― Advertisement ―

Surfshark भर्खरै वर्षको सबैभन्दा राम्रो सम्झौता छोड्यो – योजनाहरू 28 महिनाको सुरक्षाको लागि $ 50 भन्दा कमबाट सुरु हुन्छ

Surfshark ले TechRadar पाठकहरूलाई 88% सम्म छुटको विशेष छुट प्रदान गर्दैछ, जसमा थप 4 महिनाको सुरक्षा समावेश छ।यसको मतलब यो हो कि सर्फशार्कले प्रति...
HomeLatest news‘पार्टीपंक्तिमा पुगेको भावनात्मक क्षतिप्रति आत्मालोचित छु, पदको लोभ छैन’

‘पार्टीपंक्तिमा पुगेको भावनात्मक क्षतिप्रति आत्मालोचित छु, पदको लोभ छैन’



एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले दीपक धामीलाई अध्यक्ष बनाएको छ । जेनजी आन्दोलनको समयमा डा. सुजन कडरियाले राजीनामा दिएपछि उत्पन्न परिस्थितिमा धामी अध्यक्ष बनेका हुन् ।

कडरियाको राजीनामाले अनेरास्ववियु भित्र तरंग ल्याएको थियो । राजीनामा दिएका उनी पुनः कार्यालय फर्कन खोजेपछि तनावसमेत सिर्जना भएको थियो । उनको नेमप्लेटदेखि कार्यालय तोडफोड भएको थियो । त्यसपछि पनि कडरियाले अनेरास्ववियुमै सक्रिय रहेको सन्देश सामाजिक सञ्जालबाट दिइरहेका थिए । उनले पार्टी अध्यक्ष केपी ओलीमाथि सडकमा लेखिएका असभ्य गाली मेट्ने अभियान नै चलाइरहेका थिए ।

तर, अनेरास्ववियुको केन्द्रीय कमिटीले उनलाई पदमुक्त गर्ने निर्णय गरेको छ । यो परिस्थितिमा उनको प्रतिक्रिया के छ ? यस विषयमा अनलाइनखबरले डा. कडरियासँग कुराकानी गरेको छ :

अनेरास्ववियुको केन्द्रीय कमिटीले पदमुक्त गरेछ । के भन्नुहुन्छ ?

यो एउटा वैधानिक प्रक्रिया हो । बहुमतले निर्णय गरेको कुरा, हाम्रो संगठनको विधि-विधानमै चल्ने प्रक्रिया हो । म यसलाई पूर्ण सम्मान गर्छु ।

निर्वाचित भएको यति छोटो समयमा यो अवस्था कसरी आयो ?

जेनजी आन्दोलनको दिन विद्यार्थी ढलेपछि राजीनामा दिएँ । त्यसपछि सामाजिक सञ्जालमा केही साथीहरूले ‘पार्टी र संगठन नै छोडेझैं भयो, नेकपा एमालेलाई माया गर्नेले यस्तो गर्नुहुँदैन’ भन्नुभयो । धेरै साथीहरूले नछोड्न अनुरोध गरेपछि स्पष्टीकरण दिएको थिएँ- मैले छोडेको छैन, सक्रिय आन्दोलनमै छु ।

यो कुरालाई द्वन्द्वात्मक दृष्टिकोणबाट हेर्नुपर्छ । यसमा दुईवटा कोण छन् ।

पहिलो- पार्टी र आन्दोलन संकटमा भएको बेला एउटा मोर्चाबाट जिम्मेवारी छोड्नु हुँदैनथ्यो ।

तर, अर्को पाटो- त्यसबेला सबैभन्दा ठूलो बाध्यता के थियो भने हाम्रै पार्टीको सरकार थियो । आफ्नै पार्टी सरकारमा हुँदा सरकारको नेतृत्वसँग राजीनामा माग्नु सामान्य थिएन । त्यसैले मैले नैतिकताको आधारमा मार्गप्रशस्त गरेको हुँ । त्यसपछि स्वाभाविक म विद्यार्थी राजनीतिबाट बाहिर हुने नै भएँ ।

अहिले समीक्षा गर्दा त्यो राजीनामा दिनु गल्ती थियो जस्तो लाग्दैन ?

लाग्दैन । तत्कालीन अवस्थाका लागि त्यो निर्णय सही थियो । तर पार्टीको कोणबाट हेर्दा गलत थियो भनेर पार्टीले भन्न सक्छ । पार्टीको शुभेच्छुक संगठन र विभागबीच केही भिन्नता हुन्छ । शुभेच्छुक संगठनले सम्बन्धित वर्गको प्रतिनिधित्व गर्नुपर्छ । जस्तो, मधेश आन्दोलनको बेला पनि मधेशसँग सम्बन्धित संगठनहरूले पार्टीको बलियो निर्णयविपरीत पनि केही निर्णय गरेका थिए । त्यो बाध्यात्मक परिस्थिति थियो । आमविद्यार्थी गोली खाएर ढल्दै गर्दा म पदमा रहिरहन सकिनँ ।

तर, पार्टीका आम पंक्तिमा पुगेको भावनात्मक क्षतिप्रति भने म आत्मालोचित छु । ममा पदको लोभ धेरै छैन ।

राजीनामा दिइसकेपछि फेरि कार्यालय फर्कने दुष्प्रयास गर्नुभयो भन्ने आरोप पनि छ नि !

