― Advertisement ―

Google द्वारा Pixel VPN ले उपयोगिता बढाउन द्रुत सेटिङहरू अपग्रेड गर्छ

Pixel VPN को गुगलको क्वोस्ट अपडेट गर्नका लागि उपयोगिताप्रयोगकर्ताहरूले अब जडान स्थिति जाँच गर्न VPN इन्टरफेस खोल्न आवश्यक पर्दैनअद्यावधिकले Google को नि:शुल्क VPN लाई...
HomeLatest news‘आयोगले कांग्रेसको आधिकारिकता छिटो टुंग्याएर दुवै समूहलाई चुनावमा सहभागी हुने बाटो खोल्नुपर्छ’

‘आयोगले कांग्रेसको आधिकारिकता छिटो टुंग्याएर दुवै समूहलाई चुनावमा सहभागी हुने बाटो खोल्नुपर्छ’


राष्ट्रिय

समाचार.

  • निर्वाचन आयोगलाई दल विभाजन र आधिकारिकता निर्धारणमा करिब एक महिनाभन्दा बढी समय लाग्ने अवस्था आएको छ।
  • निर्वाचन आयोगले आधिकारिकता विवाद टुंग्याउन नसकेमा दुवै पक्ष अदालतसम्म मुद्दा लैजान सक्नेछन्।
  • आयोगले छिटो आधिकारिकता तोक्नुपर्ने र दुवै पक्षलाई निर्वाचनमा भाग लिन अवसर दिनुपर्ने सुझाव दिइएको छ।

आधिकारिक पक्षको पहिचान, अर्को पक्षलाई पनि निर्वाचनमा सहभागी गराउनुपर्ने अवस्था र यसअघि नै पेश भएको समानुपातिक उम्मेद्वारहरूको सूचीले निर्वाचन आयोगलाई अन्योलमा पारेको छ । निर्वाचनको मुखमा भएको दल विभाजन र त्यसबाट उत्पन्न जटिलताका बारेमा अनलाइनखबरले पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीसँग गरेको संक्षिप्त कुराकानी :

चुनावका लागि डेढ महिनाभन्दा कम अवधि बाँकी हुँदा नेपाली कांग्रेस विभाजित भएको छ । यस्तो अवस्थामा निर्वाचन आयोगले के कस्ता कठिनाइ बेहोर्नुपर्ने हुन्छ ?

यो भन्दा पहिले यस्तो खालको अभ्यास नभएपनि दल विभाजनको प्रश्न हामीसामु खडा भइसकेको छ । एकातिर दल विभाजन भएको छ ।

अर्कोतिर मिति तोकिएर निर्वाचन सन्निकट अवस्थामा पुगेको छ । अब निर्वाचनको मिति आउन डेढ महिनामात्रै बाँकी छ ।

दलको विभाजनको समस्यालाई दृष्टिगत गरेर कानुनी प्रक्रिया पनि हेर्ने हो भने दुई समूहमध्ये आधिकारिकता टुंग्याउन करिब एक महिनाभन्दा बढी समय लाग्ने देखिन्छ ।

आयोगका लागि किन त्यति लामो अवधि आवश्यक पर्ने हो ?

केन्द्रीय समितिको आधिकारिकता, उनीहरुको हस्ताक्षर सनाखत गर्नेदेखि दुवै पक्षलाई बोलाएर, उनीहरूका कानुन व्यवसायीहरुलाई ल्याएर बहस गराउनुपर्ने हुन्छ । फेरि अर्कोतर्फ एकपछि अर्को चरणमा जान निश्चित समय दिनुपर्ने कानुनी व्यवस्था छ ।

हरेक चरणमा १०/१५ दिनको समय दिने हो भने आधिकारिकता निर्क्यौल गर्दा यो निर्वाचनको अवधि नै कटिसकेको हुन्छ ।

अब निर्वाचन आयोग चुनावको काममा लाग्ने कि कांग्रेसको आधिकारिकता निर्क्यौललाई प्राथमिकता दिने ?

