राष्ट्रिय
समाचार.
- सिन्धुलीका किसानहरूलाई बेमौसमी वर्षाले धानबालीमा ठूलो क्षति पुर्याएको छ र करिब ४०० रोपनीभन्दा बढी क्षेत्रफलमा धान डुबेको छ।
- कृषि मन्त्रालयले बेमौसमी वर्षाले धानबालीमा पुर्याएको क्षतिको विवरण संकलन गरिरहेको छ र राहतका कार्यक्रम अगाडि बढाउने तयारीमा छ।
- धान उत्पादनमा २५ प्रतिशतसम्म कमी आउने अनुमान छ र यसले चामल आयातमा वृद्धि हुने सम्भावना छ भने किसानलाई तत्काल राहत दिनुपर्ने माग उठेको छ।
१६ कात्तिक, काठमाडौं । नेपाली किसानलाई मल अभाव सधैंको सास्ती भइहाल्यो । त्यसमाथि बेलाबेला पर्ने खडेरीको दु:ख छँदैछ । झन् यसपालि त बेमौसमी झरीले किसानलाई अर्को पीडा थपेको छ ।
सिन्धुली हरिहरपुरगढी गाउँपालिका–३ गुर्जीका किसान काजीमान भोलान अहिले बेमौसमी वर्षाका कारण धानबालीमा पुगेको ठूलो क्षतिले पीडामा छन् ।
अविरल वर्षाले भोलानको साढे दुई बिघा क्षेत्रफलमा लगाएको धानबालीमा ठूलो क्षति पुर्याएको छ । उनले करिब १० कठ्ठा क्षेत्रफलको धान वर्षा हुनुअघि नै काटेर उठाउन भ्याए, तर बाँकी धान भने जोखिममा परेको छ ।
‘खेतमै काटेर राखिएको धान सबै पानीले भिजेर कुहिएको छ,’ उनले दु:खेसो गरे, ‘काट्न बाँकी रहेको ठाडो धान समेत उम्रिएर, बोटमै हरियो दुई–दुई पात पलाएको छ ।’
उनका अनुसार तीन कठ्ठा बढीमा काटिएको धान पानी पर्ने समयसम्म उठाउन भ्याइयो । ‘अहिले मेरो मात्रै नभई धेरै किसानको धान आहालमा डुबाएजस्तो भएको छ,’ भोलान भन्छन्, ‘खेतमा हेर्दा अवस्था निकै दयनीय छ ।’
काटेको धान जति डुब्यो पानीमा
सिन्धुलीकै गोलन्जोर गाउँपालिका–१ का किसान दीपेन्द्र न्यौपानेको अवस्था पनि भोलानको जस्तै छ । उनले पनि काटेको धान खेतमै डुबेको छ । उनी खेतमा कुलो काटेर पानी बाहिर तर्काएको बताउँछन् ।
गोलन्जोर क्षेत्रका किसानको ३ सय रोपनी धानमा वर्षाका कारण क्षति पुगेको छ । ‘यहाँका सबै किसानको गरी ३ सय रोपनी क्षेत्रफलमा लगाइएको धानबाली अविरल वर्षाका कारण डुबेको छ,’ उनी भन्छन्, ‘मौसम विभागले सूचना जारी गर्नुअघि नै किसानले करिब ७५ प्रतिशत धान काटिसकेका थिए, काटेको धान उठाउन नपाउँदा ठूलो क्षति भएको छ ।’
अहिले भिजेको धान खेतमै कुहिन थालेको उनको भनाइ छ । ‘काट्न बाँकी रहेका धानका बालाले समेत सेता जरा हालिसकेको र हरिया पात उम्रिने अवस्थामा आइसकेको छ,’ न्यौपानेले थपे ।
करिब २५ प्रतिशत धानको बोटमै जरा पलाएको अवस्था छ । यदि मौसम सफा भयो भने पनि पहिलेको जस्तो अवस्थामा धान फर्कन नसक्ने उनको भनाइ छ । अलिकति मिहिनेत गरेरै स्याहार्न सकिए पनि धान ‘हकुवा’ हुने र बिग्रिने समस्या आउने उनले बताए ।
वर्षाले पुर्याएको क्षति र धानको गुणस्तरमा आउने ह्रासका कारण धान उत्पादनमा उल्लेख्य गिरावट आउने न्यौपानेको अनुमान छ । गत वर्षको तुलनामा यसपालि धान उत्पादनमा २५ प्रतिशतसम्म कमी आउने उनको आकलन छ ।
‘धान पाकेको भए पनि फेरि उठाएर सुकाउने अवस्था नहुँदा उत्पादनमा ठूलो असर पर्छ,’ उनले थपे ।
सिन्धुली गोलन्जोर गाउँपालिका–१ का अध्यक्ष सोमप्रसाद बराल चार दिनसम्म लगातार परेको ठूलो पानीका कारण काटेर खेतमै सुकाउन राखिएको धान डुबाएको र यसले उत्पादनमा ठूलो ह्रास आउने बताउँछन् ।
