― Advertisement ―

ट्रम्पले राष्ट्रिय सुरक्षा कारणहरूका लागि र अमेरिकी ड्रोन उद्योगलाई बलियो बनाउन ‘विशेष रूपमा संवेदनशील’ ड्रोनहरूमा 100% ट्यारिफहरू राख्छन्।

जस्तै 'लेनसिटिव' मा २५ किलोग्रामभन्दा भारी EU, UK, Japan, Taiwan जस्ता अन्य देशहरूमा पनि भन्सार लागू गरिएको छट्रम्प भन्छन् कि करहरूले राष्ट्रिय सुरक्षा बलियो...
HomeLatest newsचुनावी अन्योल हटाएकोमा सरकार, दल र जेनजीलाई धन्यवाद

चुनावी अन्योल हटाएकोमा सरकार, दल र जेनजीलाई धन्यवाद



एक महिनाअघिका भिडन्तउन्मुख दृश्यहरू सम्झौं । काठमाडौंदेखि सिमरासम्मका घटनाहरू हेर्दा २१ फागुनको चुनावमाथि आशंका गर्ने ठाउँ थिए । प्रधानमन्त्री सुशीला कार्की स्वयंले तीन दलका शीर्ष नेताको मुख हेर्न मन नलागेको खुलस्तै भनेकी थिइन् । हिजोआज बालुवाटारमा केपी ओली, शेरबहादुर देउवा र प्रचण्डलाई डाकेर ब्ल्याक टी खाने कि ग्रिन टी, वा अमेरिकानो कफी खाने भनी सोधिरहेकी छन् ।

सत्ताच्युत एमाले अध्यक्ष केपी शर्मा ओलीले अस्तिसम्म असंवैधानिक जगमा खडा भएको सरकारलाई चुनाव गराउने हक नरहेको आरोप लगाउँदै थिए । चुनाव होइन, संसद् पुनर्स्थापना हुनुपर्ने ओली अडानमा विगतको ठूलो दल नेपाली कांग्रेस लतारिएर जाने हो कि भन्ने भय थियो । निवर्तमान सांसदहरू हस्ताक्षर अभियानमा सामेल थिए ।

जेनजी अगुवामध्ये केहीले चुनावको विरोध गर्ने नीति लिइरहेका थिए । बाँकी जेनजी दलका शीर्ष नेताहरूलाई निषेध गर्नुपर्ने नारा दिइरहेका थिए । केहीलाई प्रत्यक्ष कार्यकारीलगायत एजेन्डा चाहिएको थियो । दलका नेताले जित्ने स्थिति आए चुनावको नतिजा नमान्ने सुदन गुरुङको अन्तर्वार्ता तथा भाषणले धेरैको मथिंगल खल्बल्याइदिएको थियो ।

यी सबै परिस्थितिलाई नियालिरहेका न्यायालय क्षेत्रकै अधिकारीहरू चुनाव नभए देश शून्यतामा जाने आकलन गर्दै थिए । त्यस्तो शून्यताको साक्षी बस्नुभन्दा विगतको संसद् ब्युँतन सक्ने परिचर्चा चलिरहेको थियो । यही बहानामा देश भूराजनीतिक दाउपेचको शिकार बन्ने हो कि भन्ने चिन्ता सर्वत्र थियो ।

तर, यी सबै परिचर्चा र आशंकालाई छेउ लगाउँदै अन्ततः राजनीतिक दलहरू सरकारको इच्छाशक्ति, अनि निर्वाचन आयोगको कार्यतालिका पछ्याउँदै चुनावी माहोलमा सामेल भएका छन् । रास्वपा र बालेनको एकताले थुप्रै जेनजीलाई चुनाव लड्ने उत्साह थपिदिएको छ ।

समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन निर्वाचन आयोगले तोकेको समयसीमा भित्र कतिपय दलहरूबीच रातारात एकता घोषणा भए । रास्वपादेखि राप्रपासम्म, मधेशवादी दलदेखि जातीय–क्षेत्रीय घटकसम्म यतिबेला मिलनविन्दु पहिल्याउँदैछन् । माओवादी, माधव नेपालदेखि विभिन्न समूहबीच भइरहेका यी एकता सडकमा आन्दोलन चर्काउन होइन, फागुनको चुनावमा जतिसक्दो धेरै जनमत पाउनका लागि भइरहेका हुन् ।

