ ।

जीवन दर्शन

यदि कुनै कार्य गर्न सकिन्थ्यो तर नगरी बसियो वा गलत तरिकाले गरियो भने आत्मग्लानि हुन्छ । त्यसले आर्जन गरेको खुसी पनि हराउँछ । मैले अहिलेसम्म गरेका कामहरुमा कुनै आत्मग्लानि छैन — त्यसैले म खुसी छु ।

मेरो विवाह ३५ वर्षअघि भएको हो । मेरो दुई छोरीहरु छन्, जो आआफ्ना क्षेत्रमा अगाडि बढिरहेका छन् ।कर्मक्षेत्रमा मैले राष्ट्रिय सम्पत्तिका रुपमा दुई उद्योगहरु स्थापना र सञ्चालन गरेको छु । यी दुबै उद्योगले रोजगारी सिर्जना गर्नका साथै राष्ट्रको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिएका छन् — एकले आन्तरिक हवाई उड्डयन क्षेत्रलाई र अर्कोले कृषि अर्थतन्त्रलाई चलायमान बनाएको छ ।

यी उद्योगहरुले आज पनि मलाई वार्षिक प्रतिफल दिइरहेका छन् । मिहेनत गरेर उद्योग स्थापना र सञ्चालन गरेको यसको प्रतिफल पनि राम्रै पाएको छु । जसले मेरो बाँकी जीवन सहज र सन्तुलित बनाएको छ ।

अब यी उद्योगहरुलाई संरक्षण र प्रवद्र्धन गर्दै, सबै कर्मचारीले स्वामित्व ग्रहण गर्न सकेमा यी कम्पनीहरु दीर्घकालीन बन्नेछन् भन्ने मेरो विश्वास छ ।

अब म ६२ वर्ष पुगेको छु । पहिले दु:ख र मिहेनत गरेकोले अहिले सबै मोडमा खुसी प्राप्त गरेको छु । परिवार पनि ठूलो भएको छ, नातिनीसमेत पाइसकेको छु । अब मेरो जीवनको ‘दोस्रो इनिङ्स’ सुरू भएको छ ।

राष्ट्रलाई माया गर्ने अरु नेपालीजस्तै मलाई ‘राष्ट्रको बेथिति’प्रति गहिरो चिन्ता छ । बेरोजगारी र भ्रष्टाचार नै आजको सबैभन्दा ठूलो समस्या भन्ने मेरो बुझाइ छ । अबको दोस्रो इनिङ्समा यी समस्याहरुको समाधानका सम्भावना खोज्ने र कार्यान्वयन गर्ने प्रयास गर्न चाहन्छु ।

सिर्जनशील र व्यवस्थापकीय सामर्थ्य भएका व्यक्तिहरु अब मुकदर्शक रमिते भएर बसियो भने राष्ट्र अझ गहिरो खाल्डोमा फस्ने निश्चित छ । यसको दोष भावी पुस्ताले हामीलाई नै दिनेछन् र यसले आत्मग्लानी निम्ताउँछ । त्यसैकारण राष्ट्रका प्रमुख समस्या र त्यसका समाधानहरु के के हुन् त भन्ने औंल्याउन जरुरी छ ।

प्रमुख समस्या र समाधानका दृष्टिकोण

बेरोजगारी, भ्रष्टाचार र कुशासन नै राष्ट्रका मूलभूत समस्या हुन् । यसको समाधान शिक्षा, रोजगारी, स्थानीय सरकारमार्फत् गर्न सकिन्छ । यी विषयलाई निर्दिष्ट दिशा दिएर प्रगतिपथमा अगाडि बढ्न सकिन्छ भन्ने हाम्रो ठहर छ ।

१. शिक्षा : विशेषगरी माध्यमिक शिक्षाको स्तर प्रणाली नै धराशायी भएको छ । हाल लगभग ५० लाख विद्यार्थीले शिक्षा हासिल गरिरहेका धेरैजसो सामुदायिक स्कुलको पठनपाठनमा गुणस्तर कमजोर छ । सिधाभन्दा हामी अर्धशिक्षित जनशक्ति तयार पारी राखेको छौं । भविष्यका सन्ततिलाई बेरोजगारीतर्फ धकेल्दै छौं ।

