― Advertisement ―

Homeराष्ट्रिय समाचारपूर्वप्रधानन्यायाधीशको चिन्ता- नागरिक र राज्यबीच विश्वास टुट्यो भने राष्ट्र पनि टुट्छ

पूर्वप्रधानन्यायाधीशको चिन्ता- नागरिक र राज्यबीच विश्वास टुट्यो भने राष्ट्र पनि टुट्छ



१९ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनपछि नयाँ नेपालको सपना बाँडिदैछ । पुराना राजनीतिक शक्तिहरू कसरी सच्चिएर अगाडि बढ्ने भन्ने ध्याउन्नमा छन् भने जेनजी पृष्ठभूमिमा समेत समूह र दलको अभ्यास हुन खोज्दैछ । जो नेपालको भूराजनीतिक अवस्थिति, नेपाली समाज, विश्व परिवेश र सूचना प्रविधिको विकाससँग जोडेर नयाँ नेपालको खाका बनाउँदैछन् ।

नयाँ नेपालको खाका कसको कस्तो छ त्यो आउन बाँकी छ । तर आगामी दिनमा ठिक ढंगले अगाडि बढ्न सकिएन भने वा नेपाललाई अगाडि बढाउने शक्तिले सुझबुझपूर्ण रूपमा निर्णय लिन सकेन भने अझ अप्ठ्यारो र असहज परिस्थिति आउन सक्ने कतिपयको चेतावनी छ ।

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ नेपालको आगामी यात्रा जति उज्यालो र सुन्दर देख्न सकिन्छ उत्तिकै अध्याँरो हुनसक्ने पाटोबाट समेत हेर्नुपर्ने बताउँछन् ।

‘राष्ट्रहित सर्वोपरी’ले बुधबार ललितपुरमा ‘राष्ट्रिय एकताका लागि नागरिक पहल’ विषयक कार्यक्रम राखेको थियो । जेनजी आन्दोलनका अगुवादेखि राजनीतिक दलका नेता, नागरिक समाजका अनुवा र विश्वविद्यालयका अध्यापकहरूलाई एकै थलो रहेको कार्यक्रममा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले विशेष सम्बोधन गरे ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले आफ्नो सम्बोधनको सुरुमै नेपालको भविष्य सम्झिएर स्व. नाटककार बालकृष्ण समले नेपालीहरूबीच एकताको अपरिहार्यताबारे गरेको आह्वान सम्झिए ।

उनले भने, ‘स्व. बालकृष्ण समले आफ्नो नाटक ‘अमरसिंह’ मा एउटा वाक्य बोल्नुभएको छ- नेपाल नाम जसरी गढवाल र कुमाउँमा बिलायो, त्यसरी नै यदि हाम्रो विश्वास टुट्यो भने भोलि नेपाल हिमालमा मात्र सीमित हुनेछ।’

अर्थात्, पूर्वप्रधानन्यायाधीश श्रेष्ठले पनि नेपालीहरूबीच एकताको अपरिहार्यता औंल्याए । झट्ट सुन्दा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले गर्न खोजेको इशारा पत्यार लाग्दैन । आफ्नो कुरा पत्याउन र त्यसअनुसार अगाडि बढ्नुपर्ने उनको आग्रह छ ।

‘कसरी बिलाउँछ र भन्ने लाग्दो होला !,’ श्रेष्ठ भन्छन्, ‘तर जब बिलाउने दिन आउँछ, तब त सबै बिलाइसक्छ । नबिलाएसम्म नै यी कुराहरू सोच्न र भन्न सकिन्छ ।’

यस्तो जोखिम कसरी पैदा भयो त ? श्रेष्ठ चिन्ता गर्छन्, ‘हाम्रो विश्वास नेपाल हुनुको विश्वास, नेपाली हुनुको विश्वास हो । यदि हामीले यो विश्वास टिकाइराख्न सकेनौं, अहिले जस्तो हीनभाव, रुग्ण मानसिकता, प्रतिद्वन्द्वात्मक चेत र गैरजिम्मेवार सोचलाई बढ्न दियौं, र विभाजनका रेखाहरूलाई अझ तीव्र पार्दै लग्यौं भने हामी गम्भीर जोखिमतर्फ अघि बढिरहेका हुनेछौं ।’

