― Advertisement ―

हामी आधिकारिक रूपमा अप्रिल 16 मा DJI Pocket 4 प्राप्त गर्दैछौं, तर यहाँ कसरी Insta360 ले यसलाई हराउन सक्छ।

O4 अप्रिल DJmockI मा अपेक्षा गर्नुहोस् 16भ्लगिङ क्यामेरा लामो समयदेखि चर्चामा छInsta360 ले Luna पनि चाँडै लन्च गर्दैछ DJI Osmo Pocket 4 अहिले लामो...
HomeLatest newsरहरको पदयात्रा, कहरको मृत्यु – KhabarHost

रहरको पदयात्रा, कहरको मृत्यु – KhabarHost



२१ कात्तिक, कास्की । गत ११ कात्तिक राति अन्नपूर्ण पदमार्गको माछापुच्छ्रे आधार शिविरमा एकजना नेपाली महिला पदयात्रीलाई लेक लाग्यो ।

सास फेर्न गाह्रो भएपछि ती पदयात्रीलाई होटल सञ्चालकहरूले उद्धार गरी माछापुच्छ्रे आधार शिविर (३७०० मि)बाट बोकेर तल झारे । राति साढे १२ बजे पदमार्गको दोभान भन्ने ठाउँमा ल्याइपुर्‍याउँदा पनि ती युवती अर्धचेत अवस्थामै थिइन् ।

‘लेक लागेर गाह्रो भएको हो । राति नै तल झारेका हौँ,’ दोभानका होटल व्यवसायी छुतमान गुरुङले भने । होटल प्राङ्णमा केहीबेर राखेर आराम गराइयो, तर पनि उनको बोली आएन । ‘यहाँ राखेर हुँदैन । अझ तल झरौं,’ गुरुङले भने ।

त्यसपछि होटल व्यवसायीको सहयोगमा ती महिलालाई रातभर बोकेर सिनुवा भन्ने ठाउँमा पुर्‍याइयो । ‘सिनुवामा पुगेपछि बहिनी बोल्यो नि,’ उद्धारमा खटिएका उत्तम श्रेष्ठले भने ।

ती पदयात्रीलाई ३७०० मिटरको उचाइमा लेक लागेको हो । ‘हाई लागेर ढलेको हो । राति नै तल झारेकाले केही भएन । आराम नगरी एकैपटक माथि पुग्दा हाई लाग्छ क्या,’ श्रेष्ठले भने ।

७ कात्तिकको घटना हो । अन्नपूर्ण पदमार्गको देउरालीमा बास बसेका ३५ वर्षका सुरजमान श्रेष्ठको लेक लागेर मृत्यु भयो । काठमाडौंबाट एक्लै ट्रेकिङ गएका श्रेष्ठलाई मृत अवस्थामा प्रहरीले उद्धार गरेको थियो ।

‘घाममा सुतेको बेलमा घटना भएको रहेछ । बेलामै उद्धार भएको भाइ बाँच्थ्यो होला,’ सुरजमानकी दिदी श्रुती श्रेष्ठले भनिन्,’ घरको खम्बा नै ढल्यो ।

१० कात्तिकमा अन्नपूर्ण आधार शिविर जाने क्रममा एक युवती हिँड्न सकिनन् । एकैदिन १०-१२ घण्टा हिँडेका कारण उनी थाकेर सास फेर्न नसक्ने भएकी थिइन् । उनको शरीर लल्याकलुलुक भएको थियो । साथीहरूले बोकेर उनलाई देउरालीसम्म पुर्‍याए ।

त्यसपछि उनलाई त्यही छोडेर साथीहरू आधार शिविरतर्फ लागे । ‘पहिलो दिन धेरै हिँडेर हो । १०-१२ घण्टा हिँडेका थियौं,’ उनीसँगै रहेका एक साथीले भने ।