हामीले यस समस्या समाधानका लागि सूचना प्रविधिमा आधारित माध्यमिक शिक्षाको परीक्षण गर्दैछौं । यसलाई देशभरि कसरी लागु गर्न सकिन्छ भनेर मंसिर पहिलो सातामा विस्तृत कार्यक्रम सार्वजनिक गर्न लागेका छौं । गुणस्तरीय एवं व्यवहारिक शिक्षा प्रदान हुने बित्तिकै रोजगारी र उद्यमशीलता स्वतः अगाडि आउने छन् ।

२. दिगो रोजगारी र उद्यमशीलता : दिगो रोजगारी सिर्जना गर्ने मूलभूत दुईवटा निकायहरु छन् । एक सरकारी निकायहरु र अर्को निजी उद्योग/ व्यापार । सरकारी निकायको दरबन्दी पुनरावलोकन गर्ने बेला भएको छ । एकीकृत कम्प्युटर प्रणाली स्थापित भएपछि के कति रोजगार आवश्यकता छ वा घटबढ छ भने दरबन्दी मिलान गर्नुपर्छ । प्रशासनिक व्ययभार एवं खर्चलाई विस्तारै घटाउँदै लग्नुपर्छ ।

अब देशभित्रै रोजगारी सिर्जना गर्न उद्यमशीलताको आवश्यकता छ । अवसर प्राप्त गरेको खण्डमा उद्यमीहरुले उद्योग/व्यवसाय व्यक्तिगत रुपमा नियमसम्मत सञ्चालन गरेर समाजमा गतिशीलता ल्याउँछन् र सँगसँगै रोजगारीका थप ढोकाहरु उजागर गर्दै लान्छन् ।

हामीले समतामूलक उद्यमशीलतालाई पहिचान गरी धेरैभन्दा धेरै उद्यमी सामूदायिक रुपले सहकार्य गर्ने अवस्थाको पहिचान गरेका छौं । यसबाट रोजगारी पनि पर्याप्त सिर्जना गर्न सकिन्छ । दिगो रोजगारी र उद्यमशीलताका तीन खम्बाहरु छन् :

क. कृषि : नेपालको कृषियोग्य जमिन विखण्डित स्वामित्वमा रहेको छ । उत्पादनको मूल्य फाइदाजनक नभएकोले कृषि निर्वाहमूखीकै चंगुलमा जकडिएको छ । हामीले प्रमाणित गरेको धान खेतीको मूल्यश्रृंखलालाई अब देशभरि स्थानीय सरकारको नेतृत्वमा अनुसरण गर्नुपर्छ ।

स्थानीय निकाय वडा अन्तर्गतको सम्पूर्ण खेतीयोग्य जमिनलाई मौसम अनुसारको उपयुक्त पैदावारको खेती गरि सो पैदावारको प्रथम उत्पादनलाई औद्योगिकरण जस्तै धानलाई चामल, तोरीलाई तेल, मकैलाई दानामा उत्पादन गर्न सकिन्छ ।

सामुदायिक उद्यमशीलता (प्रथम अधिकार उत्पादक किसानलाई लगानीको अवसर) हुने गरी बजार व्यवस्थापन गरेको खण्डमा राष्ट्रिय अर्थतन्त्र आमूल फड्को मार्नेछ र दिगो रोजगारी सिर्जना हुनेछ ।

यो कार्यक्रम अन्नबाली जस्तै तरकारी फलफूल एवं पशुपालनमा पनि लागुहुनेछ । यस कार्यक्रमको अवधारण र नतिजा हामी निकट भविष्यमा सार्वजनिक गर्न लागेका छौं ।

ख. पर्यटन : हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्राफिक व्यस्तता तथा पर्यटक आगमन दरसँग दाँज्ने हो भने यसको औचित्य लगभग पूरा भइसकेको छ । यसभन्दा बढी पर्यटक यसले धान्न सक्दैन । तसर्थ यो विमानस्थल पूर्णभइसकेको छ । वर्षको ११ लाख पर्यटकमा ३–४ लाख गैरआवासीय नेपाली छन् ।

त्यसैले अब गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवालाई पूर्ण प्रयोगमा ल्याउनुपर्छ । यस विमानस्थलबाट सिधा अन्तरमहादेशीय उडान जस्तै अमेरिका/क्यानडाको पूर्व तटीय सहर न्यूयोर्क र पश्चिम तटीय सहर लस एन्जलस भर्न सकिन्छ र वर्षका ५ लाख पर्यटकको दरले दश वर्षभित्र ५० लाख पर्यटकको आगमन गराउन सकिने छ । जसले वर्षको तीन लाख गरी १० वर्षमा ३० लाख रोजगारी सिर्जना गर्न सकिने छ ।

