― Advertisement ―

Amazon को Ring क्यामेराहरू बजेटमा तपाईंको घर सुरक्षित गर्नको लागि उत्तम समाधान हो – $ 25.99 बाट आजको उत्कृष्ट डिलहरू किन्नुहोस्

जब मौसम न्यानो हुन थाल्छ, यो सधैं आफ्नो घरको सुरक्षा पुन: हेर्नु राम्रो विचार हो, र, संयोगवश, Amazon R.L. मा चलिरहेको क्यामेरा सबैभन्दा राम्रो...
HomeLatest newsएमालेमा तेस्रो धार बन्न लागेको हो ? – KhabarHost

एमालेमा तेस्रो धार बन्न लागेको हो ? – KhabarHost



१२ मंसिर, काठमाडौं । महाधिवेशन प्रतिनिधि चयनको अघिल्लो दिन सार्वजनिक भएको एउटा सूचनाले नेकपा एमाले वृत्त तरंगित बनेको छ ।

त्यो सूचना हो- उपाध्यक्ष विष्णुप्रसाद पौडेलसहित सात पदाधिकारीले केपी शर्मा ओलीलाई तेस्रोपटक अध्यक्ष मान्ने निष्कर्ष ।

दाबी अनुसार, उपाध्यक्षद्वय रामबहादुर थापा बादल र विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, सचिवहरू लेखराज भट्ट, रघुबीर महासेठ, छविलाल विश्वकर्मा र पद्या अर्यालले ओलीको विकल्प नखोज्ने निष्कर्ष निकालेका छन् । यस्तो निष्कर्ष गुन्डुमा ओलीसँग भएको अनौपचारिक छलफलबाट निकालिएको पनि दाबी गरिएको छ । एक पदाधिकारीले यी सात नेताबीच अनौपचारिक कुराकानी भएको र त्यसकै आधारमा ओलीलाई अध्यक्ष मान्नेगरी जाने सहमति भएको दाबी बताएका थिए ।

नेताहरू फरकफरक ठाउँमा भए पनि उनीहरूबीच संवाद भएको र त्यसकै आधारमा निष्कर्ष निकालेको उनले बताएका थिए ।

एमालेभित्रको शक्ति- संघर्षमा यी पदाधिकारीहरू प्रष्ट खुलेका थिएनन्, त्यसैले आज सार्वजनिक सूचनाले एमालेभित्र हलचल नै ल्यायो ।

महेश बस्नेतको अगुवाइमा चलिरहेको सार्वजनिक कार्यक्रममा भाग लिएर उपमहासचिव पृथ्वीसुब्बा गुरूङले आफू ओलीको पक्षमा खुल्ने संकेत दिएका थिए । त्यसअघि गण्डकीकै पार्टी बैठकमा पनि ओलीको पक्षमा गुरुङ बोलेका थिए ।

विघटित प्रतिनिधिसभा संसदीय दलको बैठक सम्बोधन गर्दा उपाध्यक्ष पौडेलले पनि आफू ओलीसँगै रहन सक्ने संकेत दिएका थिए । तर उपाध्यक्ष बादल, सचिवहरू भट्ट, विश्वकर्मा, महासेठ र अर्याल खुलेर बोलेका छैनन् ।

‘विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङले लगातार केपी ओलीसँग संवाद गरिरहनुभएको छ, नियमित गुन्डु गइरहनुभएको छ,’ एमालेका एक पदाधिकारी भन्छन्, ‘आज पनि दुवै जना गुन्डु जानु भएको थियो, उहाँहरूले अरुको पनि जिम्मा लिनु भए जस्तो देखियो ।’

ती पदाधिकारीले भनेजस्तै आज गुन्डुमा सात पदाधिकारी र ओलीबीच कुनै छलफल नभएको सचिव लेखराज भट्ट बताउँछन् । ‘म कैलालीमा छु, प्रतिनिधि चयनको काम भइरहेको छ, मसँग यसबारे कसैको कुरा भएको छैन,’ उनले भने । गुन्डुमा कुनै छलफल नभएको पनि सचिव भट्टले बताए । ‘विगतमा बोलेको कुरालाई आधार मानेर यस्तो सूचना दिइएको होला,’ उनले भने ।

पछिल्लोपटक बसेको एमाले सचिवालय बैठक ।

अर्का सचिव रघुवीर महासेठले पनि गुन्डुमा छलफल नभएकै पुष्टि गरे । अनलाइनखबरसँग उनले आफू जनकपुरमा प्रतिनिधि चयनकै काममा व्यस्त रहेको बताए । सचिव पद्या अर्याल एपेन्डिक्सको अप्रेसन पछि आराम गरिरहेका छन् ।

स्रोतका अनुसार सात पदाधिकारीले ओलीलाई नै समर्थन गरेको सूचनाप्रति अर्का सचिव छविलाल विश्वकर्माले पनि आपत्ति जनाएका छन् । ‘मैले कुनै धारणा बनाएको छैन, बोल्ने बेला बोलिहाल्छु,’ विश्वकर्माको भनाइ छ ।

अर्थात् उपाध्यक्ष पौडेल र उपमहासचिव गुरुङबाहेक पदाधिकारीमा कित्ता क्लियर गर्ने रुचि देखिँदैन । तर पनि ‘सात पदाधिकारी’को भाष्य एमालेवृत्त फैलिएको छ ।

