― Advertisement ―

हामी आधिकारिक रूपमा अप्रिल 16 मा DJI Pocket 4 प्राप्त गर्दैछौं, तर यहाँ कसरी Insta360 ले यसलाई हराउन सक्छ।

O4 अप्रिल DJmockI मा अपेक्षा गर्नुहोस् 16भ्लगिङ क्यामेरा लामो समयदेखि चर्चामा छInsta360 ले Luna पनि चाँडै लन्च गर्दैछ DJI Osmo Pocket 4 अहिले लामो...
HomeLatest newsसरकारी संस्थान/निकायमा कर्मचारी र सञ्चालकलाई मनपरी सुविधा, नियन्त्रण गर्न सिफारिस

सरकारी संस्थान/निकायमा कर्मचारी र सञ्चालकलाई मनपरी सुविधा, नियन्त्रण गर्न सिफारिस


राष्ट्रिय

समाचार.

  • सरकारको कार्यदलले राज्यकोषबाट लगानी भएका निकायमा मनपरी सेवा सुविधा बाँड्ने प्रवृत्ति अन्त्य गर्न सिफारिस गरेको छ।
  • अध्ययनले कर्मचारी सञ्चय कोषमा कर्मचारीले वार्षिक औसत २२ लाख २२ हजार रुपैयाँ सेवा सुविधा पाउने देखाएको छ।
  • कार्यदलले सबै निकायमा सेवा सुविधा प्रणाली एकरूपता र पारदर्शिता ल्याउन अर्थ मन्त्रालयको सहमति अनिवार्य गर्न सिफारिस गरेको छ।

३ मंसिर, काठमाडौं । राज्यकोषबाट लगानी भएका नियामक निकाय, प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थानमा कर्मचारी र पदाधिकारीलाई मनपरी सेवा सुविधा बाँड्ने गरेको पाइएको छ ।

सरकारी कार्यदलले गरेको अध्ययनले यो प्रवृत्ति अन्त्य गर्दै मनपरी सेवा सुविधा बाँड्ने काममा रोक लगाउन सिफारिस गरेको छ ।

सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट भाषणमा राज्यकोषबाट सेवा सुविधा लिने निकायको सेवा सुविधामा एकरूपता ल्याउन समिति गठन गर्ने उल्लेख थियो ।

सोही अनुसार अर्थ मन्त्रालयले गठन गरेको समितिले सरकारलाई विद्यमान मनपरीतन्त्र अन्त्य गरी सेवा सुविधा व्यवस्थित गर्न सिफारिस गरेको हो ।

अहिले नेपालमा सार्वजनिक संस्थानमा मात्र ३४ हजार ९ सय ५१ जना कर्मचारीले काम गरिरहेको तथ्यांक छ । यसबाहेक बोर्ड, समिति र प्रतिष्ठानमा हजारौं कर्मचारी काम गर्छन् । यी संस्था तथा निकायको प्रशासनिक खर्च र कर्मचारी सुविधा निरन्तर बढ्दो क्रममा रहँदा राज्यकोषमा थप दायित्व सिर्जना भइरहेको समेत कार्यदलको प्रतिवेदनमा उल्लेख छ ।

अध्ययन अनुसार कतिपय संस्थानको वित्तीय अवस्था कमजोर हुँदाहुँदै कर्मचारीलाई भने उच्च सेवा सुविधा दिइरहेको भेटिएको छ । संस्था/निकायमा ४१ प्रकारका भत्ता बाँड्ने गरेको अध्ययनले देखाएको छ ।

सेवा सुविधा निर्धारण गर्दा पर्याप्त अध्ययन नहुँदा दीर्घकालीन वित्तीय दायित्व बढ्दै गएको देखिएको छ । कतिपय अवस्थामा कर्मचारीलाई तलब सुविधा दिन सरकारसँग ऋण र अनुदान लिनुपर्ने अवस्था समेत देखिएको प्रतिवेदनमा छ ।

कार्यदलले सरकारलाई पारदर्शी, न्यायोचित र एकरूपता हुने गरी सेवा सुविधा प्रणाली विकास गर्न भनेको छ । कार्यदलले ६० संस्थान छनोट गरेर विवरण माग गरी कर्मचारीको सेवा सुविधा अध्ययन गरेको जनाएको छ ।

