― Advertisement ―

‘फ्लेमिङ चाइना’ ह्याकरले चीनको नेशनल सुपरकम्प्युटिङ सेन्टरबाट १० पेटाबाइट उन्नत सैन्य डाटा चोरेको दाबी गरेको छ जुन सम्भवतः अहिलेसम्मकै सबैभन्दा ठूलो ह्याक हो।

'FlamingChina' claimes 10PB of data was stolen from the सुपर कम्प्यूटरसुपर कम्प्यूटर धेरै सैन्य र नागरिक निकायहरु द्वारा प्रयोग गरिएको थियोडेटा को नमूनाहरु विमान,...
HomeLatest newsके गगन थापाले ‘कांग्रेस गरिब र सुकुमवासीको पार्टी होइन’ भनेका हुन् ?...

के गगन थापाले ‘कांग्रेस गरिब र सुकुमवासीको पार्टी होइन’ भनेका हुन् ? – KhabarHost



२२ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले ‘कांग्रेस गरिब र सुकुमवासीको पार्टी होइन, कांग्रेस हुनेखानेको पार्टी हो..’ भन्दै गरेको एउटा भिडियो क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल छ।

तर हामीले गरेको तथ्य जाँचमा थापाले बोलेको सही भए पनि पुरानो भिडियोको अंशलाई तोडमरोड गरेर अर्थ बंग्याई भ्रम फैलाएको पुष्टि भएको छ।

के  हो दावी ?

१ लाख ४१ हजार फलोअर्स रहेको कृष्ण खत्री नाम गरेका फेसबुक प्रयोगकर्ताले मंगलबार (२०२६ को फेब्रुअरी ३) मा १२ सेकेन्डको एउटा भिडियो पोस्ट गरेका छन्। यो तथ्य जाँचको समयसम्ममा भिडियोमा ६ हजार ५ सय जनाले रियाक्ट गरेका छन् भने १ हजार ७ सयले कमेन्ट र ३ हजार ७ सयले सेयर गरेका छन्। ४ लाख ३८ हजार जनाले भिडियोलाई हेरेका छन्।

१२ सेकेन्ड भिडियो क्लिपमा गगन थापा नेवार जातिको पोशाकमा देखिन्छन्। उनी भन्दैछन्-  कांग्रेस गरिबको पार्टी होइन। कांग्रेस सुकुमवासीको पार्टी होइन । कांग्रेस हुनेखानेको पार्टी हो। कांग्रेस गाडी घोडा हुनेहरुको पार्टी हो। जग्गा जमिन हुनेहरुको पार्टी हो।

हेर्नुहोस् कृष्ण खत्रीको फेसबुक पोष्टको स्क्रिन रेकर्ड

ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

कृष्ण खत्रीले सार्वजनिक गरेको भिडियोको एउटा फ्रेममार्फत् गुगल रिभर्स इमेज सर्च गरेर हेर्दा गगन थापाको यही भिडियो क्लिप यसअघि २०७९ सालमा भएको प्रतिनिधिसभा निर्वाचनको समयमा पनि भाइरल भएको भेटियो। मिलन राई नामक टिकटक अकाउन्टबाट २०२२ को अक्टोबर २६ मा पोष्ट भएको भिडियो अहिलेसम्म ३ लाख ४१ हजारले हेरेका छन् भने ९ हजार ८ सयले लाइक र १ हजार ४ सयले कमेन्ट गरेकाे भेटियो । यो भिडियो अहिलेसम्म डिलिट भएको  छैन ।

ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

के हो तथ्य ?

