― Advertisement ―

मिन्ट मोबाइलको नयाँ Samsung Galaxy S26 शृङ्खला सम्झौताले तपाईंलाई $900 सम्म बचत गर्न सक्छ – सम्पूर्ण उपकरण कभर गर्न पर्याप्त

नियमित रूपमा मिन्ट मोबाइल प्रमोशनहरू कभर गर्ने व्यक्तिको रूपमा, मैले भन्न चाहन्छु कि क्यारियरले यस हप्ता आफ्नो डिलहरूको साथमा घर चलिरहेको छ। साथमा इन्टरनेट...
HomeLatest newsचुनावमा कसरी परिचालित हुँदैछ नेपाली सेना ? – KhabarHost

चुनावमा कसरी परिचालित हुँदैछ नेपाली सेना ? – KhabarHost



१४ मंसिर, काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली सेना परिचालनका लागि राष्ट्रपति कार्यालयबाट स्वीकृत भयो ।

मन्त्रिपरिषद्ले गरेको सिफारिस राष्ट्रपति रामचन्द्र पौडेलले ११ मंसिरमा स्वीकृत गरेसँगै सेना परिचालनको बाटो खुलेको छ । निर्वाचनका लागि सेना परिचालन गर्न यसअघि चरणबद्ध कामहरू भएका थिए ।

९ असोजको केन्द्रीय सुरक्षा समिति बैठकले गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेको संयोजकत्वमा एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ तर्जुमा गर्नका लागि कार्यदल गठन गरेको थियो ।

यो कार्यदलमा सुरक्षा निकायका प्रतिनिधिहरू समेत थिए । कार्यदलले पेश गरेको ‘एकीकृत निर्वाचन सुरक्षा योजना २०८२’ गृहमन्त्री ओमप्रकाश अर्याल संयोजक रहेको केन्द्रीय सुरक्षा समितिले ३० कात्तिकमा पास गर्‍यो ।

यो सुरक्षा योजनामा निर्वाचनको अवधिमा सुरक्षा निकायहरू कसरी परिचालन हुने भन्नेबारे उल्लेख छ । यसका साथै बैठकले नेपाली सेना परिचालनको प्रस्ताव गर्ने निर्णय समेत गरेको थियो । यो प्रस्ताव राष्ट्रिय सुरक्षा परिषद्मा पुगेको थियो । ४ मंसिरमा सुरक्षा परिषद्को सिंहदरबारस्थित कार्यालयमा बसेको ४१औं बैठकले त्यसलाई पारित गर्दै निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसअनुसार मन्त्रिपरिषद्ले सेना परिचालनको निर्णय गरेर स्वीकृतीका लागि राष्ट्रपति कार्यालयसमक्ष पेश गरेको थियो । राष्ट्रपति कार्यालयबाट समेत यो प्रस्ताव स्वीकृत भएपछि अब सेना परिचालनका लागि बाटो खुलेको छ ।

योसँगै अब नेपाली सेना कसरी कहिलेबाट परिचालन हुने भन्ने जिज्ञासा उत्पन्न भएको छ । यसबारे हामीले नेपाली सेनासँग समेत सोधखोज गरेर यो रिपोर्ट तयार पारेका छौं ।

कहिलेबाट हुन्छ सेना परिचालन ?

अघिल्ला चुनावहरू भन्दा यो पटक सुरक्षा चुनौती बढेको निष्कर्ष निकालेर चुनावको करिब तीन महिना अघि नै सेना परिचालन गर्न राष्ट्रपति कार्यालयबाट स्वीकृत भएको छ ।

जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति, सुरक्षा निकायका हतियार र गोलीगट्ठाहरू ठूलो मात्रामा हराउनु, कारागारमा रहेका कैदीबन्दीहरू ठूलो संख्यामा अझै फरार हुनु, हिरासतका थुनुवा समेत फरार हुनु जस्ता घटनाले सुरक्षा चुनौती थपिएको निष्कर्ष निकालिएको छ ।

यीनै कुराहरूलाई मध्यनजर गर्दै अघिल्लो चुनावहरू भन्दा यसपटक निकै अगावै सेना परिचालनका लागि राष्ट्रपति कार्यालयले स्वीकृति समेत दिएको छ ।

निर्णयबाट प्रष्ट हुन्छ कि चुनाव भन्दा निकै अगावै सेना परिचालन हुनेछ । तर यसको मिति भने अहिलेसम्म यकिन नभएको नेपाली सेनाले बताएको छ । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेत भन्छन्, ‘कहिलेबाट सेना परिचालन हुने भन्ने यकिन भएको छैन । यसबारे हामी परामर्शमै छौं ।’

बस्नेतले सेना परिचालनका मिति तय नभएको बताए पनि सेनाको आन्तरिक गृहकार्य अनुसार पुसको पहिलो हप्ता सेना सडक गस्तीमा निस्कन लागेको बुझिन्छ । अहिले त्यसैअनुसार सेनाले तयारी गरेको छ । जसअनुसार करिब दुई महिना अघिबाटै सेना परिचालनको तयारी गरिएको छ ।

कसरी हुन्छ सेना परिचालन ?

