― Advertisement ―

Cisco ले Webex प्रयोगकर्ताहरूलाई महत्त्वपूर्ण सुरक्षा त्रुटिहरू तुरुन्तै प्याच गर्न भन्छ, किनकि विशेषज्ञहरूले पत्ता लगाएका छन् कि यसको Wi-Fi बक्सहरूले तिनीहरूको डिस्कहरू प्रत्येक दिन...

Ciscoexspatical Services, चार criticals सहित Website पहिचान सेवा इन्जिन RCE बगहरूफिक्सहरू अघि कुनै शोषण रिपोर्ट गरिएको छैन; प्रयोगकर्ताहरूले कन्ट्रोल हबमा SAML प्रमाणपत्रहरू अद्यावधिक गर्नुपर्छछुट्टै...
HomeLatest newsविद्याको समर्थन लिएर मैदानमा उत्रँदै ईश्वर – KhabarHost

विद्याको समर्थन लिएर मैदानमा उत्रँदै ईश्वर – KhabarHost



२३ कात्तिक, काठमाडौ । मंसिर अन्तिम साता एघारौं महाधिवेशन गर्ने तयारीमा जुटेको नेकपा एमालेभित्र नेतृत्वको बहस पनि सघन बनेको छ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण र सार्वजनिक अभिव्यक्तिका कारणले पहिलेबाटै बहसमा रहेको एमाले नेतृत्वको एजेण्डा अहिले महाधिवेशनको मिति नजिकिएकाले थप बाक्लिएको हो ।

र त्यो बहसमा स्वयं अध्यक्ष केपी शर्मा ओली उत्रिएका छन् ।

गत शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत ओलीले आफूलाई नेतृत्वबाट हटाउन कोही आए ‘झप्पु खाने’ चेतावनी दिएका छन् । ‘बघिनी चुप लागेको छ भनेर उसको डमरू चलाउन थाल्यो भने बघिनीले यस्तो दिन्छ नि झप्पु,’ ओलीले भने, ‘म पनि चुपै लागेर बसेको हुन्छु, उदार हुन्छु, नरम हुन्छु । पार्टीतिर सिध्याउन खोज्यो, पार्टी निचोर्न खोज्यो भने झप्पु (हातले आक्रमणको इसारा गर्दै) । जति नरम भए पनि गर्नैपर्ने रहेछ ।’

एघारौं महाधिवेशनबाट पनि एमाले नेतृत्व नछोड्ने सन्देश दिन ओलीले १४ वर्षे जेलजीवनको इतिहास, ०७७ सालको नेकपा विघटन र १० बुँदे तर्फका नेताहरूलाई उद्धार गरेको समेत सम्झाए । ‘७७ सालमा मलाई पार्टीबाट निस्कासन गर्ने साथीहरू, निस्कासन नै गरेको हो नि त । ती साथीहरूलाई ल्याएर मैले उपाध्यक्ष राखेर पार्टी अगाडि बढाएको हो,’ उनले तर्क गरे, ‘उपाध्यक्ष बनाएपछि कराँते सिक्ने भनेको अन्त होइन मेरो टाउकोमा हानेर ।’

एमाले नेतृत्व पुनर्गठनको बहस चलाउने नेताहरूलाई ओलीले प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, नेपाली कम्युनिष्ट पार्टीका नेताहरू प्रचण्ड र माधव नेपालसँग तुलना गरेका छन् । ‘केपी ओली अध्यक्ष हुनु हुँदैन भनेर भीम रावलले भने, माधव नेपालले भने,’ ओलीको तर्क छ, ‘पुष्पकमल दाहालको माग त्यही हो, सुशीला कार्कीको माग त्यही हो, गृहमन्त्रीले अस्ति के बोलेको … ।’