अहिले निर्वाचनको मिति तोकिएको मात्रै होइन, समानुपातिकमा उम्मेद्वारहरुको मनोनयन समेत भइसकेको अवस्था छ । हस्ताक्षर कसको थियो, को आधिकारिक हो ? भन्ने निर्क्यौल गर्नुपर्छ ।

जहिले पनि अभिलेखमा नफुटेको वा विवाद आउनुभन्दा अघिको आधिकारिक हुन्छ । त्यस्तो अवस्थामा अर्कोले हस्ताक्षर गर्न मिल्ने हो कि होइन ? यस्ता विवाद निर्क्यौल गर्दा धेरै कुराहरु हेर्नुपर्ने भएकाले निर्वाचन आयोगलाई निकै नै असजिलो हुने देखिन्छ ।

अहिले निर्वाचन आयोगले तयारीलाई नै पूर्णता दिइसकेको छ । यस्तो बेलामा पार्टीको आधिकारिकता निर्क्यौल गर्नुपर्ने परिस्थिति यसअघि सामना गर्नुपरेको थिएन ।

निर्वाचन आयोगबाट मात्रै त आधिकारिकताको विवाद टुंगिदैन । असन्तुष्ट पक्ष त अदालतसम्म पुग्छ । हैन र ?

पार्टी फुट्ने अवस्था हुँदा केन्द्रीय समितिको ४० प्रतिशत हस्ताक्षर लिएर पार्टी मेरो हो भनेर जानुपर्छ । त्यसपछि निर्वाचन आयोगले त्यहाँ उठ्ने आधिकारिकताका प्रश्नहरु केलाउन सुरु गर्छ ।

आधिकारिकताको विवाद चर्किँदै गयो भने एउटा पक्षले निर्वाचनमा भाग लिनै नपाउनेसम्मको अवस्था आउनसक्छ ।

निर्वाचन आयोगले दिने निर्णय दुवै पक्षलाई चित्त बुझ्छ भन्ने छैन । ऊ निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालतमा मुद्दा लिएर जान्छ ।

यो बेलामा दल विभाजनले ल्याउने जटिलता के-के हुन्छन् ?

निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय गुज्रिएको छ । समानूपातिकतर्फ त मतपत्र नै छापिन थालिसकेको छ । यस्तो अवस्थामा दुईमध्ये आधिकारिकता नहुने पक्षले निर्वाचनमा भागै लिन नपाउने अवस्था आउनसक्छ ।

फेरि अदालतले कुनै पक्षको हकमा अन्तरिम आदेश दिनसक्ने अवस्था पनि आउला । अर्को पक्ष निर्वाचनमै भाग लिन नपाउने हो त ? हामी निर्वाचन आयोगमा रहँदा पनि यो खालको जटिलता सामना गर्नुपरेको थिएन ।

निर्वाचन आयोगले यस्तै खालका विवाद नटुंग्याए पनि अरु जटिल समस्याको सामना गरेका कयौं घटना छन् । २०७४ सालमा मतपत्र च्यातिएको घटना त्यस्तै उदाहरण हैन र ?

दल विभाजनको विषयमा प्रक्रियागत रुपमा अघि बढ्नुपर्ने भएमा निर्वाचन आयोगले एक महिनाभन्दा बढी समय लगाउनुपर्ने हुन्छ भनेर अघि नै उल्लेख गरिसकेँ । दल विभाजनको बहसपैरवी निर्वाचन आयोगदेखि अदालतमा सम्म कायम रहने भयो ।

सामान्य अवस्थामा हेर्दा दल विभाजनका यस्ता विवादमा निर्वाचन आयोगले समयमा निर्णय दिन नसकेका कैयौ उदाहरण देखेको छु । तर यसपटक त्यस्तो नहोला ।

२०७४ सालमा भरतपुरमा मतपत्र च्यातेको घटना पनि हामीसँग छ । त्यो बेला त अहिलेभन्दा सहज थियो । त्यतिबेला तत्कालिन प्रमुख निर्वाचन आयुक्त नै तत्काल घटनास्थलमा जानुपर्नेमा कर्मचारी पठाउनुभयो, त्यो परिपक्व काम भएन भनेर मैले अन्तर्वार्ता दिएको थिएँ ।

अरुबेलामा भन्दा निर्वाचनकै मुखमा दलभित्रको विवाद टुंग्याउनुपर्दा निर्वाचन आयोगको तटस्थतामाथि पनि अलि बढी नै प्रश्न उठ्छ होला नि ?

