― Advertisement ―

22 एपहरूमा पर्दाफास गरिएका Google API कुञ्जीहरूले आक्रमणकारीहरूलाई जेमिनी एआईलाई स्वतन्त्र रूपमा पहुँच गर्न दिन्छ, जसले गर्दा सयौं हजारौं नोक्सान हुन्छ।

एपीआई चलाउनको लागि गुगलको एक्सपोजमा कुञ्जी चलाउन अनुमति दिनुहोस्। अनुरोधहरूएआई पूर्वाधारमा अनाधिकृत पहुँचका कारण विकासकर्ताहरूले गम्भीर आर्थिक नोक्सानको अनुभव गर्छन्हार्डकोड गरिएका प्रमाणहरूले सार्वजनिक पहिचानकर्ताहरूलाई...
HomeLatest news‘कीर्तिमानी फिल्म’मा प्राण भरेका प्रशान्त – KhabarHost

‘कीर्तिमानी फिल्म’मा प्राण भरेका प्रशान्त – KhabarHost


राष्ट्रिय

समाचार.

  • २५ वर्षीय गायक प्रशान्त शिवाकोटीले ‘पूर्ण बहादुरको सारङ्गी’ फिल्मका गीतमार्फत आफ्नो संगीत यात्रा सफल बनाएका छन्।
  • प्रशान्तले ‘द भ्वाइस अफ नेपाल’का पाँच सिजनमा भाग लिएर टप टेनसम्म पुग्न सफल भए पनि उपाधि चुम्न सकेनन्।
  • उनी लामो संघर्षपछि संगीतबाट कमाइ गर्न थाले र अहिले नयाँ सिर्जनात्मक दबाबका बीच नयाँ गीतहरू बनाउन लागिपरेका छन्।

मान्छेहरू सधैं ठाडो वक्र रेखाको दौडमा हुन्छन् । सकेसम्म त्यस रेखालाई मान्छे समानान्तर राख्न चाहँदैन । ओरालो बनाउन त फिटिक्दै चाहँदैन । तर धेरैको हकमा यी दुई नै वास्तविकता भइदिन्छ । कोही मात्र त्यस्ता हुन्छन्, जो रेखाको उकालो चढ्न सक्छन् । त्यस्तै एकमा पर्छन्, २५ वर्षीय गायक प्रशान्त शिवाकोटी ।

धेरै भएको छैन । उनलाई आममान्छेले हेर्ने नजरमा परिवर्तन आएको । उनले हेर्ने नजर परिवर्तन भएको । तर उनी उही व्यक्ति हुन्, उनको काम उही हो । बस्, एउटा सिनेमाले कीर्तिमान बनाउँदा यी सबै यथार्थ बन्न पुगे ।‘पूर्ण बहादुरको सारङ्गी’ । यो फिल्म जति चल्यो, सानै होस्, त्यसको भागीदार प्रशान्त पनि हुन् । गीतमार्फत उनले फिल्मको सास भरेका थिए । ती गीत सुनेर धेरै रोए । झुमे । खुले ।

श्रोतालाई लगाएको त्यही गुणले उनी वक्र रेखाको ठाडो उकालो चढ्न सकेका हुन् । त्यसअघि उनी लामो समय सिधा र ओरालो रेखामा दगुरिरहेका थिए ।

स्वभावमा प्रशान्त अन्तर्मुखी छन् । कम बोल्छन् । प्रमोद खरेल, सत्य-स्वरुप आचार्य जस्ता गायकबाट प्रेरित भएर लामो कपाल पालेका छन् । शारीरिक उचाइमा अग्लै छन् । तर, ज्यान केही पातलो छ ।

नजिकबाट चिन्नेहरूले उनलाई सिर्जनशील क्षमता राख्ने पात्र भएको बताउँछन् । ‘पूर्ण बहादुरको सारङ्गी’अघिसम्म उनीहरूले प्रशान्तलाई ‘अभागी’ छ कि क्या हो भनेर संशय पनि गर्थे । तर, अहिले त्यो संशय मृत भइसकेको छ । प्रशान्तले आफूलाई प्रमाणित गरेर देखाइसकेका छन् ।

झापाको भद्रपुरमा जन्मिएका उनले बालापनदेखि नै गीतहरू सुनेर हुर्कने सौभाग्य पाएका थिए । परिवारको पृष्ठभूमि संगीत थिएन । तर, उनमा अभिभावकहरूले बिजारोपण गर्दिएको संगीतको टुसा त्यसैबेलादेखि नै उम्रन थालिसकेको थियो । त्यसको छनकमा उनले विद्यालयमा हुने सांगितिक प्रतियोगिताहरूमा सहभागी भएर देखाइसकेका थिए ।

कतिपयको हकमा प्रतियोगिताहरू छोटो समयमा लामो छलाङ मार्ने भर्‍याङ बन्न जान्छ । सायद प्रशान्तले पनि त्यस्तै सोचे । र, रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा सहभागी हुन गए । तर त्यहाँ उनले असफलताभन्दा केही पाएनन् । तीन-तीन वटा सिजनमा उनी लगातार असफल भइरहे । हार मानेनन् । कोसिस गरिरहे । र, पाँचौं सिजनमा ‘टप टेन’सम्म पुग्न सके । तर, उपाधि चुम्न सकेनन् ।

यद्यपि उक्त रियालिटी शोले उनलाई एक प्रकारको ‘फ्रेम’ मिल्यो । सुरुमा त्यहाँ जाँदा उनले मुख्य लक्ष्य आफ्नो स्वर देखाएर प्लेब्याक गायक बन्ने राखेका थिए । तर, रियालिटी शोबाट बाहिरिएको सात महिनासम्म पनि उनले काम पाएनन् । उनले संगीत सिर्जना गर्न भने छाडेनन् ।

