― Advertisement ―

यो कीर्तिमान तोड्ने पराबैंगनी क्रिस्टलले आणविक घडीहरू अनलक गर्न सक्छ र पनडुब्बी, अन्तरिक्ष यान र मिसाइलहरूले बाह्य संकेतहरू बिना नै नेभिगेट गर्ने तरिका परिवर्तन...

अवस्थित न्यूक्लकायोरको प्रतिज्ञा गर्ने समय प्रणालीहरूथोरियम 229 ले व्यावहारिक आणविक समय मापनको दुर्लभ मार्ग प्रदान गर्दछअल्ट्राभाइलेट ब्रेकथ्रुले आणविक घडीको विकासमा सबैभन्दा कठिन बाधाहरू मध्ये...
HomeLatest newsपदीय भागबन्डा र व्यक्तित्वको टकरावले १२ दिनमै भंग – KhabarHost

पदीय भागबन्डा र व्यक्तित्वको टकरावले १२ दिनमै भंग – KhabarHost



२६ पुस, काठमाडौं । पुराना राजनीतिक शक्तिलाई चुनौती दिँदै नयाँ शक्ति निर्माण गर्ने भन्दै भएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र उज्यालो नेपाल पार्टीबीचको एकता १२ दिन पनि टिक्न सकेन ।

वैकल्पिक राजनीतिक शक्ति निर्माणको नाममा भएको सहमति अन्ततः पद, भूमिका, नेतृत्वको विवादका कारण १२ दिनमै भंग भयो ।

सार्वजनिक रूपमा सैद्धान्तिक असहमति र प्रक्रियागत समस्या भनिए पनि यो सहमति भित्र व्यक्तिगत अस्तित्वका कुरा जोडिएका थिए । समझदारी व्यक्तिकेन्द्रित थियो । शक्ति सन्तुलनको अस्पष्टता र नेतृत्वको वर्चस्वको द्वन्द्व सुरुमै देखिएको थियो ।

दुई दलले भदौ २३ र २४ को जेनजी आन्दोलन, भ्रष्टाचारविरोधी चेतना, सुशासन र मेरिटोक्रेसीको नारालाई मूल आधार बनाउँदै रास्वपा र उज्यालो नेपाल पार्टीबीच सात बुँदे सहमति भएको थियो ।

सहमतिपत्रमा ‘सबै सुसंस्कृत एवं परिवर्तनकामी शक्तिहरूको सहकार्य’ मार्फत नयाँ राजनीतिक शक्ति निर्माण गर्ने उद्घोष गरेको थियो ।

तर सहमतिका बुँदा जति आदर्शवादी थिए, व्यवहार त्यति नै विरोधाभासी देखियो । सहमतिमा लोकतान्त्रिक अभ्यास, समावेशिता र योग्यता प्रणालीको कुरा गरिए पनि नेतृत्व संरचना भने पहिल्यै ‘फिक्स’ गरिएको थियो । यसका कारण सुरूमै विवाद भयो ।

विवाद के-के ?

सात बुँदे सहमतिका केही बुँदाहरू आफैंमा विवादका कारक बने । विशेषगरी चौथो बुँदाले एकता पश्चात् पनि रास्वपाको सभापति रवि लामिछाने नै रहने र कुलमान घिसिङ, डीपी अर्याल र स्वर्णिम वाग्ले उपसभापति रहने उल्लेख थियो ।

यसले उज्यालो नेपाललाई बराबरीको साझेदार होइन, समाहित हुने समूहको रूपमा सीमित गरिदिएको थियो । नेतृत्वको भूमिकाबारे स्पष्ट शक्ति बाँडफाँड नभएकै कारण उज्यालो नेपालभित्रै असन्तुष्टि सुरूमै चुलियो । तीन उपसभापति समान हैसियताका हुने भनिएको थियो । तर रास्वपाका नेताहरूका अनुसार सहमति भएपछि कुलमानले आफूलाई वरिष्ठ उपासभापति बनाउनुपर्ने माग गरे । यो कुरा रास्वपा मान्न तयार भएन ।

उज्यालो नेपाल पार्टीका नेताहरूका अनुसार पदाधिकारीमा उपसभापति बाहेक कोही पनि दिइएन । उज्यालोले उपसभापति हो भने एउटा महामन्त्री पद पनि दिनुपर्ने माग राखेका थिए । तर महामन्त्री पद बालेन समूहलाई दिने समझदारी भएकाले रवि लामिछाने पक्ष त्यो माग स्वीकार्न तयार भएन ।

केन्द्रीय समितिमा २१ जना दिने भनिए पनि पछि १२ जना मात्र कुलमान पक्षबाट पर्ने भए । यसमा पनि कुलमान पक्षको असन्तुष्टी रह्यो । उज्यालो नेपालले सुरुमा ५१ सदस्यीय केन्द्रीय समिति बनाएको थियो । उज्यालोले पछि बढाएर ९४ सदस्यीय बनायो । त्यसैले आफ्नो समूहलाई एकताबद्ध राख्न पनि कुलमानले २१ सदस्य बनाउनुपर्ने माग गरेका थिए । तर त्यो माग पुरा भएन ।

