― Advertisement ―

‘यस उपकरणले साइडलोडिङ रोक्छ’: अमेजनले फायर टिभी स्टिक HD खरीददारहरूलाई चेतावनी दिन्छ कि यसलाई नि: शुल्क स्ट्रिमिङको लागि अवैध ‘फायर स्टिक’ मा परिणत गर्न...

नयाँ Amazon स्ट्रिमिङसाइड स्ट्रिमिङसन्देश रोक्नुहोस् यो प्रभाव यसको अनलाइन सूचीमा पप अप भइरहेको छयो अमेजनको आफ्नै Vega OS को रोलआउटको अंश होFire TV OS...
HomeLatest newsमानिसको बाँच्ने आधार – KhabarHost

मानिसको बाँच्ने आधार – KhabarHost



संयुक्त राष्ट्रसंघले सन् २०१३ को डिसेम्बर ५ मा अन्तर्राष्ट्रिय माटो दिवस मनाउने घोषणा गर्‍यो । त्यसयता हरेक वर्ष आजको दिन विश्वभर माटो दिवस मनाइँदै आइएको छ ।

जीवन्त माटोको महत्व र यसलाई जोगाउनै पर्ने आवश्यकता बारे व्यापक जनचेतना बढाउने उद्देश्यका साथ यो दिवस मनाउन सुरुवात गरिएको हो । नेपालमा पनि यो दिवस मनाउने परम्परा स्थापित भएको छ । यस वर्ष ‘स्वस्थ माटो, स्वस्थ गाउँशहर’ भन्ने मूल नारा सहित यो दिवस मनाइँदैछ । माटो दिवसको नारा सुन्नमा सरल लाग्छ, तर यसमा समेटिएको सन्देश अत्यन्त गम्भीर छ ।

हाम्रा गाउँ र शहर दुवैले दिनदिनै उर्वर माटो गुमाउँदै गएका छन् । समथर मैदानी भाग र शहरहरू कङ्क्रिटले भरिएर डुवान र कटानमा परेका छन् भने गाउँघर बाढी–पहिरोको चपेटामा परेका छन् ।

माटो हाम्रो जैविक प्रक्रियाको मूल आधार हो । यो विना हाम्रो अस्तित्व सम्भव छैन । जीवन्त माटोले मात्र पृथ्वीमा जैविक जीवनलाई सम्भव बनाउँछ । माटो विना जीवनको अस्तित्व कल्पना गर्न समेत सकिंदैन । लाखौं वर्षको प्राकृतिक प्रक्रियाबाट बन्ने माटो अत्यन्त अमूल्य स्रोत हो । करिब एकइञ्च माटो बन्न कम्तीमा ४०० वर्ष लाग्छ । यसरी सोच्दा, माटो हाम्रो जीवनका लागि केवल एक–एक उपयोगी भौतिक स्रोत मात्र नभएर दीर्घकालीन जैविक प्रक्रिया र वातावरणीय सन्तुलनको अभिन्न हिस्सा हो । तर, अहिले माटोको जीवन्त अस्तित्व संकटमा छ । साथै, उर्वर माटो–चक्र समेत विथोलिएको छ । यसले निम्तिने संकट भयावह छन् ।

विश्वव्यापी रूपमा भएका विभिन्न अध्ययनका अनुसार विश्वभर झण्डै ४० प्रतिशत जमिनकोे सतहको माटो अहिले नै खेतीका लागि अयोग्य भइसकेको छ । यही अवस्था रहेमा सन् २०५० सम्म करिब ९० प्रतिशत माटो खेतीका लागि अनुपयुक्त हुने अनुमान पनि गरिएको छ ।

यस्तै, विश्वको ७५ प्रतिशत खेतीयोग्य जमीन मरुभूमीकरणको जोखिममा परिसकेको छ, जसले ३ अर्बभन्दा बढी जनसंख्यालाई प्रत्यक्ष प्रभावित पारेको छ । यसले स्पष्ट देखाउँछ कि माटोको ह्रास केवल उत्पादनको प्रश्न मात्र होइन, मानव जीवनको ऊर्जाको बन्दोबस्तमा बढ्दै गएको खाद्य सुरक्षाको संकट समेत हो । यसलाई प्रकृतिको चेतावनी सम्झेर माटो जोगाउन गम्भीर हुन ढिला हुँदै गएको छ ।