भविष्यलाई पुनः मूल्यांकन गर्ने अवसर खेर नजाओस्

नेपाल यति गम्भीर जोखिममा छ भने त्यो जोखिमबाट कसरी बच्ने ? नयाँ, समृद्ध र आशापूर्ण नेपाल कसरी बनाउने ? श्रेष्ठका नजरमा ‘यो वर्तमानको चन्ता हो र यसतर्फ सबै निरन्तर लागिरहनुपर्छ ।’

वर्तमानमा सबैभन्दा पहिले जेनजी आन्दोलनले के दियो, के दिएन, त्यसको समीक्षा आवश्यक छ । उनी भन्छन्, ‘यसको आगामी कार्यदिशा के हो भन्ने कुरा स्पष्ट गर्नुपर्छ।’

त्यसपछि बाँकी विषय अगाडि बढ्ने छन् । जेनजी आन्दोलनको आगामी कार्यदिशा स्पष्ट भएपछि बाँकी प्रश्नहरू जन्मिन्छन् । उनी भन्छन्, ‘हाम्रो राजनीति सुध्रिने हो कि सच्चिने हो ? अर्थतन्त्रमा यसको प्रभाव के छ ? हाम्रो अग्रगति कुन दिशातर्फ छ ? यी प्रश्नहरू गम्भीरतापूर्वक विचार गर्नुपर्ने हुन्छ ।’

नागरिक स्तरबाट नेपालमा विभिन्न कालखण्डमा पटकपटक आन्दोलनहरू भएका छन्। पटकपटक आन्दोलन किन हुन्छ र भयो ? पूर्वप्रधानन्यायाधीश श्रेष्ठ कारण दिन्छन्, ‘लगभग प्रत्येक दशकमा कुनै न कुनै आन्दोलन भइरहन्छन् । तर आन्दोलनहरू हुने, व्यवस्था बदलिने, तर जनताको जीवनमा परिवर्तन नआउने स्थिति कायम छ।’

उनका नजरमा ‘समाजमा रूपान्तरण नहुँदा फेरिफेरि आन्दोलन दोहोरिनु स्वाभाविक हुन्छ।

‘सधैं आन्दोलनरत रहँदा देश सधैं संक्रमणकालमै अड्किन्छ। स्थायित्व ल्याउन सक्दैन- चाहे त्यो अर्थतन्त्रमा होस्, राजनीतिमा होस् वा सामाजिक संरचनामा,’ श्रेष्ठ भन्छन्, ‘र, अहिले पनि हामी फेरि त्यही बिन्दुमा उभिएका छौं।’

‘कसरी बिलाउँछ र भन्ने लाग्दो होला,’ श्रेष्ठ भन्छन्, ‘तर जब बिलाउने दिन आउँछ, तब त सबै बिलाइसक्छ । नबिलाएसम्म नै यी कुराहरू सोच्न र भन्न सकिन्छ ।’

फेरि पनि उनी नेपालको वर्तमान र भविष्यलाई पुनः मूल्यांकन गर्ने अवसर आएको र यसलाई खेर जान दिन नहुने बताउँछन् ।

यसका निम्ति उनको आह्वान छ, ‘म जेनजी भाइबहिनीहरूले गरेको आन्दोलनको असलियतलाई सम्मान गर्न चाहन्छु। आन्दोलनका शहीदहरूको सपना र त्याग कुनै पनि अर्थमा खेर जानु हुँदैन। आन्दोलनका बेला धेरै कुरा भनिएका थिए, तर अब त्यसलाई व्यापक सन्दर्भमा पुनर्विचार गर्नुपर्छ- नेपालको वर्तमान र भविष्यलाई पुनः मूल्यांकन गर्ने अवसर अहिले हामीसँग छ, र यो अवसर खेर जान दिनु हुँदैन।’

जेनजी आन्दोलनका यी सबै पृष्ठभूमि ख्याल गरेर अगाडि बढ्नुपर्ने भन्दै उनी थप्छन्, ‘राष्ट्र जोगिनुपर्छ। राष्ट्र रहेपछि मात्रै संविधान, प्रक्रिया र प्रणालीको कुरा गर्न सकिन्छ। राष्ट्र कमजोर भयो भने बाँकी सबै कुरा अर्थहीन हुन्छ।’

पुरानो र नयाँबीचको घम्साघम्सीमा के गर्ने ?

