― Advertisement ―

स्पेसएक्सका सीईओ एलोन मस्कद्वारा दिनको उद्धरण: “हामीले गरेका सबैभन्दा ठूलो गल्तीहरू मध्ये एक व्यक्तिको लागि अति सजिलो चीजहरू स्वचालित गर्ने प्रयास गर्नु थियो” –...

SpaceX CEO एलोन मस्क पछिल्लो दशकमा रोबोटिक्सको विकासमा एक केन्द्रीय व्यक्तित्व बनेका छन्, दुबै रोबोटिक्सका निर्माता र रोबोटिक्सको प्रयोगकर्ताको रूपमा, उहाँको नेतृत्वमा रहेको कम्पनीसँग।...
HomeLatest newsमतदाताविरुद्ध महागठबन्धन ! – KhabarHost

मतदाताविरुद्ध महागठबन्धन ! – KhabarHost



माघ ११ मा हुने राष्ट्रिय सभा चुनावको उम्मेदवारी दर्ता पुस २३ गते हुँदैछ । अघिल्लो रातिसम्म चुनावी गठबन्धन गर्न नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी सघन संवादमा रहेको खबर छ ।

रोचक त के छ भने राष्ट्रिय सभामा यिनै चार शक्तिहरू मात्रै छन् । र, चुनाव हुँदा पनि कुनै न कुनै आकारमा उनीहरू मात्रै आउने हुन् । तर पनि उनीहरू किन भागबन्डाको राजनीति गरिरहेका छन् ?

एक्लाएक्लै चुनाव लडे कांग्रेसले १५ सिट जित्नेछ । एमालेले ३ सिट जित्दा नेकपासँग कुनै सिट हुने छैन । कांग्रेसलाई डर के छ भने राष्ट्रिय सभामा एक्लै चुनाव लड्दा एमाले र नेकपा मिल्न सक्छन् र यो गठबन्धन प्रतिनिधिसभाको चुनावसम्म जानसक्छ ।

अनुमान गर्न सकिन्छ, राष्ट्रिय सभाको चुनाव हुँदै यी दलहरू फागुन २१ मा घोषणा गरिएको निर्वाचनमा पनि गठबन्धन गर्न चाहन्छन् । गठबन्धनको यो पहिलो खुड्किलो हुनेछ ।

सँगै, आम चुनावपछिको प्रतिनिधिसभालाई समेत कहीँ न कहीँ चेक एण्ड ब्यालेन्स गर्ने भूमिकामा हुनेछ राष्ट्रिय सभा ।

राष्ट्रिय सभा चुनावमा मतदाताद्वारा चुनिएका प्रतिनिधिहरूले मतदान गर्नेछन् । यस्तो गठबन्धनले जनप्रतिनिधिहरूलाई केवल अनुयायीका रूपमा सीमित गरिदिनेछ । उनीहरूले कुनै विवेक प्रयोग गर्न पाउनेछैनन् ।

यहाँनेर प्रश्न उठ्छ- दलमा लागेपछि अनुशासन हुनुपर्छ । पार्टीको निर्देशन मान्नुपर्छ । तर अनुशासित हुनु र अनुयायी हुनु फरक कुरा हो । अनुशासित मानिसले आफ्नो विवेकले निर्णय गर्छ । अरूको जस्तोसुकै निर्णयहरू पनि विनाप्रश्न पछ्याउनु भने अनुयायीको नियति हुन्छ ।

जेनजी विद्रोहपछिको बदलिएको अवस्थामा पनि भुइँ तहबाट आएका जनप्रतिनिधिहरूले आफ्नो विवेक प्रयोग गर्न पाउनेछैनन् । न त आफ्नै पार्टीका नेताहरूलाई मात्र मत दिन पाउनेछन् । उनीहरू सीमित नेताहरूको निर्णयको साक्षी बन्नेछन् र मतपत्रमा ककटेल मत दिएर कार्यक्षेत्रमा फर्कनेछन् ।

र, उनीहरू प्रतिनिधिसभा निर्वाचनमा मतदातालाई आफ्नै नियतिको सिकार बनाउने गोरेटो पनि खनेर फर्कनेछन् ।