एउटा साथीलाई छोडेर गएको केहीबेरपछि अर्की साथी पनि हिँड्न नसक्ने अवस्थामा पुगिन् । उनलाई पनि त्यतै बास बस्ने ठाउँमा छोडेर त्यो टोली बेसक्याम्पतर्फ लाग्यो । यो टोली दोस्रो दिनमै अन्नपूर्ण आधार शिविर पुगेर फर्कियो ।

तर, सँगै गएका दुईजना साथी भने हिँड्न नसकेर बाटोमै थलिए । ‘यसरी नेपाली पर्यटक एकैपटक दुई/तीन हजार मिटर माथि जाँदा लेक लागेर ढल्ने गरेका छन्,’ स्थानीय सुमन गुरुङले भने ।

१८ कात्तिक मंगलबार अन्नपूर्ण पदयात्रामा गएका भारतीय नागरिक पिन्टु मुखर्जीको पनि लेक लागेर मृत्यु भयो । मनाङको लेदर पुगेपछि मुखर्जीलाई लेक लाग्यो । मनाङ प्रहरीका अनुसार लेदरबाट स्वास्थ्य संस्था पुर्‍याउँदा उनको मृत्यु भइसकेको थियो ।

विदेशी पर्यटकको भारी बोकेर गएका ‘पोर्टर’लाई समेत लेक लागेर मृत्यु भयो । मनाङको याकखर्कमा पर्यटकको भारी बोकेर फर्कने क्रममा नुवाकोटका ४९ वर्षीय साम्बा घलेको लेक लागेर मृत्यु भयो ।

लेक लागेर मृत्यु हुनेमा नेपाली मात्र होइन विदेशी नागरिकसमेत छन् । १२ कात्तिकमा नार्पाभूमि गाउँपालिका-५ स्थिति हिमलुङ हिमाल आरोहणका लागि गएका ४९ वर्षीय अष्ट्रेलियन नागरिक चान चीन टार्कको लेक लागेर मृत्यु भएको थियो ।

लेक लाग्दा पदयात्रीको मस्तिष्क, फोक्सो र मुटुमा गम्भीर असर पर्ने र ज्यानै जाने चिकित्सिकहरू बताउँछन् । माउन्टेन अल्टिच्युडमा गएपछि अक्सिजनको मात्रा कम हुन्छ । लेक लाग्छ, जसलाई ‘अल्टिच्युड सिकनेस’ भनिन्छ ।

लेक लागेरै १८ कात्तिकसम्म मनाङ र कास्कीमा गरी ६ जनाको ज्यान गयो । मनाङ प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक हरि पौडेलका अनुसार पदयात्राका क्रममा मनाङमा मात्र लेक लागेर ५ जनाको मृत्यु भएको छ । १ जनाको भने कास्कीमा भएको हो ।

पौडेलका अनुसार लेक लागेर मृत्यु हुनेमा आन्तरिक पर्यटकको संख्या धेरै छन् । हेलचेक्र्याइँ र असावधानीका कारण आन्तरिक पर्यटकको ज्यान जाने गरेको पदमार्ग क्षेत्रका होटल व्यवसायीहरू बताउँछन् ।

‘अल्टिच्युड सामान्य होइन । धेरै हिँडेर लेक लागेर आन्तरिक पर्यटकले ज्यान गुमाइरहेका छन् । ट्रेकिङ जानेहरू गम्भीर हुनुपर्छ,’ होटल व्यवसायी आकाश गुरुङले भने, ‘म त हिँडिहाल्छु नि भनेर हिँड्नु भएन । ब्यालेन्स गरेर हिँड्नुपर्छ ।’

६ वर्षमा ७२ जनाको मृत्यु

लेक लागेर मृत्यु हुनेको संख्या वर्षेनि बढिरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ६ वर्षमा २५७ वटा लेक लागेका घटना भएका छन् । जसमा ७२ जनाको मृत्यु भएको छ भने २१० जना बिरामी भएका छन् ।

