― Advertisement ―

HomeLatest newsचीनले जापानबाट आफ्ना जुम्ल्याहा पाण्डा फिर्ता माग्ने, अन्तिम पटक हेर्न हजारौँको भीड

चीनले जापानबाट आफ्ना जुम्ल्याहा पाण्डा फिर्ता माग्ने, अन्तिम पटक हेर्न हजारौँको भीड


राष्ट्रिय

समाचार.

  • टोक्योको उएनो चिडियाखानामा रहेका अन्तिम दुई जुम्ल्याहा पाण्डा ‘शाओ शाओ’ र ‘लेई लेई’ जनवरी २७ मा चीन फर्किँदै छन्।
  • जापान र चीनबीच बिग्रँदो सम्बन्धका कारण जापानमा ५० वर्षपछि पहिलो पटक पाण्डा नहुने भएको छ।
  • पाण्डा नहुँदा जापानलाई वार्षिक कम्तीमा १३५ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक नोक्सान हुनसक्ने कात्सुहिरो मियामोतोले बताए।

१२ माघ, टोक्यो। जापानका पाण्डा प्रेमीहरूका लागि यो साता निकै नमज्जा बनेको छ। टोक्योको उएनो चिडियाखानामा रहेका अन्तिम दुई जुम्ल्याहा पाण्डा ‘शाओ शाओ’ र ‘लेई लेई’ जनवरी २७ मा चीन फर्किँदै छन्। यी पाण्डाहरूमाथि चीनको स्वामित्व रहेको छ।

आइतबार चिडियाखानामा यी पाण्डाहरूलाई अन्तिम पटक सार्वजनिक रूपमा प्रदर्शन गरियो। हजारौँ मानिसहरू अन्तिम बिदाइका लागि पुगेका थिए। भीड धेरै भएकाले चिडियाखाना प्रशासनले प्रत्येक आगन्तुकलाई पाण्डा हेर्नका लागि मात्र एक मिनेटको समय दिएको थियो।

मानिसहरू पाण्डाका चित्र भएका खेलौना बोकेर पुगेका थिए, उनीहरूको नाम पुकारिरहेका थिए र मोबाइलमा भिडियो बनाइरहेका थिए। टिकट नपाएका धेरै मानिसहरू पनि चिडियाखाना बाहिरै बसेर यो बिदाइको साक्षी बन्न आइपुगेका थिए।

यी पाण्डाहरू गएपछि विगत ५० वर्षमा जापान पहिलो पटक पाण्डारहित हुनेछ। जापान र चीनबीच बिग्रँदो सम्बन्ध नै यी पाण्डाहरूको बिदाइको मुख्य कारण मानिएको छ।

किन बढ्यो चीन–जापान सम्बन्धमा तनाव ?

हालैका महिनाहरूमा टोक्यो र बेइजिङबीचको सम्बन्धमा तिक्तता आएको छ। जापानी प्रधानमन्त्री साने ताकाइचीले ‘ताइवानमाथि चीनले गर्ने कुनै पनि कारबाहीमा जापानले हस्तक्षेप गर्न सक्छ’ भनी दिएको बयानबाट चीन रुष्ट छ।

टोक्यो महानगर सरकारले नयाँ पाण्डा पठाइदिन अनुरोध गरे तापनि चीनले तत्काल उएनो चिडियाखानामा पाण्डा पठाउने कुनै योजना नरहेको प्रस्ट पारेको छ। चीनको सरकारी पत्रिका ‘बेइजिङ डेली’ ले एक विशेषज्ञलाई उद्धृत गर्दै लेखेको छ, ‘यदि तनाव कायमै रह्यो भने भविष्यमा जापानमा पाण्डा देखिने छैनन्।’

जापानमा ‘पाण्डा डिप्लोमेसी’ यसअघि पनि राजनीतिसँग ठोक्किँदै आएको छ। सन् २०११ को भूकम्प र सुनामीपछि सेन्दई सहरमा पाण्डा ल्याउने योजना २०१२ को क्षेत्रीय विवादपछि रद्द गरिएको थियो।

शाओ शाओ र लेई लेईको जन्म २०२१ मा उएनो चिडियाखानामा भएको थियो। चीनले पाण्डा अरू देशलाई ‘उधारो’ मा दिने गर्छ, तर विदेशमा जन्मिएका बच्चामाथि समेत स्वामित्व भने आफ्नै राख्ने गर्दछ।

चीनले सन् १९७२ मा पहिलोपटक जापान पठाएको थियो पाण्डा

चीनले सन् १९७२ मा पहिलोपटक जापानलाई पाण्डा उपहार पठाएको थियो। यो दुई देशबीचको कूटनीतिक सम्बन्ध सामान्य भएको प्रतीक थियो। ती काला र सेता पाण्डाहरू जापानमा यति लोकप्रिय भए कि पछि आउने पाण्डाहरूलाई राष्ट्रिय ‘स्टार’ कै रूपमा मान्न थालियो।

सन् १९७० को दशकमा चीनले अमेरिका, फ्रान्स, बेलायत र जर्मनी जस्ता देशलाई पनि पाण्डा उपहार दिएको थियो। सन् १९८० को दशकपछि चीनले उपहारको सट्टा ‘लिज सिस्टम’ (भाडामा दिने प्रणाली) सुरु गर्‍यो, जसअन्तर्गत विदेशी चिडियाखानाले संरक्षण र अनुसन्धानका लागि चीनलाई शुल्क बुझाउनुपर्छ।

पाण्डा नहुँदा जापानलाई अर्बौँको घाटा

जापानमा पाण्डा केवल भावनात्मक मात्र नभई आर्थिक सम्पत्ति पनि हुन्। उएनो क्षेत्रमा पाण्डासँग जोडिएको व्यापार ठूलो स्तरमा चल्ने गर्छ। कसाई युनिभर्सिटीका प्रोफेसर एमेरिटस कात्सुहिरो मियामोतोका अनुसार, यदि उएनो चिडियाखानामा पाण्डा रहेनन् भने जापानलाई वार्षिक कम्तीमा १३५ अर्ब रुपैयाँ भन्दा बढीको आर्थिक नोक्सान हुन सक्छ।

यसको असर होटल, रेस्टुरेन्ट र गिफ्ट शपमा समेत पर्नेछ। यसअघि सन् २००८ मा पाण्डा ‘लिङ्ग लिङ्ग’ को मृत्यु हुँदा चिडियाखानामा आगन्तुकहरूको सङ्ख्या ६० वर्षमा पहिलो पटक ३० लाखभन्दा तल झरेको थियो।

एजेन्सीहरूको सहयोगमा

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More