― Advertisement ―

‘पूरा 40-घण्टा हप्ता अब 60 मिनेट लाग्छ’: Ahrefs’ नयाँ एआई एजेन्टहरूले ‘सधैं-अन’ मार्केटिङ समर्थनको वाचा गर्छन्

Ahrefs ले एउटा नयाँ उपकरण बजारमा ल्याएको छ। Letaido सँग Ahrefs डेटामा स्थानीय पहुँच हुनेछयसले हरेक हप्ता प्रयोगकर्ताहरूको घण्टा बचत गर्न मद्दत गर्ने प्रतिज्ञा...
HomeLatest newsएमालेका प्रतिनिधिलाई खान बस्नकै पीर – KhabarHost

एमालेका प्रतिनिधिलाई खान बस्नकै पीर – KhabarHost



२५ मंसिर, काठमाडौं । एमाले महाधिवेशनको प्रतिनिधि बनेर आएका बाँकेका मानबहादुर रुचाल ठकुरी सुन्धाराको होटलमा बसिरहेका छन् । तीन दिनअघि काठमाडौं आएका उनले आफ्नै खर्चमा गाँसबासको व्यवस्था गरेका छन् ।

‘होटलमा बसेको छु । एक दिनको कोठा भाडा १ हजार छ । खाना सहितको गरेर दिनको २ हजार जति खर्च हुने रहेछ,’ बुधबार च्यासल पार्टी कार्यालयमा पुगेका उनले भने, ‘आफ्नो व्यवस्थापन आफैंले गरेको छु ।’

उनका अनुसार बाँकेबाट २६ जना प्रतिनिधि छन् । ‘कोही आइसके । कोही आउने क्रममा छन् । सबैले आफ्नो ढंगले व्यवस्थापन गर्ने हो,’ उनले भने ।

एमालेले महाधिवेशन प्रतिनिधिले खाने बस्ने व्यवस्थापन आफैंले गर्नुपर्ने निर्णय गरेको छ । त्यसैले प्रतिनिधिहरूले आफ्नो व्यवस्थापन आफैंले गरिरहेका हुन् । एमाले सचिव छविलाल विश्वकर्मा प्रतनिधिलाई आफन्त वा साथी भाइकोमा राख्ने तय भएको बताउँछन् ।

‘प्रतिनिधिको आवासको बन्दोबस्त आम रुपमा गरिएको छैन । काठमाडौंमा कोही न कोही आफन्त हुन्छ । छोराछोरी आफन्त हुनेले स्वयंले व्यवस्थापन गर्ने हो,’ सचिव विश्वकर्माले भने, ‘कसैको कोही पनि नुहने वा अफ्ठ्यारोमा परेकालाई साथीभाइकोमा राख्ने भनिएको छ ।’

सचिव विश्वकर्माका अनुसार अफ्ठ्यारोमा परेका प्रतिनिधिले जिल्ला अध्यक्ष वा प्रदेश अध्यक्षलाई भन्नु पर्ने हुन्छ । ‘प्रदेश र जिल्ला अध्यक्षलाई भनेपछि उहाँले सम्बन्धित जिल्ला सम्पर्क मञ्चलाई भन्नु हुनेछ । त्यसपछि असहज भएका प्रतिनिधिलाई राख्ने काम सम्पर्क मञ्चले गर्ने छ,’ उनले भने ।

प्रतनिधिहरू धमाधम जिल्लाबाट काठमाडौं आइरहेका छन् । र, आएकाहरू नेता भेट्न च्यासल पुगिरहेका छन् । त्यहाँ पुगेका प्रतिनिधिहरू कहाँ बस्ने के गर्ने भन्ने अन्योलमा देखिए ।

रौतहटबाट बुधबार काठमाडौं आएकी बिना साह आफन्तको घरमा बसिरहेका छिन् । तर, भोलि सबै प्रतिनिधिहरू काठमाडौं आइपुग्दै छन् । कहाँ कुन होटलमा बस्ने भनेर काठमाडौं आउन लागेका प्रतिनिधिसँग फोनमा कुरा गरिरहेकी थिइन् ।

‘म आफन्तकोमा बसेको छु । भोलि सबै प्रतिनिधि आइपुग्छन् । साथीहरूलाई कहाँ कुन होटलमा राख्ने भनेर छलफल गरिरहेको छु,’ उनले भनिन्, ‘साथीहरू आएपछि म पनि होटलमै बस्छु ।’