प्राधिकरणका अनुसार चालु अर्थिक वर्ष २०८२/०८३ को ६ महिनाको अवधिमा मात्र लेक लागेर १९ जनाको मृत्यु भएको छ । २०८२ वैशाखदेखि असोज २१ सम्म ६१ वटा लेक लागेका घटना भए । जसमा १९ जनाको मृत्यु भएको छ भने ४५ जना बिरामी भएका छन् ।

आर्थिक वर्ष २०८१ मा ११३ वटा लेक लागेका घटना भए । जसमा २५ जनाको मृत्यु हुँदा ९५ जना बिरामी भए । आर्थिक वर्ष २०८० मा ६० जनालाई लेक लाग्यो । जसमा १५ जनाको मृत्यु भयो भने ४९ जना बिरामी भए ।

आर्थिक वर्ष २०७९ मा १६ वटा लेक लागेको घटना हुँदा ९ जनाको मृत्यु र ११ जना बिरामी भए । आर्थिक वर्ष २०७८ मा ६ वटा लेक लागेका घटना भए जसमा ३ जनाको मृत्यु भयो भने ९ जना बिरामी भए । आर्थिक वर्ष २०७७ मा १ वटा घटना भयो भने १ जनाको मृत्यु भयो ।

लेक लागेर मृत्यु हुने अधिकांश पदयात्री हुन् । ‘स्थानीयलाई लेक लाग्दैन । त्यहाँको हावापानीमा स्थानीय अभ्यस्त हुन्छन् । ट्रेकिङ जानेहरूलाई लेक लाग्ने गरेको छ,’ प्राधिकरणकी प्रवक्ता शान्ति महतले भनिन्, ‘गर्मी ठाउँको मान्छे एकैपटक माथि हिमाली क्षेत्रमा पुग्दा लेक लाग्छ । हिमालको हावापानीमा घुलमिल नभई जाँदा लेक लागेर ढल्ने जोखिम धेरै हुन्छ ।’

लेक लागेर मृत्यु हुनेमा नेपाली धेरै

लेक लागेर कति नेपालीको र कति विदेशीको मृत्यु भयो, यकिन तथ्यांक छैन । तर अधिकारीहरू धेरैजसो मृत्यु हुनेमा नेपाली पर्यटक रहेको दाबी गर्छन् । पदयात्रा क्षेत्रका होटल व्यवसायी र ट्रेकिङ गाइडहरू आन्तरिक पर्यटक नबुझी यात्रामा जाने गरेकाले दुर्घटना हुने गरेको बताउँछन् ।

‘नेपालीलाई बढी लेक लाग्छ । आन्तरिक पर्यटकसँग पदयात्राको संस्कार छैन । प्रकृति मन पराउँछन् तर कसरी हिँड्नुपर्छ भन्ने संस्कार छैन,’ ट्रेकिङ गाइड कृष्ण राईले भने, ‘दिनमा ५-६ घण्टा हिँड्नुपर्नेमा १०-१२ घण्टा हिँड्छन् ।’

पदयात्रामा जति विस्तारै हिँड्यो त्यति सुरक्षित हुने हो तर एकैपटक म त सकिहाल्छु नि भनेर हिँड्दा नेपाली पर्यटकले ज्यान गुमाइरहेको उनको तर्क छ । ‘जति विस्तारै हिँड्यो त्यो नै पदयात्राको मेडिसिन हो,’ राईले भने ।

हिमाली वातवरणमा घुलमिल हुँदै यात्रा गर्नुपर्नेमा एकैपटक धेरै हिँड्नु डरलाग्दो भएको उनको बुझाइ छ । ‘प्रकृतिलाई जित्न सकिँदैन । कसैले खेलवाड गर्नुहुँदैन । प्रशस्त आरम गरेर हिँड्नुपर्छ । वातवरणमा घुलमिल हुनुपर्छ । एक्लोमाटाइजेसन गर्नुपर्छ,’ उनले भने ।