समानुपातिक तर्फका उम्मेदवार छनौटमा पनि विवाद देखियो । उज्यालोले सुरुमा १८ जना समानुपातिकमा राख्नुपर्ने भनेको थियो । तर समानुपातिकमा १४ जनाको मात्र नाम समेटिएको थियो ।

समानुपातिक सूचीको नामावलीलाई लिएर पनि सुरूमै विवाद भएको थियो । उज्यालो नेपालका नेता महेन्द्र लावती लगायतले सुरूमै आपत्ति जनाएका थिए ।

सहमतिको पाँचौँ बुँदामा योग्यता, समावेशिता र सार्वजनिक छविका आधारमा जिम्मेवारी दिने भनिएको थियो । तर समानुपातिक उम्मेदवार छनौटमा नै देखिएन । उज्यालो नेपालका अभियन्ताहरूले आफूहरूलाई केवल रास्वपाका सहयोगीको रुपमा मात्र ठानिएको गुनासो गरे । यो गुनासो झन् चर्कियो र १२ दिनमै एकता भंग भयो ।

रास्वपासंगको एकता उपसभापति बन्ने भन्ने सझदारी भएपछि कुलमानमाथि मन्त्री पदमा बसिरहन नैतिक संकट सिर्जना भयो । उनले योबीचमा पदबाट राजीनामा पनि दिए । पार्टी समायोजनका लागि रविसँग पटक पटक छलफल गरे । तर आफ्नो सम्मानजनक अवस्था नभएको महसुस गरेपछि अलग हुने निर्णयमा पुगेको उज्यालोका एक नेताले बताए ।

रास्वपा र उज्यालो नेपालमा रहेका नेताहरु गठबन्धनले पुराना दलहरूमा देखिएको पदलोलुपता, गुटबन्दी र शक्ति संघर्षको आलोचना गर्थ्यो । तर जेको आलोचना उनीहरु गर्थे त्यही खालको व्यवहार र शैली उनीहरुले पनि देखाए । यही शैलीका कारण उनीहरूबीचको एकता भंग भयो ।

एकातिर रवि लामिछानेको बलियो सार्वजनिक छवि र पार्टी संरचना, अर्कोतिर कुलमान घिसिङको लोकप्रियता र अभियन्ता–आधारित संगठन यसको बलमा एकीकृत रुपमा बलियो शक्ति आर्जन गर्ने उनीहरूको उद्देश्य थियो । तर यसभित्र अर्का व्यक्ति बालेन्द्र शाह पनि थिए । उनी आफ्नो समूहलाई लिएर केही दिन अघि नै रास्वपामा समाहित भइसकेका थिए । बालेन्द्र शाहलाई त प्रधानमन्त्री नै बनाउने सहमति रास्वपाले गरेको थियो । रवि र बालेनबीच पहिले नै सहमति भएकाले आफ्नो भूमिका खासै नरहने बुझाई कुलमानको रह्यो ।

सहमतिमा पार्टीको नाम, झन्डा र चुनाव चिन्ह सबै रास्वपा नै राख्ने उल्लेख थियो । त्यसले उज्यालो नेपालका लागि आफ्नै पहिचान जोगिने कुनै सुनिश्चितता भएन । यसले एकताभन्दा बढी विलयको सन्देश दियो । त्यसैले कुलमान पक्षले पार्टीको नाम फेर्ने प्रस्ताव पनि राखेको थियो । जुन कुरा रविका लागि स्वीकार्य भएन ।

एकतापछि पार्टी सञ्चालन, सार्वजनिक अभिव्यक्ति र संगठन विस्तारका विषयमा देखिएका मतभेद छिट्टै सतहमा आए । निर्णय प्रक्रियामा उज्यालो नेपालको भूमिका सीमित भएको, नेतृत्व तहमा छलफलभन्दा आदेश बढी आएको र राजनीतिक भविष्य अस्पष्ट देखिएको भन्दै असन्तुष्टि चुलियो ।

अन्ततः कुलमान घिसिङले उज्यालो नेपाल पार्टीलाई पुनः स्वतन्त्र रूपमा अघि बढाउने निर्णय गरेका हुन् र अब उनी आफैं अध्यक्ष बन्दै छन् ।

सहमतिको पहिलो बुँदामै जेनजी आन्दोलनका शहीद र घाइतेको बलिदानको सम्मान र माग सम्बोधनको प्रतिबद्धता जनाइएको थियो । जेनजी आन्दोलनको माग राजनीतिक पारदर्शिता, जवाफदेहिता पनि थियो । तर यी दुई दलको सहमति व्यक्ति र पद केन्द्रित जस्तो मात्र देखियो ।

यो घटनाले नेपालमा नयाँ राजनीतिक शक्ति निर्माण कति जटिल छ भन्ने फेरि प्रमाणित गरेको छ । केवल नाराले होइन, स्पष्ट संरचना, लोकतान्त्रिक निर्णय प्रणाली र शक्ति सन्तुलन बिना एकता दिगो हुँदैन भन्ने पनि देखाएको छ ।

रास्वपा–उज्यालो नेपालको एकता भंगले एउटा प्रश्न उठाएको छ— के नयाँ भनिएका शक्तिहरू साँच्चै नयाँ राजनीतिक संस्कार बोकेका छन् कि पुरानै शैलीलाई नयाँ रुपमामा प्रस्तुत गरिरहेका मात्र हुन् ?





Read More