जसमा कर्मचारीलाई सबैभन्दा धेरै वार्षिक औसत आम्दानी हुने निकायमा कर्मचारी सञ्चय कोष र नेपाल नागरिक उड्डयन प्राधिकरण अगाडि देखिएका छन् । वर्षभरि सबै तलबभत्ता, सुविधा समावेश गर्दा एक कर्मचारीले औसत प्राप्त गर्ने रकम वा निजका लागि हुने खर्च अध्ययन गर्दा सबैभन्दा अगाडि कर्मचारी सञ्चय कोष आएको छ ।

यस संस्थामा काम गर्ने कर्मचारीले वर्षमा औसत २२ लाख २२ हजार रुपैयाँ पाउने गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणमा काम गर्ने कर्मचारीले वार्षिक औसत २० लाख ६२ हजार रुपैयाँ कमाउने गरेका छन् ।

तेस्रो स्थानमा नेपाल राष्ट्र बैंक छ । जसमा काम गर्ने कर्मचारीले वार्षिक औसत १८ लाख ३८ हजार रुपैयाँ कमाउँछन् । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा काम गर्ने कर्मचारीको वार्षिक आम्दानी १७ लाख २ हजार देखिएको छ ।

प्रतिवेदन अनुसार प्रतिकर्मचारी वार्षिक औसत १५ लाखभन्दा बढी कमाइ हुने निकाय/संस्थान १२ छन् । राष्ट्रिय जीवन बीमा कम्पनीमा १६ लाख ४५ हजार, राष्ट्रिय बीमा कम्पनीमा १६ लाख ४३ हजार रुपैयाँ आम्दानी हुने देखिएको छ ।

त्यस्तै राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा १५ लाख ७८ हजार, धितोपत्र बोर्डमा १५ लाख ७६ हजार वार्षिक आम्दानी हुने देखिन्छ । एचआइडीसीएलमा १५ लाख ७२ हजार र नागरिक लगानी कोषमा १५ लाख ४० हजार वार्षिक आम्दानी छ ।

प्रतिवेदन अनुसार कतिपय संस्था/निकायले विभिन्न किसिमका कोष, बीमा, घर तथा सवारीसाधन खरिदमा दिएको ब्याज अनुदान तथा सेवा निवृत्त हुँदा दिने सुविधा भने जोडिएको छैन । कतिपय निकायले यस वर्ष खर्च निकालेको देखिएको छैन । यस्तो रकम समेत जोड्दा कर्मचारीमा भएको खर्च थपघट हुन सक्ने प्रतिवेदनमा उल्लेख छ ।

कतिपय निकायले पटके निर्णयबाट सुविधा दिने गरेको र त्यस्तो सुविधा सार्वजनिक नगर्ने परिपाटी समेत विद्यमान रहेको देखिएको छ । कार्यदलले कुल ४६ संस्था/निकायमा गरेको अध्ययन अनुसार ३८ निकायमात्र नाफामा देखिएका छन् ।

संस्था र निकायमा देखिएका मुख्य विकृति कस्ता ?

प्रतिवेदन अनुसार पदाधिकारीदेखि सामान्य कर्मचारीसम्मका सेवा सुविधामा एकरूपता र मापदण्ड अभाव देखिएको छ । धेरैजसो अवस्थामा सञ्चालक समितिले आफ्नै स्वविवेकमा सुविधा निर्धारण गर्ने गरेको पाइएको छ ।

विभिन्न ४८ संस्था/निकायमध्ये ८ वटामा बैठक भत्ता ‘नेपाल सरकारले तोक्ने’ भन्ने उल्लेख छ । ११ वटामा साधारणसभाले तोक्ने भनिएको छ । ४ वटामा नेपाल सरकारसरह हुने उल्लेख छ ।

त्यस्तै ५ वटामा तोकिए बमोजिम हुने उल्लेख छ । ९ वटामा सञ्चालक समितिले तोके बमोजिम हुने उल्लेख छ । ६ वटामा नियम तथा विनियम बमोजिम हुने उल्लेख छ ।