लेक लाग्दा मस्तिष्क, फोक्सो र मुटुमा असर

लेक लाग्दा पदयात्रीको मस्तिष्क, फोक्सो र मुटुमा गम्भीर असर पर्ने र ज्यानै जाने चिकित्सिकहरू बताउँछन् । माउन्टेन अल्टिच्युडमा गएपछि अक्सिजनको मात्रा कम हुन्छ । लेक लाग्छ, जसलाई ‘अल्टिच्युड सिकनेस’ भनिन्छ ।

अक्सिजन स्याचुरेसन कम हुनु भनेको लेक लाग्नु हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्तासमेत रहेका डा. प्रकाश बुढाथोकीका अनुसार २ हजार ५०० मिटर माथि पुग्दा लेक लाग्ने जोखिम धेरै हुन्छ ।

‘तीव्र रूपमा हिँड्यो भने लेक लाग्छ । अक्सिजनको कमी हुन्छ । जसका कारण मस्तिष्क, फोक्सो र मुटुमा असर पर्छ,’ डा. बुढाथोकीले भने, ‘लेक लाग्दा टाउको दुख्ने, रिंगटा लाग्ने, निद्रा लाग्ने, वाकवाकी लाग्ने, पखला लाग्ने र हिँड्दा ब्यालेन्स नमिल्ने लक्षण देखिन्छ ।’

डा. बुढाथोकीका अनुसार समयमा लेक लागेको लक्षण पहिचान गर्न नसक्दा मृत्यु हुने जोखिम उच्च हुन्छ । ‘पहाड र हिमालमा बस्नेलाई लेक लाग्दैन । बानी परेको हुन्छ । तराईमा बसेको मान्छे माथि पुग्यो भने लेक लाग्छ,’ उनले भने, ‘पैदल यात्रामा जाँदा एक्लै जानु हुँदैन । समूहमा जानुपर्छ ।’

ट्रेकिङको समयमा धूमपान र मध्यपानले मृत्युको जोखिम बढाउने गरेको पाइएको छ । ‘धूमपान र मध्यपानले जोखिम निम्तिन्छ, जसले मानिसलाई मृत्युको नजिक पुर्‍याउँछ,’ डा. बुढाथोकीले भने ।

हाइपोथर्मियाको जोखिम

हिमाली क्षेत्रमा जाँदा हाइपोथर्मियाको जोखिम पनि उच्च हुने चिकित्सकहरू बताउँछन् । शरीरको तापक्रम ३५ डिग्रीभन्दा तल झर्‍यो भने हाइपोथर्मियाको लक्षण देखिन थाल्छ । डा. बुढाथोकीका अनुसार शरीरको तापक्रम २६ डिग्रीमा आयो भने बेहोस हुने हुन्छ । र, २५ डिग्रीमा आइपुग्यो भने ज्यान नै जान्छ ।

हाइपोथर्मीयाबाट जोगिन शरीरलाई न्यानो राख्नुपर्ने हुन्छ । ‘शरीरलाई न्यानो राख्नुपर्छ । दुई/तीन लेयरको लुगा लगाउनुपर्छ । आगो ताप्नुपर्छ तर भेन्टिलेटर हुनुपर्छ,’ डा. बुढाथोकीले भने, ‘तातो र झोलिलो खानेकुरा खानुपर्छ । चिया र कफी भने नपिएको राम्रो हो । हाइपोथर्मियाबाट जोगिन विस्तारै शरीरको तापक्रम बढाउनुपर्छ ।’

ट्रेकिङमा दैनिक कति हिँड्ने ?

ट्रेकिङ जानुअघि चिकित्सकको सल्लाह लिएर मात्र जानुपर्ने हो । स्वास्थ्य अवस्था कमजोर भएमा ट्रेकिङ जान हुँदैन । ‘स्वास्थ्य परीक्षण गरेर चिकित्सकको सल्लाह लिएर पदयात्रामा जानुपर्छ,’ डा. बुढाथोकीले भने ।

