― Advertisement ―

ब्ल्याकबेरीको बिर्सिएको प्याटेन्टहरू फेरि गर्जन्छन् किनकि भाइले सम्पूर्ण विश्वव्यापी प्रिन्टर उद्योगलाई हल्लाउन सक्ने मुद्दाको सामना गर्नुपरेको छ।

आधुनिक कानूनमा ब्ल्याकप्याटस्युरिङ टारगेटिङ प्रविधिहरूभाइले लिगेसी मोबाइल आविष्कारहरूमा जानाजानी उल्लङ्घनको दावीहरू सामना गर्छन्प्याटेन्ट फर्महरूले क्षतिपूर्ति र उत्पादनको पुन: डिजाइनलाई व्यापक बनाउन दबाब दिन्छन्दुई प्याटेन्ट...
HomeLatest newsमत माग्ने पृथक शैलीले थप्दैछ चुनावी रौनक – KhabarHost

मत माग्ने पृथक शैलीले थप्दैछ चुनावी रौनक – KhabarHost



२३ माघ, काठमाडौं । उम्मेदवारका अघिपछि हिडिँरहेका समर्थकहरू आफ्नो मोबाइल दायाँबायाँ हल्लाइरहेका छन् । उनीहरू मोबाइलबाटै घण्टीको आवाज गाउँघरका मतदातासम्मलाई सुनाइरहेका छन् । सामाजिक सञ्जालमा भाइरल बनिरहेका यी दृश्य राष्ट्रिय स्वतन्त्र पार्टीसँग जोडिन्छ ।

केही हप्तादेखि चलेको यो ट्रेन्डले व्यापकता पाइरहेको छ । त्यसको कारण हो, घण्टी डट वेबसाइट ।

रास्वपा शुभचिन्तक कसैले बनाएको यो साइट गत २३ जनवरीमा रजिस्ट्रर भएको देखिन्छ । एक वर्षको लागि लिइएको यो डोमेन खोल्दा निलो पृष्ठभूमिमा सेतो गोलाकार भित्र घण्टी छ । निलो रङको घण्टी छुनासाथ आवाज आउँछ । जब दायाँबायाँ मोबाइल फोन हल्लाइन्छ, बज्न थाल्छ– टिङ् टिङ् टिङ् …।

यसरी आउने आवाज वास्तविक घण्टी बजाए जस्तै सुनिन्छ । घण्टी चुनाव चिह्न भएका रास्वपा कार्यकर्ता यही देखाउँदै मत मागिरहेका छन् । उम्मेदवारका अघिपछि हिँड्दा यही फोनको डिजिटल घण्टी बजाइरहेको दृश्य समाजिक सञ्जालमा देखिन्छ । रास्वपाका नेता/कार्यकर्ता जहाँ पुग्छन्, घण्टी बजाउन छाड्दैनन् । यसमा थप सहज बनाएको छ, घण्टी डट वेबसाइटले ।

डिजिटल भूगोलदेखि मतदाताको घरसम्म चुनावी अभियान चलाइरहेका दलहरूबीच अरोप–प्रत्यारोप पनि कम छैन । जस्तो, नेपाली कांग्रेसका सभापति गगन थापामाथि पछिल्लो समय सबैभन्दा धेरै प्रहार हुने शब्द हो– बाख्रा । उनले बाख्रा पालनको लागि अनुदान लिएर पैसा खाएको भन्दै सामाजिक सञ्जालमा फैलिएको अफवाहलाई विपक्षीहरूले आधार बनाइरहेका छन् ।

सञ्जालभरि बाख्रा/मटनकाजी उपनामले निन्दा हुन थालेपछि थापाले पटकपटक यसबारे दिएको स्पष्टीकरणले कुनै काम गरेन । अफवाह फैलन छाडेन । अझ चुनावी रन्कोमा उनीमाथिको यो ट्यागलाई झन् छाड्ने कुरै भएन । त्यसैले गगन थापाका समर्थकले यसैलाई ‘राजनीतिक पूँजी’मा विकास गर्ने गरी व्याङ्यात्मक उपाय सोचेको देखिन्छ ।

ड्रोनदेखि रिल्ससम्म, वेबसाइटदेखि साइबर समूहसम्म बनाएर नेता/कार्यकर्ता चुनावी क्याम्पेनमा व्यस्त छन् ।