आठौं महाधिवेशनमै आफू एमाले अध्यक्षको प्रतिस्पर्धामा उत्रेपनि बाकस साटेर हराइएको ओलीले बताए । तर अब एमाले कब्जा गर्न कसैलाई नदिने घोषणा पनि गरे । ‘अहिले माधव नेपालले प्रचण्डलाई बुझाए, त्यही हुन्थ्यो नेकपा एमाले । यिनीहरूले ध्वस्त पार्थे । त्यो पार्न नदिएर जोगाएर ल्याएको हो । फेरि पनि एमाले जोगाइन्छ, मैले भनेको छु,’ ओलीले भनेका थिए ।

अर्थात् ओली एमाले नेतृत्व नछोड्ने मनसायमा छन् । नेताहरूका अनुसार ओलीलाई तेस्रोपटक अध्यक्ष बनाउनेगरी उनको टिम परिचालित छन् । ‘यो बेला केपी ओलीलाई सिध्याउनु भनेको एमाले सिध्याउनु हो, पार्टीलाई उठाउनु पनि उहाँलाई थप बलियो बनाउनुपर्छ,’ उनी निकट एक नेता भन्छन्, ‘पुनर्गठनको माग जायज होइन, यो कुरा तलैसम्म लैजाने तयारीमा छौं ।’

ओली कमजोर हुँदा एमाले र देश कमजोर हुने तर्कलाई सैद्धान्तिकरण गर्ने प्रयास गर्दैछन्– महासचिव शंकर पोखरेल । उपाध्यक्ष गुरु बराल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमालहरू पनि त्यही गृहकार्यमा छन् । स्वयं ओलीले चाहिँ महेश बस्नेतको प्रशंसा गर्दै आएका छन् ।

बढ्दो ध्रुवीकरण

दोस्रो विधान महाधिवेशनबाट पार्टी विधान संशोधन गरेर आजीवन अध्यक्ष हुने बाटो खोलेका ओलीका निम्ति जेनजी आन्दोलन अघिसम्म बलियो चुनौती पनि देखिएको थिएन । तर अहिले पार्टीभित्रै नेतृत्व छोड्न दबाब छ ।

सचिवालय र केन्द्रीय कमिटी बैठकहरूमै ओलीलाई नेतृत्व मानेर जनताको बीचमा जान नसकिने तर्क नेताहरूले गरिरहेका छन् । यस्तो प्रश्नको बढी सामना ओलीले सचिवालय बैठकमै गर्नुपरेको छ ।

यसअघि ओलीलाई साथ दिँदै आएका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिवहरू रघुबीर महासेठ, छविलाल विश्वकर्मा र पद्या अर्यालहरूले जेनजी आन्दोलनपछि आफ्नो स्वर बदलेका छन् । सार्वजनिक अभिव्यक्ति नदिए पनि आन्तरिक बैठक र अन्तर्क्रियाहरूमा एमाले यथास्थितिमा बढ्न नसक्ने बताएका छन् ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डे, सचिवहरू गोकर्ण विष्ट र योगेश भट्टराईले सार्वजनिक रुपमै नेतृत्व पुनर्गठनको वकालत गरिरहेका छन् ।

नेतृत्व परिवर्तनको बलियो आवाज पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उठाएकी छन् । ओलीको विकल्पमा आफूले एमाले नेतृत्व गर्ने सार्वजनिक अभिव्यक्ति र तयारीकै कारण उनको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय भएको थियो ।

नेताहरूका अनुसार अहिले उनै विद्या भण्डारीकै नेतृत्वमा ओलीविरुद्ध महाधिवेशनमा भिड्ने टीम तयार हुँदैछ । ‘४५ वर्ष पहिले मदन भण्डारीको हातबाट लिएको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय सच्याउनुपर्छ भनेर यो बीचमा धेरै प्रयास गरियो,’ भण्डारी निकट एक नेता भन्छन्, ‘पदाधिकारीहरू, केन्द्रीय सदस्यहरू, पार्टीका तलका सदस्यहरू र समर्थकहरूले भन्नुभयो । तर सुनुवाइ भएन ।’