पारिश्रमिक र सुविधामा पनि सोही सोही प्रवृत्ति छ । संस्था र निकायमा कर्मचारीलाई निजामतीसरह सामान्य बिदा उपलब्ध भए पनि सञ्चित घर बिदामा भने फरक–फरक सुविधा दिने गरेको पाइएको छ ।

अध्ययन गरिएका ६० संस्थामध्ये सबैजसोमा जोखिम, आवास, टेलिफोन, स्टेसन, नियमन, उत्पादन, प्रोत्साहन जस्ता नाममा भत्ता दिने गरेको पाइएको छ । जुन भत्ता अपारदर्शी र अर्थ मन्त्रालयलाई जानकारी नगराइ दिने गरेको समेत भेटिएको छ ।

उपदानमा समेत सीमा फरक–फरक पाइएको छ । अध्ययन गरिएका निकायमध्ये २१ संस्थाले मात्र योगदानमा आधारित उपदान तथा निवृत्तिभरण व्यवस्था गरेको देखिएको छ ।

सीमित निकायले मात्र कार्य सम्पादनमा आधारित प्रोत्साहन प्रणाली कायम गरेको पाइएको छ । संस्थानमा वार्षिकोत्सवका अवसरमा एक महिना बराबर र केहीमा १५ देखि ३५ प्रतिशतसम्म प्रोत्साहन भत्ता दिने गरेको पाइएको छ । २८ वटा संस्था र निकायमा कल्याण वा सुरक्षण कोष स्थापना गरेको र त्यसमा २ देखि ५ महिनाको तलब बराबर रकम वार्षिक जम्मा गर्ने गरेको देखिएको छ ।

सबैजसो संस्थाले कर्मचारीलाई सहुलियत ब्याजदरमा सापटी दिने गरेका छन् । यस्तो सापटी घर निर्माण, जग्गा खरिद, सामाजिक कार्य, सवारीसाधन खरिद लगायतमा दिने गरिएको छ ।

यस्तो ब्याज १ देखि ५ प्रतिशतसम्म हुने गरी तोकिएको छ । केही निकायले निःशुल्क वा छुटसहित हवाई टिकट, विद्युत्, खानेपानी, पेट्रोल, खाद्य सामग्री, टेलिफोन लगायत सुविधा कर्मचारीलाई दिने गरेका छन् । कतिपयले सेयर समेत दिने गरे पनि यसको कानुनी आधार देखिएको छैन ।

सञ्चालकले प्रतिबैठक ९ हजारसम्म बुझ्छन् भत्ता

नेपालमा सञ्चालित संस्थान र निकायमा बैठक भत्तामै ठूलो रकम खर्च हुने गरेको देखिएको छ । नेपाल राष्ट्र बैंक र नेपाल विद्युत् प्राधिकरणमा एउटा बैठक बसेबापत ९ हजार रुपैयाँ भत्ता दिने व्यवस्था छ । अन्य दुई संस्थानले ८ हजार, एकमा ७ हजार ५ सय र चार संस्थानमा ७ हजार रुपैयाँ प्रतिबैठक भत्ता दिने गरिएको छ ।

अध्ययन प्रतिवेदन अनुसार निकायका प्रमुखले खाने पारिश्रमिक र भत्ताका आधारमा सबैभन्दा अगाडि राष्ट्रिय वाणिज्य बैैंक छ । यस बैंकका प्रमुखको सुविधा मासिक ४ लाख ५० हजार छ ।

कृषि विकास बैंक र नेपाल बैंक लिमिटेडका प्रमुखले मासिक ४ लाख प्राप्त गर्छन् । नेपाल पर्यटन बोर्डका प्रमुखको पारिश्रमिक मासिक ३ लाख ९१ हजार रुपैयाँ रहेको देखिएको छ ।

अधिकृतस्तरका कर्मचारीको तुलना गर्दा मासिक तलब ५० हजारभन्दा कम हुने संस्था/निकाय १७ छन् । ५० देखि ७५ हजारसम्म तलबभत्ता हुने निकाय २५ छन् । त्यसभन्दा माथि तलबभत्ता तोकिएका निकाय ७ छन् ।

यसकारण मनपरी छ संस्थानमा पारिश्रमिक

अध्ययन अनुसार प्रत्येक संस्था/निकायले आफ्नै ऐन, नियमावली र विनियमावलीका आधारमा सेवा सुविधा तोक्ने गरेका छन् । सेवा सुविधा निर्धारणमा मार्गदर्शन गर्ने एकीकृत कानुन अभाव देखाइएको छ ।

सञ्चालक समितिलाई स्वेच्छाचारितामा छाड्दा विकृति बढेको छ । निगरानीको कमी आँैल्याइएको छ । कर्मचारी संघको दबाब समेत एक कारण मानिएको छ ।

के छ कार्यदलको सिफारिस ?

