― Advertisement ―

Battlefield 6 अडियो टोली भन्छन् कि तिनीहरूले ‘हामीले सोचेको कुरालाई निरन्तर पालिश गर्न आवश्यक छ’

The The अडियो टोलीले नयाँ अन्तर्वार्तामा खेलको प्रत्यक्ष सेवा विकासको बारेमा छलफल गरेको छविकासकर्ताहरूले भने कि उनीहरूले यसको ध्वनि "निरन्तर पालिश" गर्छन् id="elk-ba3563f5-23b2-43a5-8fac-7b5c59bade19">Battlefield 6...
HomeLatest newsजाँचबुझ आयोग आईजीपीको फूलीसँग डराएको कि प्रतिशोध साधेको ?

जाँचबुझ आयोग आईजीपीको फूलीसँग डराएको कि प्रतिशोध साधेको ?



निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई अवकाश पाएको एक घण्टा नबित्दै विदेश भ्रमण र काठमाडौं उपत्यका छाड्न रोक लगाउने उच्चस्तरीय जाँचबुझ आयोगको कदमले गम्भीर प्रश्नहरू जन्माएका छन् । आयोगको यो निर्णय ‘जाँचबुझ’ का लागि भनिएको छ तर यसले आयोगको नियतमाथि नै शङ्का उत्पन्न गराएको छ ।

शासन प्रणालीमा जब राजनीति र संस्थागत स्वायत्तताको सिमाना धमिलिन्छ, न्यायको नाममा चलाइने प्रक्रिया नै प्रतिशोधको औजार बन्ने डर हुन्छ । खापुङमाथि विदेश भ्रमण र उपत्यका छाड्न रोक लगाउने आयोगको निर्णय त्यही मनोवृत्तिको संकेत हो ।

आयोगले खापुङलाई अवकाशप्राप्त भएको एक घण्टाभित्रै किन स्थानहदको कारबाही गर्‍यो ? खापुङ २३ र २४ भदौको घटनाका लागि छानबिनको दायरामा आउनुपर्ने भए उनी बलियो ‘फूलीसहित’ आईजीपीको शक्तिको आसनमा रहँदा किन कारबाही गरिएन?

खापुङले अवकाश पाएको एक घण्टाभित्रै आयोगको यस्तो निर्णय आउनु केवल ‘संयोग’ होइन । समयको यो सन्देहपूर्ण छनौटले जाँचबुझ आयोगको विश्वसनीयतामाथि प्रश्न उठेको छ ।

अवकाश पाएपछि कारबाही गर्नुले या त आयोग उनको ‘फूलीसँग’ डराएको देखाउँछ वा उनले पदमा रहँदा आयोगका कुनै गलत कदमको विरोध गरेकोमा प्रतिशोध साधेको बुझ्न सकिन्छ।

यस्तो कारबाहीले तर्कसंगत र न्यायोचित प्रक्रिया स्थापित गर्दैन । बरू प्रक्रिया र निष्पक्षतामाथि नै प्रश्न खडा गर्छ ।

एकातिर आयोगले खापुङलाई स्थानहदको कारबाही गरेको छ । अर्कोतिर आयोगले आफैं सुरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका नेतृत्वलाई नछोई अनुसन्धान विभागका प्रमुखलाई मात्र स्थानहदको सूचीमा राखेर विरोधाभासपूर्ण निर्णयहरू गरेको देखिन्छ। यो विरोधाभासले आयोगको निर्णयमा स्थिरता र निष्पक्षताको अभाव देखाउँछ।

त्यसो त, गठनयता नै आयोगको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठ्दै आएको थियो । खापुङलाई पनि स्थान हद गर्ने यो घटनाले आयोगको स्वीकार्यतामाथि केही राजनीतिक दलले उठाएको प्रश्नलाई बल दिएको छ ।