त्यसैले गत १६ जनवरीमा गगन थापा समर्थकले डोमेन लिन्छन्– मटन डट वर्ल्ड । एक वर्षको लागि रजिस्ट्रर गरिएको उक्त डोमेन त्यसपछि २१ जनवरीमा अपडेट भएको छ । उक्त साइट खोल्दा ‘मटनकाजीलाई भोट किन दिने ?’ भन्दै थापाका एजेन्डा राखिएको थियो । त्यस्तै, अंग्रेजीमा गोट (G.O.A.T) लाई यसकारण मत दिनुहोस् भन्दै थापाका विगतका इतिहास र भविष्यका योजना राखिएको थियो ।

यद्यपि, अहिले यो साइट अपडेट भएको छ । त्यसअघि राखिएका कुराहरू हटाएर नयाँ आवरणमा खुल्छ । अहिले तपाईंले मटन डल वर्ल्ड खोल्दा ‘नयाँ नेपालको लागि गगन थापा’ लेखिएको छ । गगन थापाको व्यक्तिगत विवरण राखिएको छ । अरू विषयमा नयाँ कन्टेन्ट हालिए पनि ‘ह्वाइ गगन थापा इज द गोट (G.O.A.T)’ यथावत छ । तर यसमा गोटलाई अर्थ्याइएको छ– ग्रेटेस्ट अफ अल टाइम ।

गगन थापाको प्रचारको लागि बनाइएको यो वेबसाइटको ट्याब–टाइटलमा पनि लेखिएको छ– गोट अफ नेपाल, गगन थापा । यसरी थापाका समर्थकले उनीमाथि आइरहने बाख्रा उपनामलाई पनि व्याङ्यात्मक शैलीमा ‘राजनीतिक पूँजी’मै रुपान्तरण गर्न खोजेको देखिन्छ ।

अन्य उम्मेदवारका तुलनामा पृथक शैली अपनाएका देखिन्छन्, गगन थापा निकट मानिएका काठमाडौं–४ का उम्मेदवार सचिन तिमिल्सेना । अन्य प्रचारप्रसारमा उस्तै शेली देखिए पनि उनले केही दिन यता चलाइरहेको क्याम्पेन हो– सचिनसँग संवाद ।

उक्त कार्यक्रमअन्तर्गत सचिन हरेक साँझ आफ्ना क्षेत्रका मतदातासँग फोन संवाद गर्छन् । मतदाताका गुनासा सुन्छन्, प्रश्नको जवाफ दिन्छन् । आफ्नो कार्यालयबाट यस्तो अभियान चलाइरहेका सचिनले मतदाताका सबै कुरा डायरीमा नोट गर्छन् र त्यसलाई सम्बोधन गर्ने वाचा गर्छन् ।

काठमाडौं–५ का उम्मेदवार रास्वपा सस्मित पोखरेल पनि सिर्जनशील देखिन्छन् । जस्तो, अन्य उम्मेदवारभन्दा फरक देखिने उनको भ्लग हो । कतै यात्रा गरिरहँदा सस्मितले भ्लगमा जसरी कुरा गर्ने, आफ्ना आइडिया सुनाउने गरेको देखिन्छ । अझ रोचक, भ्लगमा उनलाई प्रश्न सोध्ने उनकै श्रीमती सुस्मिता अधिकारी हुन् ।

जस्तो, कतै जाँदा गाडीमा सुस्मिताले सस्मितलाई सोध्छिन्– तिमीले अरू सांसदले नगरेको भन्दा के फरक गर्छौ ?

जवाफमा सस्मित भन्छन्– म सांसद भइसकेपछि जे विधेयक संसद्मा आउँछ, राम्रो एउटा लिगल टिम बनाएर काम गर्छु । दफादफा केलाएर हरेक लुपहोलबारे अध्ययन गर्छु । एउटा सांसदको भूमिका के हुनुपर्छ र त्यसको गरिमा कस्तो हुन्छ भन्ने उदाहरण म देखाउन चाहन्छु ।’

यसरी पोखरेल दम्पतीले विभिन्न विषयमा कुरा गर्दै गाडी भित्रै भ्लग बनाउँछन् र सामाजिक सञ्जालमा पोस्ट गर्छन् । उनीहरूको यो तरिकालाई मतदाता र सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि रुचाएको देखिन्छ ।

यस्ता पृथक प्रचारप्रसारमा छुटाउनै नहुने अर्को नाम हो, महावीर पुन । म्याग्दीबाट स्वतन्त्र उम्मेदवार रहेका उनी ‘मत देऊ’ भन्दै जाँदैनन् । ‘मन लागे देऊ, मभन्दा अर्को राम्रो भए उसैलाई देऊ’ भन्दै मतदाताका घरदैलोमा जान्छन् । ताक परे आफ्नो आत्मवृत्तान्तले भरिएको किताब नै बेच्न भ्याउँछन् । पुनले घोषणा नै गरेका छन्, ‘म मत माग्न आउँदा किताब पनि किन्न पाइन्छ ।’

