― Advertisement ―

Homeविजनेसविमानस्थलभित्र यात्रु जाँचमा ‘हातले छामछुम पार्ने’ तरिकामाथि उठ्यो प्रश्न

विमानस्थलभित्र यात्रु जाँचमा ‘हातले छामछुम पार्ने’ तरिकामाथि उठ्यो प्रश्न


राष्ट्रिय

समाचार.

  • उच्चस्तरीय अध्ययन आयोगले नेपालका विमानस्थलभित्र हरेक यात्रुलाई हातले छामछुम गर्ने भन्सार निरीक्षण प्रक्रिया अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप नभएको उल्लेख गरेको छ।
  • आयोगले निजी सुरक्षाकर्मीको व्यवहार र पार्किङ क्षेत्रमा नेपाल प्रहरीको अनुपस्थितिले यात्रुहरूलाई असुरक्षित महसुस गराउने भन्दै प्रश्न उठाएको छ।
  • विमानस्थल सुरक्षामा विशेषज्ञ सुरक्षा दस्ताको अभाव र सुरक्षाकर्मीको परम्परागत कार्यशैलीले यात्रुलाई असहज बनाएको आयोगले बताएको छ।

१९ कात्तिक, काठमाडौं । नेपालका विमानस्थलभित्र हरेक यात्रुलाई हातले छामछुम पार्दै गरिने जाँचमा सरकारले गठन गरेको उच्चस्तरीय अध्ययन आयोगले प्रश्न उठाएको छ ।

नागरिक उड्डयन क्षेत्रको सुधारका लागि गठित उच्चस्तरीय अध्ययन एवं सुझाव आयोगले बुझाएको प्रतिवेदनमा अन्तर्राष्ट्रिय विमानस्थलभित्र भन्सार निरीक्षण प्रक्रियामा प्रश्न उठाएको छ ।

‘आगमन कक्षमा हुने भन्सार निरीक्षण प्रक्रिया निकै असहज र अपनाइएका तरिका कतिपय अनावश्क हुनुका साथै पर्यटकका लागि अस्वाभाविक रूपमा झन्झटिलो रहेको छ,’ आयोगले भनेको छ, ‘प्रत्येक यात्रुलाई हातले छामछुम गर्ने तरिका विदेशका मुख्य विमानस्थलहरूमा भन्सार सुरक्षाको अभ्यासमा देखिँदैन ।’

राजस्व असुलीलाई मात्र लक्षित गरी अपनाइएको यस्तो तरिका अन्तर्राष्ट्रिय रूपमा स्वीकार्य सुरक्षा मापदण्ड अनुरूप नभएको आयोगको निष्कर्ष छ । अझ नेपालजस्तो पर्यटकीय मुलुकमा पर्यटकले भोगेका नकारात्मक अनुभवले मुलुकको अन्तर्राष्ट्रिय छवि प्रभावित भएको आयोगले जनाएको छ ।

एकातर्फ राजस्व चुहावट नियन्त्रणका लागि भन्दै पर्यटक र यात्रुलाई सास्ती दिने र अर्कातर्फ संस्थागत हुँदै गएको संगठित अपराध नियन्त्रण तथा निवारणमा उल्लेख्य भूमिका नदेखिनुको कारणमा समेत आयोगले प्रश्न गरेको छ ।

‘सामान्य यात्रुले आवागमनमा ब्यागेज क्लेम गर्दा सामानको सुरक्षा र टुटफुटमा कसैले पनि कारक तत्व पहिचान गरेको, गर्ने प्रयत्न गरेको वा जिम्मेवारी दिने गरेको समेत नदेखिएका सन्दर्भमा विशेष निगरानीको आवश्यकता देखिएको छ,’ आयोगले भनेको छ ।

सुरक्षाकर्मीको व्यवहारमा प्रश्न

आगमन भवनबाट बाहिर निस्कनासाथ निजी सुरक्षाकर्मीले यात्रुलाई लिन आउने सवारीसाधन चढ्न नदिने र नेपाल प्रहरी मुकदर्शक बन्ने गरेको समेत आयोगले उल्लेख गरेको छ ।

सबै यात्रुलाई पार्किङ क्षेत्रमा जानै पर्ने गरी व्यवस्था मिलाइएको र यसो गर्नुका पछाडी हरेक सवारीसाधनबाट पार्किङ शुल्क असुल गर्ने नियत राखिएको समेत आयोगले बताएको छ ।

पार्किङ क्षेत्रमा नेपाल प्रहरीको उपस्थिति नहुने र परिचय नखुल्ने निजी सुरक्षाकर्मी र भाडाका सवारी चालकले यात्रुलाई नकारात्मक व्यवहार गरिरहेको तर्फ समेत आयोगले प्रश्न उठाएको छ ।

‘यस्तो व्यवहारले स्वदेशी वा विदेशी यात्रुलाई असुरक्षित महसुुस गराउनु अन्तर्राष्ट्रिय विमानस्थलका लागि स्वीकार्य नदेखिएकाले विमानस्थल सुरक्षामा यो विषयले पनि प्रश्नचिह्न लगाएको छ,’ आयोगले भनेको छ ।

विमानस्थल सुरक्षामा खटिएका सुरक्षाकर्मीको कार्यशैली सुरक्षा संयन्त्रको परम्परागत अभ्यासमा आधारित रहेको र यसले यात्रुलाई असहज महसुस गराएको समेत आयोगको भनाइ छ ।

‘सुरक्षा अंगहरू व्यवहारमा आफ्नै तालुकदार संगठनको नियम र कार्य निर्देशिकाका आधारमा सञ्चालित छन्, यी निकायले प्रवाह गरिरहेको सुरक्षा सेवालाई नागरिक सेवामा रहेको नियामक निकायले सुपरिवेक्षण वा नियमन गर्न सक्ने परिकल्पना गरिएको छैन,’ आयोगले भनेको छ ।

धेरै देशमा विानस्थल सुरक्षामा सोही विषयमा विशेषज्ञता हासिल गरेका सुरक्षा दस्ता खटाउने गरिन्छ । नेपालमा समेत यस्तो दस्ताको माग उठे पनि सकारले ठोस निर्णय लिन सकेको छैन । सोहीकारण विमानस्थलमा सुरक्षाकर्मीको व्यवहारलाई लिएर बेलाबेला यात्रुले प्रश्न उठाउने गरेका छन् ।

विमानस्थलको बाहिरी सुरक्षामा अहिले नेपाली सेना र यात्रु जाँच र ल्यान्डसाइड एरियामा खटिएको छ । भन्सारमा सशस्त्र प्रहरी खटिएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More