आयोगका अध्यक्ष तथा पदाधिकारीहरूमाथि सामाजिक सञ्जाल र मिडियामा पहिल्यै फैसला सुनाइसकेको र आफ्नो फैसलालाई सहयोग पुर्‍याउने ‘चयनमुखी (सेलेक्टिभ)’ तर्क र कारबाहीका लागि मात्र काम गरेको आरोप लाग्दै आएको छ ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्की स्वयंले जेनजी आन्दोलनका चलिरहँदा लगातार सामाजिक सञ्जालबाट उनीहरुमाथि कारबाही गर्नुपर्ने, पक्रेर जेल हाल्नुपर्ने विदेश जान रोक्नका लागि विमानस्थल नै बन्द गर्नुपर्ने लगायतका अभिव्यक्ति दिएका थिए । पहिले नै आफ्नो  फैसला दिइसकेका व्यक्ति नै आयोगको प्रमुख बन्दा उनको निष्पक्षतामाथि प्रश्न उठ्नु स्वाभाविक हो ।

छानबिन आयोग कुनै पनि रूपमा राजनीतिक वा व्यक्तिगत धारणा प्रदर्शित गर्ने संस्था होइन । तर, यस आयोगका पदाधिकारीहरूले मिडिया र सामाजिक सञ्जालमा पूर्वनिर्णय झल्काउने अभिव्यक्ति दिँदै आएका छन् ।

सदस्य विज्ञानराज शर्माले पहिले नै आफ्ना धारणा झल्किने गरी मिडियामा अन्तर्वार्ता दिएका छन् । यस्ता गतिविधिले आयोगको नैतिक धरातल कमजोर बनाएको छ । निष्पक्ष छानबिनको लागि पूर्वाग्रहबाट मुक्त दृष्टिकोण जरुरी हुन्छ। तर आयोगका क्रियाकलाप र पदाधिकारीहरुका अभिव्यक्तिले पहिले निष्कर्ष निकाल्ने, पछि त्यसका लागि प्रमाण खोज्ने प्रवृत्तिलाई झांगिएको हो कि भन्ने आशंका जन्माएको छ ।

जसरी न्यायाधीशले विचाराधीन विषयमा पहिले दृष्टिकोण दिँदैनन्, उनीहरुको दृष्टिकोण आदेशमा वा फैसलामा आउँछ । त्यसैगरी आयोगले सत्यतथ्य संकलन गरेपछि त्यसका आधारमा तयार हुने प्रतिवेदनमा अन्तिम दृष्टिकोण आउनुपर्ने होइन र ? तर गौरीबहादुर कार्की बोलिरहेका छन् । विज्ञानराज शर्माले विज्ञप्ति निकालिरहेका छन् । सत्यतथ्य संकलन गर्ने व्यक्तिले दिने दृष्टिकोण प्रतिवेदनबाट आउनुपर्छ अन्यत्रबाट होइन ।

आयोगले यसअघि राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापालाई पदबाट अवकाश पाएपछि स्थानहद गरेको थियो । जुन बेला उनी स्थानहदमा परे, त्यसबेला नेपाल प्रहरी र सशस्त्र प्रहरीका शीर्ष नेतृत्वलाई त्यो सूचीमा राखिएन ।

यदि आयोगले अहिलेको निर्णयलाई सही ठान्दछ भने, अघिल्लो निर्णयको औचित्य कहाँ रह्यो ? र यदि अघिल्लो निर्णय नै सही थियो भने अहिलेको कारबाही किन आवश्यक भयो ? यी विरोधाभाषहरूले आयोगको निर्णय प्रक्रिया तर्कसंगत नभएर पूर्वाग्रही हुन् कि भन्ने आशंका जन्मिन्छ ।

तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीलाई केही दिन पदीय हैसियतमै काममा लगाइयो । तर गृहबाट सरुवा भएर योजना आयोग गएपछि स्थानहद गरियो । पछि काठमाडौं बाहिर सरकारीमा काममा जानुपर्ने भएपछि उनको स्थानहद हटाइयो । आन्दोलन दबाउन उनीहरुको भूमिका के हो भन्ने कुरा प्रारम्भिक र आधारभूत रुपमा यकिन नगरी यस्ता निर्णय गर्नुले आयोगकै परिपक्वतामा प्रश्न उठाउँछ र प्रचारमुखी पपुलिस्ट निर्णयको रुपमा बुझिन्छ ।