घस्रिएको समाज, नसच्चिएको राजनीति

विश्व इतिहास हेर्दा नेपाल झन्डै एक शताब्दी पछाडि घिस्रिरहेको भान हुन्छ । सन् १९३० को दशकको युरोपेली समाज सम्भवतः अहिलेको नेपाली समाज जस्तै थियो । पुरानो उदार व्यवस्था (लिवरल अर्डर) असफल भएको थियो । नयाँ लोकतन्त्र (न्यायपूर्ण व्यवस्था) पूर्ण रूपमा स्थापित हुन सकेको थिएन ।

यही अन्योलको बीचमा ‘फासीवाद’ जस्ता डरलाग्दा र विकृत विचारहरू जन्मिइरहेका थिए । मुसोलिनीको जेलमा रहेका चिन्तक एन्टोनियो ग्राम्सीले भनेका थिए, ‘पुरानो मर्दैछ र नयाँ जन्मिन सकिरहेको छैन, यो अन्धकारमय समयमा धेरै विचित्र र डरलाग्दा लक्षणहरू देखा पर्छन् ।’

लाग्छ- नेपालमा यस्तै केही भइरहेको छ ।

दण्डहीनता सामान्य बनिरहेको छ । दोषी को हो ? न राज्यका निकायले भन्न सक्छन् र सम्बन्धित शक्तिले कुनै पनि घटनाको नैतिक-राजनीतिक जिम्मेवारी लिने इमान्दार राजनीतिक शक्ति छ ।

नेपाली समाजको यही अलमल (अन्तरिम काल) मा समाजमा हिंसा, अराजकता, लोकरिझाइँ र पुराना शक्तिहरूको एकसाथ क्रुर पुनरागमनका लक्षणहरू देखिन थालेका छन् । यस्तोमा जस्तो समूहले पनि पहल लिन सक्छ, जस्तो अवस्था पनि आउन जोखिम सधैं रहन्छ ।

आन्दोलनको रापताप सेलाउँदै जाँदा समाजका पुरानै खेलाडीहरू पुनः संगठित भएर आउन खोजिहाल्छन् । तर आन्दोलनपछिको रिक्ततालाई कुनै पनि परिवर्तनकारी पक्षले भर्न नसक्दा उही पुरानै शक्तिको रजगज सुरु भइसकेको छ ।

संस्थागत संरचना बदल्न नसक्दा हुने यस्तै होला । किनकि दण्डहिनताको बाटो हुँदै न सुशासन सप्रिन्छ न लोकतन्त्र । न्यायको सुनिश्चितता नहुँदा नागरिकमा निराशा बढ्छ, यही निराशा नै पुरानै कुव्यवस्थाले पुनर्जीवन पाउने मलिलो जमिन बनिदिन्छ । भदौ २३ का सहिदहरूको रगतको अवमूल्यन हुनु नै यो समयको सबैभन्दा ठूलो त्रासदी हुनेछ।

बालकोटमा दही चिउरा खाएर सुरु भएको राजनीतिको घातक र नैतिकशून्य कदमको फल देशले भोगिसक्यो । हेलिकप्टर चढेर भागेका ओलीले प्रदर्शनकारीहरूले प्राणदान दिएपछि सिंगापुर स्वास्थ्य लाभ गरिरहेका देउवा दम्पतीलाई बोलाएर थप घातक बाटोमा देशलाई हिंडाउन खोजिरहेका छन् ।

निष्प्राण पार्टी पंक्ति

पुरानाहरूको हरिबिजोग देखाउँदै विकल्प दिन आएकाहरूको कथा पनि उस्तै छ । संस्थापनलाई प्रश्न गरेर समाज बदल्नुपर्छ र बदल्छु भनेर आएका कतिपय सेलिब्रेटीहरू लाजै नमानी समानुपातिकको सूचीमा बस्न तयार छन् ।

