― Advertisement ―

Surfshark ले TechRadar अनुसन्धान पछि बिग्रिएको पोस्ट-क्वान्टम VPN प्रोटोकल फिक्स गर्दछ

TechRadar द्वारा परीक्षणहरू पछ्याउँदै, Surfshark ले आफ्नो नयाँ, मालिकाना VPN प्रोटोकल, 'दौसोस। अद्यावधिकले निश्चित आवासीय फाइबर जडानहरूमा प्रोटोकलले अब सही रूपमा काम गर्छ...
HomeLatest newsपुस्तागत जिम्मेवारी र जेन–वाईको भूमिका – KhabarHost

पुस्तागत जिम्मेवारी र जेन–वाईको भूमिका – KhabarHost



संसारका प्राय: सबै सफल परिवर्तन र आन्दोलनहरू स्पष्ट उद्देश्य, निश्चित गन्तव्य र ठोस कार्ययोजनामा आधारित देखिन्छन् । राजनीतिक होस् वा सामाजिक, परिवर्तन तब मात्र अर्थपूर्ण हुन्छ जब त्यसले व्यक्तिको प्रत्यक्ष जीवनमा अनुभूतियोग्य सुधार ल्याउँछ । तर, नेपालमा भएका पछिल्ला परिवर्तनहरूले त्यस्तो विश्वासको वातावरण निर्माण गर्न सकेका छैनन् । यसको पछिल्लो प्रमाणका रूपमा जेन्जी पुस्ताको नेतृत्वमा भइरहेका आन्दोलन र बढ्दो असन्तुष्टिलाई लिन सकिन्छ ।

यो अवस्थाको मूल कारण के हो ? आजको भाषामा भन्दा सत्ता सञ्चालनमा रहेका पुस्ताहरूको अदूरदर्शिता, सत्ता मोह र परिवारवाद नै यसका प्रमुख कारक हुन् । राजनीति सेवाभाव र नवीन सोचको माध्यम बन्नुपर्नेमा राज्य स्रोतको दोहनमार्फत व्यक्तिगत र पारिवारिक आर्थिक सुरक्षाको साधन बन्दै गएको छ ।

राज्य राज्यजस्तो नबन्नु र प्रशासनले सुशासन कायम गर्नुको सट्टा ‘नाफा केन्द्र’ को रूपमा काम गर्नु गम्भीर चिन्ताको विषय हो । नीति निर्माणमा वस्तुगत मूल्यांकन र उत्तरदायित्वको सट्टा घुसखोरी र पहुँचका आधारमा निर्णय हुने प्रवृत्तिले राज्य संयन्त्रप्रति जनविश्वास कमजोर बनाएको छ । सेवा अवधिपछि पनि नीतिगत निर्णयमा प्रभाव जमाइरहने र विदेशी सहायता वा सामाजिक प्रशंसालाई ‘आर्थिक हैसियत’सँग जोड्ने संस्कारले संस्थागत सुशासनलाई ध्वस्त पारेको छ ।

प्रहरी प्रशासनले सार्वजनिक सुरक्षाभन्दा व्यक्तिगत लाभलाई प्राथमिकता दिनु र त्यसरी अकुत सम्पत्ति आर्जन गर्नेहरू समाजमा सम्मानित हुनु राज्य असफलताको संकेत हो । सैनिक संस्थासमेत आफ्नो मूल भूमिकाभन्दा बाहिर व्यवसाय र नाफातर्फ आकर्षित हुनु र क्षणिक लाभका लागि सामरिक संवेदनशीलतालाई नजरअन्दाज गर्नु राष्ट्रिय सुरक्षाका लागि चुनौतीपूर्ण छ ।

शिक्षा र मानव संशाधनमा देखिएको रिक्तता

शिक्षा र मानव संसाधन विकासमा राज्यको असफलता झनै गहिरो छ । उत्पादित शैक्षिक जनशक्तिलाई उपयुक्त क्षेत्रमा प्रयोग गर्न नसक्नु र विदेशिनुलाई नै सामाजिक सफलता ठान्नु आजको ठूलो दुर्भाग्य हो । विकासका मोडेलहरू प्रयोगमै सीमित छन्, नवप्रवर्तनमा युवाको सहभागिता न्यून छ र प्रतिभा पलायनलाई नै उपलब्धिका रूपमा प्रस्तुत गरिँदैछ ।

सेवाभावबाट अघि बढ्नुपर्ने शिक्षक, डाक्टर, इन्जिनियर, पाइलट र वैज्ञानिकजस्ता पेशाहरूलाई पनि आज योगदानभन्दा आम्दानीको आधारमा मूल्यांकन गर्न थालिएको छ । यो प्रवृत्ति असफल राज्यको परिचायक हो ।