उनका अनुसार आजबाट अलिअलि घाम लाग्न सुरु गरेको भए पनि पानीले भिजेको धान तत्कालै उठाउन र सुकाउन समस्या छ ।
अध्यक्ष बरालको पनि करिब चार रोपनीमा लगाइएको धान उम्रिन थालेको छ । ‘सिन्धुलीमा धान थन्क्याउने बेला यस्तो खालको लगातार पानी यसअघि कहिल्यै परेको अनुभव थिएन,’ उनी भन्छन्, ‘पानीले भिजेको धानमध्ये केही काम लाग्ने भए पनि अधिकांश धान बिग्रिने अवस्थामा छ ।’
यदि घाम लागेर तात्यो भने धान बोटमै उम्रिने र त्यसपछि काम नलाग्ने अवस्थामा पुग्ने उनले बताए ।
४०० रोपनीभन्दा बढी धानबालीमा क्षति
गोलन्जोर–१ को तल्लो फाँटमा मात्रै २ सय ६६ रोपनी धानबालीमा क्षति पुगेको छ । यो वडाका अधिकांश किसानले धान काटिसकेका थिए, जम्मा एक–दुई जनाको मात्रै बाँकी थियो ।
वडाभरिको हिसाब गर्दा भने करिब ४ सय रोपनीभन्दा बढी धानबाली भिजेको र क्षति भएको अनुमान गरिएको उनी बताउँछन् ।
उत्पादन घट्ने र लागत बढ्ने चिन्ता
वडाध्यक्ष बरालले यस वर्ष धान उत्पादनमा उल्लेख्य गिरावट आउने र किसानलाई दोहोरो मार पर्ने बताए । पानीले भिजेको धान सुकाए पनि त्यसको गुणस्तर घट्ने र बोटमै उम्रिएकाले उत्पादन क्षमतामा ह्रास आउने छ ।
‘यसरी भिजेको धान फेरि उठाउने र सुकाउने प्रक्रियामा किसानको लागत बढ्ने छ भने उत्पादन घट्ने छ,’ उनले भने, ‘आगामी दिनमा धानको अवस्था कस्तो रहन्छ भन्नेबारे अहिले नै अनुमान गर्न नसकिए पनि क्षति ठूलै हुने निश्चित छ ।’
त्यहाँका किसानले यसै वर्ष केराखेतीमा धेरै रोग लागेपछि त्यो छाडेर धानखेती बढाएका थिए ।
देशभरि धानबालीमा क्षति
बेमौसममा आएको असामान्य वर्षाले पूर्वदेखि पश्चिमसम्मकै धानबालीमा व्यापक क्षति पुगेको छ ।
धान रोप्ने समयमा खडेरी र रासायनिक मल अभाव खेपेका किसानले असोज दोस्रो साता र कात्तिक दोस्रो साता परेको बेमौसमी वर्षाले पाकेको धानमा क्षति पुर्याउँदा अर्को पीडा खेप्नुपरेको छ ।
वर्षभरि गरिएको मिहिनेत चार दिनको झरीले तहसनहस पारेपछि किसान चिन्तित छन् ।
यस वर्ष देशका अधिकांश जिल्लामा धान रोपाइँ भए पनि सुरुमा खडेरी र पछि बेमौसमी वर्षाका कारण धानबालीमा व्यापक क्षति पुगेको छ । जलवायु परिवर्तनको ठूलो असर कृषि चक्रमा पर्दै गएको कृषि विज्ञ बताउँछन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यस वर्ष १३ लाख ७६ हजार ४ सय ६६ हेक्टर जमिनमा धान खेती हुने अनुमान गरिए पनि ९४.९ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ हुन सक्यो । गत वर्षको तुलनामा यस वर्ष ४.५४ प्रतिशत कम रोपाइँ भएको छ ।
विशेषगरी मुख्य सिजनको धान भित्र्याउने बेला मंगलबारदेखि परेको अविरल वर्षा र हावाहुरीले पाकेको धान खेतमै ढलेर ठूलो नोक्सानी पुर्याएको छ । काटेको धान पानीमा डुबेर कुहिन थालेको छ भने परालको गुणस्तरमा समेत ह्रास आएको छ ।
यो बेमौसमी वर्षाले विशेषगरी कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न भागमा ठूलो असर पारेको छ ।
कोशी प्रदेशका सुनसरी, मोरङ र झापामा पाकेको धान खेतमै भिजेर क्षति भएको छ । कोशी प्रदेश कृषि ज्ञान केन्द्रका अनुसार सुनसरीमा ४८ हजार ९ सय हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेकामा वर्षाले करिब १४ हजार ४ सय हेक्टरमा क्षति पुर्याएको छ । त्यहाँ अहिलेसम्म करिब ९ हजार ६ सय हेक्टर क्षेत्रफलको धान मात्र काटिएको छ ।