विकल्प दिन आएका वैकल्पिकहरू पनि पुरानाका विकृतिलाई बोक्ने नयाँ काँध मात्र बन्न आएका हुन् । बदल्न होइन । चुनाव कुनै नीति र एजेन्डाको बहसमा होइन, जसरी पनि जित्ने र जसरी पनि हराउने अस्वस्थ र अमर्यादित खेल बन्ने दिशाउन्मुख छ ।

नयाँ शक्तिहरू एक ठाउँमा उभिँदा प्रतिक्रियामा पुराना प्रमुख दलहरू चुनावी गठबन्धन गृहकार्यमा छन् । यो एकप्रकारले नयाँ शक्ति र पुस्ताविरुद्ध ‘राष्ट्रिय मेलमिलाप’ बन्दैछ । तर जेनजी आन्दोलनले छोडेका प्रश्नहरू अझै अनुत्तरित छन् ।

यस्तो लाग्छ, गलत अभ्यासलाई सामान्यीकरण गर्न सिंगो पार्टी पंक्ति, समाज र व्यवस्था नै सहयोगी छ ।

चार महिना पुग्दैछ, तर, भदौ २३ मा स्कुले किशोरकिशोरीहरूको हत्याको जिम्मा लिने कोही तयार छैनन् । छानबिन आयोगले विभिन्न पक्षको बयान लिइरहेको छ । आखिर त्यो हिंसा कसको आदेशमा भयो र त्यसको जिम्मेवारी कसले लिने ?

राज्यको गैरन्यायिक गोलीले स्कुल ड्रेसमै नानीबाबुहरू मारिए । रक्ताम्य घाइते शरीरका तस्वीरहरू विश्वभर फैलिए । राज्यको क्रुरता भौतिक मात्र होइन, मनोवैज्ञानिक र नैतिक तहमा पनि उजागर भयो। प्रतिफलमा भदौ २४ मा थप मानवीय क्षति भयो । करिब पौने खर्ब बराबरको भौतिक क्षतिसँगै राज्यको छवि र नागरिकको विश्वासमा पुगेको क्षतिको कुनै लेखाजोखा छैन।

तर पनि, राजनीतिक दलका लगभग सिंगो पंक्ति नै नैतिकता देखाउन तयार भएन । घटनाको जिम्मेवारी लिन तयार देखिएन ।

आखिर कसले मार्‍यो जेनजी नवयुवालाई ? यति ठूलो जनधनको क्षतिको जिम्मा लिनै नपर्ने कस्तो बनेको छ हाम्रो समाज/राज्य ? यति धेरै शृङ्खलाबद्ध रूपमा गलत निर्णय हुँदा पनि क्रान्तिकारी र लोकतान्त्रिक भनिएका पार्टी पंक्ति किन प्रश्नविहीन हुन्छ ? किन प्रतिरोध हुँदैन ? पार्टीका सीमित नेताहरू किन जे जस्तो निर्णय गर्न पनि स्वतन्त्र छन् ?

यी प्रश्नहरूको जवाफ यो चुनावले पनि दिन नसक्ने लक्षण देखाइरहेको छ ।

किनकि राजनीति चुनाव जित्नु नै राजनीतिको अन्तिम सत्य मान्ने ‘इलेक्टोरल फेटिसिज्म’ले ग्रसित बनिरहेको छ । उनीहरूले बिर्सिइसकेका छन्, चुनाव त एउटा प्रक्रिया हो, तर साँचो राजनीति भनेको समाजको चेतना र संरचनामा ल्याइने परिवर्तन हो ।

ठूला सपना (भिजन) र आदर्शबाट चिप्लिएर आफ्नो पद र भ्रमपूर्ण प्रतिष्ठा जोगाउने ध्याउन्न नेतृत्वले राजनीतिलाई आन्दोलन होइन एउटा जागिर जस्तो बनाइदिएका छन् । यस्तो ‘म्याकियाभेलियन’ राजनीतिको साध्य चुनाव जित्नु र पद जोगाउनु बन्दा नैतिकता र आदर्शको सौदाबाजी साधन बनिदिन्छ ।

