― Advertisement ―

मार्गोको गट मनी ट्रबल्स समीक्षा – एप्पल टिभीको नयाँ कमेडी श्रृंखला लत र आश्चर्यजनक रूपमा हार्दिक छ।

तपाईँ TechRadar किन भरोसा गर्न सक्नुहुन्छ हामीले समीक्षा गर्ने हरेक उत्पादन वा सेवाको परीक्षण गर्न घण्टौं बिताउँछौं, ताकि तपाईं सबै भन्दा राम्रो किन्दै हुनुहुन्छ भनी...
HomeLatest newsमधेशका उपभोक्ता समितिबाट एक तिहाइ ‘घुस’ – KhabarHost

मधेशका उपभोक्ता समितिबाट एक तिहाइ ‘घुस’ – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका आठ उपभोक्ता समितिमा विकास बजेटको एक तिहाइ हिस्सा घुसको रुपमा प्रवाह भएको पत्ता लगाएको छ।
  • प्रदेश सांसद सरोजकुमार सिंह विरुद्ध ३८ लाख रुपैयाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ र ७१ वटा उपभोक्ता समितिको अनुसन्धान भइरहेको छ।
  • अख्तियारले सांसद सिंह र उनका सचिव विनोदलाल कायस्थको खातामा १२ करोड रुपैयाँभन्दा बढी शंकास्पद रकम जम्मा भएको दाबी गरेको छ।

३१ असोज, काठमाडौं । मधेश प्रदेशका उपभोक्ता समितिमार्फत हुने विकास निर्माणको काममा एक तिहाइसम्म घुस लेनदेन हुने गरेको भेटिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठवटा उपभोक्ता समितिको हिसाबकिताब र कारोबारको परीक्षण गर्दा विकास बजेटको एक तिहाइ हिस्सा सोझै घुसको रुपमा प्रवाह हुने गरेको भेटिएको हो ।

उपभोक्ता समितिहरुसँग खुलमखुला घुस लिने मधेशको प्रदेशसभाका सांसद सरोजकुमार सिंह विरुद्ध ३८ लाख रुपैयाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सिंहको सहजीकरणमा गठन भएको र उनले नै बजेट मिलाइदिएको आठ वटा उपभोक्ता समितिबाट मात्रै त्यति घुस संकलन भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अरु ७१ वटा उपभोक्ता समितिका कामकारबाहीमाथि अनुसन्धान सुरु गरेको हो ।

अख्तियारले आरोपपत्रमा भनेको छ, ‘प्रतिवादीको बैंक खाताहरूमा उजुरीमा उल्लेख भएका बाहेक अन्य उपभोक्ता समितिहरूको खाताबाट समेत रकम जम्मा भएको देखिएको छ । त्यसतर्फ अनुसन्धान सुरु भएको छ ।’

३० प्रतिशत घुस सांसदलाई

मधेश प्रदेशको कञ्चनियमाई मन्दिर निर्माणका लागि उपभोक्ता समितिमा ६ लाख ५ हजार रुपैंया विनियोजन भएको थियो । भोलिपल्ट नै प्रदेश सांसद सरोजकुमार सिंहले १ लाख ५१ हजार र उनका स्वकीय सचिव विनोदलाल कायस्थले ४ लाख ५४ हजार आफ्नो नाममा निकालेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

‘त्यहाँका केही योजनाहरू हेर्दा एक तिहाई रकम घुस वापत योजना मिलाइदिने मान्छेलाई नै दिनुपर्ने बाध्यता देखियो,’ अख्तियार सम्बद्ध स्रोतले भन्यो, ‘त्यसमा प्राविधिक, भुक्तानी दिने कर्मचारी र अरूले लिने रकमको हिस्सा हेर्दा विकास बजेटमा ठूलो समस्या देखिन्छ ।’

मधेश प्रदेशका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री भइसकेका सिंह जोडिएको घुसकाण्डले उपभोक्ता समितिमार्फत् हुने घुसखोरी र अनियमिततालाई सतहमा ल्याएको भन्दै उनले अरू थप ७१ वटा फाइलको अध्ययनपछि थप विवरण थाहा हुने बताए ।

अधुरो कमलामाई मन्दिर निर्माणमा ९ लाख ३१ हजार रुपैयाँ विनियोजन भएकोमा २ करोड १४ लाख रुपैयाँ घुस बापत सांसद सिंहको खातामा जम्मा भएको छ । धर्मशाला निर्माणमा १४ लाख ५५ हजार छुट्याइएकोमा एक लाख ८५ हजार घुस छुट्याएको देखिन्छ ।

अख्तियारले सबै आठवटा योजनामा २८ दशमलब २५ प्रतिशत घुस छुट्याइएको र त्यो रकम सांसद सिंह, उनकी पत्नीको संयुक्त खाता र उनका पीए विनोद कायस्थको खातामा जम्मा भएको दाबी गरेको हो ।

