― Advertisement ―

HomeLatest newsमतदाता नामावलीमा नाम लेखाउन मधेशमा भिड र सास्ती – KhabarHost

मतदाता नामावलीमा नाम लेखाउन मधेशमा भिड र सास्ती – KhabarHost



२७ कात्तिक, जनकपुरधाम । बिहान साढे ८ बजेदेखि मतदाता नामावलीमा नाम दर्ता गराउन लाइन लागेका धनुषा कमला नगरपालिका-२ का सुरज दास दिउँसो पौने ३ बजे मात्र काउन्टर नजिक पुग्न सके । उनको पालो आउन अझै १० मिनेट बाँकी थियो ।

‘बिहानैदेखि लाइनमै छु, अझै पनि मेरो पालो आएको छैन । काम एकदम सुस्त छ,’ जिल्ला निर्वाचन कार्यालय जनकपुर पुगेका सुरजको गुनासो थियो ।

२० वर्षीय सुरज बिहानै खाना खाएर हतारहतार जिल्ला निर्वाचन कार्यालय पुगेका थिए । चाँडै पुग्दा काम पनि छिट्टै हुने अपेक्षा राखेका उनी लामो भिड देखेपछि निराश बने । ‘बिहानै आएको थिएँ, तर पनि लाममा पछाडि परें । अहिले पनि मेरो काम भएको छैन,’ उनले दुखेसो पोखे ।

त्यसै लाइनमा जनकपुरधाम उपमहानगरपालिकाका १८ वर्षीय मनिषकुमार दास पनि थिए । उनी बिहान खाना नै नखाई निर्वाचन कार्यालय पुगेका थिए । तर लामो प्रतीक्षाले उनलाई भोकभोकै बनायो । ‘भोक लागेको छ, तर कतिबेला पालो आउँछ थाहा छैन । काम सुस्त गतिमा भइरहेको छ,’ उनले भने ।

फुलगामाकी रेनु देवी मुखिया पनि बिहान ११ बजेदेखि नै लाइनमा थिइन् । लामो प्रतीक्षाले थकित बनेकी उनी अन्ततः भुइँमै बसेर पालो कुर्दै थिइन् ।

‘बिहानैदेखि लाइनमा छु, अहिले पनि मेरो पालो आएको छैन, थाकेर भुइँमै बसिरहेकी छु,’ उनले भनिन् ।

त्यही भिडमा जनकपुरधाम उपमहानगरपालिका-८ बलवा टोलका ६४ वर्षीय योगेन्द्र राय कुर्मी पनि लाममा उभिएका थिए । बिहान १० बजेदेखि लाइनमा उभिएका उनी थकाइले लखतरान बनेका थिए ।

‘म वृद्ध मान्छे, बिहानदेखि लाइनमै छु । हामीजस्ता जेष्ठ नागरिकका लागि छुट्टै व्यवस्था गर्नुपर्थ्यो, तर त्यो गरिएको छैन,’ उनले आक्रोश पोखे ।

मधेशका अधिकांश निर्वाचन कार्यालयहरूमा सुरज, मनिष, रेनु र योगेन्द्र जस्तै सेवाग्राहीको पीडा उस्तै छ । काँखमा बच्चा बोकेका महिला, वृद्धवृद्धा सबै घाममा उभिएर पालो पर्खिरहेका देखिन्छन् । मतदाता नामावली दर्ताको म्याद कात्तिक ३० गतेसम्म सीमित भएकाले भिड दिन प्रतिदिन बढ्दै गएको छ ।

जिल्ला निर्वाचन कार्यालय धनुषाका प्रमुख लुम्बनाथ पोखरेलका अनुसार असोज १० गतेदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु भएको हो ।

धनुषामा अहिले दैनिक एक हजारको संख्यामा सेवाग्राही अनलाइन फारम भरेर मतदाता नामावलीमा नाम गर्दा गराउने आउने गरेका छन् ।

निर्वाचन कार्यालयका प्रमुख लुम्बनाथ पोखरेलका अनुसार असोज १० गतेदेखि मतदाता नामावलीमा नाम दर्ता गराउने प्रक्रिया सुरु भएको थियो । ‘सुरुमा थोरै सेवाग्राही आउँथे । अहिले दिनहुँ एक हजारको हाराहारीमा सेवाग्राही आउने गरेका छन्,’ उनले भने ।

धनुषामा सेवाग्राहीले सास्ती पाउनुको कारण हो, चार वटा मात्र काउन्टर सञ्चालनमा ल्याउनु । जनशक्ति अभावको कारण मतदाता नामावलीमा नाम दर्ता गराउन समस्या भएको हो । त्यसमा पनि बेलाबेल सर्भर डाउन हुँदा काम प्रभावित हुने गरेको छ ।

‘जनशक्ति थोरै छ । त्यसमा पनि सर्भर डाउने भइरहन्छ,’ कार्यालय प्रमुख पोखरेलले भने, ‘टेक्निकल कुरा हो । मैले त त्यति बुझ्दिनँ । जनशक्ति थोरै छ । थप काउन्टर थप्नेबारे प्रमुख जिल्ला अधिकारीसँग छलफल भयो ।’

मतदाता नामावलीमा छुटेकाहरूको नाम दर्ता गराउन सहयोग गरिरहेका धनुषाको बटेश्वर गाउँपालिकाका स्थानीय गणेश साह जिल्लाको अन्य ठाउँमा पनि टोली परिचालन गरे भिडभाड कम हुने बताउँछन् ।

‘एकै ठाउँमा धेरै भिडभाड बढेको छ । कात्तिक ३० गते नजिक छ । जिल्लाको ३/४ ठाउँमा टोली पठाएर मतदाता नामावलीमा नाम दर्ता गरेको भए सहज हुन्थ्यो । यसरी सास्ती भोग्नु पर्दैनथ्यो,’ उनको सुझाव छ ।

कात्तिक ३० गतेसम्म मात्र समय राखे धेरै नागरिक मतदाता नामावलीमा दर्ता हुन छुट्ने उनको अनुमान छ । कार्यालय प्रमुख पोखरेलले जेष्ठ नागरिक, बच्चासहित आएका र अशक्त नागरिकलाई सहज पार्ने गरेको दाबी गरे ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More