हालको भाइरल भिडियोमा केही नदेखिए पनि पुरानो भाइरल भिडियोमा मकालुखबरको लोगो पनि देखिन्छ। हामीले ‘कांग्रेस गरिब, सुकुम्बासीको पार्टी होइन’ कीवर्ड प्रयोग गरेर गुगल एडभान्स सर्च गरेर हेर्‍यौँ। त्यसको नतिजामा नेवार पोशाकमै मकालु खबरको युट्युब  च्यानलमा यही क्लिपसहितको १ मिनेट ५० सेकेन्डको भिडियो भेटियो ।

यो भिडियो मकालु खबर युट्युब च्यानलमा सन् २०२२ को अक्टोबर २६ मा पोष्ट भएको भेटियो। मकालु खबरको युट्युब च्यानलमा पोस्ट भएको दुई दिनपछि मिलन राईले तोडमोड गरिएको भिडियो टिकटक एकाउन्टमा पोष्ट गरेको भेटियो ।

मकालु खबरको पूरा भिडियोमा तत्कालीन कांग्रेस महामन्त्री थापाले भनेका छन् –

‘एकजना साथी पनि नअलमलिनुस् । कतिपय साथीहरुलाई कहिलेकाहीँ छास्सछुस्स को-कसले अलमल्याउने, भ्रम छरिदिने काम गर्छन्। यो ठाउँ त कस्तो हो भने, मैले पार्टीको थुप्रै कार्यक्रममा के भन्थेँ भने, नेपाली कांग्रेस पार्टी भनेको, मैले कुनै दिन नेतृत्व गर्न पाएँ भने, म नेपाली कांग्रेस पार्टीलाई गरिबको पार्टी, सुकुम्बासीको पार्टी भन्ने परिचय नेपाली कांग्रेस पार्टीको राख्दिनँ। कांग्रेस गरिबको पार्टी होइन। कांग्रेस सुकुम्बासीको पार्टी होइन । कांग्रेस हुनेखानेको पार्टी हो। कांग्रेस गाडी घोडा हुनेहरुको पार्टी हो। जग्गा जमिन हुनेहरुको पार्टी हो। त्यसकारणले गर्दा हुने खानेको पार्टीले के गर्छ ? जहिले पनि मान्छेलाई हुनेखाने बनाउन खोज्छ । जग्गा जमिन भएको पार्टीले के गर्छ? जग्गा जमिन हुनेको पार्टीले जग्गा नभएको सुकुम्बासीलाई भूमीहिनलाई जग्गाको पुर्जा दिन चाहन्छ ।

किन ? पुर्जा दियो भने त्यो जग्गावाला हुन्छ, जग्गावाला भयो भने ऊ कांग्रेस हुन्छ। त्यसकारणले गर्दा भनेर मैले भनेँ।

चुनावको बेलामा यसो यहाँ घुम्दैघुम्दै आएको त पछाडिको लाइन त उडेछ। कांग्रेस गरीबको पार्टी होइन, सुकुम्बासीको पार्टी होइन भन्ने मात्र राखेर भनेर यहाँ भिडिओ देखाइरहेका छन् साथीहरुले । यो त्यस्तो हल्ला गर्ने ठाउँ हो, मेरो पछाडिको (बोलेको) भागै छैन।  त्यसैले यो हल्ला गर्ने ठाउँमा कसले कुनामा बसेर के हल्ला गर्छ भन्ने कुराको पछाडि एकजना साथी पनि कोही पनि अलमलिनु हुँदैन।’

हेर्नुहोस् मकालु खबरको युटुब च्यानलमा पोस्ट भएको भिडियोको स्क्रिनरेकर्ड

मकालु खबरको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

तथ्य जाँच

दाबी : नेपाली का‌ंग्रेसका सभापति गगन थापाले ‘कांग्रेस गरिब  र सुकुम्बासीको पार्टी होइन भनेर बोलेको भिडियो क्लिप।

दावीकर्ता :  कृष्ण खत्री (अहिले) मिलन राई (पहिले)।

तथ्यजाँच : भ्रामक सूचना । भाइरल भिडियोमा देखिएको कुरा गगन थापाले नै बोलेका त हुन्, तर उनले कांग्रेस गरिबहरुको पार्टी होइन भन्ने आशयले अभिव्यक्ति दिएका भने होइनन्। उनको भाषणको एक अंशमात्र काटेर आशय बंग्याई भाइरल बनाइएको हो।

(अनलाइनखबर र नेपाल फ्याक्ट चेकको सहकार्य)





Read More