स्थानहदका यस्ता निर्णय गर्दा जाँचबुझ आयोग ऐनका कुनै धारा उपधारा उद्धृत गरिएको छैन । यसररी गोश्वारा रुपमा निर्णय गर्दा आयोगको वस्तुपरक कामकारबाहीमाथि प्रश्न उठाउँछ । जेनजी आन्दोलनपछि आईजी करिब दुई महिना पदमा बसे । यदि आन्दोलन दमनमा यिनको भूमिका हो भने, दुई महिनासम्म पदमा रहँदा उनले पदको दुरुपयोग वा प्रमाण नस्ट गर्न पर्याप्त समय पाए । बयान गर्नेहरुलाई दवाव र प्रभावमा राख्ने अवस्था बन्यो पनि होला । त्यतिबेला यिनलाई किन निलम्बन नगरेको ? अनि अहिले पदबाट हटेपछि  के उनले प्रमाण नस्ट गर्न सक्ने वा विदेश भाग्ने अवस्था हो र ?

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि पनि अहिले स्थानहद गरिएको छ  । उनीहरुले पनि आफूहरु भाग्ने अवस्था नरहेको उल्लेख गर्दै स्थानहदको निर्णय प्रचारमुखी मात्र भएको टिप्पणी गर्दै आएका छन् ।

आयोगले आफ्ना निष्कर्षहरू पारदर्शी रूपमा सार्वजनिक नगरी, आन्तरिक छलफल र अस्पष्ट मापदण्डका आधारमा निर्णय गर्दै आएको आरोप छ । सार्वजनिक सरोकारका विषयहरूमा निष्पक्षता र पारदर्शिता दुई आधारभूत स्तम्भ हुन् । आयोग यी दुवै पक्षमा चुक्नु हुँदैन । जब आयोग आफैं प्रश्नको घेरामा पर्छ, त्यसले दिने प्रतिवेदनले पनि विश्वास गुमाउँछ ।

आयोगका विवादास्पद कदमहरूले केवल छानबिनको प्रक्रियालाई मात्र होइन, राज्यका विभिन्न निकायबीचको सन्तुलन र विश्वासको सम्बन्धलाई पनि असर पार्छ ।

जेनजी आन्दोलनमा ठूलो ज्यादती र विध्वंस भएको तथ्य स्थापित छ । त्यसैले सुरक्षाकर्मीहरूको भूमिका, निर्णय, आदेश र प्रधानमन्त्रीदेखि फिल्डमा खटिएका सबै जिम्मेवार अधिकारीहरुमाथि निष्पक्ष छानबिन आवश्यक छ  । तर छानबिन गर्ने निकायले निष्पक्षता गुमायो भने  त्यसको परिणाम राम्रो हुन्न ।

त्यसैले आयोगका पदाधिकारीहरूले आफ्ना अभिव्यक्ति र कार्यशैलीबारे समीक्षा गर्न जरुरी छ । छानबिनको प्रक्रियालाई विश्वसनीय बनाउन चाहने हो भने, आयोगले आफ्नो आन्तरिक आचारसंहिता स्पष्ट गर्नुपर्छ, । सबै निर्णयहरुमा निष्पक्षता झल्किनुपर्छ । राजनीतिक वा व्यक्तिगत धारणा छोडेर केवल प्रमाण र  तथ्यका आधारमा निर्णय गर्नुपर्छ।

यो छानबिन भनेको एकप्रकारले न्यायिक निर्णय गर्नु पनि हो । यदी न्यायमा पूर्वाग्रह झल्कियो भने त्यो वास्तवमा अन्याय ठहर्छ । यो कुरा न्यायाधीशबाटै अवकाश पाएका आयोगका अध्यक्षलाई निष्पक्षताको परिभाषा सम्झाउनुपर्ने अवस्था निम्तिनु सुखद होइन ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More