त्यसबेलासम्म उनको वक्ररेखा ओरालोमै थियो ।

उनी सोच्ने गर्थे– कुनै दिन त रेडियो/टिभीमा मेरो गीत कसो नबज्ला । नभन्दै ती दिन उनको जीवन नजिक आइरहेका थिए । कुरो सन् २०२१ हो । उनले आफ्नो गीत एउटा स्टुडियोमा रेकर्डिङ गर्ने मौका पाए । तर उनमा खुसी कम ज्यादा डर थियो । कारण, जीवनकै पहिलो गीत रेकर्ड हुँदै थियो । त्यसमा उनी अभ्यस्त भइसकेका थिएनन् । कस्तो होला भन्ने उनमा त्रास थियो । सायद उक्साहट पनि धेरै थियो । त्यही भएर घरबाट २२ किलोमिटर पर रहेको उक्त स्टुडियोमा उनले तीन दिन लगाएर बल्लतल्ल ‘भोकल’ हाल्न सकेका थिए ।

गायक बन्ने प्रशान्तको मात्र सपना थिएन, उनको बुबा पनि आफ्नो छोरो गायक भएको हेर्न उत्तिकै हतारमा थिए । त्यही भएर छोरोलाई काठमाडौं पठाइसकेपछि पनि घरबाटै खर्च पठाइरहन्थे । उमेर बढ्दै जाँदा प्रशान्त स्वयंलाई घरबाट पठाइदिएको पैसा लिन लाज लाग्न थाल्यो । गोजीमा पैसा नहुँदा पनि ‘छ’ भनेर बस्नु पर्ने क्षणहरूसँग जुध्नु पर्यो।

काठमाडौंमा कोठा भाडा तिर्न गाह्रो भएर साथीभाइहरूसँग सापटी गर्नुपर्ने समय पनि आयो । अनि ती सबैबाट बाहिर आउन उनले संगीतसम्बन्धीका सानोतिनो काम (जस्तैः लिरिक्स लेख्ने, स्टुडियो सेसनमा गाउने) गर्न थाले । तर पनि उनलाई बुबाले भनिरहेका हुन्थे– तैँले हामीलाई पाल्नु पर्दैन, पाखुरा दरो भइन्जेल म गर्छु ।

बिस्तारै-बिस्तारै प्रशान्तले संगीत क्षेत्रबाट कमाइ गर्न थाले । स्टेज कार्यक्रम गर्न थाले । स्टुडियो सेसन गर्न थाले । त्यसबाट रकम मिल्ने भएकाले घरबाट थप पैसा मागिरहनु परेन । त्यो उनलाई सफलता नै लाग्थ्यो।

भनिन्छ नि, कर्ममा लागिरहे सफलता आफैं पिछा लाग्छ ।

प्रशान्तको जीवनमा त्यस्तै भयो । ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माताबाट उनलाई कामको अफर आयो । त्यसमा उनले गीतको शब्द, सङ्गीत र स्वर सबैको प्याकेज लिए । त्यो काममा उनी यति दत्तचित्त भएर लागिपरे कि उनको जीवनको ‘टर्निङ पोइन्ट’ नै त्यस परियोजना बनिदियो । फिल्मको ‘काँधेकुरी’, ‘रैया चाँदीको’, ‘मैंझारो’ धेरैको मनमा गढ्यो । उनको वक्ररेखा उकालो लाग्यो ।

अहिले उनी केही नयाँ परियोजनामा व्यस्त छन् । तर उनमा ‘क्रियटिभ प्रेसर’ छ । अर्थात्, अब उनलाई उस्तै हिट गीतहरू दिनुपर्ने सिर्जनात्मक दबाब आइपरेको छ ।त्यसबाट मुक्त भएर स्वछन्द शैलीमा नयाँ सिर्जना निकाल्नु उनका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ ।

त्यसबाट मुक्ति कति खेर मिल्ला ? त्यसको उनीसँग उत्तर छैन । तर वक्ररेखाको उकालोलाई वेबास्ता गर्दै उनी पहिले जसरी नै संगीत सिर्जनामा लागिपरिरहेका छन् । ठेगान छैन– उनमा कति खेर धुन फुर्छ । कति खेर शब्द फुर्छ । तर हरबखत ‘मैले यस्तो गर्नु छ’ भनेर उनी दिमाग खियाइरहेका हुन्छन् । मनमा ध्यान गरिरहेका हुन्छन् । चट्टान जसरी झट्ट नयाँ धुन, नयाँ शब्द फुर्न‍ विकल्प छैन ।

त्यसैले त जीवनको संघर्ष होस् अथवा संगीत सिर्जनाको, उनी आफ्नो यात्रालाई राफ्टिङ खेले जस्तै मान्छन् । राफ्टिङमा नदिको छालहरूसँग लड्दै, उठ्दै र आफैंलाई सन्तुलित राख्नै अघि बढ्नुको विकल्प हुन्न । यसो नभए डुङ्गा पल्टिहाल्छ । त्यसैले त लड्नबाट बँचेर यात्रालाई अघि बढाउन दोब्बर मेहनत गरिरहनुपर्छ ।

यो मनन गरेका प्रशान्तको वक्ररेखा भविष्यमा कता जान्छ ? त्यो समयले नै बताउँला । अहिलेलाई आफूले उचाइ छोएको रेखालाई कामय राख्न आवश्यक ठानेका छन् उनले।

सायद छिट्टै उनले यस्ता छालहरूबाट उठेर अर्को सुमधुर धुन फुराउनेछन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More