भविष्यलाई पुनः मूल्यांकन प्रयासमा नयाँ शक्ति र पुराना शक्तिका बीचमा छलफल हुन्छ । तर त्यसक्रममा हुने संघर्षबाट निष्कर्षमा कसरी पुग्न सकिन्छ भन्ने प्रश्न छ ।

श्रेष्ठ भने दुवै मिलेर अगाडि बढ्नुपर्ने सुझाउँछन् । ‘फेरि पुरानो र नयाँको बीचमा घम्साघम्सी हुनेछ। तर म विश्वस्त छु- समाज नयाँ सोच, नयाँ संस्कार, नयाँ पुस्ता र नयाँ ऊर्जाबाटै चल्ने हो,’ उनी भन्छन्, ‘पुरानो पुस्ताको अनुभव अमूल्य छ, तर ऊर्जा भने नयाँ पुस्तासँग हुन्छ।’

नयाँ पुस्ताप्रति विश्वास गर्न पुराना शक्तिलाई उनको आग्रह पनि छ, ‘हामीले नयाँ पुस्ताको ऊर्जामा भरोसा गर्नुपर्छ। म रूपान्तरणकारी पुस्तान्तरणमा विश्वास गर्छु- यसले समाजलाई नयाँ दिशातर्फ लैजानुपर्छ।’

पुरानो र नयाँको बीचमा घम्साघम्सी हुनसक्ने विषय हो- २०८२ साल भदौ २३ र २४ गतेका घटनाहरूलाई कसरी हेर्ने ? यसका श्रेष्ठ प्रष्ट छन्- जेनजी आन्दोलनको असलियतमा विश्वास राख्ने । तर जुन परिमाणमा क्षति भयो त्यसको कारणमा आत्मसमीक्षा गर्ने ।

‘केही घण्टामा नै यति ठूलो क्षति भयो जुन लडाइँमा पनि नहुने थियो,’ उनी भन्छन्, ‘राज्यका संस्थाहरू बाँच्न सकेनन्। यसले हाम्रो कानुन कार्यान्वयन निकायको क्षमता, जनताको राज्यप्रतिको आस्था, र संस्थाहरूको आफ्नै दायित्वबोध- यी सबैप्रति गम्भीर प्रश्न उठाएको छ।’

मूल्य-मान्यता पुनर्जीवित गरौं

राज्य सञ्चालका लागि आवश्यक अंग र निकाय छन् । तर तिनको क्षमता के कस्तो छ ? त्यसप्रति जनताको अपनत्व के कसो छ भन्ने कोणबाट हेर्दा सही अर्थमा भविष्य कोर्न सकिने श्रेष्ठको राय छ ।

‘हामीले राज्य निर्माण गर्‍यौं, संस्थाहरू पनि बनायौं, तर ती संस्थाहरू केवल बनेका छन् भनेर मानेका मात्र रहेछौं । साँच्चिकै बनेका होइनन्,’ उनी भन्छन्, ‘कार्यपालिका, न्यायपालिका, संसद, प्रहरी कुनै पनि संस्थाले आफ्नो विश्वसनीयता जोगाउन सकेनन् । निजी क्षेत्रका नागरिकहरूले समेत आफ्ना सम्पत्ति र जीवनरक्षा गर्न सकेनन् । यस्तो अवस्थाको सामना गर्नु लडाइँभन्दा पनि पीडादायी थियो ।’

यस्तो क्षति आवश्यक थियो ? आन्दोलनको असलियत देखाउन यति ठूलो बलिदान किन ?’ भन्ने प्रश्नका बाबजुद उनी राज्यप्रतिको अपनत्वको प्रश्न अहं रहेको दोहोर्‍याउँछन्, ‘राज्य गठन गरियो, तर राज्य निर्माणका आधारहरू मजबुत बनाइएनन् । संस्थाहरू बनाए पनि तिनका मूल्य, मान्यता र जग बलियो पारिएन । हामीले यसबारे गहिरो समीक्षा गर्नुपर्छ।’