तर अब ओलीले सदस्यता नवीकरण नगर्ने निर्णय कहिले उल्ट्याउँछन् भन्ने आशामा भण्डारी नरहेको उनी बताउँछन् । ‘सदस्यता नवीकरण हुन्छ भनेर केपी ओलीले कहिले भन्छन् भन्ने आशामा अब उहाँ बस्नु हुन्न, एउटा तयारीसाथ अगाडि बढ्नुहुन्छ,’ उनी भन्छन् ।

एमालेका एक पदाधिकारीका अनुसार पूर्वराष्ट्रपति भण्डारीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अध्यक्षको उम्मेद्वारका रूपमा अगाडि बढाइसकेकी छन् । ‘उपयुक्त समय पारेर उहाँले (विद्या भण्डारी) सार्वजनिक घोषणा गर्नुहुन्छ, अनौपचारिक तयारी अगाडि बढिसकेको छ,’ उनी भन्छन् ।

पोखरेलले गत १ साउनमा बसेको सचिवालय बैठकबाटै ओलीलाई नेतृत्व छोड्न सुझाव दिएका थिए ।

तर त्यसबेला ओलीको विकल्पमा विद्या भण्डारीलाई अध्यक्ष बनाउने तयारी अन्तर्गत त्यस्तो सुझाव पोखरेलले दिएका थिए ।

भण्डारीलाई खुला राजनीतिमा स्वागत गर्ने र पार्टी विधान बमोजिम ओली नेतृत्वमा रहिरहन नमिल्ने सार्वजनिक तर्क पोखरेलले नै पहिलोपटक गरेका थिए ।

‘ईश्वर पोखरेल यो पार्टीको संस्थापक नेता हुनुहुन्छ, को–अर्डिनेसन केन्द्र कालदेखिको,’ अर्का पदाधिकारी भन्छन्, ‘उहाँको नेतृत्वमा एमाले पुनर्गठन गरेर जानेबारे तयारी भइरहेको छ ।’ विद्या भण्डारीको सदस्यता नवीकरण नभए आफू अध्यक्षको उम्मेदवार बन्ने जानकारी वरिष्ठ उपाध्यक्ष पोखरेलले पनि दिइसकेका छन् ।

‘हामी सार्वजनिक घोषणाको प्रतिक्षामा छौं । तयारी चलिरहेकै छ,’ पोखरेल निकट स्रोत भन्छ, ‘संभवत: आगामी सचिवालय बैठकले त्यो अवसर सिर्जना गर्छ ।’ स्रोतका अनुसार अब बस्ने सचिवालय बैठकमा ओलीकै सामुन्ने पोखरेलले अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्ने सम्भावना छ ।

तर यस्तो तयारीबारे ओली बेखबर हुने कुरै भएन । त्यसैले दोस्रो विकल्पको पनि तयारी भइरहेको स्रोत बताउँछ । ‘सचिवालय बैठकबाट औपचारिक जानकारी दिइनेछ भन्ने सूचनाका आधारमा केपी ओलीले बैठक नै अन्तिम समयमा बोलाउन सक्छन्,’ स्रोत भन्छ, ‘तर सचिवालय बैठक ढिलो हुने स्थिति आएमा छुट्टै कार्यक्रम मार्फत् उम्मेदवारी घोषणा गरिनेछ ।’

सकेसम्म सचिवालय बैठककै प्रतिक्षा गर्ने विकल्पमा भण्डारी सहितका नेताहरू छन् । ‘ईश्वर पोखरेलको नेतृत्वमा सर्वसम्मत नेतृत्व निर्माणको प्रस्ताव लैजान्छौं । यदि त्यसमा सहमति नजुटे प्रतिनिधिहरूको विवेक बमोजिम नेतृत्व चयनको प्रक्रिया खुल्ने हो, तयारी हुने हो,’ भण्डारी निकट एक नेता भन्छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More