― Advertisement ―

Surfshark ले TechRadar अनुसन्धान पछि बिग्रिएको पोस्ट-क्वान्टम VPN प्रोटोकल फिक्स गर्दछ

TechRadar द्वारा परीक्षणहरू पछ्याउँदै, Surfshark ले आफ्नो नयाँ, मालिकाना VPN प्रोटोकल, 'दौसोस। अद्यावधिकले निश्चित आवासीय फाइबर जडानहरूमा प्रोटोकलले अब सही रूपमा काम गर्छ...
HomeLatest newsफेक करेन्सीका योजनाकार भोजपुरी गायक, नेपाल-भारत क्रस बोर्डर कारखाना

फेक करेन्सीका योजनाकार भोजपुरी गायक, नेपाल-भारत क्रस बोर्डर कारखाना


राष्ट्रिय

समाचार.

  • काठमाडौंको बौद्धस्थित लेलिन ब्रान्ड स्टोरमा नक्कली नोट दिएर जुत्ता किन्ने दावा नोर्बु शेर्पा पक्राउ परेका छन्।
  • नेपाल र भारतमा संयुक्त अपरेसनमा फेक करेन्सी र्‍याकेटका आठ सदस्य पक्राउ परेका छन्।
  • भारतको बिहारमा नक्कली नोट छाप्ने मेसिन सहित भोजपुरी गायक रविकुमार श्रीवास्तव पक्राउ परेका छन्।

२२ पुस, काठमाडौं । १२ पुसमा बौद्धस्थित ‘लेलिन ब्रान्ड’ को फेन्सी स्टोरमा एक व्यक्ति जुत्ता किन्न गए । १४ हजार ५०० मूल्यका ब्रान्डेड जुत्ता किनेका ती व्यक्तिले हजार दरका १५ थान नोट तिरे । अनि, ५०० को एउटा नोट फिर्ता लिएर त्यहाँबाट बाहिरिए ।

तर, यो घटना दिनहुँ हुने जुत्ता किनबेचको जस्तो मात्रै रहेन । त्यो साढे १४ हजार मूल्यको जुत्ता किनबेचबाट सुरु भएको एउटा अनुसन्धान अहिले ‘फेक करेन्सी’ र्‍याकेटसम्म पुगेको छ । प्रहरीको नेपाल-भारत अपरेसनमा ‘फेक करेन्सी र्‍याकेट’का ८ जना सदस्य पक्राउ परेका छन् ।

जुत्ता बेचेको केही समयपछि रकम नियाल्दा सञ्चालकलाई शंका लाग्यो । हेर्दा सक्कली देखिने ती नोट नक्कली जस्तो लागेपछि पसल सञ्चालकले प्रहरीलाई खबर गरे । प्रहरीले रकम नियाल्यो र नक्कली भएको पुष्टि गर्‍यो । तर नक्कली नोट लिएर जुत्ता किन्न आउने व्यक्तिबारे केही पत्तो थिएन ।

सीसी क्यामेरा फुटेजमा नक्कली नोट बोकर जुत्ता किन्न गएका व्यक्ति मोटरसाइकल चढेर फर्किएको देखियो । फुटेजमा देखिएको मोटरसाइकल नम्बरको आधारमा प्रहरीले ती व्यक्ति दावा नोर्बु शेर्पा भएको पहिचान गर्‍यो ।

सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका-२ घर भई काठमाडौं साँखु बस्ने ३२ वर्षीय शेर्पालाई जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धको टोलीले पक्राउ गर्‍यो । उनै शेर्पाबाट सुरु भएको अनुसन्धानले अहिलेसम्म ८ जना पक्राउ परेको परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

दावामाथि अनुसन्धान गर्दा प्रहरीले थप पाँच जनालाई पक्राउ गरेको थियो ।

नक्कली नोट दिएर साढे १४ हजारको जुत्ता किन्ने दावा नोर्बु शेर्पा।

पक्राउ पर्नेमा बाह्रबीसे-२ नै घर भएका ४४ वर्षीय पासाङ शेर्पा, मेलम्ची नगरपालिका-३ घर भई साँखु बस्ने ३२ वर्षीय प्रकाश गुरुङ, सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका-१० घर भएकी ४२ वर्षीया रेणुका भारती, सिन्धुपाल्चोक बलेफी गाउँपालिका-२ घर भएका ६५ वर्षीय गोकर्ण थापा र काठमाडौं शंखरापुर नगरपालिका-३ का सुकबहादुर स्याङ्बो छन् ।

उनीहरूबाट प्रहरीले ९३ थान नक्कली हजार दरका नोट पनि बरामद गरेको थियो । नक्कली नोटले रिचार्ज किनेको समेत अनुसन्धानबाट खुल्यो । तर यी नोट कसले कहाँ छापेर बजारमा पुर्‍यायो भन्ने खुल्न बाँकी नै थियो ।

पक्राउ परेकाहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको थियो । त्यसपछि सोमबार मात्रै यसका योजनाकारसहित दुई जनालाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।

भारतमा अपरेसन

काठमाडौंबाट ६ जना पक्राउ परे पनि अन्य व्यक्ति भने पक्राउ पर्न बाँकी नै थियो । सोही क्रममा बारा कलैया उपमहानरपालिका-२ कबलपुरका २८ वर्षीय गौरीशंकर यादव पक्राउ परे । यादवलाई पक्राउ गरेर अनुसन्धान गर्दा खुल्यो- यसका योजनाकार भारतमा छन् ।

