― Advertisement ―

टेस्कोले VMware बन्द हजारौं सर्भरहरू डम्प गर्दछ, ब्रोडकमबाट ‘अपमानजनक आचरण’ लाई दोष दिन्छ

Tesco,0rs04 बाट टाढा सार्नुहोस् VMwareBroadcom ले UK खुद्रा विक्रेताबाट कानुनी कारबाहीको सामना गर्छ, जसले "अपमानजनक आचरण" आरोप लगाएको छHPE भर्खरै प्रभावित ग्राहकहरूका लागि निःशुल्क...
HomeLatest news५ पटक अप्रेसन गरेपछि मात्र डाक्टरले भने, ‘क्यान्सर भएको हो’

५ पटक अप्रेसन गरेपछि मात्र डाक्टरले भने, ‘क्यान्सर भएको हो’


राष्ट्रिय

समाचार.

  • वीर अस्पतालमा सुजनकी आमालाई मेलानोमा स्किन क्यान्सरको उपचारका क्रममा पाँच शल्यक्रिया गरियो ।
  • अस्पतालले क्यान्सरको पूर्ण जानकारी र उपचारबारे स्पष्ट जवाफ नदिँदा परिवारमा आर्थिक र मानसिक तनाव बढेको छ।

गत दशैँको टीकाको भोलिपल्टको सुजन थामी बिहान ८ बजे आमालाई लिएर वीर अस्पताल पुगे । दशैं विदाको कारणले अस्पतालमा खास चहलपहल थिएन । डाक्टर र नर्स पनि सीमित थिए ।

भर्ना हुन आउँदा पिसाब र रगत जाँचका रिपोर्टहरू ल्याउन भनिएको थियो, तर अस्पतालका ल्याबहरू बन्द थिए । आमालाई भर्ना गरे । राति ८ बजेतिर अचानक ‘रगत र औषधि’ ल्याउन भनियो ।

सुजन आमालाई छोडेर रगत लिन गए, भृकुटीमण्डपस्थित ब्लड बैंक । त्यहाँ रगत लिनेको लामो लाइन थियो । जब उनको पालो आयो अनि थाहा पाए, रगत बोक्ने भाँडो चाहिने रहेछ, त्यो उनीसँग थिएन । अनि अस्पताल फर्किएर भाँडो लिएर फेरि प्रदर्शनीमार्ग पुगी लाइन बसे ।

रगतपछि अब औषधिको जोहो गर्नुपर्ने भयो । लाइन बसे । बल्लतल्त पालो आयो तर औषधि पाइएन । वीरबाट ट्रमा सेन्टर पुगे रगत र औषधिको जोहो गर्दैमा आधा रात बित्यो । भोलिपल्ट आमाको खुट्टाको शल्यक्रिया थियो।

खुट्टाको सानो कालो दाग

सुजनकी ५२ वर्षीया आमा लामो समयदेखि विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेकी थिइन् । थाइराइडको समस्या थियो, जसलाई औषधिले नियन्त्रण गरिरहेकी थिइन् । उमेर बढ्दै जाँदा अन्य स्वास्थ्य समस्याहरू थपिए ।

कम्मर दुख्ने, पाठेघरबाट रगत बग्ने समस्याका लागि पनि औषधि खाइरहेकी थिइन् । एक–डेढ वर्षअगाडि धुलिखेल अस्पतालमा पित्तथैलीको अपरेशन पनि गरिएको थियो । वीर अस्पतालमै नियमित जाँच गराउँथिन् ।

२ वर्षअघिबाट कुर्कुच्चामा कालो दाग देखिएको थियो । नदुख्ने त्यो दागलाई सामान्य ठानेर ढुंगाले घोटेर हटाउन खोजिन् । पछि त्यो ठाउँमा बिस्तारै पोल्ल थाल्यो ।

एलर्जी भएको होला भन्ने ठानेर त्यसलाई कम गर्न सन्चो लगाउँथिन् । तर, समस्या कम भएन, बढ्दै गयो ।

त्यसपछि परिक्षणका लागि वीर अस्पताल पुगिन् । थाइराइडकै समस्याले एलर्जी भएको होकि भनेर सुरुमा थाइराइड डाक्टरलाई भेटिन् ।

त्यहाँबाट छालाको डाक्टरकहाँ सिफारिस गरियो । डर्माटोलोजिस्टले प्लास्टिक सर्जरी गर्न सिफारिस गरे । दशैं अगाडि भदौतिर कुर्कुच्चाको कालो दाग काटेर बायोप्सी गरियो । रिपोर्ट आउन १४ दिन लाग्यो, जसले समस्या गम्भीर भएको देखायो ।