माटोको विश्वव्यापी संकटले हामी नेपाली पनि उत्तिकै आक्रान्त छौं । करिब ८५ प्रतिशत पहाडी भूभाग भएको हाम्रो देशमा वर्षेनि लाखौं टन मलिलो माटो विशेषगरी वर्षात्को पानीसँगै बगेर नष्ट हुन्छ । यससँगै अतिवृष्टि–अनावृष्टि, वन फडानी एवं रसायन र विषादीमा आधारित एकल खेती प्रणालीले माटोलाई झन् कमजोर बनाइरहेको छ ।

विडम्वना ! हाम्रो लाखौं टन उर्बर माटो खहरे खोला र नदी हुँदै बंगालको खाडी क्षेत्रको दु:ख बन्न पुगेको छ । उर्वर माटो विनाको उजाड खेतबारीले उत्पादकत्व गुमाइरहेको छ । अहिले अपनाइरहेको अजैविक कृषि प्रणाली, वन र वातावरणीय ह्रासले माटोमा आवश्यक जैविक पदार्थ घटाइरहेको छ ।

पछिल्लो तथ्यांक अनुसार नेपालको माटोमा औसत प्रांगारिक पदार्थ केवल १.७५ प्रतिशत मात्र रहेको पाइएको छ । यस्तो सरदर तथ्यांक केलाउँदा खाद्य भण्डार भनिने मधेश क्षेत्रमा यो एक प्रतिशतभन्दा कम भएको पाइएको छ । प्रांगारिक पदार्थ माटोको उर्वरता, संरचना, पानी धारण गर्ने क्षमता र सूक्ष्मजीव गतिविधिको आधार हो । तर, यसको कमी दीर्घकालीन उत्पादन क्षमता, पोषण चक्र र समग्र वातावरणीय स्वास्थ्यका लागि गम्भीर चुनौती बनेको छ । यसको सम्वोधन गर्न नसके हाम्रो खाद्य प्रणाली नै तहसनहस हुनेछ ।

हुनत माटो सबै स्थलचरको आश्रय र ऊर्जा बन्दोबस्तको आधार हो । हामी मानव जातिले उपभोग गर्ने करिब ९५ प्रतिशत खाना यही जीवन्त माटोमा नै उत्पादन हुन्छ । यसको अर्थ, माटो मर्नु केवल प्रकृति विघटनको लामो प्रक्रिया मात्र होइन, हामी र हाम्रा सन्ततिको खाद्य प्रणाली, कृषि अभ्यास, वातावरणीय सन्तुलन र मानव जीवनको दीर्घकालीन सुरक्षा नै जोखिममा पर्नु हो । माटोको ह्रासले बीउ, बोटबिरुवा, पशुपालन, जलस्रोत, जैविक विविधता र पारिस्थितिक सन्तुलनलाई समेत प्रत्यक्ष असर पुर्‍याउँछ ।

माटो के हो ? कसरी बन्छ ? कसरी मर्दैछ ?

माटोभित्रको जीवन्त प्रक्रिया र त्यसको जीवनचक्र सूक्ष्म प्रकृतिको हुन्छ । यो बाहिरी आँखाका भरमा माटो हेरेर मात्र देखिंदैन । यस अर्थमा, यो अझै पनि जीवन्त माटो विज्ञानको निरन्तर खोजीको विषय समेत हो । विडम्वना ! हामीले आफ्नै जीवनको आधारका रूपमा रहेको माटोका बारेमा राम्ररी थाहा नपाउँदै यसलाई प्रविधि र रसायनशास्त्रका भरमा परेर कृत्रिम रसायन एवं विषादीको वर्षा गराउँदै यसको जतन गर्न छाडेर आकाश मात्रै ताकेको अवस्था छ । यो नै जीवन्त माटो जोगाउन चुक्नुको एक प्रमुख कारण हो । यो गल्ती महसुस नगरी हाम्रो माटो सम्बन्धी चेत फेरिंदैन । यो चेत नफेरी जीवन्त माटो जोगाउन सकिंदैन ।

माटो जीवन्त हुन्छ । किनभने, यसमा निरन्तर जैविक प्रक्रियाहरू भइरहेका हुन्छन् । सतही माटो खनिज, प्रांगारिक पदार्थ, पानी, हावा र असंख्य सूक्ष्मजीवहरूको सक्रिय अन्तरसम्बन्धबाट जीवन्त बन्छ । माटोमा रहेको ह्युमसमा कार्बन, नाइट्रोजन, फस्फोरस, पोटासियम लगायत पोषक तत्व विभिन्न जैविक चक्रमा आवद्ध भई बोटबिरुवालाई पोषण उपलब्ध गराउँछन् ।