यो सूचनाप्रति ओलीका पक्षमा पहिलेबाटै खुल्दै आएका पदाधिकारी पनि अलमलमा देखिन्छन् । किनकी प्रतिनिधि चयनको अघिल्लो दिन मात्रै सात पदाधिकारी ओलीको पक्षमा खुलेको सन्देश दिइएको छ ।

‘यस्तो सूचनाले प्रतिनिधि चयनमा प्रभाव पर्ने देखियो,’ ओली तर्फका एक नेता भन्छन्, ‘अरुतिर पनि असर पर्छ, तर विशेषगरी लुम्बिनी र गण्डकीको शक्ति–संघर्षलाई यसले असर पार्छ ।’

गण्डकीमा पृथ्वीसुब्बा भर्सेज खगराज अधिकारीको संघर्ष छ । खगराज अधिकारीले पहिलेबाटै केपी ओली र महासचिव शंकर पोखरेललाई साथ दिँदै आएका छन् । लुम्बिनीमा विष्णु पौडेल भर्सेस शंकर पोखरेलबीच संघर्ष छ ।

पौडेल सहितसात पदाधिकारी ओलीको पक्षमा खुलेको सन्देशले लुम्बिनीको प्रतिनिधि चयनमा नेताहरू अलमलिने अवस्था बनेको छ । ‘विष्णु पौडेलको पनि नेता केपी ओली हुने सन्देश गयो, यसले प्रतिनिधि चयनको संघर्ष फेरिने नै भयो,’ ती नेता भन्छन् ।

धनगढीमा आयोजना गरिएको युवा जागरण अभियानमा जाने क्रममा उपमहासचिव पृथ्वीसुब्बा गुरुङसहितका नेता ।

ईश्वर पोखरेललाई एमाले अध्यक्ष बनाउने अभियानमा जुटेका नेताहरू पनि ‘सात पदाधिकारी’को भाष्यबाट तरंगित बनेका छन् । ‘विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङले लिन खोजेको निर्णय अरू पदाधिकारीहरूको पनि हो भन्न हुँदैन,’ पोखरेल पक्षका एक नेता भन्छन्, ‘नेताहरूबीच हाम्रो पनि कुराकानी भइरहेको छ ।’

ईश्वर पोखरेललाई एघारौं महाधिवेशनबाट अध्यक्ष बनाउने अभियानमा जुटेका नेताहरू नखुलेका पदाधिकारीलाई आफ्नो पक्षमा पार्ने प्रयत्नमा थिए । उनीहरू विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङलाई तान्ने प्रयत्न गरिरहेकै छन् । ईश्वरको पक्षमा खुलेका सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, गोकर्ण बिष्ट र योगेश भट्टराईहरूले त्यसका निम्ति आफू त्याग गर्न तयार रहेको बताउने गरेका थिए ।

उनीहरूको ध्यान पृथ्वीसुब्बा गुरुङलाई महासचिव दिएर ईश्वर पोखरेलको पक्षमा उभ्याउने थियो । ‘विष्णु पौडेलले त विद्या भण्डारीलाई अध्यक्ष उठ्नुस् भनेरै प्रेरित नै गर्नुभएकाले हामीले विश्वास गरेका थियौं,’ ईश्वरको पक्षमा खुलेका एक पदाधिकारी भन्छन्, ‘जेनजी आन्दोलनपछि उहाँले बक्तव्य जारी गरेरै माफी माग्नु भएको थियो, पक्षधरता देखाउनु भएको थियो ।’

उनका अनुसार विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङले ईश्वर पोखरेलसँग पनि नियमित संवाद गरिरहेकै थिए । ‘उहाँहरू गुण्डु पनि जानु हुन्थ्यो, हामीसँग पनि संवाद गर्नुहुन्थ्यो,’ उनी भन्छन् ।

तर ‘सात पदाधिकारी’ भनेर सन्देश सार्वजनिक गरिनुले एमालेभित्र तेस्रो धार बनेको सन्देश गएको नेताहरू अनुमान गर्छन् । ‘विष्णु पौडेलको नेतृत्वमा तटस्थ बस्दै आएका पदाधिकारीहरू समेटेर तेस्रो धार खडा गर्न खोजिएको देखियो,’ एमाले स्रोत भन्छ, ‘यो धारले महासचिव पदको बार्गेनिङ गर्ने पनि प्रष्ट भयो ।’

दशौं महाधिवेशन पश्चात् नै पौडेल-गुरुङले अलग शक्ति-संघर्ष गर्दै आएका थिए । ओलीलाई नै नेता माने पनि महासचिव शंकर पोखरेलहरूको समूहसँग पौडेल–गुरुङ भिड्दै आएका थिए । प्रदेश अधिवेशनहरूमा प्यानल बनाएरै यी दुई समूह भिडेका थिए । कतिपय जिल्ला अधिवेशनहरूमा यस्तो प्रवृत्ति देखिएको थियो ।

तर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले अध्यक्ष बन्नेगरी अघि बढेपछि एमालेभित्रको शक्ति-संघर्ष फेरिएको थियो । महासचिव पोखरेलले सार्वजनिक भाषण र सामाजिक सञ्जालमा स्टाटस लेखेरै एमालेभित्र शक्ति–संघर्ष फेरिएको सन्देश दिएका थिए ।

पूर्वराष्ट्रपति भण्डारीलाई अध्यक्ष बनाउने पक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका पदाधिकारी लागेका थिए । तर भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय ओलीले लिएपछि ईश्वर पोखरेलले अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।





Read More