भारतमा बसेर नक्कली नोट छाप्दै नेपाली बजारमा पुर्‍याएको देखिएपछि भारतीय प्रहरीको समन्यमा अपरेसन गरेर प्रहरीले अर्का व्यक्तिलाई पक्राउ गर्‍यो ।

जसअनुसार आइतबार बाराको फेटा गाउँपालिका-३ घर भएका २८ वर्षीय रविकुमार श्रीवास्तव समातिए । उनलाई भारतीय प्रहरीको सहयोगमा बिहार मोतिहारी लाला टोल पनौनामा अपरेसन चलाएर पक्राउ गरिएको हो ।

मोतिहारीको पतौरा गाउँमा रहेको एउटा घरलाई नक्कली मुद्रा छाप्ने कारखानामा परिणत गरिएको थियो ।

बाहिरबाट हेर्दा साधारण जस्तै देखिने त्यो घरमा भित्र भने पैसा छाप्ने मेसिन नै राखेर नेपाली र भारतीय नक्कली नोट छपाइ हुने गरेको भारतीय प्रहरीले बताएको छ ।

निश्चित टार्गेट दिएर नक्कली नोट छाप्ने काम हुने गरेको भारतीय सञ्चार माध्यमले समेत उल्लेख गरेका छन् ।

योजनाकार भोजपुरी गायक

भारतबाट पक्राउ परेर काठमाडौं ल्याइएका रवि भोजपुरी गायक रहेको पाइएको छ । नेपालमै रहेर नक्कली नोट छाप्दा असुरक्षित हुने भएपछि भारतमा डेरा नै लिएर यो काम गरेको उनले प्रहरीसमक्ष बताएका छन् ।

रवि श्रीवास्तव अफिसियल नाममा उनले युट्युब च्यानलसमेत चलाएका छन् । जसमा उनले २०० भन्दा बढी भिडियो पोस्ट गरेका छन् । आफैंले गायका भोजपुरी गीतहरू उनले आफ्नो युट्युब च्यानलमा पोस्ट गर्ने गरेको देखिन्छ । उनका गीतमा २ मिलियनसम्म भ्युज देखिन्छ । रवि श्रीवास्तव भोजपुरी गीत क्षेत्रमा चर्चित नाम रहेको यसले पुष्टि गर्छ ।

उनै चर्चित भोजपुरी गायकको बिहारमा रहेको कोठामा अपरेसन गरी प्रहरीले नक्कली नोट छाप्ने मेसिनसमेत बरामद गरेको छ ।

उनीबाट भारतीय नम्बर प्लेट बीआर ०५ एएफ २५११ नम्बरको बुलेट मोटरसाइकल, ५ वटा गड्डीमा भारु ५०० दरका ३१७ थान नक्कली नोट, एलजीको मोनिटर, प्रिन्टर, सीपीयू, लेजर टोनर, नक्कली पेस्तोल, लालीगुँरासको वाटरमार्क छापिएको १ हजार दरको १८० थान कागज र सादा कागज ७५ गरी जम्मा २५५ थान कागज बरामद भएको छ ।

३ महिनादेखि छपाइ

अहिले प्रहरी हिरासतमा रहेका गायक श्रीवास्तवले प्रारम्भिक सोधपुछका क्रममा पछिल्लो तीन महिनादेखि नक्कली नोट छाप्न सुरु गरेको बयान दिएका छन् । श्रीवास्तवको भनाइलाई उद्धृत गर्दै एक अनुसन्धान अधिकृत भन्छन्, ‘युट्युब हेरेर रकम छाप्न सिकेको हुँ । अहिलेसम्म नक्कली नोट बजारमा पठाएर आफूले २ लाख ७० हजार कमाएको छु ।’

गुगलबाट नेपाली र भारु नोट सर्च गर्ने र त्यसैको कपी गरेर छाप्ने गरेको उनले बताएका छन् । रकम छाप्नका लागि ३५ हजार भारुमा प्रिन्टर खरिद गरेको उनको भनाइ छ ।

बिहारमा बसेर नक्कली नोट छाप्ने र गौरी शंकर यादवमार्फत ती नोटहरू नेपाली बजारमा पठाउने गरेको देखिएको प्रहरीले बताएको छ । त्यसवापत गौरी शंकरले उनलाई २ लाख ७० हजार बुझाइसकेका छन् । बाँकी रकम भने विभिन्न व्यक्तिलाई कमिसनस्वरूप बुझेको बताइएको छ ।

श्रीवास्तले प्रहरीलाई बताएअनुसार उनले अहिलेसम्म ९ लाख नेपाली रुपैयाँ छापेको बताएका छन् ।

जेलबाट भागेर फेक करेन्सीको कारोबार

कारागारबाट भागेर नक्कली नोटको कारोबारमा संलग्न प्रकाश गुरुङ।

फेक करेन्सी प्रकरणमा पक्राउ परेका ८ जनामध्ये सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-३ घर भई साँखु नै बस्ने ३२ वर्षीय प्रकाश गुरुङ कारागारबाट भागेका व्यक्ति हुन् ।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा उनी ललितपुरस्थित नख्खु कारागारमा थिए । २४ भदौमा उनी नख्खु कारागाराबाट भागेका हुन् । त्यसपछि अहिले फेक करेन्सी कारोबारमा जोडिएको खुलेको एसपी भट्टराई बताउँछन् ।

लागुऔषध मुद्दामा उनलाई ५ वर्ष कैद र ११ हजार रुपैयाँ जरिबानाको फैसला अदालतले सुनाएको थियो । गत ३ असारमा मात्रै उनी कारागार चलान भएका थिए ।





Read More