माटोमा प्राङ्गारिक पदार्थ घट्दै जाँदा खनिज, हावापानी र सूक्ष्म जीव बीचको अन्तरसम्बन्धको जालो भत्कँदै गएको छ ।

त्यस्तै, सूक्ष्मजीवहरूले यी पोषक तत्वहरूको रूपान्तरण, सन्तुलन र पुन:सिर्जनामा भूमिका खेल्छन् । यही जैविक क्रियाकलापले माटोको भौतिक, रासायनिक र जैविक गुण निर्माण गर्छ । जसले बिरुवाको वृद्धि, पोषण र स्वास्थ्य सुनिश्चित गर्छ ।

माटो मर्दैछ तर किन र कसरी मर्दैछ भन्ने कुरा हाम्रो वर्तमान कृषि प्रणाली, वातावरणीय परिवर्तन र नीतिगत असरहरूसँग गहिरो रूपमा जोडिएको छ । औद्योगिक एवं व्यापारिक कृषि विस्तारसँगै नाफाकेन्द्रित उत्पादन प्रणालीले स्थानीय, जैविक र सन्तुलित प्रणाली विस्थापित गर्दै गएको छ । सबैभन्दा पहिले, बोटबिरुवालाई चाहिने पोषण–भरणका लागि कृत्रिम रूपमा बनाइएका रासायनिक मल, विशेषगरी एमोनिया (नाइट्रोजन) मल, परम्परागत बालीहरूमा प्रयोग गरियो । सुरुआतमा यसले उत्पादन बढाए पनि, त्यसलाई निरन्तर व्यापारिक नाफाको आधार बनाइयो । फलस्वरूप, प्रविधि विज्ञानको नाममा माटो नष्ट गर्ने अनेक प्रविधि ‘उन्नत’ भनेर प्रचार गरिए ।

त्यसपछि खेतीपातीमा यान्त्रीकरण र बाह्य कृषि सामग्रीको निर्भरता झनै बढ्दै गयो । रैथाने एकीकृत तथा मिश्रित खेती प्रणाली विस्थापित भई खेतीपाती एकल प्रणालीतर्फ धकेलियो । जैविक विविधता उपेक्षित भएको यस्तो प्रणालीमा रोगकीराको प्रकोप स्वाभाविक रूपमा बढ्यो । रोगजन्य जीवाणु र कीराको प्राकृतिक नियन्त्रण कमजोर भइरहेपछि रासायनिक विषादीको प्रयोग झनै बढाइयो । यस प्रकारको कृषि अभ्यासले माटोमा रहेका सूक्ष्मजीव, प्रांगारिक पदार्थ र जैविक चक्रहरू नष्ट गर्दै माटोलाई ‘मृत्युशय्या’ मा पुर्‍यायो ।

माटो मार्ने अविवेकी सोच हाम्रो आफ्नै स्थानीय अनुभव र ज्ञानको परिणाम मात्र होइन, हामीले पाएको शिक्षा र दीक्षाले यसै गर्न उक्साएको हो । खासगरी, आधुनिकता र नाफाका नाममा आज समग्र जैविक जगतको विघटन तीव्र भइरहेको छ । माटोमा प्राङ्गारिक पदार्थ घट्दै जाँदा खनिज, हावापानी र सूक्ष्म जीव बीचको अन्तरसम्बन्धको जालो भत्कँदै गएको छ । यही प्राङ्गारिक पदार्थ असंख्य सूक्ष्मजीवहरूको वासस्थान हो, जसले बोटबिरुवालाई खाना बनाउन मद्दत गर्छन् । तर जीवन्त माटोमा रहेका सूक्ष्मजीव नष्ट हुँदै जाँदा बोटबिरुवाले पोषणको प्राकृतिक चक्र पूरा गर्न सक्दैनन् । यसले माटोमा रहेका जैविक, रासायनिक र भौतिक गुणलाई कमजोर बनाउँछ र दीर्घकालीन उत्पादन क्षमतामा समेत कमी ल्याउँछ । तर, जैविक सन्तुलन नष्ट गरेर गरिने यस्तो अभ्यासलाई नै आज आधुनिक कृषि भनेर प्रायोजित गरिंदैछ ।