कार्यदलले अर्थ मन्त्रालयको अधिकार क्षेत्र स्पष्ट गर्न भनेको छ । सबै निकायमा तलब, भत्ता, अवकास सुविधा सहित आर्थिक दायित्वको निर्णय गर्दा अनिवार्य अर्थ मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्था गर्न सिफारिस गरिएको छ ।

सबै सार्वजनिक संस्था निकायमा एउटै ढाँचाको कर्मचारी सेवा सर्त नियमावली र विनियमावली बनाइ कार्यान्वयन गर्न समेत सिफारिस गरिएको छ ।

छाता कानुन बनाएर सार्वजनिक संस्थानमा वित्तीय उत्तरदायित्व कायम गर्न भनिएको छ । सबै संस्था/निकायलाई सेवा सुविधा प्राप्त गर्ने प्रयोजनका लागि संस्थानलाई वर्गीकरण गर्न सिफारिस गरिएको छ । प्रत्येक समूहका लागि बेग्लाबेग्लै तलब सुविधा प्याकेज निर्धारण गर्नसमेत कार्यदलले सिफारिस गरेको छ ।

सरकारी अनुदानमा निर्भर र घाटामा गएका संस्थाका हकमा निजामतीभन्दा बढी तलब सुविधा तोक्न नपाइने गरी कानुन बनाउन सिफारिस गरिएको छ ।

कार्यसम्पादनमा आधारित प्रोत्साहन नीति कार्यान्वयन गर्नसमेत कार्यदलले सिफारिस गरेको छ । निकायका प्रमुखको तलबभत्ता मन्त्रिपरिषद्ले तोक्नुपर्ने व्यवस्था गर्नसमेत सिफारिस गरिएको छ ।

पदाधिकारीको सुविधा अर्थ मन्त्रालयले तोक्ने र परिवर्तन गर्दा अर्थको सहमति अनिवार्य गर्नसमेत सिफारिस गरिएको छ । डाक्टर, नर्स, पाइलट, बीमाङ्की, सीएजस्ता पेसामा भने बजार प्रतिस्पर्धा र अवसर लगायत आधारमा बैग्लै तलब संरचना बनाउन सिफारिस गरिएको छ ।

सामाजिक सुरक्षालाई योगदानमूलक बनाउन भनिएको छ । अनिवार्य अवकाश कोष खडा गर्न भनिएको छ । अपारदर्शी अन्य कोष खारेज गर्न सिफारिस गरिएको छ । सबै प्रकारका गैरमौद्रिक सुविधा हटाउन सिफारिस गरिएको छ ।

त्यस्तै गैरसञ्चालन नाफालाई बोनसमा गणना गर्न नपाइने व्यवस्था गर्नसमेत सिफारिस गरिएको छ । सञ्चालक र कर्मचारीले आफ्नो सुविधा आफैं तोक्ने नियम हटाउन पनि भनिएको छ ।

दरबन्दी पुनरावलोकन सिफारिससँगै आफ्नो कर्मचारीका तलब, भत्ता, ऐन, नियमावली र विनियमावली आफ्नो वेबसाइटबाट सार्वजनिक गर्नुपर्ने व्यवस्था गर्न पनि कार्यदलले सिफारिस गरेको छ ।

त्यस्तै वार्षिक तलबी प्रतिवेदन अर्थ मन्त्रालयमा बुझाउनुपर्ने गरी तोक्न सिफारिस गरिएको छ । बन्द भएका संस्थानबाट कर्मचारी हटाउन भनिएको छ । बन्द संस्थानको जमिन र सम्पत्ति संरक्षण जिम्मा स्थानीय सरकारलाई दिन सिफारिस गरिएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More