कतिपय कुरामा मनोबलको एकदमै ठूलो भूमिका हुन्छ। मनोबलले यो अर्थतन्त्र अब राम्रो हुन्छ भन्ने विश्वास दिलाउँछ। हामीसँग पैसा पनि छ, सुशासन (गभर्नेन्स) पनि छ, अब फेरि निर्वाचित सरकार आउँछ, फेरि यो सबै हुन्छ, भारत विकास गरिरहेको छ, चीन विकास गरिरहेको छ। हामी किन दुःखी हुनुपर्यो? हाम्रा नेपालीहरू यत्रो सारा संसारभरि, यत्रो दक्ष जनशक्तिहरू छन् भनेर, त्यो सकारात्मक भावना लिएर काम गर्नुभयो भने अर्थतन्त्र माथि जान्छ।
यो सबै हामीमै निर्भर गर्छ, त्यो ‘सेल्फ-फुलफिलिङ प्रोफेसी’ (आफैं पूरा हुने भविष्यवाणी) भनेको जस्तै गरेर। मलाई थाहा छ, तपाईंहरूसँग धेरै समस्या छन् । हाम्रो नियामक निकाय (रेगुलेटरी) मा धेरै समस्या छन्, तर हामी सञ्चारमा बसौँ।
तर सम्झनुहोस् कि सम्पूर्ण अर्थतन्त्र ‘सेल्फ-फुलफिलिङ प्रोफेसी’ द्वारा सञ्चालित हुन्छ। त्यही भएर तपाईंहरूको मनोबल उच्च राख्नुहोस् । मलाई लाग्छ, सरकारको सन्देश पनि त्यही हो। केन्द्रीय बैंकबाट त म यो कुरा तपाईंहरूलाई सधैँ भन्छु।
कहिलेकाहीँ हामीसँग पैसा पनि हुन्छ, तर मनोबल एकदमै कम हुन्छ। संसारमा भइराखेको हुन्छ, अरू सबै देशहरूमा पनि यस्तो बेलामा यस्तै भएको हुन्छ। त्यो बेलामा हामीले सार्वजनिक क्षेत्रबाट पनि वृद्धिका संवाहक (ड्राइभरहरू) खोज्छौँ। पैसा छ, ब्याजदर त अहिले हामीले बाहिर गएर माग्न पनि पर्दैन। यदि सरकारले साँच्चै खोज्न जाने हो भने २.७५ प्रतिशत ब्याजदरमा पनि पाइन्छ। कतिपय बन्ड (ऋणपत्र) जारी गर्ने तयारीमा पनि छौँ, उद्योग क्षेत्रहरूबाट।
यस्तो बेलामा सार्वजनिक क्षेत्रले पनि एकदमै खर्च गर्नुपर्छ। तपाईंलाई थाहा छ, पहिले सन् १९२९ मा एउटा ठूलो सङ्कट (क्राइसिस) भएको थियो अमेरिकामा। सबै मान्छे निराश (डिप्रेस्ड) भएका थिए। अमेरिकनहरूले के गरे? टेनेसी भ्याली अथोरिटी भनेर व्यापक रोडहरू बनाए, व्यापक जलविद्युत् आयोजनाहरू बनाए।
त्यो एटलान्टा, जर्जिया सबै ठाउँमा वृद्धि भयो। लगभग त्यही चिजको नक्कल हामीले चितवनको दुन भ्याली प्रोजेक्टमा पनि गर्यौं, सन् १९५०/६० मा आएर।
अहिले हामीलाई बाटोहरू बनाउन पनि जरुरी छ, बनाइ पनि राखेको छ। सरकारको पनि यतिखेर खर्च (एक्सपेन्डिचर) बढिदियो भने त्यसले नै कहिलेकाहीँ माग (डिमाण्ड) सिर्जना गरिदिन्छ। तपाईंहरू अगाडि बढ्नुभयो भने, पैसा छ, सरकारको खर्च बढाइदिनुपर्ने भनेको छ। र यसमा मलाई लाग्छ, मन्त्रीज्यूहरू, हामी पनि छलफल गरिरहेका छौँ यसमा।
हामीलाई आवश्यकता कति छ कति। हामीले एक्सप्रेस वेहरू काठमाडौँ-पोखरा बनाउनुपर्ने छ, अरू छन्, प्रमुख सहरहरू जोड्नुपर्ने छ। र हामीसँग अहिले आर्थिक स्रोत पनि छ त्यसको लागि। कुराहरू पनि भइरहेको छ, तर वृद्धिको संवाहक के हो भनेर हामीले हेर्नुपर्ने भएको छ।
मलाई लाग्छ, सुरुमा यदि तपाईंहरू (निजी क्षेत्र) ले आफ्नो तर्फबाट दौडिनुभयो, सरकारले आफ्नो तर्फबाट दौडिन्छ। तर हामीले पैसा खर्च गर्नुपर्छ । मलाई त यो वर्ष मात्रै हामीले ब्याजदरको तल्लो करिडोर मात्र कायम राख्न २०-२५ अर्ब जति खर्च गर्नुपर्ने स्थिति छ।