उदाहरणका रूपमा उनी जेनजी आन्दोलनकै अवस्था देखाउँछन् ।

‘सुरक्षा निकायको कुरा गरौं- जसले पहिलो पंक्तिमा जोखिम बेहोर्नुपर्छ। तर तिनलाई न राम्रो तालिम दिइयो, न पर्याप्त साधन, न मनोबल,’ तत्कालीन अवस्थामा राज्य सञ्चालनमा रहेकाहरूको नियतमाथि प्रश्न गर्दै उनी भन्छन्, ‘हामीले योग्य जनशक्ति खोज्नुको सट्टा अनुकूल मान्छे खोज्यौं। फलस्वरूप, सुरक्षाको प्रत्याभूति दिनै नसक्ने कमजोर अवस्था सिर्जना भयो।’

राज्यको पहिलो चरित्र नै सुरक्षा हो। जब त्यही पक्ष असफल हुन्छ भने बाँकी कुरा टिक्न कसरी सक्छ भन्ने श्रेष्ठको प्रश्न छ । यही कारणले जेनजी आन्दोलनका क्रममा भएका क्षतिहरूले गहिरो घाउ पुर्‍याएको उनको बुझाइ छ ।

अब पनि संरचना बनाएर नहुने भन्दै उनी तिनका मूल्य-मान्यता पुनर्जीवित गर्नुपर्नेमा जोड दिन्छन् । भन्छन्, ‘अब पुनर्निर्माण कार्यक्रमहरू ल्याउनुपर्छ तर त्यसतर्फ ठोस कदम देखिँदैन। घरहरू पुनःनिर्माण गर्नुपर्छ, संस्थाहरू पुनःस्थापना गर्नुपर्छ, र तिनका मूल्यऔमान्यता पुनर्जीवित गर्नुपर्छ।’

यो काम अब नयाँ र पुरानf दुवै शक्तिले मिलेर गर्नुपर्ने र पुरानो शक्तिले नयाँलाई अगाडि सारेर सहयोग गर्नुपर्ने उनको आग्रह छ ।

‘सबैभन्दा जरुरी कुरा- जनताको संस्थाप्रतिको आस्था, र संस्थाहरूको आफ्नै आत्मविश्वास पुनः जोगाउनु हो। त्यो कसले गर्छ ? त्यसका लागि योजना र कार्यक्रम कहाँ छन् ? यिनै आधार बिना विकासको कुरा गर्नु केवल भ्रम हो,’ उनी भन्छन्, ‘संसद्, अदालत, सरकार यी सबै आवश्यक छन्, तर जबसम्म सुरक्षा र विश्वासको प्रत्याभूति हुँदैन, विकास सधैं जोखिममै रहन्छ।’

यी कुराहरूलाई मध्यनजर राख्ने हो भने एउटा गम्भीर परिस्थितिमा पुग्न सकिने र अगाडिको बाटो देखिने उनको आग्रह छ । यस्तो गर्नुपर्ने कारणबारे उनी भन्छन्, ‘हामी राष्ट्रको, राज्यको खोक्रोपन अनुभव गरिरहेका छौं । हामी राज्य छ भनेर ढुक्क हुने अवस्थामा छैनौं । हामी निश्चिन्त भएर राति सुत्ने अवस्थामा छैनौं।’

युवाले नेपालमै भविष्य देखोस्

पूर्वप्रधानन्यायाधीश श्रेष्ठका अनुसार परिवर्तनपछि जे जति काम हुन्छन् तिनमा युवा पुस्ताले नेपालमा भविष्य देख्न सक्नुपर्छ ।

‘हाम्रा केटाकेटीहरू भन्छन्- यो देशमा केही छैन, यो देश त बाँच्नै लायकै छैन। न बस्न योग्य न पढ्न योग्य भन्ने भाष्य निर्माण गर्ने र गर्न दिने परिस्थितिहरू नबदल्ने हो भने समस्या सुल्झिँदैन्,’ उनी भन्छन्, ‘भविष्य त विगतमा होइन, हाम्रो पुस्तामा खोज्ने हो। पुस्तान्तरण गर्ने जिम्मा हाम्रो हो। त्यो जिम्मा पूरा गर्न नसकेपछि हामी के जोगाउँछौं र के कमाउँछौं ?’