डाक्टरले तुरुन्त अप्रेसन गर्न सिफारिस गरे । तर, दशैँको बेला भएकोले घरमा टीका लगाएर टीकाको भोलिपल्ट भर्ना हुन आउने गरी मिलाइदिन उनले चिकित्सकसमक्ष अनुरोध गरिन् । त्यही अनुसार टीकाको भोलिपल्ट भर्ना हुने कुरा तय भएको थियो । त्यही अनुसार अस्पताल पुगेका थिए ।

शल्यक्रियाको शृंखला

पहिलो शल्यक्रियामा कुर्कुच्चाको कालो दाग भएको भाग काटियो । रिपोर्ट आउन १४ दिन लाग्यो । रिपोर्ट आएपछि दोस्रो शल्यक्रिया गर्नुपर्‍यो । ‘यसमा क्यान्सर देखिएको रहेछ तर परिवारलाई भनिएन’ सुजन सुनाउँछन् ।

दोस्रो शल्यक्रियाको १५ दिनपछि तेस्रो शल्यक्रिया भयो । तेस्रो शल्यक्रियाको १०–१५ दिनमा शल्यक्रिया गरेको ठाउँमा संक्रमण भएछ । त्यसम संक्रमण हुनसक्छ भन्ने कुरा पनि डाक्टरले भनेनन् ।

डाक्टर राउन्डमा आएको बेला इन्फेक्सन भएको थियो तर निको भइसक्यो भनी आश्वसन दिएको उनी बताउँछन् ।

चौथो शल्यक्रिया पिँडौलाको पछाडि भागको गरियो । बीचमा सामान्य शल्यक्रियाहरू पनि भइरहे ।

असोजदेखि मंसिरसम्म तीन महिनामा ५ वटा शल्यक्रया भए, ३ लाख खर्च भयो ।

पाँचौं शल्यक्रियामा अपरेसन थिएटर भित्रबाट बोलाइयो । सुजन भित्र गए । त्यसपछि डाक्टरले भने, ‘शल्यक्रिया त भयो तर निको हुन्छ वा हुँदैन केही भन्न सक्दैनौं ।’

डाक्टरले त्यस्तो भनेपछि परिवारमा चिन्ता बढ्यो । शंका बढ्यो । यसपछि परिवारका सदस्यहरू गम्भीर भए र आफन्तहरूसँग सल्लाह लिन थाले ।

अनि सुजनले अस्पतालले दिएका रिपोर्टलाई अन्य माध्यममार्फत पनि भेरिफाइ गराए । आमालाई क्यान्सर भएको रिपोर्टले देखायो ।

एक दिन अस्पतालमा गाउँको दिदी भट्न आइन् । दिदीले रिपोर्ट हेरेर क्यान्सर भएको बताइन् र उपचारको लागि सरकारबाट सहायता पाइने कुरा सुनाइन् ।

अब त चिकित्सकलाई आँट गरेर सोध्नै पर्‍यो भनेर सुजनले सोधे ‘आमाको क्यान्सरको भाग हटाइयो कि अझै बाँकी छ ?’

चिकित्सकले जवाफ दिइन् ‘क्यान्सर प्रभावित भाग फालिसक्यौं, घोप्टो पारेर राख्नुस्’ । त्यो भन्दा अरू केही भनिनन् ।

अब फेरि आमालाई अस्पतालको बेडमा डेढ महिना घोप्टो पारेर सुताइयो । दिसा, पिसाब, खाना सबै घोप्टो नै । यो निकै कठिन थियो । क्यान्सर थाहा भएपछि परिवार निकै पीडामा थियो । तर, त्यो भन्दा कठिन अस्पातलको बसाइ र त्यहाँको व्यवहार थियो।

आर्थिक, भावनात्मक संघर्ष

पाँच ओटा शल्यक्रिया भयो । तीन लाख भन्दा बढी खर्च भइसक्यो तैपनि उनीहरूले चिकित्सकको परामर्श पाएनन् । आमालाई ठ्याक्कै के भएको हो ? यो पूर्णरूपमा निको हुन्छ कि हुँदैन ? केही पनि भनिएको छैन ।

क्यान्सर भएका बिरामीलाई सरकारले एक लाख रुपैयाँ दिन्छ कुरा उनले आफन्त र साथीभाइबाट थाहा पाए । तर, क्यान्सर भएको भनेर कागजात कहाँबाट बनाउने थाहै थिएन । त्यसका लागि निकै संघर्ष गर्नुपर्‍यो

सिफारिस भए सहायता मिल्छ कि भनेर डाक्टरहरूलाई सोध्दा हुँदैन भन्ने जवाफ आयो । त्यसपछि अस्पतालका निर्देशकसँग भेटेर आर्थिक तथा मानसिक तनावको कुरा राख्दा पनि कुनै सहयोग भएन ।

घर लैजाने बेलामा कागजात बनाउन जाँदा सामाजिक सुरक्षा विभागका चारवटै कोठामा सोध्दा ‘हामीसँग हुँदैन’ मात्र भनियो, जबकि वडाले अनुसूची २ बमोजिमको फर्म मागेको थियो ।

