― Advertisement ―

HomeLatest newsडोल्पामा वर्षासँगै हिमपात (तस्वीरहरू)  – KhabarHost

डोल्पामा वर्षासँगै हिमपात (तस्वीरहरू)  – KhabarHost



१० माघ, डोल्पा । हिमाली जिल्ला डोल्पामा वर्षासँगै हिमपात भएको छ । शुक्रबार रातिदेखि मौसम बदली भएसँगै जिल्लाभर वर्षा र हिमपात सुरु भएको हो ।

हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पा पूर्ण रूपमा हिउँले सेताम्मे भएको छ । त्यस्तै तल्लो तथा मध्य डोल्पाका सुँ, जुफाल, माझफाल, रह, लिकु, पहाडा, चु, कालिका, काइगाउँलगायतका बस्तीहरूमा पनि बाग्लो हिउँ जमेको छ भने जिल्ला भर हिमपात भइरहेको छ ।

रातिदेखि सुरु भएको हिमपात निरन्तर जारी रहेको र वर्षभरिकै बाग्लो हिउँ जम्ने संकेत देखिएको त्रिपुराकोटका स्थानीयवासीले बताएका छन् । गत वर्षको तुलनामा ढिलो हिमपात भए पनि यसपटकको हिमपातले किसानहरू खुसी भएका छन् ।

लामो समयसम्म हिमपात नहुँदा अन्नबाली खडेरीले सुक्ने चिन्तामा रहेका किसानहरू अब ढुक्क भएका छन् । हिउँदको समयमा मंसिरदेखि फागुनसम्म हिमपात भएमा खाद्यान्न बाली राम्रो सप्रने विश्वास स्थानीयको छ ।

मुड्केचुलाका स्थानीय सुरेन्द्र शाहीले जति धेरै हिमपात भयो, त्यति नै खेतीपाती राम्रो हुने बताए । ‘रातिदेखि निरन्तर हिमपात भइरहेको छ। यो वर्ष हिउँद सिजनमा पहिलो पटक हिउँ परेको हो’, उनले भने, ‘हिमपातले चिसो ह्वात्तै बढेको छ, जेठासी बाली राम्रो हुने भयो ।’

यस वर्ष हिउँद सुरु भएदेखि पहिलो पटक हिमपात भएको हो । एकाएक परेको हिमपातका कारण माथिल्लो डोल्पाको जनजीवन प्रभावित भएको छ । हिमपातका कारण माथिल्लो डोल्पामा बाक्लो हिउँ जमेको छ भने तल्लो डोल्पाका अधिकांश भूभाग सेताम्मे भएका छन् ।

राति देखि अचानक हिमपात सुरु भएपछि डोल्पाको तापक्रम माइनस ८ डिग्री सेल्सियससम्म पुगेको छ ।

हिउँदको समयमा हुने हिमपात बहुमूल्य जडीबुटी यार्सागुम्बाका लागि पनि निकै उपयोगी मानिन्छ । हिमपातका कारण जमिनमा पर्याप्त चिस्यान रहने र यार्सागुम्बा राम्रो सप्रने स्थानीयको गङ्गे सार्कीले बताए ।

हिमपातले यार्सागुम्बा, कटुकी, जटामासी, सेतोचिनी, गुच्छीच्याउ, सतुवा, रातो च्याउलगायत डोल्पामा पाइने विभिन्न बहुमूल्य जडीबुटीको उत्पादनमा वृद्धि हुने उनले बताए ।

हिमपातका कारण जिल्लाका विभिन्न ठाउँमा राखिएका मोबाइल टावर आउने जाने भइरहेको सर्वसाधारणले बताएका छन् ।

तस्वीर : पूर्ण सार्की/डोल्पा





Read More