महावीर पुनको यो शैली सामाजिक सञ्जालमा पनि चर्चामा छ । सामान्य खादा र मालामा गाउँगाउँ गएका उनले सिधै भन्छन्, ‘म केही वाचा गर्दिनँ होइ । तर म सकेको गर्छु । मैले मेरो फाइदाको लागि आजसम्म केही काम गरेको छैन ।’

यसरी पुन बोल्दै गर्दा मतदाता केही भन्न खोजे जस्ता सुनिन्छन् । त्यसपछि आफूलाई अरूसँग तुलना नगर्न भन्छन् । ‘एक–एक वटा पर्चा समात । राख । आफ्नो साथीभाइलाई पनि देऊ । र, मलाई विश्वास लाग्छ भने भोट देऊ,’ पुनले भन्ने गरेका छन् ।

यसरी उम्मेदवारहरूले आफ्नो शैली पृथक देखाइरहँदा प्रविधिको प्रयोग पनि व्यापक गरेका छन् । यतिसम्म कि, भिडियोग्राफी वा अन्य प्रयोजनमा प्रयोग हुने ड्रोनबाट पनि अनेक गतिविधि गरेका देखिन्छन् । जस्तो, शालिक पन्थीले पाँच दिनअघि एउटा भिडियो पोस्ट गरेका छन्, जसमा नेपाली कांग्रेसको झन्डा ड्रोनमा बाँधेर उडाइएको छ । हावामा रुख चिह्न भएको सेतो झन्डा ड्रोनको सहायतामा उडाइएको उक्त दृश्य अहिले सामाजिक सञ्जालमा चर्चामा छ ।

नेताहरू चुनाव नजिकिएसँगै क्षमताले भ्याएसम्म पृथक शैली अपनाएर मत माग्न व्यस्त देखिन्छन् ।

रास्वपाको तरिका पनि उस्तै छ । यसका समर्थकले त अझ ड्रोनमै घण्टी बाँधेर उडाएका छन् । झन्डा पनि उसैगरी उडाएका छन् । हुँदाहुँदा आफ्नो बाइकमा घन्टी नै झुन्ड्याएर हिँडेको दृश्य समाजिक सञ्जालमा देखिन्छ ।

अर्को शिव भिडियो मिक्सिङ भन्ने टिकटक ह्यान्डलबाट भएको पोस्टमा त ड्रोनमाथि बालेनको फोटो बाँधिएको छ । काँधमा झन्डा ओडेर नमस्ते गरिरहेको बालेनको फोटो बाँधेर ड्रोन उडाइएको उक्त भिडियोको स्क्रिनमा लेखिएको छ– अबकी बार, बालेन सरकार ।

यसरी ड्रोनदेखि रिल्ससम्म, वेबसाइटदेखि साइबर समूहसम्म बनाएर नेता/कार्यकर्ता चुनावी क्याम्पेनमा व्यस्त छन् । युवाहरूले यस्ता प्रचारबाजी शैली रोजिरहँदा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला भने पुरानै शैलीमा पृथक शैली अपनाइरहेका देखिन्छन् ।

कोइरालाले आफ्नो क्षेत्रका नेता, कार्यकर्ता तथा मतदाता सबैलाई पत्र लेख्न भ्याए । पार्टीको क्रियाशील सदस्यसहित करिब ६ हजार ५०० जनालाई छुट्टाछुट्टै पत्र पठाए । पत्रमा उनले विगतमा आफूलाई सहयोग गरेकोमा धन्यवाद दिए । तर आफूले भने न्याय गर्न नसकेको भन्दै क्षमा पनि मागे ।

‘मलाई नि:स्वार्थ भावबाट यसरी राष्ट्रिय जिम्मेवारीमा पठाउँदा मैले यस क्षेत्रका आफ्ना प्यारा दाजुभाइ, दिदीबहिनीहरूप्रति न्याय गर्न सकेको छैन भने म अन्तस्करणबाट क्षमाप्रार्थी छु,’ उनले पत्रमा भनेका छन् ।

सँगसँगै यस पटकको चुनावमा आफूलाई पुन: विजयी गराउन अनुरोध गरेका कोइरालाको यो शैलीलाई पनि निकै मन पराइएको देखिन्छ । यसरी नेताहरू चुनाव नजिकिएसँगै क्षमताले भ्याएसम्म पृथक शैली अपनाएर मत माग्न व्यस्त देखिन्छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More