तपाईंहरूले खर्च गरिदिनुभयो भने, तपाईंहरूले विकास गरिदिनुभयो भने, मलाई लाग्छ, अर्थमन्त्रीले अस्ति अलि अगाडि एउटा यस्तो राम्रो कुरा भन्नुभएको थियो कि निजी क्षेत्रको सम्पत्ति भनेको नै राष्ट्रिय सम्पत्ति हो।तपाईंहरूले बनाएको डिपार्टमेन्टल स्टोरहरू, पूर्वाधारहरू (इन्फ्रास्ट्रक्चरहरू), जलविद्युत्हरू, स्कुलहरू, अस्पतालहरू लगायत सबै हाम्रो साझा सम्पत्ति (कमन प्रोपर्टी) हो। त्यसमा तपाईंहरूले खर्च गर्न कस्सिनुभयो भने देशको विकास त्यहीँबाट भइहाल्छ।
कतिपय कुराहरूमा तपाईंहरू अलिकति पछाडि परिराख्नुभयो भने, गतिविधि कम भयो भने, जस्तो अहिले हाम्रो बैंकहरूमा कतिपय समस्या (इस्यु) एभरग्रिनिङको भइराखेको छ। एभरग्रिनिङको समस्या के हुन्छ भने, पुरानो व्यवसायिक घरानाहरूले एभरग्रिनिङमा भर पर्ने बेलामा (पुरानो) ऋण भुक्तानी नगर्ने, ऋण तिर्नलाई अर्को ऋण लिने गर्यो भने, त्यसले तपाईंको स्टार्टअपहरूलाई घाटा गर्छ। किनभने सबै स्रोतहरू त पुरानो कम्पनीहरूमा गएर बस्दिन्छ।
यदि कुनै उद्योग, कुनै फर्महरू काम गरिरहेको छैन भने, तपाईंहरूले ‘यसलाई जान दिऊँ’ (लेट इट गो) भनेरै भन्नुपर्छ। कुनै अक्षमता (इनफिसिएन्सी) छ भने त्यो जान्छ भनेर त्यो स्वीकार पनि गर्नुपर्छ । तपाईंहरू हरेक कुरामा हामीले पुनर्संरचना (रिस्ट्रक्चरिङ), पुनर्वित्त (रिफाइनान्सिङ) मात्रै भनिराख्नु हुँदैन। अनुकूलन (अडाप्ट) गर्न एकदम जरुरी हुन्छ।
निजी क्षेत्रबाट धेरै मागहरू नियमित रूपमा आएको छ। राष्ट्र बैंकबाट हामीले सकेसम्म सबैलाई सम्बोधन गर्न प्रयास पनि गरेका छौँ, तपाईंले नोट पनि गर्नुभएको छ। एउटा मात्र मलाई चिन्ता (कन्सर्न) यो एकदम ठूलो सङ्ख्यामा कालोसूचीमा (ब्ल्याक लिस्टमा) परेको विषयलाई एकदमै चिन्ताको रूपमा मैले लिएको छु।
हाम्रो कुल ऋणी (बोरोअर) हरूको सङ्ख्या १८ लाख जति छ। डेढ लाख जति कालोसूचीमा परेको हुनाले, यसलाई कसरी सम्बोधन गर्ने भन्नेमा हामी एकदमै गम्भीर छौँ ।
नेपालमा सक्रिय ऋणीहरू नै धेरै छैनन्। डेढ लाख कालोसूचीमा परेपछि कसले ऋण लिन्छ?
भनेको केही यस्ता कुराहरूमा हामीले छलफल पनि गर्नुपर्ने भएको छ। कालोसूचीको सङ्ख्या फेरि एकदमै बढी रहेको छ, ८० प्रतिशत त चेक बाउन्सको छ। तर पनि, यो ठूलो सङ्ख्या हो। त्यसैले कर्जा वृद्धि (क्रेडिट ग्रोथ) हुन नसकेको हो कि भन्ने जस्तो हाम्रो अनुभव छ। त्यो हुँदाहुँदै पनि कर्जा वृद्धि फेरि ७ प्रतिशतको हाराहारीमा छ अहिले।
भदौ २३ र २४ गते भएको घटनाहरूको व्याख्या (इन्टरप्रिटेसन) धेरै तरिकाले भएको छ। हाम्रो आर्थिक तरिका मैले आफूले हेर्दाखेरि के हो भने, एउटा सही दृष्टिकोण (राइट अप्रोच)मा तपाईंहरूले सोच्नुपर्ने छ।
पहिला-पहिला २० हजार जना प्रदर्शनकारी काठमाडौँ ल्याउनुपर्यो भने के गर्नुपर्थ्यो? तपाईं दल खोल्नुहुन्थ्यो, गाउँ-गाउँमा सङ्गठन गर्नुहुन्थ्यो, बस व्यवस्थापन गर्नुहुन्थ्यो, लिएर आउनुहुन्थ्यो। २०-२५ हजार मान्छे जम्मा गर्न धेरै मेहनत गर्नुपर्थ्यो नि!