स्वास्थ्य परीक्षण गरेपछि ठिक भएमा कति उचाइमा जाने हो, त्यसको आधारमा हिँड्नुपर्ने हुन्छ । डा. बुढाथोकीका अनुसार ४ हजार मिटरमा जाने हो भने दिनमा ३०० मिटर चढ्नुपर्छ । ४ हजार मिटरमाथि जाने हो भने दिनमा १५० मिटर चढ्नुपर्छ । ‘लेक लागेको लक्षण देखिनासाथ त्यहीं रोकिनुपर्छ,’ उनले भने । आराम गर्दा पनि सहज नभएमा तल झर्नुपर्छ । छिटो-छिटो माथि जान्छु भन्दा जोखिम हुन्छ,’ उनले भने ।

पदयात्रामा गाइड लिएर गएमा दुर्घटना कम हुने विज्ञहरू बताउँछन् । तर नेपाली पर्यटक गाइड बिना ग्रुप बनाएर आफैं ट्रेकिङ जाने गरेका छन् ।

ट्रेकिङ जाँदा न्यानो कपडा महत्त्वपूर्ण हुन्छ तर त्यो पनि नलिइ जाने गरेको पाइएको छ । गाइड राईका अनुसार डाउन ज्याकेट, टोपी, पन्जा, थर्मस, सनग्लास, लौरो र सुक्खा खानेकुरा बोक्नु पर्ने हुन्छ ।

तत्काल स्वास्थ्यमा समस्या आएमा औषधि पनि प्रयोग गर्न सकिने डा। बुढाथोकी बताउँछन् । सिटामोल, जीवनजल, ब्यान्डेज, ह्यान्डिप्लास्ट, अल्टिच्युड सिकनेस ट्याबलेट, मलमजस्ता औषधि लैजान सकिन्छ ।

छैन मापदण्ड, हुँदैन अनुगमन

दैनिक कति हिँड्ने, कसरी हिँड्ने भन्ने मापदण्ड नेपाल सरकारले बनाएको छैन । अहिलेसम्म चलनचल्तीकै आधारमा पदयात्रा चलिरहेको छ । नेपाली पदयात्री सो नियममा नबसी आफूअनुकूल हिँड्ने गरेका छन् ।

विदेशी पर्यटक भने विदेशी संघसंस्थाले बनाएको मापदण्डको आधारमा पदयात्रामा हिँड्ने गरेका छन् । उचाइअनुसार दैनिक १५० मिटर र ३०० मिटर हिँड्ने मापदण्ड पनि नेपाल सरकारले बनाएको होइन ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले मापदण्ड बनाएको छ । धेरैजसोले यही मापदण्ड अपनाएका छन् ।

‘अमेरिकाको विषयविज्ञले बनाएको मापदण्ड हो । यसैलाई मान्दै आएका छौँ । तर यसलाई नेपाल सरकारले स्वीकृत भने गरेको छैन,’ उनले भने ।

विदेशी संघसंस्थाले बनाएको मापदण्डलाई नै नेपालका ट्राभल एजेन्सीले आधार मानिरहेका छन् । तर विदेशी पर्यटकले भने परमिट लिए पुग्छ ।

‘नेपालीको हकमा केही पनि मापदण्ड छैन । ग्रुप बनाएर जाने गरेका छन् । विदेशीले भने परमिट लिनुपर्ने हुन्छ,’ पर्यटन विभागका निर्देशक लिलाधर अवस्थीले भने ।

पदयात्राको रुटमा छिर्ने ठाउँमा इन्ट्री प्वाइन्ट हुन्छ । त्यहाँ इन्ट्री गरेपछि पदयात्री कहाँ पुग्यो, के गर्‍यो, कुनै अनुगमन र निगरानी हुँदैन । जसका कारण नेपाली पर्यटक स्वनियममा नबस्ने गरेको पाइएको छ ।

‘फिजिकल जाँच गरेर मात्र पदयात्रामा जानुपर्ने हो । तर सरकारी मापदण्ड अहिलेसम्म बनेको छैन । आन्तरिक पर्यटकको लागि मापदण्ड बनाउनुपर्ने भएको छ । पदमार्गको ठाउँठाउँमा प्वाइन्ट बनाउनुपर्छ,’ नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक मणिराज लामिछानेले भने ।