र, एकताका लागि उज्यालो नेपाललगायत पार्टीहरू वार्तारत रहँदा उता निर्वाचन आयोगमा समानुपातिक सूची बुझाउने टोली यसअघि नै खडा छ । कतिपय दलको बन्दसूची दर्ता भइसक्यो, कतिको हुने क्रममा छ ।

हेर्दाहेर्दै देश चुनावी संशय मेटाएर बृहत लोकतान्त्रिक उत्सवतर्फ उन्मुख छ ।

जेनजी विद्रोहको जगमा खडा भएको सरकारका सामु राष्ट्रपति रामचन्द्र पौडेलले तोकिदिएको फागुनको समयसीमा पूरा गर्नुपर्ने जुन कार्यभार थियो, दल, जेनजी तथा सबै पक्षको सहयोगले अब त्यो सम्भव हुने देखिँदैछ ।

हामी अनलाइनखबरको तर्फबाट सरकार, दलहरू, जेनजी प्रतिनिधिसहित सबै सरोकारवाला नागरिकलाई धन्यवाद दिन चाहन्छौं । नेपाल यस्तो देश हो, जसले यसअघिका कुनै पनि विद्रोह र त्यससँगै उत्पन्न हुने गरेका अप्ठेरा गतिरोधहरूलाई पार लगाउँदै अघि बढेको छ । हामीकहाँ जस्तोसुकै तिक्ततामा पनि परस्पर संवाद जारी राख्ने मौलिक राजनीतिक संस्कार छ, जो हाम्रा छिमेकी देशहरूमा आजसम्म छैन ।

अब यो सम्भावित राजनीतिक शून्यताको हल्लालाई परास्त गर्दै सिंगो देशलाई चुनावी यज्ञमा सामेल गर्नुपर्छ । समानुपातिक बन्दसूची बुझाउने कार्यक्रमसँगै समस्त चुनावी कार्यतालिका पछ्याउँदै हामी फागुनको निर्धारित तिथि पछ्याउन सक्षम बनौं ।

केही हिमाली जिल्लाहरूमा २१ फागुनसम्म न्यानो नफर्केला र चुनाव नहोला कि भन्ने चिन्ता छ । त्यस्तो मौसमी समस्या आएछ भने पनि ६० भन्दा बढी जिल्लामा निर्धारित मितिमा चुनाव गर्ने, हिमाली जिल्लामा एक साता वा १० दिनजति तिथि धकेल्ने उपाय लगाउन सकिन्छ । हामीकहाँ विगतमा पनि यस्तो प्रबन्ध गरिएको अनुभव छ । यो एक हदसम्म प्राविधिक विषय हो । फागुनको चुनावी तिथि कार्यान्वयन गर्न देश सक्षम छ भन्ने सन्देश दिनु मुख्य कुरा हो ।

जेनजी आन्दोलनका शहीद, घाइते र तिनका परिवारको आकांक्षा देशमा सुशासन, विकास र सेवा प्रवाहमा चुस्तता ग्यारेन्टी गर्न सकोस् भन्ने हो । सरकारले समयमा चुनाव गराउन सकेमा मात्र जेनजीको यो चाहना पूरा हुन्छ । चुनावपछि आउने संसद्ले संविधान र कानुनमा आवश्यक संशोधन गराउन सक्छ । नयाँ निर्वाचित सरकारले सेवा प्रवाहलगायत सुशासनको मागलाई अझ ताकत र इच्छाशक्तिका साथ अघि बढाउन सक्छ ।

यी सबै कामको प्रस्थानविन्दु भनेको फागुनको चुनाव हो, जसका लागि आजको समानुपातिक बन्दसूची बुझाउने प्रक्रियाले बाटो खोलिदिएको छ ।

चुनाव हुने हो कि होइन भन्ने अन्योल हटाउँदै देशलाई एक कदम अगाडि हिँडाउन सक्षम भएकोमा सरकार, राजनीतिक दल, जेनजी प्रतिनिधि, निर्वाचन आयोग र सबै सरोकारवाला नागरिकमा पुनः एकपल्ट धन्यवाद । अब बाँकी कार्यतालिका पनि यसैगरी पछ्याउँदै जाउँ ।





Read More