यस कार्यक्रमले पर्यटन उद्योगमा देशभरि प्रचुर सम्भावना सिर्जना गर्नेछन् । हाम्रो कार्यक्रम भूईँमान्छेको सहभागितामा ग्रामीण पर्यटन उदाहरणको लागि नवलपरासीको थारु बस्ती अमलटारी गाउँ र गुरुङ समुदायको घलेगाउँजस्तो कार्यक्रम देशको कुनाकाप्चामा सामुदायिक उद्यमशीलता अन्तर्गत सञ्चालन गर्न सकिन्छ । यो कार्यक्रम पनि हामी सार्वजनिक गर्दैछौं ।

ग. सूचना प्रविधि/ उद्योग-रोजगारी : आईटी समाविष्ट शिक्षा प्रणाली लागु गरेपछि निकट भविष्यमै अनिवार्य रुपले बुझ्ने र अध्ययन गर्ने पर्याप्त जनशक्ति पैदा हुनेछन् । स्वफूर्त आईटी उद्योगले प्रसय पाउनेछन् र हालको अवस्थाले प्रमाणित गरेझैं आफ्नै तदारुकतामा स्वदेशीविदेशी आई उद्योगमा धेरै नेपालीहरु आवद्ध भएर घरैबाट काम गर्न सक्ने अवस्था सिर्जना हुन्छ ।

यसको प्रयोग आमजनले पनि विस्तारै गर्नेछन् । राष्ट्रमा सूचना प्रविधि र डिजिटल रुपान्तरणको लागि छुट्टै मन्त्रालय स्थापना हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । यसले रोजगारी र उद्यमशीलता मात्र होइन, शासकीय स्वरुप र सरकार सञ्चालनको हरेक अंगलाई विश्वको बदँलिदो परिवेशमा नेपाललाई समानान्तर रुपमा स्थापित गरिनेछ । डिजिटल रुपान्तरणले कामकारबाही छिटोछरितोका साथै भ्रष्टाचारमाथि लगाम कस्न पनि मद्दत पुग्नेछ ।

यससम्बन्धी कार्यक्रम पनि हामी सार्वजनिक गर्न लागेका छौं।

३. स्थानीय सरकार

हाम्रो राष्ट्रको सुशासन, रोजगारी र समतामूलक उद्यमशीलताको मुख्य साधन ‘स्थानीय सरकार’ रहेको हाम्रो ठम्याई रहेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले निर्देशित गरेका बुँदाहरु अक्षरशः कार्यान्वयन गर्दा धेरैजसो समस्या पालिकाबाटै समाधान हुने देखिन्छ।

मुख्यगरि रोजगारी (वैदेशिक र आन्तिरक) को अभिलेख राख्ने र रोजगारी प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने, सामुदायिक उद्यमशीलता मुख्य गरी कृषि पैदावरलाई प्रथम चरणको उद्योगमा रुपान्तरण गर्ने, आधारभूत स्वास्थ्य सेवा, विद्यालय शिक्षा र शान्तिसुरक्षा र न्याय सम्पादन स्थानीय सरकार विशेषगरी वडास्तरबाटै सञ्चालन गरिनुपर्छ । यससम्बन्धी योजना हामी मंसिर अन्तिमतिर सार्वजनिक गर्नेछौं पार्टीका अन्य कार्यक्रम र कार्यान्वयन हाम्रो घोषणापत्रबाट सार्वजनिक गराउने छौं ।

अबको राजनीतिक पार्टी

अबको राजनीतिक पार्टी सेवा र त्यागको भावनाले र्सिजित हुनुपर्छ । पेसाको लोभले होइन । सेवा र त्यागले अनन्तकालको लागि पनि गर्न सकिँदैन । यसका लागि सिर्जनशीलता एवं एकाग्रता चाहिन्छ र यो चलायमान हुन्छ ।

उमेर पुग्दै गएपछि यो कम हुँदै जान्छ साथै जिन्दगीभर सेवा र त्यागमा मात्र तल्लीन भई घरव्यवहार परिवारको आम्दानी खर्च पुर्‍याउन सक्ने व्यक्तिहरुको संख्या निकै थोरै छ । त्यसैकारण राजनीति गर्न समयको पाबन्दी चाहिन्छ र अधिनायकवाद सिर्जना हुन नदिन एक पद एक व्यक्ति र पार्टी वा सरकारमा दुई कार्यकालभन्दा बढी रहन नपाउने व्यवस्था हुनुपर्दछ ।