निर्वाचनको मुखमा दलभित्रको विवाद सल्टाउनुपर्दा निर्वाचन आयोगको तटस्थतामा पनि प्रश्न उठ्छ । त्यो अवस्था जहिले पनि आउँछ, किनभने आयोगमा बसिसकेपछि एउटा निर्णय त गर्नुपर्ने हुन्छ ।

त्यस्तो अवस्थामा दुवै पक्षले चित्त बुझाउने अवस्था नै हुँदैन । आफूले मागेको नपाउने पक्षलाई त्यो निर्णय चित्त बुझाउने अवस्था नै हुँदैन । तर निर्वाचनको मुखमा यो विषय झनै पेचिलो बन्छ ।

त्यहाँ पूर्वाग्रह भयो भन्ने लाग्यो भने उनीहरु त्यो भन्दा माथिल्लो तहमा पुग्छन् । अदालतमा गइसकेको मुद्दा टुंगिन पनि समय लाग्छ । कुनै दल वा ऊ भित्रको विवादले निर्वाचन नै नभएको उदाहरण अहिलेसम्म छैन । तर अलि जटिल समयमा यो विवाद उत्कर्षमा पुग्यो ।

दुईमध्ये एउटा पक्षले आधिकारिकता पाउनेछ । अर्को पक्षले निर्वाचनमा भागै लिन मिल्दैन त ?

निर्वाचनमा भाग लिन्छु भनेका दलहरु विभाजित भएमा अर्को पक्ष त्यो निर्वाचनमा भाग लिन नपाउने अवस्था पनि उचित होइन । त्यो कुरा प्राकृतिक न्यायको सिद्धान्त विपरीत हुनजान्छ ।

आधिकारिक मान्यता पाउने समूहले निर्वाचनमा भाग लिन पाउने तर अर्को पक्षले भाग लिन नपाउने भन्ने पनि तर्क हुन्छ र ? निर्वाचनमा भाग लिन्छु भन्ने दुवै समूहहरु निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्छ ।

उनीहरुको नाम र निर्वाचन चिन्ह एउटा बनाउन नपाउने मात्रै हो । निर्वाचनको यति नजिक अवस्थामा कहिलेपनि दल विभाजित थिएन । त्यसैले मैले अहिलेको अवस्था जटिल देख्छु भनेको हुँ ।

एउटा दलभित्रकै विवादका कारण निर्वाचनको मिति सर्ने अवस्था त नआउला नी ?

मैले त फागुनको निर्वाचन सार्नु उचित हुन्छ भनेको थिएँ । तर मेरो सुझाव उहाँहरुले कार्यान्वयन नै गर्नुपर्छ भन्ने छैन किनभने मैले सुझावसम्म दिएको हुँ । विभिन्न प्रतिकूलताकाबीच पनि निर्वाचन आयोगको तयारी राम्रो छ ।

तसर्थ तोकिएकै मितिमा निर्वाचन गरे हुन्छ । हिमाली जिल्लाहरुको हकमा भने फागुनको चिसोमा मतदान गर्न जाँदैनन् कि भन्ने आशंका छ । निर्वाचन आयोगले पनि यसअघि फागुनमै त निर्वाचन गरेको पनि थिएन ।

अब तपाईले निर्वाचन आयोगलाई के सुझाव दिनुहुन्छ ?

यतिबेला आएर कांग्रेस विभाजित भएपछि यो मुद्दा निकै पेचिलो बनेको छ । अब आयोगले छिटोभन्दा छिटो आधिकारिकता पहिल्याएर एउटालाई आधिकारिकता दिनुपर्छ । अर्कोलाई दर्ता हुने अवसर सहित निर्वाचनमा भाग लिने मौका दिनुपर्छ ।

किनभने दर्ता भएकै दलबाट छुट्टिएका कारण मात्रै अर्को समूह निर्वाचनबाट बञ्चित हुने अवस्था आउनुहुन्न । विषम परिस्थितिमा पनि निर्वाचन आयोगले न्यायको सिद्धान्त अनुशरण गर्नुपर्छ ।

 

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More