― Advertisement ―

मिन्ट मोबाइलको नयाँ Samsung Galaxy S26 शृङ्खला सम्झौताले तपाईंलाई $900 सम्म बचत गर्न सक्छ – सम्पूर्ण उपकरण कभर गर्न पर्याप्त

नियमित रूपमा मिन्ट मोबाइल प्रमोशनहरू कभर गर्ने व्यक्तिको रूपमा, मैले भन्न चाहन्छु कि क्यारियरले यस हप्ता आफ्नो डिलहरूको साथमा घर चलिरहेको छ। साथमा इन्टरनेट...
Homeराष्ट्रिय समाचारमान्यवर तीन पत्रुको अन्तर्ध्यान – KhabarHost

मान्यवर तीन पत्रुको अन्तर्ध्यान – KhabarHost



शासन–सत्तालाई तीन ठूला पार्टीका तीन ठूला नेताको निजी मौजातुल्य बनाइएको कटुसत्य प्रत्यक्ष छ । यी तीन ढ्याके नेताको साझा दर्शन भने पनि, साझा सिद्धान्त भने पनि यस्तो छ- आलोपालो सत्ता, बाँडीचुँडी सत्ताको सुस्वादु भान्सा । विचार, व्यवहार र आचरण हेरी यी तीन ठूला पार्टीलाई लोकबोलीमा तीन ‘पुराना पार्टी’ भन्न थालिएको छ । र, सँगसँगै भन्न थालिएको छ यी तीन ‘पुराना पार्टी’का तीन ठूला बोसलाई ‘पुराना नेता’ । कतिले त कटाक्षको लयमा यिनलाई ‘तीन पत्रु पार्टीका तीन पत्रु नेता’ भनेको पनि जताततै सुनिन्छ ।

संविधानमा निर्जीव अक्षरमा लोकको हित गर्ने लोकतन्त्र लेखिएको छ, तर सत्तामा देखिएको छ तीन पार्टीका तीन ‘पत्रु’ मान्यवरको लुब्ध भोगतन्त्रको नग्न क्रीडा ।

बहुधा सत्तामा लम्पट कर्ताको असीम लोभले असीम भोगको लालसा जगाउँछ । भोगको अतिशय लालसाले अतिशय भ्रष्टाचार जन्माउँछ । भ्रष्टाचारको प्रगाढ नशाले कर्तामा अहंकार पैदा गर्छ ।

शासनको आसनमा बसेको कर्ता जब अहंकारले मैमत्त हुन्छ, त्यसले आपूmलाई सर्वज्ञानी ठान्छ । त्यसले कसैका कुरा सुन्दैन, आफू मात्र नित्य अनर्गल बकबक गरिहिंड्छ । त्यसलाई न आफूले टेकेर उभिएको धरातलको यथार्थबोध हुन्छ, न त्यसले नाकअगाडि भन्केको झिंगोभन्दा पर देख्न सक्छ ।

दृष्टान्त आँखासामु छर्लङ्ग छ । सामाजिक सञ्जाल बन्द गर्ने सत्ताधारी शठहरूलाई सामाजिक सञ्जाल जेनजी पुस्ताको प्राणवायु सरहको नशा हो भन्ने सरल सत्यको रत्तिभर हेक्का रहेन ।

नतिजास्वरूप सडकमा जब जेनजी जमातको उत्तेजित र आक्रोशित भेल उर्लियो, तीन ‘पुराना पार्टी’ का तीन पत्रु कर्ताका दुष्कर्महरूको अवश्यंभावी परिणति भसक्कै दृष्टिगोचार भयोे ।

अहंकारले मैमत्त यी तीन पत्रु मान्यवर हिजोसम्म घरीघरी कर्कश लबजमा डिङ हाँक्दैथिए— मेरो पार्टीका यति लाख सदस्य छन्, उति लाख मतदाता छन् । मेरो पार्टीको लोकप्रियता यतै बढ्दो छ, उतै बढ्दो छ । जनमत, लोकप्रियता र सामर्थ्यमा मसँग दाँजिने छ क्वै यस जगत्मा ? चौरासीमा एक्लै बहुमत ल्याएर म देखाइदिन्छु र सत्तामा मेरो एकल रजगज राज चल्नेछ ।

जेनजीको मौलिक विद्रोही संस्करणको आवरणमा जब जेनजीको भष्मासुर संस्करणको ताण्डव शुरु भयो, यी तीन ‘पत्रु’ मान्यवरको जनमत, लोकप्रियता र सामर्थ्यको यथार्थ चित्र नाङ्गा आँखामा छर्लङ्गै हुने गरी उजागर भयो ।

कोलाहलमय यथार्थको ऐना हेर्दै लोक सोध्छ— यी तीन ‘पत्रु’ मान्यवर जेनजीको भष्मासुर संस्करणको घेरामा पर्दा यिनको त्यत्रो जनमत कहाँ थियो ? सेनाले पक्राउको शैलीमा यिनको उद्धार वा चर्मरक्षा गर्दा यिनको त्यत्रो लोकप्रियता किन क्रियाहीन भयो ? सेनाले यिनलाई ब्यारेकमा शरण दिंदा वा बलात् प्याकिस गर्दा यिनको त्यत्रो सामर्थ्य किन निस्तेज रह्यो ? जेनजीको भष्मासुर संस्करणले यिनको हवेली कब्जा गरी यिनको निर्मम रामधुलाइ गर्दा यिनको चौरासीकोे विराट बहुमत किन रमिता हेरिबस्यो ?