अहिले डिस्कर्डमा एक लाख मान्छेहरू बसेर, ‘ल, हामीलाई यो कुरा मन परेन, प्रदर्शन गर्न जाऔँ’ भन्यो भने मान्छे आइपुग्छ।
अहिले हेर्दै जानुभयो भने संसारमा डिजिटल प्रविधिले (टेक्नोलोजीले) यति धेरै परिवर्तन गरेको छ। राजनीति पनि परिवर्तन भएको छ, तर व्यापार (बिजनेस) पनि परिवर्तन भएको छ। केही समय अगाडि अर्थमन्त्री र म अमेरिकामा थियौँ।
म त्यहीँ कलेज पढ्दाको यसो सम्झें, ‘ब्लकबस्टर’ हरेक गाउँमा थियो। त्यो ब्लकबस्टर अहिले सबै सकिएछ। त्यो नेटफ्लिक्स भन्ने एउटा ट्रिलियन डलर कम्पनी भएको छ, त्यसले सबै डिजिटल रूपमा चलचित्रहरू पठाइन्छ। ब्लकबस्टरको एउटा मात्रै शाखा बाँकी भएको छ। ब्लकबस्टर सकियो।
टेस्ला भन्नेले अमेरिकाको एकदम ठूलो-ठूलो मोटर कम्पनीहरू थियो (जनरल मोटर्स, फोर्ड, क्राइसलर), सबैलाई सिध्याइदिएको छ। त्यो टेस्ला भन्ने पनि वास्तवमा त्यो कारै होइन, त्यो त कम्प्युटर हो, त्यसले सबैलाई सिध्याइदियो।
अमेजनको कुनै स्टोर छैन। पहिला सिकागो जाँदा मैले सियर्स स्टोर भनेर एकदम अग्लो बिल्डिङको माथि गएको थिएँ, नाम पनि फेरेर विलिस स्टोर राखिसकेको छ। त्यो सियर्स भनेको त्यो डिपार्टमेन्ट स्टोर टाट पल्ट्यो, सकियो। अमेजन कति ट्रिलियनको कम्पनी बनाएको छ।
त्यहाँ छलफल छ कि तपाईं बैंकहरू पनि अब सकिन्छ कि भन्ने हिसाबले । रेमिट्यान्स कम्पनीहरूको भविष्य छैन भनेको छ। तपाईंको ट्रान्जिस्टर कम्पनीहरू सकिएको छ।
हाम्रो यहाँनिर जस्तै पुरानो मुभी हलहरू सकियो। म टाँडीमा जन्मिएको हुँ । त्यहाँका फोटो स्टुडियोहरू सकियो। अब बिस्तारै-बिस्तारै वर्कशपहरू सकिन्छ। हामी एकदमै ठूलो डिजिटल क्रान्तिको बीचमा छौँ । यसले के-केलाई सिध्याउँछ, थाहा छैन।
यसले बैंकलाई चुनौती दिएको छ, यसले सुशासनलाई चुनौती दिएको छ, यसले सबैलाई चुनौती दिएको छ, तपाईंहरूको परम्परागत व्यवसायलाई चुनौती दिएको छ।
युवा मान्छेहरूले सयौँ हजारौँको सङ्ख्यामा नयाँ विचारहरू लिएर आएको छ। र यो चुनौती तपाईं-हामी सबैले सामना गरिराखेका छौँ। र यसलाई हामीले स्वीकार्ने र यसलाई बुझ्ने हो। हामी सबैले यसैमा हाम्रो व्यवसायलाई अनुकूलन (अडाप्ट) पनि गर्ने हो।
विभिन्न चुनौतीहरू आउँदै जान्छ। यहाँ मात्र होइन, संसारभरि नै मलाई लाग्छ, हरेक देशमा यही छलफल भइरहेको छ कि ‘के भइराखेको छ अहिले’ भनेर। हामीले बुझ्यौँ र स्वीकार गर्यौं भने, मलाई लाग्छ, हामी अगाडि बढ्न सक्छौँ।
(गभर्नर पौडेलले राष्ट्रिय आर्थिक बहस २.० मा गर्नुभएको सम्बोधन)
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