सेना परिचालन त हुने तर कसरी हुने भन्ने चासो पनि उत्तिकै छ । सेनाले भने यसलाई तीन चरणमा वर्गीकरण गरेर परिचालन हुने तयारी अघि बढाएको छ ।

सैनिक प्रवक्ता बस्नेत पनि उक्त कुरामा सहमती जनाउँछन् । ‘सुरक्षा चुनौतीलाई तीन चरणमा वर्गीकरण गरेर सोही अनुुसार सेना परिचालन हुन्छ’ सहायक रथी तथा प्रवक्ता बस्नेतले अनलाइनखबरसँग भने ।

निर्वाचन पूर्व, निर्वाचन अवधि र निर्वाचन पश्चात गरी तीन भागमा वर्गीकरण गरेर सेना परिचालन हुने उनी बताउँछन् ।

निर्वाचन पूर्वको समयमा सेनाले गस्ती, पेट्रोलिङ गर्ने बताइएको छ । अति संवेदनशील, संवेदनशील र मध्यमअनुसार वर्गीकरण गरिएका मतदान केन्द्र तथा ठाउँहरू लक्षित सेनाले गस्ती, पेट्रोलिङ गर्नेछ ।

यसको मुख्य उद्देश्य भनेकै चुनावको वातावरण बनाउने र भयरहित चुनाव हुन्छ भन्नेमा ढुक्क दिलाउनु रहेको छ ।

सेना परिचालनका लागि स्वीकृत भएको भोलिपल्ट सैनिक मुख्यालय जंगी अड्डा पुगेर प्रधानमन्त्री सुशीला कार्कीले समेत निर्वाचनमा एक थोपा रगत नबग्ने गरी खटिने सेनालाई निर्देशन दिएकी थिइन् ।

‘मैले यसअघि पनि भन्दै आएको छु कि आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन र एक जना पनि घाइते हुनुहुँदैन,’ प्रधानमन्त्री कार्कीले भनेकी थिइन्, ‘यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायहरूसँगको समन्वयात्मक र त्रुटिरहित ढंगले काम गर्न म निर्देशन दिन्छु ।’

निर्वाचनको अवधिमा भने नेपाली सेना बाह्य घेरामा अर्थात मतदान भन्दा परै बसेर सुरक्षा गर्नेछ । त्यस्तो अवस्थामा मतदान केन्द्रमा केही भइहालेमा प्रहरी, सशस्त्रले समेत नसकेको अवस्थामा बाहिरी घेराको सेना खटिने छ ।

मतदान पश्चात मतपेटीका संकलन, ढुवानी र मतगणना स्थलको सुरक्षासम्म पनि सेना खटिने प्रवक्ता बस्नेत बताउँछन् ।

यसअघि सेनाले समेत आन्तरिक रुपमा समिति गठन गरेर निर्वाचन सुरक्षाबारे तयारी थालेको थियो । नेपाली सेनाका सहायक रथीको कमान्डमा कार्यदल बनाइएको थियो । यो कार्यदलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रतिनिधि पनि सहभागी थिए ।

 यसअघि १६ कात्तिकमा मात्रै सैनिक मुख्यालय जंगी अड्डामा प्रधानसेनापति अशोकराज सिग्देलले चुनावी सुरक्षाका बारेमा छलफल गरेका थिए ।

नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक, र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकले जंगी अड्डामा जेनजी आन्दोलनपछि उत्पन्न सुरक्षा अवस्था र चुनावी सुरक्षा चुनौतीबारे छलफल गरेका थिए ।

कति सेना परिचालन हुन्छन् ?

चुनावकै लागि भनेर १ लाख ३२ हजार भन्दा बढी म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रस्ताव गरिएको छ । यो छलफलकमै क्रममा रहेकाले केही निर्णय भएको छैन ।

म्यादी प्रहरीका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) र नेपाली सेना समेत निर्वाचनमा परिचालन हुनेछन् ।

७९ हजार नेपाल प्रहरी, ३७ हजार सशस्त्र प्रहरी ३ हजार गुप्तचर र करिब १ लाख नेपाली सेना छन् । उनीहरूमध्ये कति सेना निर्वाचनमा खटिनेछन् भन्नेबारे अहिलेसम्म केही निर्णय नभएको जंगी अड्डाले बताएको छ ।

कार्यालय सुरक्षा, महत्त्वपूर्ण व्यक्ति तथा प्रतिष्ठानहरूको सुरक्षा लगायत, मिसनमा रहेका सेना समेतको संख्या घटाएर आवश्यक जनशक्ति परिचालन हुने सेनाको तयारी छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट पनि कति जनशक्ति परिचालन हुन्छन् भन्ने अहिलेसम्म केही यकिन भएको छैन ।





Read More