राजीनामा दिएपछि फर्किने कुरै भएन । राजीनामाको प्रक्रिया हुन्छ । प्रक्रिया नसकिँदासम्म संगठनको गतिविधिमा क्रियाशील हुनुपर्छ । आन्दोलनको समयमा राजीनामा दिएर स्वीकृत नभएसम्म कसै न कसैले सम्हाल्नै पर्छ । मैले त्यही गरेको हुँ । राजीनामा दिएर फर्केको भन्ने हैन ।

तपाईं कार्यालय आउँदा नेमप्लेट फाल्नेदेखि तोडफोडको घटना चाहिँ किन भयो त ?

त्यो घुसपैठ थियो, डकैती थियो । त्यहाँ चोर-डाकाहरू छिरेका थिए । अनेरास्ववियुका कोही थिएनन् ।

पार्टी अप्ठ्यारोमा पर्दा तपाईं जिम्मेवारीबाटै भाग्नुभयो भन्दै पार्टी अध्यक्षले अनेरास्ववियुमा उमेर हद लगाउनु गलत भयो भन्नुभएको थियो नि ?

हो । ३२ वर्ष उमेर हद गलत भयो भन्नुभयो । तहगत संरचना पार गरेका परिपक्व नेताहरू भए आन्दोलन अझ मजबुत हुन्थ्यो भन्ने उहाँको विश्लेषण सान्दर्भिक छ । म संगठनमा उमेर हद हुने कि नहुने भन्ने बहस हुँदा उमेर हदको विपक्षमा वकालत गर्नेमा थिएँ । निरन्तर आवधिक निर्वाचन प्रक्रिया कायम गर्न सकेको भए आन्दोलन सही ठाउँमा पुग्थ्यो । अध्यक्षज्यूको विश्लेषणलाई म पूर्ण सम्मान गर्छु ।

नयाँ अध्यक्ष दीपक धामीलाई के भन्न चाहनुहुन्छ ?

उहाँलाई सफल कार्यकालको शुभकामना र शुभेच्छा व्यक्त गर्छु । अत्यन्त संवेदनशील समयमा जिम्मेवारी पाउनुभएको छ । कुशलतापूर्वक निर्वाह गर्नुहुनेछ भन्ने विश्वास छ । मेरो पूर्ण साथ र सहयोग रहनेछ ।

विद्यार्थी राजनीतिबाट बाहिरिँदा विद्यार्थीका लागि के-के योगदान गरें भनेर सम्झनुहुन्छ ?

मैले विद्यार्थीलाई राजनीतिप्रति जागृत बनाउने, देशव्यापी सचेतना कार्यक्रम गर्ने, ‘विद्यार्थी देशभक्त भए मात्र राष्ट्र रहन्छ’ भन्ने सन्देश पुर्याउने काम गरेँ । स्वास्थ्य क्षेत्रबाट प्रतिनिधित्व गर्ने पहिलो डाक्टर भएकाले ‘सेवा नै उन्नत राजनीति हो’ भन्ने मान्यतालाई विकट बस्तीहरूमा महिनौंसम्म निःशुल्क स्वास्थ्य सेवा दिएर कार्यान्वयन गरें । संगठन विस्तारसँगै अनेरास्ववियुका कार्यक्रम नयाँ पुस्तासम्म पुर्याउने पहिलो बैठकबाटै निर्णय गरें ।

तर, विडम्बना, पद सम्हालेको दुई महिनामै जेनजी आन्दोलन भयो । जति गर्न सक्थें, त्यति गर्न पाइनँ । यसप्रति गहिरो दुःख छ ।

विद्यार्थी र युवाका मुद्दा उठाउन विद्यार्थी संगठन चुक्दा जेनजी आन्दोलन भयो । तपाईंहरूले नसकेपछि युवा स्वस्फुर्त सडकमा आए भन्ने टिप्पणी पनि छन् । त्यस्तो हो ?

यसको मूल कारण शिक्षामा भएको असमानता हो । बोर्डिङ र सरकारी स्कुलको पाठ्यक्रम र भाषा माध्यम फरक-फरक छ । यसले दुई वर्गका जनशक्ति उत्पादन गर्छ । त्यो टकरावको परिणाम पनि हो, यो आन्दोलन ।

अर्को, लामो समय हामीले नयाँ पुस्तालाई देशको इतिहास बुझाउन सकेनौं । आर्थिक रूपान्तरण भएन । उनीहरू परिणाममुखी छन्, छिटो समृद्धि र सुशासन चाहन्छन् । तर सोअनुसार काम गर्न नसकेको सत्य हो ।

अर्कोतर्फ, सामाजिक सञ्जाल र मिडियाबाट भएका म्यानिपुलेसनले पनि युवालाई निराशातर्फ धकेल्यो र त्यो नै सडकमा विस्फोट भयो ।

हामी विद्यार्थी संगठन पनि विद्यार्थीको भावना बोक्न केही हदसम्म चुकेका हौं । त्यसैले मैले आफ्नो असक्षमताको कारणले पनि विद्यार्थी आन्दोलन कमजोर हुन नदिन मार्गप्रशस्त गरेको हुँ । म आफ्नो कमजोरी स्वीकार्छु । नयाँ नेतृत्वले विद्यार्थीको भावनालाई साकार रूप दिन सक्छ भन्ने विश्वास छ ।

अब तपाईंको राजनीतिक यात्रा कस्तो हुन्छ ? कसरी अघि बढ्नुहुन्छ ?

पार्टी जीवनमा सक्रिय भएर लाग्छु । विद्यार्थी जीवनको राजनीतिक यात्रा आजदेखि समाप्त भयो । अब पार्टी यात्राको सुरुवात हुन्छ । सोहीअनुसार कार्ययोजना बनाउँछु ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More