यही उद्देश्यले हामी गतिशील लोकतान्त्रिक पार्टी स्थापना गरेका छौं । चुनावमा २० प्रतिशत भन्दा बढी मत जितेको खण्डमा मात्र सरकारमा जानेछौं । नत्र सशक्त विपक्षीको भूमिका निर्वाह गर्छौं ।

राजनीति गर्न समयको पाबन्दी चाहिन्छ र अधिनायकवाद सिर्जना हुन नदिन एक पद एक व्यक्ति र पार्टी वा सरकारमा दुई कार्यकालभन्दा बढी रहन नपाउने व्यवस्था हुनुपर्दछ ।

त्यस्तै पार्टीको आर्थिक व्यवस्थापन अति महत्वपूर्ण हुन्छ । किनकी पार्टीको नाममा अवैधानिक रकम जम्मा भयो भने यसले आर्थिक विचलन ल्याउन सक्छ । यसप्रकार बेथितीबाट रकम जोहो गर्ने व्यक्तिहरुको कब्जामा पार्टी रहन जान्छ । त्यसैकारण हाम्रो पार्टीको आर्थिक आचारसंहिता पारदर्शी राखेका छौं ।

पार्टीको आर्थिक आचारसंहिता वेवसाईटमार्फत सार्वजनिक गर्न लागेका छौं । सबै खर्च/आम्दानी पारदर्शी रुपले राख्ने छौं । एउटा व्यक्ति वा संस्थाले पार्टीको वार्षिक कूल बजेटको ५ प्रतिशत भन्दा बढि योगदान दिन पाउने छैन ।

त्यस्तै पार्टीको कुनै पनि अधिकारिक उम्मेदवारलाई चुनाव खर्च, प्रचार प्रसारका लागि खर्च पार्टीले दिने छैन । हरेक उम्मेदवारले निर्वाचन आयोगले तोकेको अनुसार चुनाव खर्च आफ्नो स्रोतबाट उठाई खर्च गर्ने छन् र चुनावपछि पारदर्शी हिसाब पेश गर्ने छन् ।

जेनजी आन्दोलनको औचित्य र उपलब्धि

भदौ २३–२४ को जेनजी आन्दोलनमा धेरै युवाहरुले सदाहत प्राप्त गरे । सयौं युवाहरुको अंगभंग र खरबौंको सम्पत्ति क्षति किन भयो । यस विषयमा सूक्ष्म विश्लेषण हुन जरुरी छ । भविष्यमा फेरि यस्तो नदोहोरिन के-के गर्नुपर्छ, त्यसको पनि निर्क्यौल गर्नुपर्छ ।

सारांशमा भन्ने हो भने राजनीतिक पार्टीहरुले राज्य सञ्चालनमा युवाहरुको अकांक्षा र आवश्यकतालाई सम्बोधन गर्न सकेनन् । राजनीतिलाई जब पूर्णकालीन पेसा बनाइन्छ, त्यसमा विभिन्न गलत हथकण्डाहरु अपनाइन्छ ।

उही नेताहरु हरेक तप्कामा सधैं बसी रहने उद्देश्यसहित आश्रित कार्यकर्ताको जमघट बनाएका हुन्छन् । उनीहरुको रोजगारी र व्यवहार राजनीतिक दबाब र भनसुनबाट चलाउने, शासकीय प्रक्रिया र पदलाई आफ्ना कार्यकर्ताको भर्तिकेन्द्रमा परिणत गरेपछि राज्य सञ्चालनमा स्वतः भ्रष्टाचार, शोषण र बेथितिको स्थापना हुनपुग्यो ।

सिर्जनशीलता र व्यवस्थापन सूत्रले राज्य सञ्चालन भएन । सर्वसाधारणको जनजीवनमा हरेक पल कष्टकर र निर्वाहमुखी हुँदै गयो । भ्रष्टाचार, बेथिती र बेरोजगारीले देशैभरि प्रसय पायो ।

भदौ २३ गते मात्र होइन, प्रजातन्त्र स्थापनाकाल २००७ सालदेखि आजसम्म कति नेपाली युवाहरुले आफ्नो अमूल्य जीवनको आहुति दिएर देश र देशवासीको खुसी, समस्त समृद्धि, मौलिक आधारभूत अधिकार, सुख र शान्तिसँग बाँच्ने र व्यवसाय गरी उन्नति गर्ने अवसर सिर्जना गर्न सहादत हासिल गरे ।

तर उनीहरुको सपना/बलिदान सार्थक भयो त ? हाल देशमा रहेको भ्रष्टाचार, शोषण, बेरोजगारी, गरिबी, आधारभूत अधिकारको कमी र निराशाको अवस्थाको लागि यी युवाहरु सहिद भएका हुन त ?