गाउँपालिका अध्यक्षलाई कल गर्दा पनि समाधान भएन । ‘पछि फलोअपमा बुझ्दै जाँदा अस्पतालकै वार्डमा फर्म हुन्छ भन्ने थाहा भयो, तर यो झन्झटिलो प्रक्रियाले हामीलाई धेरै हैरान पार्‍यो’ सुजन भन्छन् ।

अन्ततः डिस्चार्ज हुँदा साइन त भयो, तर पैसा उपचारमै काटिने हो वा नगद पाइने हो भन्ने अझै स्पष्ट छैन, जसले सहायताको उद्देश्य नै अधुरो जस्तो लाग्छ उनलाई ।

अझै बाँकी छ आशा

क्यान्सर भएको कुरा आमालाई नभनी राखियो, तर उनी घर जान इच्छुक थिइन् । एक दिन राउन्डमा आएका चिकित्सकले पनि भने अब घर लगेर उतैबाट फलोअप गर्दा हुन्छ ।

घर जाने दिनमा डाक्टरले सुजनलाई मात्र भित्र बोलाएर भने- यो मेलानोमा क्यान्सर हो । यो जटिल प्रकारको क्यान्सर हो । जति फाल्यो त्यति बढ्दै जान्छ । डिस्चार्ज भएर घर जाने दिनमा मात्र चिकित्सकले औपचारिक रूपमा क्यान्सर भएको जानकारी दिए।

तीन–चार हप्ताको फरकमा दुई वर्षसम्म इम्युनोथेरापी दिनुपर्ने सुनाए । जसको लागत निकै हुन्छ । यसले पनि पूरा निको हुन्छ भन्न नसकिने पनि चिकित्सकले बताए ।

यसपछि आमाको इच्छा पूरा गर्न अध्यारोमा लगियो । कीर्तिपुरमा रहेको डेरा पुग्दा राति ९ बजिसकेको थियो । डिस्चार्जपछि शुक्रबार फलोअपमा फर्कदा डाक्टरले बिरामीलाई चाँडै बाहिर पठाएर थप कुरा गरेनन् ।

केही दिनअघि साथीहरूको सिफारिसमा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुदिप श्रेष्ठलाई भेट्न गए । उनले क्यान्सर प्रारम्भिक चरणमै भएको बताए । त्यति धेरै पटक किन अप्रेसन गरियो भनेर उनी अचम्ममा परे । अप्रेसन किन गरेको भन्दै प्रश्न गरे ? त्यसको उत्तर सुजनसँग थिएन ।

डा. सुदिपले पनि इम्युनोथेरापी नै चाहिने र महँगो हुने बताए । तर आर्थिक अवस्था गर्दा उपचारमा कठिन भइरहेको छ ।

डिस्चार्जपछि फलोअपहरू जारी छन्, तर आर्थिक बोझ र अनिश्चितताले परिवारलाई थकित बनाएको छ । कहीँ कतैबाट उपचारमा राहत पाए आमाको उपचार राम्ररी हुन्छ कि भन्ने आशा रहेको सुजन बताउँछन् ।

के भन्छन् उपचारमा संलग्न चिकित्सक ?

वीर अस्पातलका प्लाष्टिक सर्जन डा. पियुष दाहालका अनुसार शान्ति थामी वीर अस्पतालमा कुर्कुचाको दागको उपचार गर्न भनी आएकी थिइन् । त्यसपछि स्किन क्यान्सर (मेलानोमा) भएको पत्ता लाग्यो । सुरुमा डाइग्नोसिस, त्यसपछि ‘वाइड लोकल एक्सिजन’ गरेर क्यान्सर फैलिएको ठाउँ नियमअनुसार काटियो ।

बायोप्सी रिपोर्ट ढिला आउने प्रणालीका कारण अप्रेसन र निर्णयहरू चरण–चरणमा भएको र बायोप्सी रिपोर्टले क्यान्सर समाप्त भएको पुष्टि नगरेसम्म घाउ बन्द गर्न नपाइने अवस्था थियो।

पछि अर्को खुट्टामा पनि कालो दाग देखिएकाले पुनः बायोप्सी र अप्रेसन गर्नु परेको दाहालले जानकारी दिए । स्किन क्यान्सरमध्ये मेलानोमा गम्भीर प्रकृतिको क्यान्सर हो । बिरामी र आफन्तलाई क्यान्सरको प्रकृति र उपचारबारे आफूले स्पष्ट रूपमा भनेको दावी डा.दाहालको छ ।

‘कतिपय जानकारी सिनियरले प्रारम्भमा दिने र जरुरी परेमा जुनियरले थप व्याख्या गर्ने चलन छ’ डा.दाहालले भने, ‘आफन्तले राखेको गुनासो मैले ‘फिडब्याक’का रूपमा लिएको छु र समूहमा पनि समीक्षा गरी सुधारतर्फ ध्यान दिनेछु ।’

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More