पुस्तान्तरणका लागि पनि केवल भाषण गरेर नहुने उनको आग्रह छ, ‘कार्यक्रम, भावना, सोच, संस्कार र व्यवहारबाट नयाँ पुस्तालाई आश्वस्त पार्नुपर्छ कि यो देश पनि त्यत्तिकै महत्वपूर्ण छ, जतिका तिमीले जान खोजेका देशहरू छन्।’

यति विश्वास दिलाउन सकेपछि नयाँ पुस्तालाई यो देश हाम्रो हो भन्ने पार्न सकिने उल्लेख गर्दै उनी थप्छन्, ‘त्यसपछि तिमीले निर्माण गर्नुपर्ने देश यही हो, बासयोग्य, भोगयोग्य देश यही हो भन्न सकिन्छ । यदि हामीले यस्तो भाष्य दिन सक्यौं भने मात्रै भविष्य सुरक्षित हुन्छ, नभए हामी ठूलो जोखिममा छौं।’

युवालाई नेपालमै भविष्य देखाउन नेपाललाई नै जागृत गर्नुपर्ने उनलाई लाग्छ । वर्तमान संक्रमणबाट अगाडि बढ्ने बाटो चुनाव हो । आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभाको चुनावको मिति तोकिएको छ ।

‘चुनाव गर्नैपर्छ, त्यसका लागि नयाँ सरकार गठन भएको छ,’ श्रेष्ठ भन्छन्, ‘चुनाव हुनका लागि सबैभन्दा पहिले उम्मेदवार र मतदाताबीच सुरक्षा प्रत्याभूति हुनुपर्छ।’

संविधान र परिवर्तनका माध्यमका रूपमा चुनावबाट जुन अपेक्षा गरिएको छ त्यो पूरा हुने वातावरण बन्नुपर्ने उनको आग्रह छ ।

सरकारको काम यतातर्फ केन्द्रित हुनुपर्ने उनी बताउँछन् । अन्यथा आन्दोलनपछि आन्दोलन हुने र देशको समय खेर गइरहने उनलाई लाग्छ ।

‘मलाई चिन्ता छ, कतै हामी आन्दोलनहरू गरेर समय खेर त फालिरहेका छैनौं ? एकपछि अर्को आन्दोलन गर्ने । सफल भयो भन्ने, केही व्यक्तिहरू देशमा उदीयमान त हुने तर आन्दोलनका अभिष्टहरू परास्त भइरहने,’ उनी भन्छन्, आन्दोलन गरिरहने, तर रुपान्तरण नहुने, परिवर्तनको गफ गरिरहने, यो वर्गमा त हामी परेनौं ? यसबारे हामीले राम्ररी समीक्षा गर्नुपर्छ ।’

फेरि आन्दोलनकै गर्नुपर्ने अवस्था आउन नदिनका लागि जेनजी आन्दोलन के थियो र त्यसलाई सम्बोधन संविधानमा कसरी गर्न सकिन्छ भनेर चुनावपछि आउने संसद्‌ले सम्बोधन गर्नुपर्ने उनको सुझाव छ ।

उनी भन्छन्, ‘संविधानमा केही संरचनात्मक, प्रक्रियात्मक र संस्थागत कमजोरी छन्। संविधान आफैंले भन्छ- १० वर्षमा पुनरावलोकन गर्नुपर्छ। तर अहिले संविधानलाई ‘छुन्न नहुने’ जस्तो बनाइएको छ। सार्वभौम सत्ता जनतामा रहन्छ । त्यसैले जनताको चेत जाग्नु जरुरी छ।’

श्रेष्ठका नजरमा संविधानलाई वैधानिक र शान्तिपूर्ण बाटोबाट सुधार गर्नुपर्छ, ताकि अर्को विद्रोह नआओस्। यो संविधानका शुभचिन्तकको चिन्ता हो।

यहाँनेर उनी जेनजी आन्दोलनमा निराशा थियो भन्ने नभुल्न सुझाउँछन् । उनी भन्छन्, ‘जेनजी आन्दोलनको अग्रपंक्तिमा त युवाहरू थिए, तर त्यसको पछाडि राष्ट्रकै समग्र निराशा पनि थियो। जनता आक्रोशित थिए, असन्तुष्ट थिए, परिवर्तनको आकांक्षा राख्थे। त्यो आकांक्षा जेनजी आन्दोलनमार्फत मुखरित भएको हो।’