महरा सिस्वा–४ मा अधुरो बर्थिङ सेन्टर निर्माण गर्दा उनीहरूले ४ लाख ५८ हजार रुपैयाँ कमिसन लिएको अख्तियारको दाबी छ । अर्को बर्थिङ सेन्टर निर्माणमा आउने २४ हजार रुपैयाँ कमिसन समेत उनीहरूले छाडेका छैनन् । मन्दिर निर्माण, सडक मर्मत र बर्थिङ सेन्टर(स्वास्थ्य चौकीको स्तरोन्नति) जस्ता सामाजिक तथा धार्मिक कामबाट समेत उनीहरूले आफ्नो खातामा कमिसन लिएको देखिन्छ ।

शंकास्पद १२ करोड

अख्तियारको दाबी अनुसार, २०७४ सालदेखि ८२ सालसम्म सरोजकुमार सिंहको खातामा करिब पाँच करोड रुपैयाँ जम्मा भएको छ भने उनले ७४ हजार बाँकी राखेर सबैजसो पैसा निकालेका छन् ।

उनकी पत्नी सरिता कुमारी महतोको खातामा २०७५ सालदेखि अहिलेसम्म २ करोड ३० लाख जम्मा भएको छ ।

दुवैको संयुक्त नाममा खोलिएको तेस्रो खातामा २०७९ सालदेखि तीन वर्षको अवधिमा मात्रै चार लाख ६० हजार बचत भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । यसमा उनका स्वकीय सचिव विनोद कायस्थको खातामा भएको रकमको हिसाब समावेश छैन ।

बजेट विनियोजन र उपभोक्ता समिति गठनमा व्यापक अनियमितता भएको भनी उजुरी परेपछि प्रारम्भिक रुपमा केही फाइल अध्ययन गर्दा अख्तियारले उनीहरूले ठूलो मात्रामा कमिसन बापत घुस लिने गरेको भेटेको हो । अख्तियारले शंकास्पद १२ करोड रुपैयाँको कारोबारको स्रोत नखुलेको भन्दै बाँकी ७१ वटा उपभोक्ता समितिको कारोबारमाथि अनुसन्धान अघि बढेको जनाएको छ ।

पीएको घरमा खातापाता

प्रदेश सांसद सरोजकुमार सिंहले विकास निर्माणका योजना मिलाउँदा घुस खाएको उजुरी परेपछि अख्तियारले उनका स्वकीय सचिव (पीए) विनोदकुमार लाल कायस्थको घरमा छापा मारेको थियो ।

उनको शरीर तथा घर खानतलासी गर्दा सांसद सिंहले कमिसन लिएको विवरण र बैंकमा डिपोजिट गरिएको भौचरहरू फेला परेको हो ।

नहर मर्मतदेखि ग्राभेल र धर्मशाला निर्माणमा समेत कमिसन लिएको भेटिएपछि अख्तियारले खातासम्बन्धी थप विवरण खोजेको थियो । त्यसक्रममा उपभोक्ता समितिका पदाधिकारीहरूले खोल्नुपर्ने बैंक खाता नै कायस्थले खोलिदिएको भेटिएको थियो ।

कतिपय कमिसन उनले आफैंले नगद लिएर बैंकमा डिपोजिट गरेको भेटिएको छ । बैंक खातामा आएको रकम सांसद सिंहले पाटनढोका, जनकपुर र भारतमा पुगेर एटीएमबाट निकालेको फेला परेको छ ।

राष्ट्र बैंकले दिएको सूचना…

अख्तियारले तयार पारेको अनुसन्धान प्रतिवेदन अनुसार, ५ जेठ, २०८२ मा शंकास्पद कारोबार देखिएको भनी तयार पारेको प्रतिवेदन (एसटीआर)का आधारमा अख्तियारले अनुसन्धानको काम अघि बढाएको थियो ।

त्यतिबेला राष्ट्रबैंकको वित्तीय जानकारी ईकाई (एफआइयु)ले ‘११ वटा उपभोक्ता समितिहरू मध्ये ८ वटा उपभोक्ता समितिहरूको खाताबाट सरोज कुमार सिंह/सरिता कुमारी महतो सिंहको संयुक्त खातामा रकम देखिन्छ,’ भनी त्यस्तो कारोबारलाई शंकास्पद भनेको थियो ।

त्यसको भोलिपल्ट मात्रै मधेश प्रदेशका सांसद सिंहले विभिन्न निर्माण तथा मर्मतसम्भारका काम जोडिएका उपभोक्ता समितिबाट कमिसन बुझ्ने गरेको र त्यो रकम खातामै जम्मा हुने गरेको भनी अख्तियारमा उजुरी परेको थियो, त्यसपछि मात्रै अनुसन्धान अघि बढेको हो ।

अख्तियारको दाबी अनुसार, मधेश प्रदेशको रामगोपालपुर, मनराशीसवा र सम्सी क्षेत्रमा गठन भएको उपभोक्ता समितिहरूमा यस्तो समस्या ज्यादा देखिएको थियो ।

सिंह सबैमा संलग्न

योजना छनौटदेखि त्यसमा बजेट विनियोजन र उपभोक्ता समितिको पदाधिकारी चयनसम्मको काममा सांसद सरोजकुमार सिंह प्रत्यक्ष संलग्न रहेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