अभाव र आधुनिकताको साक्षी पुस्ता

जेन–वाई पुस्ता नेपालको सबैभन्दा अनुभवी र संक्रमणकालीन पुस्ता हो । यो पुस्ताले अभाव र सम्पन्नता दुवै भोगेको छ– कोदोको रोटीको अभावदेखि पाँचतारे होटलको व्यञ्जनप्रतिको अरुचिसम्म । रोदी, मेला र पर्वजस्ता परम्परागत संस्कृतिदेखि आधुनिक पप क्लबसम्मको यात्रा यही पुस्ताले देखेको छ । गुरुकुल शिक्षादेखि अनलाइन कक्षासम्म, हतियारयुक्त संघर्षदेखि शान्तिपूर्ण जनआन्दोलनसम्म र अहिलेको डिजिटल तथा एआई (कृत्रिम बौद्धिकता) को युगलाई यही पुस्ताले आत्मसात् गरेको छ ।

पैदल हिँडेर सहर पुग्ने समयदेखि विश्व भ्रमणसम्म, अनि सुका–मोहरबाट जीवन धानेको अवस्थादेखि डिजिटल र माइनिङ करन्सीमार्फत अन्तर्राष्ट्रिय कारोबार गर्ने समयसम्मको साक्षी यही पुस्ता हो । त्यसैले, अब यो पुस्ता जिम्मेवारीबाट पन्छिन मिल्दैन । यदि यो पुस्ता अग्रसर भएन भने नेपाल भूगोलमा मात्र सीमित भई यसको सामाजिक संरचना, सांस्कृतिक मूल्य र राष्ट्रिय पहिचान गुम्ने जोखिम छ ।

परिवर्तनको सामाजिक प्रभाव र भ्रम

पछिल्लो राजनीतिक परिवर्तनले समाजमा व्यापक निराशा र नकारात्मक सोच बढाएको छ । उद्यमशीलताभन्दा ‘दलाली प्रवृत्ति’ हावी भएको छ । विदेशिनुलाई प्रतिष्ठासँग जोड्ने गलत भाष्य निर्माण गरिएको छ । खाडी मुलुकमा श्रम गर्ने युवाप्रति सम्मान हुनुपर्छ, तर उनीहरूको बाध्यतालाई देशप्रति वितृष्णा फैलाउने अस्त्र बनाउनु भ्रम मात्र हो ।

भ्रष्टाचार वा अनुचित माध्यमबाट प्राप्त धनलाई सफलताको मापदण्ड मान्ने सोच स्थापित हुँदैछ । विकास दिगोपनभन्दा देखावटी र क्षणिकतामा सीमित छ । समाजसेवालाई प्रचार सामग्री बनाएर व्यापार गर्ने संस्कारले सामाजिक विश्वासमा गम्भीर संकट थपेको छ ।

अबको निकास र कार्यदिशा

अब समाधान खोज्नु अपरिहार्य छ । यसका लागि निम्न कदमहरू चाल्नुपर्छ:

१. अनुभवीको सम्मान, युवाको नेतृत्व : लामो समय योगदान दिएका व्यक्तिहरूलाई संरक्षकको भूमिकामा राखी उनीहरूको अनुभव उपयोग गर्ने र कार्यकारी भूमिकामा युवालाई अघि सार्ने ।

२. जवाफदेहिता : सार्वजनिक पदमा बसेका व्यक्ति वा उनीहरूको परिवारको सम्पत्ति र भूमिकामाथि निष्पक्ष छानबिन गर्ने ।

३. सिर्जनशीलताको प्रयोग : जेन–जेड र जेन–वाई पुस्ताको ऊर्जा र नवप्रवर्तनलाई उत्पादन र उद्यमशीलतासँग जोड्ने ।

४. पेशागत मर्यादा : शिक्षक, डाक्टर, इन्जिनियर र वकिलजस्ता सेवामूलक पेशाप्रति उच्च सामाजिक सम्मान पुनर्स्थापित गर्ने ।

५. प्रशासनिक सुधार : निजामती प्रशासनलाई पारदर्शी र सेनालाई राष्ट्रिय सुरक्षा एवं गोपनीयतामा केन्द्रित गर्ने । राज्यलाई धोका दिनेहरूमाथि कडा कारबाही गर्ने ।

अन्त्यमा,

राष्ट्रिय पूँजीको संरक्षण गर्दै उद्यमशीलतालाई युवाको आकर्षण बनाउनु आजको मुख्य आवश्यकता हो । जेन–वाई पुस्ताले यी समस्याको समाधानमा सेतुको भूमिका खेल्नुपर्छ । परिवर्तनको वास्तविक दिशानिर्देश गर्ने ऐतिहासिक जिम्मेवारी अब यही पुस्ताको काँधमा आएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More