यस्तै उदयपुर, खोटाङ, ओखलढुंगा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बु लगायत जिल्लामा पनि खेतमा पानी जम्दा धानबाली सोत्तर भएको किसानको गुनासो छ ।
लामो खडेरीका कारण रोपाइँ नै ढिला भएको मधेश प्रदेशका आठै जिल्लामा अहिलेको वर्षाले धानबालीमा दोहोरो क्षति पुर्याएको छ ।
अर्घाखाँची र बर्दिया लगायत जिल्लामा धान खेतमै भिजेको छ । गण्डकी प्रदेश पोखराको रैथाने जेठोबुढो धान लगायत बालीमा बेमौसमी वर्षाले असर परेपछि किसान चिन्तित छन् । जेठोबुढो धानको दाना पुष्टिने समयमा धान ढल्दा उत्पादन र गुणस्तर दुवैमा असर पर्ने सम्भावना रहेको छ ।
चामल आयात बढ्ने
यसले गर्दा आगामी दिनमा चामल आयात थप वृद्धि हुने देखिन्छ । बेमौसम वर्षाका कारण यस वर्ष धान उत्पादनमा उल्लेख्य गिरावट आउने र नेपाल चामल आयातमा पूर्णरूपमा निर्भर हुनुपर्ने धानबाली विज्ञ डा. रामवरण यादव बताउँछन् ।
उनका अनुसार यस वर्ष धान उत्पादन समग्रमा गत वर्षभन्दा १८ देखि २० प्रतिशतले कम हुने अनुमान छ । बेमौसमी वर्षाले धानबालीमा १५ प्रतिशतसम्म क्षति पुर्याएको छ । यसैगरी ८–१० प्रतिशत थप क्षति पुर्याएको छ । समग्रमा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन २५ प्रतिशतसम्म घट्ने अनुमान गरिएको छ ।
धान उत्पादनमा कमी आउनुका मुख्य कारणमा मध्यसिजनमा परेको खडेरी, बेमौसमी वर्षा र मधेश क्षेत्रमा ढिलो गरी रोपाइँ हुनु रहेको उनले औँल्याए ।
अहिले नै तीन महिना अवधिमा ८ अर्ब रुपैयाँ बराबर धानचामल आयात भइसकेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै चामल तथा धान ३९ अर्ब ८१ करोड रुपैयाँ बराबर आयात भएको थियो ।
अर्कातर्फ, किसानले गत वर्ष प्रतिक्विन्टल ४ हजार १ सय रुपैयाँमा बेचेको धान यस वर्ष ३ हजार ४ सयदेखि ३ हजार २ सय रुपैयाँमा बेच्न बाध्य भइरहेका उनको भनाइ छ ।
यसका साथै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान नकिनेका कारण कतिपय किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा पनि कम २ हजार ५ सयदेखि २ हजार ६ सय रुपैयाँमा धान बेच्नुपरेको अवस्था रहेको डा. यादवले बताए ।
मन्त्रालयको तथ्यांक अनुसार २०८१/८२ मा सर्वाधिक परिमाणमा ५९ लाख ५५ हजार टन धान उत्पादन भएको थियो । उक्त परिमाणमा धान उत्पादन भए पनि आन्तरिक माग पूरा गर्न १० लाख टन अपुग थियो ।
क्षति विवरण संकलन भइरहेछ : कृषि मन्त्रालय
कृषि मन्त्रालयका वरिष्ठ कृषि अर्थ विज्ञ तथा सूचना अधिकारी महानन्द जोशीले बेमौसमी वर्षाले धानबालीमा पुर्याएको क्षतिको विवरण संकलन भइरहेको बताए ।
‘किसानले काटेर खेतमै सुकाएको धानमा बढी क्षति भएको छ,’ उनले भने, ‘पूर्वमा अलि बढी क्षति भएको भन्ने छ ।’
यदि दुई–चार दिन राम्रो घाम लागे नकाटेको धान पहिलेकै अवस्थामा फर्कन सक्ने उनको भनाइ छ ।
स्थानीय तहबाट क्षति विवरण संकलन भइरहेको र यसलाई प्रदेश मन्त्रालय मार्फत संघीय मन्त्रालय ल्याउने प्रक्रिया अगाडि बढ्ने जोशीले बताए । ‘यो विवरण प्रदेश मन्त्रालय मार्फत संघीय कृषि मन्त्रालयमा आउने छ,’ उनले थपे ।