कारण स्पष्ट छ— ‘पत्रु नेतात्रय’ र तिनको एकाधिकारयुक्त पार्टीका जरा भौतिक यथार्थको ठोस धरातल र आम जनमानस दुवैबाट उखेलिएका छन् । र यी पत्रुत्रय र तिनका निजी मौजातुल्य पार्टी मर्नुअघि प्वाँख पलाएका छिचिमिरातुल्य भएका छन् ।

जेनजीको भष्मासुर संस्करणले यी तीन ‘पत्रु’ मान्यवरको देहमा दागा धर्दै यिनका हवेली जलाउँदा त्यसप्रति लोकले जस्तो प्रतिक्रिया गर्‍यो, त्यो उति प्रीतिकर छैन । सडक, गल्ली र चोक–चौतारीमा यिनप्रति सहानुभूति प्रदर्शन गर्ने एउटै वचन पनि सुनिएन । बरु जेनजीको आततायी संस्करणले यिनको प्राणहरण नगरेकोमा विस्मात मानेको पो सुनियो । लोकले यस्तो प्रतिक्रिया गरिरहँदा तीन पत्रु मान्यवरको पक्षमा बोल्न यिनका पार्टीको एउटा चरो–मुसो पनि अघि सरेन ।

जेनजीको भष्मासुर संस्करणले घर फोर्दा यी तीन पत्रु महोदयका हवेलीका कोठामा कतै नोटका बिटाको चाङ देखियो, कतै सुनका लाप्साका रासका कथा सुनियो । श्रम र आर्जनका नाउँमा वरको सिन्को पर नसार्ने यिनका पत्नी र पुत्रीहरूका पाँच–दश लाख रुपैयाँका भ्यानिटी ब्याग देखिए । पत्रु त्रयका नाडीमा सत्तरी–पचहत्तर लाख रुपैयाँका घडी टल्किए ।

तीन ‘पत्रु’ मान्यवरलाई समयले इतिहासको रद्दीको टोकरीमा मिल्काएको छ । पार्टीको दोस्रो पुस्ताले पत्रु त्रयलाई काँध थापिरहनु पार्टी र व्यवस्था दुवैका लागि घातक छ ।

सत्ताका गद्दामा बसेर सार्वजनिक सम्पत्ति लुटीलुटी थुपारेको यो नगद र जिन्सी एवम् यो उग्र विलासमा पत्रु नेता त्रयको यथार्थ चिनारी स्वतः बोल्छ । मेरो यो कथनले कुनै व्याख्या माग्दैन । पत्रु नेता त्रयले दोस्रो पुस्ताका आफूमाथि आश्रित भक्त र भिक्षार्थीहरूको काँधमा बोकिएर गरेका यी यावत् दुष्कर्मद्वारा यिनले मौजातुल्य बनाएका पार्टी कलङ्कित भएका छन् । र, यिनका दुष्कर्महरूले व्यवस्थाको अनुहार नै कुरुप बनाएका छन् ।

अहिले मौलिक जेनजीको हुङ्कारयुक्त विद्रोह र जेनजीको भष्मासुर संस्करणको चौतर्फी विध्वंसपछि पत्रु नेता त्रयमाथि आश्रित ठूला पार्टीका दोस्रो पुस्ताका पङ्गु जीवहरू आदर्शका वाचा गर्दै के के गनगन गरिरहेछन् । तिनको बोलीमा बेमौसमको अनाकर्षक बाजा ध्वनित हुन्छ । आलोपालो सत्तासीन पत्रु नेतात्रयका दुष्कर्महरूबाट पार्टी र व्यवस्थाप्रति समेत लोकको मोहभङ्ग भएको छ ।

ठूला दलका दोस्रो पुस्ताका नेताहरूप्रति पनि लोकको आकर्षण, मोह, आशा र विश्वास पूरापूर भत्किएको छ । लोक मानसमा पत्रुत्रयका अनुहार हेर्ने र तिनका बोली सुन्ने चाहना शून्यप्रायः छ । दोस्रो पुस्ताका नेताहरूप्रति पनि लोकको अरुचि र मोहभङ्ग उति नै प्रगाढ छ । तसर्थ तीन पार्टीका शीर्ष पत्रुत्रय र तिनलाई काँधमाथि बोक्ने दोस्रो तहका पङ्गु आत्माहरूले हाल सार्वजनिक परिदृश्यमा अनुहार नदेखाउनु र आफ्नो विकर्षक बोलीमा लगाम लगाउनु राम्रो हो ।

तीन ‘पत्रु’ मान्यवरलाई समयले इतिहासको रद्दीको टोकरीमा मिल्काएको छ । पार्टीको दोस्रो पुस्ताले पत्रु त्रयलाई काँध थापिरहनु पार्टी र व्यवस्था दुवैका लागि घातक छ । तसर्थ मान्यवर पत्रुत्रयलाई अतीतमा तिनले गरेका परिवर्तनकामी सत्कर्म बापत स्याबास् भन्दै र वर्तमान भद्रगोल परिस्थितिको पृष्ठभूमि निर्माणमा तिनले गरेका दुष्कर्म बापत धिक्कार भन्दै पार्टीका शीर्ष पदबाट माने ससम्मान, नमाने बलात् पाखा लगाउनु वाञ्छनीय छ । यो अनिवार्य कदममा एक पलको बियाँलो पनि घातक हुनसक्छ ।

आन्तरिक लोकतन्त्र उर्फ जनवादयुक्त, जीवन्त र जोधाहा पार्टीले मात्र लोकतन्त्र र स्वतन्त्रताको शेषांशलाई जोगाउन, वृद्धि र विस्तार गर्न सक्छ । यो प्रयोजनका लागि पहिलो र अनिवार्य शर्त तीन पार्टीका तीन मान्यवर पत्रुत्रयको अन्तर्ध्यान हो । बाटाका अवरोधकारी तगाराहरू नपन्छाई इतिहासले किमार्थ गति लिन सक्दैन ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More