आजको आधुनिक कृषि प्रणाली आफैंले थोपरेको समस्याको चाङभित्र समाधान खोज्ने नाममा कृत्रिम रसायन र विषादी थप्न उक्साएको छ । यसले मानव सृजित जलवायु परिवर्तनको संकट समेत थपेको छ । साथै, आनुवंशिक प्रविधि र ‘उत्पादन बढाउने’ बहानामा जीवन्त माटोका सारथि रैथाने बाली, बीउ, पशुजन्य स्रोत र जैविक विविधतामा आज बाह्य नियन्त्रण हावी भइरहेको छ । यसले प्राकृतिक जैविक सन्तुलन, माटो–पानी चक्र र स्थानीय पारिस्थितिक प्रणालीमा समेत दीर्घकालीन नकारात्मक प्रभाव पारेको छ ।

माटोको तीव्र मरुभूमीकरणले आसन्न खाद्य संकटको स्पष्ट चेतावनी दिएको छ । त्यसैले जलवायु परिवर्तनको सम्बोधनसँगै माटो संरक्षणमा सबै तहमा समन्वित प्रयास अनिवार्य भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहसहरू अब खनिज ऊर्जा, रासायनिक मल, विषादी र अत्यधिक यान्त्रीकरणबाट हटेर पुन: उत्पादनशील जैविक तथा दिगो कृषितर्फ फर्किनुको विकल्प नभएको निष्कर्षमा पुगिरहेका छन् ।

विशेषत:, माटो जोगाउने मूल उपाय प्रांगारिक पदार्थ वृद्धि भएको माटो निर्माण नै हो, जसले कार्बन पुन:भण्डारण, जैविक तत्वहरूको पुन: उत्पादन, सूक्ष्मजीव सक्रियता, जैविक विविधता संरक्षण तथा माटो–पानी चक्रको सुदृढीकरणमा निर्णायक भूमिका खेल्छ । यसका लागि बोटबिरुवा र पशुजन्य अवशेष माटोमै मिलाएर पुनर्भरण गर्ने, मिश्रित बाली तथा एकीकृत खेती प्रणाली अपनाउने, कृषि–वन प्रणाली सुदृढ गर्ने, गह्रा, बाँध, छेकबार जस्ता भौतिक संरचनाबाट माटो र पानी संरक्षण गर्ने, र प्रांगारिक पदार्थ तथा सूक्ष्मजीव सक्रियता बढाउन जैविक मल, कम्पोष्ट, छापो र अन्य स्थानीय विधिहरू जुन हाम्रा हातले सजिलै गर्न सकिने सरल तर अत्यन्त प्रभावकारी रूपमा अपनाउन सकिने उपायहरू हुन् । यिनै अभ्यासले जीवन्त माटो बचाउन, उत्पादन क्षमता पुन:स्थापित गर्न र भविष्यका लागि सुरक्षित खाद्य प्रणाली निर्माण गर्न आधार तयार गर्छन् ।

जीवन्त माटो बचाउनु केवल किसानको मात्र जिम्मेवारी नभई समग्र समाज, सरकार, वैज्ञानिक समुदाय र उपभोक्ता सबैको साझा कर्तव्य हो । विवेकशील किसानहरूले आफ्नै स्तरमा जैविक अभ्यास, मिश्रित खेती, माटो संरक्षणका उपायहरू जस्तै महत्वपूर्ण प्रयास गरे पनि ती प्रयासले व्यापक प्रभाव पार्न संस्थागत प्रोत्साहन, सामुदायिक सहयोग, नीतिगत समर्थन र दीर्घकालीन लगानी अनिवार्य छ ।

यदि आजै माटो जोगाउने निर्णय लिएर व्यवहारमा उतारियो भने भविष्यका पुस्ताका लागि दिगो कृषि, सुरक्षित खाद्य आपूर्ति र स्वस्थ वातावरण सुनिश्चित गर्न सकिन्छ । तर, ढिलो गरियो भने माटो क्षय, उत्पादन घट्दै जाने र अन्तत: खाद्य संकट अनिवार्य नियति हुनेछ ।

माटो स्वस्थ हुनु भनेको मानव जीवन, खाद्य सुरक्षा, वातावरणीय सन्तुलन र पृथ्वीको दीर्घकालीन स्वास्थ्य सुरक्षित हुनु हो । तसर्थ, हरेक व्यक्ति, समुदाय र नीतिनिर्माताले मिलेर माटो बचाउन सक्रिय भूमिका खेल्न आवश्यक छ ।

अन्त्यमा, यस माटो दिवसले माटोलाई हेर्ने विवेक र यसलाई सम्हाल्ने हातहरू अघि बढाउने हामी सबैमा प्रेरणा देओस् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More