अख्तियारले उनकै निर्देशनमा उपभोक्ता समितिहरू गठन भएको भन्दै आरोपपत्रमा भनेको छ, ‘उनले उपभोक्ता समिति गठनमा स्थानीय सर्वसाधारणलाई सहभागी गराएनन् । आफू अनुकूलका मानिसहरू खोजे अनि समिति गठन गरे ।’

स्थानीय तहका विकास निर्माणका काममा उपभोक्ता समिति गठन गर्ने र माइन्युट लेख्ने काममा उनका स्वकीय सचिव विनोदकुमार लाल कायस्थ प्रत्यक्ष संलग्न थिए ।

उपभोक्ता समितिका प्रायजसो खातामा जम्मा भएको भोलिपल्ट रकम निकालेको भेटिएको छ । २२ पुस, २०८० मा राखेको रकम भोलिपल्ट निकालेको थियो, अरु खाताहरूमा पनि त्यस्तै अभ्यास छ ।

सबै गरेर एक करोड ३६ लाख रुपैयाँ उपभोक्ता समितिको खातामा प्रवाह भएकोमा विनोद कुमार कायस्थको खातामा ९७ लाख ७४ हजार र सरोज कुमार सिंह दम्पतीको खातामा ३८ लाख ५० हजार भुक्तानी भएको थियो ।

अख्तियारले सांसद सिंह, विभिन्न आठ उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्षमाथि भ्रष्टाचार मुद्दा चलाएपनि उनकी पत्नी सरिता कुमारी महतोलाई भने मुद्दा चलाएन ।

संयुक्त खातामा आउने रकमबारे आफूलाई थाहै नहुने र बैंकको काम सबै पतिले गरेको’ भनेर बयान दिएपछि उनले मुद्दाबाट सहुलियत पाएकी हुन् । अनुसन्धानमा सहयोग गरेको भन्दै अख्तियारले सिंहका स्वकीय सचिव विनोदकुमार कायस्थलाई पनि मुद्दा नचलाई साक्षी बनाएर विशेष अदालतमा पेश गरेको छ ।

म्यासेजबाटै घुसको रेट

अख्तियारले प्रदेश सांसद सिंह, उनका पीए कायस्थ लगायतको मोबाइल नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । मोबाइल परीक्षणपछि प्राप्त डिजिटल फरेन्सिक युनिटको प्रतिवेदन अनुसार, प्रतिशतका हिसाबले नै रकम मागेका प्रमाणहरू भेटिएका छन् ।

कुनै बेला बढी र कुनैमा कम दर तोकिएपनि औसतमा कूल बजेटको ३० प्रतिशत हिस्सा सांसद सिंहलाई घुसका रूपमा भुक्तानी भएको अख्तियारको दाबी छ ।

तर उपभोक्ता समितिका पदाधिकारीहरूले भने सरकारी बजेट प्रणालीबाट भुक्तानी हुन ढिला भएकाले सांसद सिंहले आफूहरूलाई विकास निर्माणको काम गर्न सापट दिएको र पछि खाताबाट त्यही रकम उनको खातामा भुक्तानी गरेको दाबी गरेका थिए ।

सरकारी कोषबाट रकम भुक्तानी हुनुभन्दा पहिले नै उनले उपभोक्ता समितिका पदाधिकारीहरूबाट रित्तो चेक हस्ताक्षर गराएर लिने गरेको भेटिएको छ । अख्तियारले आरोपपत्रमा भनेको छ, ‘योजना लिने, त्यसबाट पेटी ठेक्का लिएर ठेकेदारबाट काम गराउने र कम लागतमा काम गराएर रकम कमिसनमा लिने गरेको भेटिएको छ ।’

‘सबैतिर झैं मधेशमा पनि समस्या छ’

मधेशको बहुआयामिक मामिलाबारे कलम चलाउने पत्रकार चन्द्रकिशोर जनताको निगरानीमा सञ्चालित हुनुपर्ने उपभोक्ता समितिहरु दलीय हस्तक्षेप र सिण्डिकेटले थिलोथिलो भएको बताउँछन् ।

मुलुकको अरू क्षेत्रतिर जस्तै मधेशमा पनि विकास निर्माणका काममा भ्रष्टाचारको समस्या रहेको बताउने उनी ‘प्रश्न गर्ने मानिसहरूलाई किनिदिने र खुलमखुला बदमासी गर्ने प्रवृति बढेको’ बताउँछन् ।

‘सुनसरीबाट पूर्व लागेपछि ठीक, हेटौंडाबाट पश्चिमतिर पनि राम्रो छ । यो समस्या मधेशमा मात्रै छ भन्ने सोच छ, जुन उचित होइन,’ उनी भन्छन्, ‘सबैतिर फैलिएको बेथिती र भ्रष्टाचार यहाँ पनि देखिएको हो । काठमाडौंमा भ्रष्टाचार छ, त्यसैले वीरगञ्जमा पनि त्यो देखिन्छ भनेर पनि हेर्नुपर्छ ।’

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More