― Advertisement ―

किन्डल प्राइम डे डिलहरू पहिले नै सुरु भइसकेका छन् — म Kindle, Paperwhite र Colorsoft सबै 33% सम्मको छुटमा बिक्रीमा देख्छु, एउटा सानो क्याचको...

गत वर्षको ठूलो बिक्रीको रूपमा, Amazon ले आफ्नो प्राइम डे सुरु गरेको छ Kindle यो वर्षको सुरुमा डिलहरू छन्। कार्यक्रम प्राविधिक रूपमा अर्को मंगलबार...
HomeLatest newsफेरि आफ्नै खुट्टामा उभिएर देशका लागि योगदान दिन चाहन्छु

फेरि आफ्नै खुट्टामा उभिएर देशका लागि योगदान दिन चाहन्छु


केन्द्रले मलाई अब घर जानू भनिरहेको छ । तर थप उपचार, लामो समयको पुनर्वास र महँगा औषधिहरूका लागि धेरै खर्च लाग्छ ।

राष्ट्रिय

समाचार.

  • प्रदर्शनमा गोली लाग्दा राकेश कुमार महतोको मेरुदण्डमा गोली लागेर दुवै खुट्टामा प्यारालाइसिस भएको छ।
  • राकेशले थप उपचारका लागि सरकारसँग विशेष अस्पतालमा उपचारको व्यवस्था गर्न विनम्र अनुरोध गरेका छन् ।

मेरो नाम राकेश कुमार महतो हो । मेरो स्थायी घर सर्लाही जिल्ला हो । गत भदौ २३ मेरा लागि कहिल्यै नबिर्सने दिन बन्यो । तत्कालीन सरकारको अत्याचार, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरुद्धमा हजारौं युवाहरू मिलेर शान्तिपूर्ण आवाज उठाएका थियौं ।

देशमा दिनदिनै बढ्दै गएको भ्रष्टाचार, नातावाद, युवाहरूको बेरोजगारी र विदेश पलायनको पीडा, अनि सरकारले अचानक फेसबुक जस्ता प्लेटफर्महरू बन्द गरेर जनताको आवाज दबाउने प्रयास गरेपछि बाध्य भएर हामी विरोधमा उत्रियौं।

यो कुनै हिंसात्मक आन्दोलन थिएन, न्याय र परिवर्तनका लागि युवाहरूको शान्तिपूर्ण पुकार थियो ।

म पनि त्यही भीडमा थिएँ । माइतीघर मण्डलाबाट सुरु भएको आन्दोलन बानेश्वरतर्फ अघि बढ्दै थियो । हजारौं जेनजी युवाहरूले नारा लगाइरहेका थिए– भ्रष्टाचार गर्ने जेल हाल, सामाजिक सञ्जाल खोल, युवाको आवाज दबाउन पाइँदैन ।

सबै एकजुट भएर शान्तिपूर्ण प्रदर्शन गरिरहेका थियौं । तर अचानक राज्यको दमन सुरु भयो । प्रहरीले हाम्रो शान्तिपूर्ण आवाज दबाउन पानीको फोहोरा, अश्रुग्यास र अन्तमा त गोली नै चलाउन थाल्यो ।

गोलीको वर्षा भएपछि त्यहीँ म ढलेको थिएँ। प्रहरीको गोली मेरो स्पाइनल कर्ड (मेरुदण्ड) मा लाग्यो । त्यो पीडा शब्दमा वर्णन गर्न सक्दिनँ । एकैछिनमा मेरो शरीरको तल्लो भाग सुन्नियो । शरीर रगतै रगतै भयो । खुट्टा चल्न छोड्यो । म छटपटाइरहेको थिएँ । साथीहरूले उठाएर राष्ट्रिय ट्रमा सेन्टर अस्पतालमा लगे ।

२४ भदौमा मेरो अप्रेसन भयो । डाक्टरहरूले भने अनुसार मेरो दुवै खुट्टामा प्यारालाइसिस भएको थियो । ट्रमा सेन्टरबाट थप उपचारका लागि मलाई स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्र बनेपा पठाइयो। अहिले यहीं उपचाररत छु ।

यस केन्द्रले आफ्नो तर्फबाट अहिलेसम्म सबै उपचार निःशुल्क गरिदिएको छ । जसका लागि म उहाँहरूप्रति सधैं कृतज्ञ रहनेछु । मेरो खुट्टामा बिस्तारै सुधार आइरहेको छ। पहिले कत्ति पनि चल्दैनथ्यो, अहिले हिँड्न प्रयास गर्दा केही सपोर्टमा उभिन सक्छु ।

डाक्टरहरू भन्नुभएको छ– अझै केही समय निरन्तर फिजियोथेरापी, औषधि र विशेष उपचार भयो भने थप सुधार हुन सक्छ । हुन त पूर्णरूपमा पहिलेजस्तै हुन गाह्रो छ । तर सामान्य जीवन जिउन सक्ने अवस्था आउन सक्छ भनेर डाक्टरले भन्नुभएको छ ।

तर केन्द्रले मलाई अब घर जानू भनिरहेको छ । उहाँहरूको क्षमता अनुसार जति सकिन्छ गरिदिनुभयो । तर थप विशेषज्ञ उपचार, लामो समयको पुनर्वास र महँगा औषधिहरूका लागि धेरै खर्च लाग्छ ।

म एउटा साधारण परिवारको व्यक्ति भएकाले यति धेरै खर्च थेग्न सक्दिनँ । मलाई थप उपचारको आवश्यकता छ । यो आन्दोलनमा राज्यको गोलीबाट घाइते भएका हामीहरूको जिम्मेवारी सरकारको हो । तत्कालीन सरकारले हाम्रो शान्तिपूर्ण आवाज दबाउन गोली चलायो, जसले धेरै युवाहरूको ज्यान गयो, सयौं घाइते भए ।

अहिले जेनजीकै समर्थनको सरकार छ । तर घाइतेहरूको उपचारको सवालमा पूर्णरूपमा बेखबर जस्तो देखिन्छ । सरकारले घाइतेहरूलाई वर्गीकरण गरेर उपचार खर्च बेहोर्ने भनेको सुनिन्छ । तर व्यवहारमा धेरै घाइतेहरू अझै छटपटाइरहेका छन्, उपचार नपाएर ।

म सरकारसँग विनम्र अनुरोध गर्छु– मलाई अर्को विशेष अस्पतालमा थप उपचार गराइदिनुहोस्, वा यही स्पाइनल इन्जुरी सेन्टरमा नै लामो समयको उपचारको पूर्ण व्यवस्था मिलाइदिनुहोस् ।

म जस्ता जेनजीका घाइतेहरूको पीडा देखेर सरकार मौन बस्नुहुँदैन । यो आन्दोलनले देशमा परिवर्तन ल्यायो, तर घाइतेहरूको उपचार र न्याय नभई यो परिवर्तन अधुरो रहन्छ।

कृपया मेरो आवाज सुन्नुहोस्, मलाई थप उपचारको व्यवस्था गरिदिनुहोस् । म फेरि सामान्य जीवन जिउन चाहन्छु । फेरि आफ्नो खुट्टामा उभिएर देशको लागि योगदान दिन चाहन्छु ।





Read More