२३ र २४ को विद्रोह नेपाली समाजको ऐतिहासिक क्रमभंगको लागि भएको थियो तर यो पनि सत्ताको चरित्र होइन, अनुहार बदल्नै सीमित हुने जोखिम बढिरहेको छ । सत्ताका पुराना खेलाडीहरू आफ्ना गल्ती सुधार्नुको सट्टा नागरिकको निराशा भजाएर पुनः हाबी हुन खोज्दैछन् ।

जबसम्म निर्दोष किशोरकिशोरीको रगतको हिसाब हुँदैन, तबसम्म यो विद्रोहले आफ्नो गन्तव्य भेटाउने छैन, बरु प्रतिगमनकै जोखिम बढिरहनेछ ।

दोहोर्‍याएर भन्नुपर्ने हुन्छ, किशोरकिशोरीले बगाएको रगतको हिसाबकिताब नगरी अर्को चुनावको सिटको हिसाबकिताबमा अल्झिने स्तरको नैतिक पतनको मूल्य नेपाली समाजले अवश्य चुक्ता गर्नेछ ।

तर, आफ्नो शक्ति विस्तार गर्न अनौठा-अनौठा गठबन्धन बनिरहेका छन् । एकातिर नयाँहरूले एकता गरेका छन् जहाँ थुप्रिएका छन्- कट्टर पहिचानवादी, संघीयता विरोधी, विभिन्न स्पेसहरूमा उभिएका राजनीतिक घटकहरू । एकता छ तर अनेकताहरूको । पार्टीलाई ‘मेल्टिङ पट’ बनाउनु अघि नै के भइसक्छ भनेर आशंका गर्नुपर्ने बलिया आधार छँदैछन् ।

अर्कोतिर, राष्ट्रिय सभा हुँदै प्रतिनिधिसभा निर्वाचनसम्म प्रमुख शक्तिहरू नै मिल्ने खबर छँदैछन् ।

एकपटक विघटित प्रतिनिधिसभाका दृश्यहरू सम्झौं ।

दलतन्त्रको इमान्दार सदस्यहरूमा बदलिएका सांसदहरूलाई जो विवेकको प्रयोग गर्न प्रतिबन्धित थिए । उनीहरूबाट जनताको प्रश्न, निराशा र आक्रोश भेन्टिलेट हुने सम्भावनै थिएन । त्यसैमाथि, संसदीय व्यवस्थामा पहिलो र दोस्रो ठूलो शक्ति मिलेर सरकार बनाउने गल्ती भयो । जसको साक्षी बनेका थिए- गगन थापा र विश्वप्रकाश शर्मा हुँदै गोकर्ण विष्ट र योगेश भट्टराईहरू ।

म्याजिक नम्बरलाई आफ्नो राजनीतिक अवसरवादमा रुपान्तरण गरिरहेको तेस्रो शक्तिसँग प्रश्न गर्ने नैतिक शक्ति धेरै बाँकी थिएन । किनकि ऊ आफैं सबैभन्दा धेरै सत्तामा रहने शक्ति थियो । चौथो शक्ति आफ्नो पार्टी सभापतिमाथि लागेका मुद्दा पखाल्न आफ्नो पूरै शक्ति लगाइरहेको थियो । बाँकी कसैले समाज पछाडि फर्काउने एजेन्डा बोके, कसैले क्षेत्रीय एजेन्डा त्यो पनि सत्ता दाउको च्याँखे थाप्न मात्र ।

यही पृष्ठभूमिमा भयो संसदमा दुई ठूला शक्तिहरूको गठबन्धन र त्यसको रापतापमा हुर्किएको अहंकारी नेतृत्व । यही नै जेनजी विद्रोहको ‘ट्रिगर पोइन्ट’ बनिदियो ।

अझै पनि, नवयुवाको विद्रोहलाई नै प्रतिगमनको संज्ञा दिएर, विद्रोहमा जलेका रणनीतिक महत्वका मुख्यालयहरूबाट भग्नावशेष उठाउन नपाउँदै, त्यति ठूलो मूल्य चुक्ता गरेको जनविद्रोहको मर्म र भावनालाई दिनदहाडै कुल्चेर अब तिनै पहिलो, दोस्रो र तेस्रो शक्ति नै मिलेर चुनावी गठबन्धन गर्ने तयारी भइरहेको खबर पढ्न-सुन्न नेपाली मतदाता विवश छन् ।

