फाइल तस्वीर : सुपर त्रिशूली हाइड्रोपावर
राष्ट्रिय
समाचार.
- राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा अर्थतन्त्र ३.०२ प्रतिशतले विस्तार हुने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ।
- विद्युत् र ग्याससँग सम्बन्धित क्रियाकलापको वृद्धिदर १४.९१ प्रतिशत र वित्तीय तथा बीमासम्बन्धी क्रियाकलापमा ७.०७ प्रतिशत वृद्धिदर देखिएको छ।
- अर्थतन्त्रमा सबैभन्दा बढी योगदान गर्ने कृषि क्षेत्रको वृद्धिदर १.३६ प्रतिशत मात्र रहेको र धानबाली उत्पादनमा कमी आउने अनुमान गरिएको छ।
३० पुस, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज) मा अर्थतन्त्र ३.०२ प्रतिशतले विस्तार हुने प्रारम्भिक अनुमान गरिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वृद्धिको प्रथम त्रैमासिक अनुमान सार्वजनिक गरेको छ । जस अनुसार आव २०८१/८२ को पहिलो त्रैमासिक अवधिको तुलनामा चालु आव अर्थतन्त्र ३.०२ प्रतिशतले विस्तार हुने अनुमान गरिएको हो ।
पहिलो त्रैमासमा खाद्यान्न बाली, वन पैदावार, निर्जीवन बीमा, आन्तरिक उत्पादनका निर्माण सामग्री लगायत उत्पादनमा देखिएको संकुचनका कारण यस त्रैमासको वृद्धिदर सामान्य अंकमा सीमित भएको कार्यालयको विश्लेषण छ ।
उता, विद्युत् उत्पादन तथा वितरण, वित्तीय क्रियाकलाप, पशुजन्य उत्पादन, फलफूल तथा तरकारी, व्यापार सेवा, पर्यटक आगमन लगायत क्रियाकलापमा भएको वृद्धिले अर्थतन्त्र विस्तारमा सहयोग गरेको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार यस त्रैमासमा अर्थतन्त्रको गणनामा समावेश १८ वटै औद्योगिक क्षेत्रको विस्तार धनात्मक छ ।
त्यस्तै मौसमी प्रभाव समायोजित तथ्यांकका आधारमा कुल गार्हस्थ उत्पादन (जीडीपी) आधारभूत मूल्यमा तुलना गर्दा अघिल्लो आवको चौथो त्रैमास अवधिभन्दा चालु आव पहिलो त्रैमासमा १.६८ प्रतिशतले अर्थतन्त्र संकुचनमा आएको छ ।
यस त्रैमासमा कुल १८ औद्योगिक क्षेत्रमध्ये १३ मा ऋणात्मक वृद्धि देखिएको छ । जसको असर समग्र अर्थतन्त्रमा देखिएको छ ।
विद्युत् र ग्यासले अर्थतन्त्र विस्तारमा सहयोग
पहिलो त्रैमासिक अवधिमा औद्योगिक क्षेत्र अनुसार सबैभन्दा बढी मूल्य अभिवृद्धि विद्युत् र ग्याससँग सम्बन्धित क्रियाकलापको देखिएको छ । जसको वृद्धिदर १४.९१ प्रतिशत छ ।
यसबाहेक वित्तीय तथा बीमासम्बन्धी क्रियाकलापमा ७.०७ प्रतिशत र पेसागत, वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप क्षेत्रमा ५.५२ प्रतिशतको वृद्धिदर देखिएको छ ।
अर्थतन्त्रमा सबैभन्दा बढी योगदान गर्ने कृषि क्षेत्रको वृद्धिदर भने १.३६ प्रतिशतमात्र हुने देखिएको छ । धानबाली उत्पादनमा कमी आउने अनुमानका आधारमा कृषिको वृद्धिदर कम हुने भएको हो ।
यसबाहेक पशुपन्छी, तरकारीबाली तथा फलफूलमा भने उत्पादन वृद्धि भएको कार्यालयले जनाएको छ । अर्थतन्त्रमा दोस्रो ठूलो हिस्सा ओगट्ने थोक तथा खुद्रा व्यापार क्षेत्रको वृद्धिदर ३.८९ प्रतिशत हुने अनुमान छ ।
व्यापारजन्य वस्तु स्वदेशी उत्पादन तथा आयातमा भएको वृद्धिका कारण यो क्षेत्र धनात्मक रहन गएको विश्लेषण छ । यस त्रैमासमा सबैभन्दा कम वृद्धिदर पानी आपूर्ति, ढल निकास, फोहोर व्यवस्थापन तथा उपचारात्मक क्रियाकलापमा छ । जुन १.११ प्रतिशत छ । यसबाहेक मानव स्वास्थ्य तथा सामाजिक क्रियाकलापको १.१९ प्रतिशत छ ।
उता, अघिल्लो आव अन्तिम त्रैमासिक अवधिको तुलनामा भने खानी तथा उत्खनन, सार्वजनिक प्रशासन तथा रक्षा र सामाजिक सुरक्षाको वृद्धिदर सबैभन्दा धेरैले ऋणात्मक रहेको अनुमान छ ।
विद्युत्, ग्यास, सूचना तथा सञ्चार, पेसागत, वैज्ञानिक तथा प्राविधिक सेवामा भने बढी वृद्धि भएको अनुमान छ । अर्थतन्त्रमा सबैभन्दा बढी योगदान गर्ने कृषिमा १.६५ प्रतिशतको संकुचन आएको छ ।
चालु आव पहिलो त्रैमासिक अवधिमै जेनजी आन्दोलन भएको थियो । यति हुँदाहुँदै नयाँ सरकारले निर्माण क्षेत्र चलायमान बनाउँदा यी क्षेत्रमा सकारात्मक प्रभाव देखिएको छ ।
तर, उद्योग क्षेत्रमा भने ठूलो उत्साह छैन । निर्माणमा ३.२६ प्रतिशतको विस्तार आउँदा उद्योगमा १.५२ प्रतिशतको मात्र वृद्धिदर छ ।
के हो आर्थिक वृद्धिदर ?
कार्यालयका अनुसार आर्थिक वृद्धिदर भनेको कुनै पनि अर्थतन्त्रभित्र निश्चित समयावधिमा सञ्चालित आर्थिक क्रियाकलापबाट मूल्य अभिवृद्धि भई नयाँ उत्पादन भएका वस्तु तथा सेवाको स्थिर मूल्यमा अघिल्लो अवधिको तुलनामा भएको प्रतिशत परिवर्तन हो ।
अर्थात्, आर्थिक वृद्धिदर भनेको अघिल्लो अवधिको तुलनामा राष्ट्रको स्थिर मूल्यको कुल गार्हस्थ उत्पादन (रियल जीडीपी) मा हुने परिवर्तन हो । यो मुलुकको अर्थतन्त्रको अवस्था मूल्यांकन गर्ने सूचक समेत हो ।
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