पदमार्ग क्षेत्रका स्थानीय सरकारले बढी सचेतनासम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्ने तर्क लामिछानेको छ । लेक लागेर मृत्यु हुनेको संख्या बढिरहेकाले अब मापदण्ड आवश्यक रहेको सरकारी अधिकारीहरू बताउँछन् ।

‘मापदण्ड अति आवश्यक भएको छ । सचेतना अपनाउनुपर्छ भनेर समन्वय गरिरहेका छौँ । ठाउँठाउँमा सूचना बोर्ड राख्नुपर्ने छ । पदयात्राको नियमन र निगरानी गर्नुपर्छ,’ निर्देशक लामिछानेले भने ।

पदयात्रामा नेपालीको मृत्यु भएपछि विदेशी पर्यटकसमेत असुरक्षित महसुस गर्ने र गलत सूचना प्रवाह हुने जोखिम बढेको बताउँछन् उनी । ‘आन्तरिक पर्यटकको नियमन नगर्ने हो भने विदेशी पर्यटक नआउने जोखिम हुन्छ । मृत्युका खबरले बाह्य पर्यटकमा नकारात्मक असर पर्छ । त्यसैले मापदण्ड बनाउनुपर्छ,’ उनले भने ।

नेपाली पर्यटकले यात्रा गर्न थालेको धेरै समय भएको छैन । सन् २०११ मा नेपाल सरकारले पर्यटन वर्ष मनायो । जसको नारा पहिले देश अनि विदेश भनेर मनाइयो । त्यसपछि नेपालीमा पनि घुम्ने बानीको विकास भयो । नेपाली घुम्न त थाले तर स्वनियमभन्दा बाहिर गएर पदयात्रा गर्दा ज्यान पनि गुमाइरहेका छन् ।

हिउँ पहिरोको जोखिम उस्तै

गत साता नै दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित येलुङ रि हिमाल (५६३० मि) आरोहणको लागि गएको टोली हिँउ पहिरोमा पर्‍यो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिउँ पहिरोमा परी ४ जना विदेशी नागरिक बेपत्ता भए । २ नेपाली र १ विदेशी गरी ३ जनाको ज्यान गयो । ५ जना नेपाली नागरिक घाइते भए ।

गत साता गोरखाको चुमनुब्री गाउँपालिका-१ स्थित पाङबारी हिमाल आरोहणमा गएका इटालीका ५१ वर्षीय फारोनातो स्तेफानो र २८ वर्षीय कापुतो अलेस्सान्द्रोको हिम पहिरोमा परेर मृत्यु भयो । हिउँ पहिरोमा परेर मृत्यु हुनेको संख्या पनि वर्षेनि बढिरहेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८१ मा हिउँ पहिरोका ६ वटा घटना भएका थिए, जसमा ३ जना बेपत्ता भए । त्यसैगरी आर्थिक वर्ष २०८० मा ७ वटा घटना भएकोमा १२ जनाको मृत्यु भयो । ५ जना घाइते भए ।

आर्थिक वर्ष २०७९ मा ५ वटा घटना भए, जसमा ३ जनाको मृत्यु हुँदा ३ जना बेपत्ता भए । र, ११ जना घाइते भए । आर्थिक वर्ष २०७८ मा ७ वटा घटना हुँदा ६ जनाको मृत्यु भयो । १२ जना घाइते भए ।

हिउँ पहिरो र लेक लागेर मृत्यु हुनेको संख्या बढिरहेकाले पदयात्रामा निस्कनुअघि मौसमसम्बन्धी पूर्वजानकारी लिन विज्ञहरूको सुझाव छ । मौसम बुझेर यात्रामा निस्कने हो भने दुर्घटना कम हुने विज्ञहरूको भनाइ छ ।

सबै तस्वीरहरू : दिनेश गौतम/अनलाइनखबर

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More