बाजुराबाट १६ जना प्रतिनिधि काठमाडौं आइपुगेका छन् । कोही आफन्तकोमा कोही होटलमा बसेका छन् । ‘जिल्लाबाट सबै प्रतिनिधि आइपुगेका छौँ । अहिलेसम्म आफैंले मिलाएर बसेका छौँ,’ बाजुरा जिल्ला कमिटी सचिव काशी विकले भने ।

बन्दसत्र सुरु भएपछि भने पार्टीले नै खानाको व्यवस्था गर्ने आशा प्रतिनिधिको छ । ‘बन्दसत्र सुरु भएपछि खानाको व्यवस्था आयोजकले गर्ला कि । तर नेता चुन्न र चुनिन आएका हौँ । कसैले बसाउला भात खुवाला भनेर आएको होइन,’ उनले भने, ‘प्रतनिधिहरू अलपत्र हुदैनन् भन्ने विश्वास छ ।’

प्रतिनिधि चयन चुनिएपछि प्रतिनिधि शुल्क २ हजार पार्टीको खातामा हालेका छन् । तर गास बासको व्यवस्था आफैंले गर्नुपर्ने बाध्यतामा प्रतनिधि छन् । डोटीबाट १० जना प्रतिनिधिको टोली काठमाडौं आइपुगेको छ । सबै होटलमा बसेका छन् । ‘महाधिवेशन सफल बनाउन व्यक्तिगत खर्चमा आएका हौँ,’ डोटी जिल्ला अध्यक्ष मञ्जु मलासीले भनिन् ।

तर एमाले सचिव विश्वकर्मा होटलमा नभइ साथीभाइकोमा बस्ने व्यवस्था मिलाइएको बताउँछन् । ‘होटलमा खर्च गरेर होइन । साथीभाइकोमा मिलाएर राख्ने व्यवस्था गरिएको छ,’ उनले भने, ‘तर, समस्या नभएकाले आफ्नो व्यवस्था आफैंले गर्ने हो ।’

सर्लाहीबाट २२ जना प्रतिनिधिको टोली आएको छ । यो टोल भने आफन्तकोमा बसेको छ । ‘हिजो बेलुका आइपुगेका हौँ । सबै जना आफन्तकोसमा बसेका छौँ,’ सर्लाहीका अध्यक्ष राजनारायण साहले भने ।

नेतृत्व चुन्न आएका प्रतनिधिहरू लामो समय काठमाडौ बस्न असज हुने भएकाले सहमतिबाट अगाडी बढ्न नेताहरूलाई सुझाउछन् ।

पार्टी मुख्यालय च्यासलमा आएका प्रतिनिधिहरूमध्ये एक हुन्, कल्पनाकुमारी थापा चन्द । कल्पना आफ्नो काखे बालक च्यापेर महाधिवेशनमा सहभागी हुन कर्णाली प्रदेशको दैलेखबाट आएकी छिन् । यो चिसो मौसममा उनी आफ्ना बच्चालाई काखमा च्यापेर बिहीबार च्यासल पुगेकी थिइन् ।

कल्पना महाधिवेशनलाई राजनीतिक जीवनको उत्सवको रूपमा लिन्छिन् । यो चिसो मौसममा पनि बच्चा च्यापेर काठमाडौं आउन आफूलाई उत्प्रेरित गरेको सुनाउँछिन् । तर उनी भन्छिन्, ‘पार्टीको महाधिवेशन राजनीतिक जीवनको उत्सव हो । त्यसैले बच्चाका कारण यो उत्सवलाई छोड्ने कुरा पनि आएन । र, आमाको जिम्मेवारीले बच्चा छोडेर आउने कुरा पनि भएन ।’

महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्नेमा पार्टीका शीर्ष नेताहरूलाई सुझाव दिन्छिन् । ‘मुलुकको विषम परिस्थितिमा पार्टीको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ । समूहमा विभाजन भएर होइन, कम्युनिस्ट पार्टीलाई एक ठाउँमा राख्ने महाधिवेशन बनाउनुपर्छ,’ उनले भनिन् ।

यी त प्रतिनिधि पात्र मात्र हुन, महाधिवेशाबाट नेतृत्व चुन्न र चुनिन देशभरबाट करिब २३ सय प्रतिनिधि काठमाडौंमा आउने छन् । एमाले महाधिवेशन २७ मंसिरदेखि २९ गतेसम्म चल्नेछ । उद्घाटन भक्तपुरमा र बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा हुनेछ ।

तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More