विशेषगरी असोज महिनाको बेमौसमी वर्षाले पुर्याएको क्षतिको मोटामोटी विवरण संकलन भइसकेको र त्यसको प्रतिवेदन तयार पार्ने कार्य भइरहेको पनि उनले बताए ।
राहत तथा क्षतिपूर्तिका कार्यक्रम अगाडि बढाउन कृषि मन्त्रालयसँग हाल छुट्टै बजेट छैन । यदि सरकारले किसानलाई राहत दिने निर्णय गर्छ भने त्यसका लागि थप रकम र बजेटको व्यवस्था गर्नुपर्ने हुन्छ ।
राहतका कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि विभिन्न सरकारी निकायबीच समन्वय आवश्यक रहेको सूचना अधिकारी जोशीले बताए ।
यसमा स्थानीय तह, प्रदेश सरकार, संघीय कृषि मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको महत्त्वपूर्ण भूमिका हुनेछ ।
राहतका कार्यक्रम ‘एकलद्वार प्रणाली’ मार्फत र राष्ट्रिय विपद् प्राधिकरणसँगको समन्वयमा अगाडि बढाउने योजना रहेको उनले बताए ।
जल तथा मौसम विज्ञान विभागको पछिल्लो विवरण अनुसार अझै दुई–तीन दिन पानी पर्ने सम्भावना रहेकाले किसानलाई धान नकाट्न र घाम लागेपछि मात्र काट्न आग्रह गरिएको छ ।
यदि धान भिजेको तर उम्रिएको छैन भने बाला वा बोटलाई एक ठाउँमा मुठा पारेर अग्लो स्थानमा पानी निकास हुने गरी राखे क्षति कम हुने मन्त्रालयको सुझाव छ ।
किसानको समस्याप्रति सरकार छैन गम्भीर
धान उत्पादनमा आएको गिरावट र किसानले भोग्नुपरेको समस्याप्रति सरकार गम्भीर नभएको खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी बताउँछन् ।
उनले किसानहरू विभिन्न कारण पीडित भइरहेको र उनीहरूलाई बचाउन सरकारी निकायले चासो नदेखाएको आरोप लगाए ।
अधिकारीका अनुसार किसानहरू कहिले बजार, कहिले सरकार र कहिले प्रकृतिबाट ठगिने पात्र बनेका छन् । अहिलेको बेमौसमी वर्षाका कारण धानबालीमा भएको क्षति र किसानको पीडा सम्बोधन गर्न सरकारले तत्कालै कदम चाल्नुपर्नेमा उनको जोड छ ।
‘यस वर्ष रोपाइँ ढिलो हुनु, मल नपाउनु, खडेरी पर्नु र पछि बेमौसमी वर्षाले पाकेको धान डुबाउनु जस्ता समस्याले किसानलाई थप मर्कामा पारेको छ,’ अधिकारीले भने ।
उनले किसानलाई बचाउन सरकारले घोषणा गरेको बीमा कार्यक्रम प्रभावकारी रूपमा लागु गर्नुपर्नेमा जोड दिएका छन् । ‘पशु बीमा एक हदसम्म अगाडि बढे पनि बाली बीमामा किसान र बीमा कम्पनी दुवैको चासो छैन, यसमा सरकारले पनि बेवास्ता गरेको छ,’ उनले भने, ‘क्षतिग्रस्त धानबालीको तत्काल लागत संकलन गरी क्षति यकिन गर्नुपर्छ र त्यसका आधारमा किसानलाई राहत दिनुपर्छ ।’
यसका लागि स्थानीय सरकारको अग्रसरतामा वडाध्यक्ष वा वडा सदस्यले आफ्नो क्षेत्रभित्रका किसानको क्षतिको विवरण संकलन गरी तत्काल केन्द्र सरकारमा पठाउनु पर्ने र केन्द्र सरकारले ८० प्रतिशत र प्रदेश तथा स्थानीय सरकारले १०–१० प्रतिशत बेहोर्ने गरी राहत प्याकेजको व्यवस्था गर्नुपर्ने सुझाव उनको छ ।
अधिकारीले विगतमा पनि बेमौसमी वर्षा र लम्पी स्किन रोगका कारण किसानले ठूलो क्षति बेहोरेको तर क्षतिपूर्ति नपाएको स्मरण गराउँदै सरकारले यस्ता गतिविधि रोकेर किसानमैत्री नीति बनाउनुपर्नेमा जोड दिए ।
आगामी दिनमा धानबालीको उत्पादनमा थप गिरावट आउने र यसले खाद्य सुरक्षामा समेत गम्भीर असर पर्ने उनको भनाइ छ ।
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More