जनताको निराशा समयमै सम्बोधन गर्नुपर्नेमा उनको जोड छ । ‘निराशा बमभन्दा पनि बढी शक्तिशाली हुन्छ। अहिले त्यो विस्फोट भइसकेको छ। त्यसैले यसबाट पाठ सिकेर जिम्मेवार तहका मानिसहरूले आत्मसमीक्षा गर्नुपर्छ,’ उनी भन्छन्, ‘यो निराशाले इंगित गरेका जिम्मेवार मानिसहरूले जिम्मा लिनुपर्छ । नोक्सानबाट निराश भएर टाउको निहुराउने बिन्दुमा रहनु हुँदैन।’

नेपाललाई जागृत गर्न कसले के गर्नसक्छ त्यही गर्नुपर्ने पनि उनको आग्रह छ । भन्छन्, ‘देशमा फेरि आशा कोर्नुछ । हामीले नेपाललाई फेरि जागृत गर्नुपर्छ, उन्नत र समृद्ध बनाउनु छ, परिवार र विश्वसमुदायका लागि प्रेमपूर्ण र विश्वसनीय देश बनाउनु छ। यही बाटोमा हिँड्न हामीले ठोस काम गर्नुपर्छ।’

जबसम्म नागरिक चेतनाको चर्चा हुँदैन तबसम्म राजनीति नसुध्रने उनको बुझाइ छ, ‘कमजोर राजनीति र कमजोर नागरिक चेतनाले राष्ट्रलाई कमजोर बनाउँछ। तब अन्तर्राष्ट्रिय सम्मान पनि गुम्छ। भिसा पाउन कठिनाइ हुनु, श्रमिकहरूको अपमान हुनु, यी सबै त्यसैको परिणाम हुन्।’

अर्थतन्त्रको कुरा गर्दा कृषिको योगदान घट्दै गएको छ, उद्योग घट्दै गएको छ, रेमिटेन्स मात्र बढेको छ। उनी भन्छन्, ‘कृषि र उद्योग बिगारी रेमिटेन्स बढाएर देश चल्दैन। यस्तो अर्थतन्त्र दीर्घकालीन रूपमा टिक्दैन।’

प्रश्न अब के हुन्छ होइन, अब के गर्ने ?

पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई धेरैले सोध्छन्- अब के हुन्छ ? उनी जवाफ दिन्छन्, ‘म ज्योतिष होइन ।’

कतिपयले सरकारले चुनाव गर्छ भनेर प्रश्न सोध्छन्  । आफूलाई किन यस्ता प्रश्न गर्छन् होला भनेर उनी घोत्लिन्छन्, ‘चुनाव हुन्छ भन्ने अपेक्षाले हो कि हुन्छ भन्ने डरले हो सोधेको होला !’

अरूहरू प्रश्न पनि सोध्छन्, ‘चुनाव भइहाले पनि त्यसपछि के हुन्छ ? के फेरि उस्तै नतिजा आउने हो ? यो निराशाको समाधान खोजिएला र ?’

यी सबै प्रश्नहरूको उत्तर सबैले सामूहिक रूपमा खोज्नुपर्ने उनको आग्रह छ, ‘यसमा हामीले संयुक्त विस्डम व्यक्त गर्नुपर्छ र समाधान खोज्नुपर्छ ।’

पहिले विरोध गर्ने र पछि औचित्य खोज्न छाडेर निराशालाई अशामा बदल्ने रुपान्तरणकारी कार्ययोजनामा काम गर्न उनको आह्वान छ ।

अब के हुन्छ भन्ने प्रश्न नगरेर अब के गर्ने भन्नेतिर ध्यान दिनुपर्ने उनलाई लाग्छ । विगतको अनुभवबाट पाठ सिकेर राज्यका निकायहरूको प्रभावकारिता स्थापित गर्नुपर्ने भन्दै उनी नयाँ योजना बनाउन विगतबाट पाठ सिक्नुपर्ने बताउँछन् ।

श्रेष्ठ भन्छन्, ‘हामीसँग संविधान छ, संस्था छन्, व्यक्ति छन् तर शासन सुशासन छैन। सबै संरचना रहेर पनि कानुनी शासनको अनुभूति छैन।’

यदि सुशासनप्रति जनताको चाहना जे थियो त्यो सम्बोधन गर्न सकेको भए भदौ २४ को क्षति रोक्न सकिन्थ्यो भन्ने उनको विश्वास छ ।

