काठमाडौं, मंसिर १०
आगामी प्रतिनिधिसभा र राष्ट्रिय सभाको निर्वाचनलाई ध्यानमा राख्दै निर्वाचन आयोगले आफ्ना पूर्व पदाधिकारी र पूर्वसचिवहरूसँग परामर्श गरेको छ ।
आगामी निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयमुक्त ढंगले सम्पन्न गर्न विगतका अनुभव सिक्ने उद्देश्यले आयोगले आज आफ्नो कान्तिपथस्थित केन्द्रीय कार्यालयमा उनीहरुसँग परामर्श गरेको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको अध्यक्षतामा भएको बैठकमा आयोगका पूर्वसचिवहरु– सगुन शमशेर जबरा र डा जानकी तुलाधर, पूर्व प्रमुख निर्वाचन आयुक्तहरु– सूर्यप्रसाद श्रेष्ठ, निलकण्ठ उप्रेती, दोलखबहादुर गुरुङ, आयोगका पूर्वसचिवहरु– मधु रेग्मी, भरतमणि सुवेदी, सुश्री राजविराज लगायतको सहभागिता थियो । सो अवसरमा आयोगका सचिव महादेव पन्थले विगतका निर्वाचनमा देखिएका समस्या र चुनौतिको समाधानका लागि खेलेको भूमिकाको अनुभव आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । तोकिएकै समयमा निर्वाचन गराउनका लागि देशभरका निर्वाचन आयोगका कार्यालयमा रहेका सबै रिक्त पद पूरा भएको जानकारी दिँदै उनले सुरक्षा निकायको बैठक पनि निर्वाचनलाई केन्द्रमा राखेर भइरहेको बताए ।
“पूर्व पदाधिकारीको ज्ञान र अनुभव महत्वपूर्ण छ, अनुभवले निर्वाचन व्यवस्थापनमा सुधार र नवीन सोचलाई प्रेरित गर्छ ।आउँदो निर्वाचन संवैधानिक अभ्यासको आधारशिला होइन, संवैधानिक अभ्यास मात्रै हो । थपियो।
अहिलेसम्म आयोगमा कुल १२५ राजनीतिक दल दर्ता भएका छन्। केही दल दर्ताको प्रक्रियामा रहेको आयोगले जनाएको छ।
निर्वाचनका लागि अनुकूल वातावरण बनाउन आयोगले ध्यान दिनु पर्ने र निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि चाल्नुपर्ने कदम जस्ता विषयमा छलफलबाट महत्वपूर्ण सुझाव प्राप्त हुने पन्थले बताए ।

