― Advertisement ―

गति रणनीति होइन: मानव निर्णय एआई-नेतृत्व निर्णयहरूमा केन्द्रित हुनुपर्छ

संगठनहरूले एआई उपकरणले निर्णय लिने अपेक्षा गरिएको छ केही वर्ष पहिले अवास्तविकएआईले नाटकीय रूपमा विस्तार गरिरहेको छ कि संगठनहरूले कति चाँडो बुझ्न, व्याख्या...
HomeLatest newsखकुवाखोलामा झोलुङ्गे पुल बनेपछि पुस्तौंदेखिको समस्या अन्त्य

खकुवाखोलामा झोलुङ्गे पुल बनेपछि पुस्तौंदेखिको समस्या अन्त्य



३० कात्तिक, भोजपुर । ज्यानको जोखिम मोलेर काठको फड्केबाट खकुवाखोला तर्दै आएका यहाँका स्थानीयलाई झोलुङ्गे पुल बनेपछि सहजता भएको छ । षडानन्द नगरपालिका-७ र ११ लाई जोडने यो खोलामा ८० मिटर लामो पुल निर्माण भएपछि स्थानीयको वर्षौंको समस्या अन्त्य भएको हो ।

बर्खाको समयमा खोला ठूलो हुँदा तर्न नसकेर कतिपय समयमा खेतमा नै बास बस्नुपर्ने अवस्थामा पुल निर्माणले राहत मिलेको स्थानीयवासी चतुरमाया मगरले बताइन् । विगतमा खेत आउँदा उर्लिंदो भेल तरेर जानुपर्ने समस्या रहेको उनको भनाइ छ । अब भने जोखिम मोलेर काठको फड्केबाट खोला तर्नुपर्ने अवस्थाको अन्त्य भएको उनले बताइन् ।

‘खकुवाखोलामा झोलुङ्गे पुल बनेपछि हाम्रो पुस्तौँदेखिको समस्या अन्त्य भएको छ’, उनले भनिन्, ‘दैनिकजसो खेतीमा आउँदा यो खोला तर्नुपर्थ्यो । खोलापारि जान काठको फड्के थियो । त्यो फड्के पनि ठूलो खोला हुँदा बगाउथ्यो, पुल बनेपछि सहज छ ।’

यो खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयको दैनिकी सहज बनेको स्थानीयवासी दीपबहादुर मगरले बताए । मुख्य रूपमा बर्खाको समयमा आवतजावतमा धेरै समस्या हुने गरेको उनको भनाइ छ । ‘पुल बनेपछि हामीलाई सहज भएको छ’, उनले भने, ‘यो पुलले दुईवटा वडाका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको छ ।’

यहाँ ४८ लाख १२ हजार ८२५ लागतमा पुल निर्माण सम्पन्न भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष मनिकुमार तामाङले बताए । स्थानीयको समस्यालाई ध्यानमा राखेर खकुवाखोलामा झोलुङ्गे पुल निर्माण गरिएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले बताए ।

नगरपालिका क्षेत्रमा आवश्यक पर्ने अन्य झोलुङ्गे पुलको तथ्याङ्क लिएर निर्माणको कामलाई योजनाबद्ध रूपमा अघि बढाएको उनले जानकारी दिए ।





Read More