‘गुड गभर्नेन्स भन्ने शब्द घोक्ने तर भोग्न कहिल्यै पनि नपाइने । हामीले सन् २००७ सालदेखि सुन्दै आएका हौं, तर त्यसको अभ्यास देखिँदैन,’ श्रेष्ठ भन्छन्, ‘शासन प्रणालीको अभ्यासमा निरन्तर कमी छ। हामीले संस्कृति र पूर्वाधार बनाउन सकेनौं ।’

राज्य सञ्चालमा रहनेहरूको अवस्था थाहा पाउन २३ भदौको घटना नियाल्न सकिने उनको आग्रह छ ।

‘२३ भदौको घटनामा जसरी बल प्रयोग गरियो र जुन स्तरको ज्यादति भयो, अन्धाधुन्ध शक्ति प्रयोग भयो, त्यसको हिसाबकिताब गरौं न । २३ भदौको अनुभवबाट २४ भदौमा के गर्ने भन्ने सोच र तयारी हुनुपर्थ्यो नि । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रिपरिषद्, सुरक्षा प्रमुखलगायत राष्ट्रको जवाफदेहिता बोकेका सबै त थिए नि !,’ उनी भन्छन्, ‘घटनाहरू हेर्दा पनि स्पष्ट हुन्छ, हामीले तयारी गर्न सकेनौं। सुरक्षाका संयन्त्रहरू सक्रिय हुन सकेनन्। यो असफलता गभर्नेन्सको असफलता हो।’

चाहिने विधि सबै भएको तर, व्यवहारमा नदेखिनु नै मुख्य समस्या भएको उनको अनुभव छ । श्रेष्ठ भन्छन्, ‘हामीसँग संविधान छ, संस्था छन्, व्यक्ति छन् तर शासन सुशासन छैन। सबै संरचना रहेर पनि कानुनी शासनको अनुभूति छैन।’

नयाँ कार्यदिशा र आशाको नक्सा कोर्दा के गर्ने भन्न उनी विगत सम्झन्छन्, ‘संविधान महान छ तर शासन कमजोर छ, नेता महान छन् तर जनता असहाय छन्। यही विरोधाभासले हामीलाई अहिलेको अवस्थामा उभ्याएको छ। अब तिनबाट पाठ सिकेर नयाँ कार्यदिशा र आशाको नक्सा कोर्नुपर्ने हुन्छ ।’

पूर्वप्रधानन्यायाधीश श्रेष्ठका नजरमा नागरिक र राज्यबीचको सम्बन्ध नै स्थापित गर्नुपर्ने छ । उनी थप्छन्, ‘हामीले नागरिक र राज्यबीचको सम्बन्ध पनि पुनर्स्थापित गर्नुपर्छ। नागरिक चेतना कमजोर हुँदा राजनीति पनि कमजोर हुन्छ । जब राजनीतिले जनतालाई सम्बोधन गर्न छोड्छ, राज्य पनि असुरक्षित हुन्छ।’

श्रेष्ठका अनुसार जनताले जनप्रतिनिधि छान्ने हुन मालिक होइनन् भन्ने सबैले बुझ्न आवश्यक छ, ‘हामी निर्वाचन गर्छौं, प्रतिनिधि छान्छौं, तर प्रतिनिधिहरू मालिकजस्ता र जनता कारिन्दाजस्ता छन्। राजनीतिले जितेको, जनताले हारेको अवस्था निर्माण भएको छ। यो उल्ट्याउनुपर्छ।’

अवस्था बदल्न नागरिक शिक्षामा जोड दिनुपर्ने हुन्छ । श्रेष्ठ भन्छन्, ‘हामीले नागरिक शिक्षालाई प्राथमिकतामा राख्नुपर्छ। नागरिक चेतना अभिवृद्धि भएन भने राष्ट्र बलियो हुँदैन। अहिले नागरिक र राज्यबीचको विश्वास संकटमा छ। यो विश्वास टुट्यो भने राष्ट्र पनि टुट्छ।’

सबै नागरिक बराबर रहेको विश्वास सिर्जना गर्न सके मुलुक बन्ने उनको विश्वास छ, ‘हामी सबै फरक-फरक जात, भाषा, वर्गका भए पनि समान मूल्य र समान गौरवका भागिदार हौं। राष्ट्रनिर्माणको चरित्र यही हो। हामी सबै बराबरका नागरिक हौं, सुख-दु:खका समान साझेदार हौं।’

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More