हरेक पटक आन्दोलन भयो, पूराना सत्ताको भ्रष्टाचार र कुशासनलाई समाधान गर्ने कोरा नारा नयाँ आन्दोलनकारीले लगाउने गर्छन् । असंख्य सहिद भएर सत्ता परिवर्तन गर्छन् तर नयाँ सत्ताधारीले आफ्नो निकृष्ट व्यक्तिहरु र संस्थाहरुको निहित स्वार्थको लागि भ्रष्टाचार, शोषण र त्यसलाई हासिल गर्न कुसाशन अझ विकराल बनाउँदै गए । यसो हुनुको कारण प्रथमतः कुनै ठोस योजना नहुने र दोस्रो राजनीतिलाई पैसा कमाउने भाँडो बनाउनु हो ।

हरेक मन्त्रालय, विभाग, विभिन्न सरोकारका विषय वस्तु संगठन, हरेक वडा, पालिका, प्रदेश र अन्त्यमा संघको वस्तुगत सोच, योजना र संचालन कसरी गर्ने हो सोको योजना, विचार लिएर एक ठाउँमा आउनुपर्छ ।

जेनजीको आन्दोलनको एउटा नविनतम् अवसर दिएको छ । पुरानो शासनसत्ता केही घण्टामै निर्मूल पारी खाली स्लेटमा फेरि नेपाल र नेपालीको सुन्दर भविष्य कोर्ने अवसर दिएको छ । अब गालीगलौच, लाञ्छना र कोरा नारा र ‘सब्जेक्टिभ’ उद्देश्य होइन, भ्रष्टाचार र पेसागत राजनीतिको मियो मै उन्मूलन गरी वस्तुपरक कार्यक्रम र उद्देश्य हासिल गरी रोजगारी, समतामूलक समृद्धि र मितव्ययिता पूर्वक चुस्त सुशासन व्यवस्थापन गर्ने हो ।

नेपाल र नेपालीको सुन्दर भविष्य देख्ने हामी केही नेपाली नयाँ सोच लिएर अगाडि आउँदै छौं । अब नेपाललाई नयाँ युगमा लिएर जानुपर्छ भन्ने विश्वास भएका नेपाली दिदी बहिनी/दाजु भाइहरुलाई मुकदर्शक नबनिकन अगाडि बडौं भन्ने आग्रह छ ।

हरेक मन्त्रालय, विभाग, विभिन्न सरोकारका विषय वस्तु संगठन, हरेक वडा, पालिका, प्रदेश र अन्त्यमा संघको वस्तुगत सोच, योजना र संचालन कसरी गर्ने हो सोको योजना, विचार लिएर एक ठाउँमा आउनुपर्छ ।

हाम्रो राष्ट्रको अब इतिहासमा भएका गलत निर्णयहरु नदोहोर्‍याउन र सुन्दर नेपालको निर्माण गर्न, योजनाकारहरु, नेतृत्व दिन सक्ने राष्ट्र सेवकहरु अगाडि बढ्नुपर्छ । जेनजी र यस अघिका आन्दोलनकारीहरुको यत्रो बलिदानबाट प्राप्त यस नौलो अवसरको सदुपयोग गर्नुपर्छ । गतिशील लोकतान्त्रिक पार्टीमा हामी निमित्त पात्र मात्र हौं ।

केही नयाँ सोच, संस्कार, सिद्धान्त र योजना लिएर अगाडि आएका छौं । यो राजनीतिक पार्टी आगामी पूस्ता र त्यसपछिका पूस्ताका लागि नासो हो । देशलाई सामर्थ्यवान व्यक्तिहरुले नेतृत्व गर्नुपर्छ । नेपाललाई एउटा नमूना, समतामूलक, समावेशी, शान्त र विकसित राष्ट्रको रुपमा रुपान्त्तरण गर्नैपर्छ ।

(बस्नेत नवगठित गतिशील लोकतान्त्रिक पार्टीका सदस्य हुन्)





Read More