यस्तो लाग्छ- उनीहरू नयाँ पुस्ताविरुद्ध राष्ट्रिय मेलमिलाप गर्दैछन् । महागठबन्धन बनाउँदैछन् । यसका लागि उनीहरूले भुल्नेछन्- यसअघि एक-अर्कालाई न्यूनतम राजनीतिक संस्कार भुलेर गरेका गालीहरू ।

यहाँ कुनै राजनीतिक संस्कृति वा मूल्यमा आधारित एकता भइहरेको छ न त गठबन्धन नै; यहाँ त केवल स्वार्थहरूको गठजोड बनिरहेका छन् । एजेन्डा न वैचारिक समानता ।

बरू पार्टी एकता गर्दा भइहाल्थ्यो । एउटै सामान फरक फरक पसलमा किन्नुपर्ने असुविधा उपभोक्ता (मतदाता) लाई किन दिनु ?

सरल भाषामा, यहाँ त मतदाताको विकल्प खोस्ने प्रपञ्च रचिँदैछ । केही नेताहरूको व्यक्तिगत स्वार्थ सुरक्षित गर्न आम नागरिकको लोकतन्त्र कमजोर बनाउने कुकर्म हुँदैछ । यसलाई मतदाताविरुद्ध गरिएको गठबन्धन भन्न सकिन्छ।

चुनावअघि जित्नका लागि गठबन्धन गर्ने, चुनावपछि अस्थिरताका लागि फुट्ने – यही दुश्चक्रको दलदलमा नेपाली राजनीति अझ सख्त जकडिने सम्भावना बलियो बनेको छ ।

यस्तो हुँदैछ कि मतदाता मत हुनेछ तर मतपत्रमा उनीहरूसँग छनोटको पर्याप्त विकल्प हुनेछैन ।

लोकतन्त्रमा मतदातासँग पर्याप्त विकल्पको सुविधा हुनु अनिवार्य हुन्छ। विकल्पलाई सीमित गर्दै मतदातालाई बाध्यतात्मक सम्झौतामा बाँध्ने चुनावले लोकतन्त्रलाई जीवन दिन सक्दैन; अन्ततः त्यो केवल एक प्रहसनमा सीमित हुन्छ।

अगाडि बढ्ने समाजमा हुने चुनाव नीतिगत एजेन्डाहरूको महाबहस बन्नुपर्ने हो । तर, हाम्रो राजनीतिले एउटा चुनावको जितहारको हिसाबभन्दा माथि उठ्ने संकेत देखाएको छैन ।

यसरी जसरी पनि चुनाव जित्ने प्रतिस्पर्धामा उभ्याएर दलहरू राजनीति भने हार्दैछन् ।

‘एउटा चुनाव हार्दैमा के सकिन्छ र जति विचार, राजनीति र एजेन्डाले हार्दा सकिन्छ ?’

दुःखको कुरा त, पार्टीभित्र यो प्रश्न सोध्ने कुनै नेता कार्यकर्ता बाँकी छैनन् । जसले सोध्छ- ऊ किरानीकृत हुन्छ । राजनीतिलाई करिअर बनाइरहेकाहरूमा भविष्यको भय हुने भइहाल्यो ।

मतदाता विकल्प चाहन्छन्, तर नयाँ नेतृत्व र व्यवस्थाले अझै स्पष्ट आकार लिन सकिरहेको छैन । मतदातालाई पनि भय देखिन्छ- कतै विकल्प रोज्दा म तावाको माछा भुङ्ग्रामा भनेजस्तै हुने पो हुँ कि !

हाम्रो चुनाव कहिले त्यस्तो हुने जसले मतदातारूपी माछालाई तावा र भुङ्ग्राबाट निकालेर बगिरहेको नदीमा पुर्‍याइदिओस् ?





Read More