राष्ट्रिय
समाचार.
- भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा निर्माणाधीन विशिष्टीकृत बाल अस्पताल निरीक्षण गरेका छन्।
- कियोच नेपालले बूढानीलकण्ठ नगरपालिका–७ हेपाली हाइटमा दुई सय शैयाको अन्तर्राष्ट्रियस्तरको बाल अस्पताल निर्माण गरिरहेको छ।
- सरकारले अस्पताल निर्माणका लागि करिब ४१ रोपनी जग्गा लिजमा उपलब्ध गराएको र संघीय तथा बागमती प्रदेश सरकारले अनुदान रकम दिने निर्णय गरेको छ।
१६ मंसिर, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालाको नेतृत्वमा निर्माणाधीन विशिष्टीकृत बाल अस्पताल निरीक्षण गरेका छन् ।
मन्त्री घिसिङले मंगलबार काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) नेपालले बूढानीलकण्ठ नगरपालिका–७ हेपाली हाइटमा निर्माण गरिरहेको दुई सय शैयाको अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिस्तरको बाल अस्पताल निरीक्षण गरेका हुन् ।
घिसिङले सोमबार झापाको दमकमा सञ्चालित बाल अस्पतालको पनि निरीक्षण गरेका थिए । अस्पतालको मुख्य भवन निर्माण अन्तिम चरणमा छ । मन्त्री घिसिङले अस्पतालको निर्माणाधीन भवन तथा विभिन्न संरचना र निर्माण प्रगतिका बारेमा कियोचका अध्यक्ष डा. कोइरालासँग छलफल गर्नुका साथै स्थलगत निरीक्षण गरेका थिए ।
उक्त अस्पताल निर्माणका लागि सरकारले करिब ४१ रोपनी जग्गा भाडा (लिज)मा उपलब्ध गराएको थियो । संघीय सरकारले भवन बनाउन तथा उपकरण खरिदका लागि करिब ११ करोड र बागमती प्रदेश सरकारले १ करोड रुपैयाँ अनुदान रकम उपलब्ध गराउने निर्णय गरेका छन् ।
डा. कोइरालाको अगुवाइमा अत्याधुनिक अन्तर्राष्ट्रियस्तरको बाल अस्पताल बनाउन लागिएकाले त्यसको प्रशंसा गर्दै मन्त्री घिसिङले अस्पताललाई सरकारकातर्फबाट आवश्यक सहयोग रहने बताए ।
उनले भने, ‘दमकमा सञ्चालित बाल अस्पताल निरीक्षण गर्यौं, उक्त अस्पतालबाट त्यस क्षेत्रमा ठूलो सेवा पुगेको रहेछ, काम गर्न सक्नेलाई देशको समग्र क्षेत्रको विकासका लागि थप जिम्मेवारी दिएर अगाडि बढाउन जरुरी छ ।’ उनले अस्पताल निर्माणमा सहयोग गर्ने सबै दातालाई धन्यवाद दिए ।
सबै नेपालीको पहुँच पुग्नेगरी अत्याधुनिक उपकरणसहितको सुविधा सम्पन्न बाल अस्पतालको निर्माण गरिएको उल्लेख गर्दै डा. कोइरालाले अस्पताल गैरनाफामूलक, समाज सेवामा विशेष केन्द्रित हुने र कमजोर वर्गले पनि गुणस्तरीय उपचार पाउने बताए ।
उनले बालमृत्युदर उच्च रहेको कर्णाली प्रदेशमा अस्पताल निर्माणका लागि पहल भइरहेको उल्लेख गरे । डा. कोइरालाले सात प्रदेशमा बाल अस्पताल निर्माण गर्ने घोषणा गरेका थिए ।
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

