― Advertisement ―

LinkedIn ले अब तपाइँलाई तपाइँका सबै मनपर्ने कार्यस्थल एपहरूसँग तपाइँसँग कस्तो सीपहरू छन् भनेर देखाउन दिनेछ

तपाईँको लिङ्क गरिएको एपहरूसँग स्वचालित रूपमा अपडेट हुनेछ। सीपहरूAdobe र GitHub चाँडै समर्थित सूचीमा थपिँदै छLinkedIn का १.३ बिलियन प्रयोगकर्ताहरू छन्, त्यसैले यसले तपाईंलाई...
HomeLatest newsक्षमताको आधा पनि उत्पादन गर्न सकेनन् नेपालका उद्योगले

क्षमताको आधा पनि उत्पादन गर्न सकेनन् नेपालका उद्योगले


राष्ट्रिय

समाचार.

  • नेपाल राष्ट्र बैंकको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ मा उद्योगको औसत क्षमता उपयोग ४४.५ प्रतिशत मात्र रहेको छ।
  • उद्योग क्षेत्रमा प्रवाह गरिएको कर्जा १६ खर्ब ९९ अर्ब ४९ करोड पुगेको छ, जसमा गैरखाद्य वस्तु उद्योगले सबैभन्दा बढी ३५.२७ प्रतिशत कर्जा पाएको छ।
  • अध्ययनले नयाँ उद्योग स्थापना प्रक्रियागत जटिलता, कच्चापदार्थ अभाव र राजनीतिक अस्थिरतालाई उद्योग विकासका मुख्य चुनौतीहरू बताएको छ।

१८ पुस, काठमाडौं । नेपालका उद्योगहरू अहिले पनि क्षमताको आधाभन्दा कम उत्पादनमा चलिरहेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को आर्थिक गतिविधि अध्ययन २०८१/८२ को वार्षिक एकीकृत प्रतिवेदन अनुसार उद्योगको औसत क्षमता उपयोग ४४.५ प्रतिशतमात्र रहेको छ । जुन २०८०/८१ को तुलनामा समेत कम हो ।

यसले समग्र अर्थतन्त्रमा प्रभाव पारेको छ । यस आव अर्थतन्त्र विस्तार ४ प्रतिशतमात्र भएको छ । नेपालको अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान १२.८ प्रतिशत छ ।

राष्ट्र बैंकका अनुसार गत आवमा टायर तथा ट्यु उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९० प्रतिशत छ । घिउ उत्पादन गर्ने उद्योगको क्षमता भने सबैभन्दा कम १.१० प्रतिशतमात्र उपयोगमा आएको देखिएको छ ।

गत आव वनस्पति घिउ, भटमासको तेल, बिस्कुट, चाउचाउ, बियर, चुरोट, सिन्थेटिक कपडा, लत्ताकपडा, कच्चा छाला, प्लाइउड उत्पादन बढेको पाइएको छ ।

यसैगरी ट्याबलेट औषधि, क्याप्सुल, ओइन्टमेन्ट, ड्राइ सिरप, लिक्विड, साबुन, प्लास्टिकका सामान, फलामको छड तथा पत्ती, स्टिलजन्य उत्पादन, जीआई पाइप र ट्रान्स्फर्मर उत्पादन गर्ने उद्योगको समेत उत्पादन क्षमता उपयोग बढेको छ ।

तोरीको तेल, प्रशोधित दूध, चामल, गहुँको पिठो, पशुदाना, चिनी, चकलेट, प्रशोधित चिया, मदिरा, हल्का पेय पदार्थ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग घटेको छ ।

यसैगरी धागो, पश्मिना, जुटका सामान, चिरेको काठ, कागज, रोजिन, रङ, पोलिथिन पाइप, इँटा, सिमेन्ट, कंक्रिट, जीआई तार, घरेलु धातुका सामान, आल्मुनियम उत्पादन, बिजुलीका तार र केबुल, टायर तथा ट्युब, चप्पल र बिजुली उत्पादन गर्ने उद्योगको क्षमता उपयोग घटेको राष्ट्र बैंकले जनाएको छ ।

तथ्यांक अनुसार उक्त आव मधेश र कर्णाली प्रदेशको उद्योगको औसत क्षमता उपयोग बढेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको उद्योगको औसत क्षमता उपयोग घटेको छ ।

२०८२ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामा औद्योगिक क्षेत्र कर्जाको अंश ३०.४२ प्रतिशत देखिन्छ । यस अवधिसम्म औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा १६ खर्ब ९९ अर्ब ४९ करोड पुगेको छ । यो गत आवको सोही अवधिभन्दा ९.३५ प्रतिशतले बढी हो ।

यस्तो कर्जा सबैभन्दा बढी गैरखाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगमा ३५.२७ प्रतिशत, विद्युत, ग्यास तथा पानी सम्बन्धी उद्योग २६.२६ र कृषि वन तथा पेय पदार्थ सम्बन्धी उद्योग २१.८५ प्रतिशत कर्जा प्रवाह भएको छ ।

यसैगरी निर्माण सम्बन्धी उद्योगमा ११.७० प्रतिशत, धातुका उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक सम्बन्धी उद्योग ४.२३ र सबैभन्दा कम खानी सम्बन्धी उद्योगमा ०.६९ प्रतिशत कर्जा प्रवाह भएको तथ्यांक छ ।

प्रवाहित कर्जामध्ये बागमती प्रदेशमा सबैभन्दा धेरै १२ खर्ब ८० अर्ब ९७ करोड रुपैयाँ रहेको छ । त्यसपछि कोशी र लुम्बिनीमा धेरै छ ।

७ सय उद्योग थपिए

उद्योग दर्ता तथ्यांक भने उत्साहजनक छ । एक वर्षमा उद्योग विभागमा कुल ७ सय उद्योग दर्ता भएको देखिएको छ । जसमध्ये पर्यटन क्षेत्रमा २ सय ३५, सेवा क्षेत्र १ सय १०, उत्पादनमूलक क्षेत्र १ सय ६, सूचना तथा प्रविधि १ सय ८५, कृषि तथा वन १२, पूर्वाधार २ र खनिजजन्य १२ उद्योग दर्ता भएको विभागको तथ्यांक छ ।

तीमध्ये ६८ ठूला, ५४ मझौला र ५ सय ७८ साना उद्योग छन् । यी उद्योगमा २५ खर्ब ८१ अर्ब १८ करोडको कुल पूँजी परिचालन हुने र ३५ हजार १ सय ४१ रोजगारी सिर्जना हुने अनुमान छ । दर्ता उद्योगमध्ये ५ सय ४३ बागमती प्रदेशमा छन् । कर्णालीमा एउटामात्र उद्योग दर्ता भएको छ ।

कुन प्रदेशमा कति उद्योग दर्ता ?

कोशी : ४२

मधेश: ३०

बागमती : ५४३

गण्डकी : ३०

लुम्बिनी : ४३

कर्णाली : १

सुदूरपश्चिम : ११

नवीनतम उद्योग खुलेनन्, पराम्परागतलाई कच्चापदार्थ अभाव

अध्ययनले नवीनतम उद्योग स्थापना तथा सञ्चालन प्रक्रियागत जटिलताका कारण नयाँ उद्योगमा लगानी आउन नसकेको देखाएको छ ।

अर्कातर्फ, नेपाली उद्योगले सडक पूर्वाधार समयमै पुनर्निर्माण नहुँदा कच्चापदार्थ ढुवानी र उत्पादित वस्तुको बजारीकरणमा समस्या भोगिरहेको देखिएको छ । युवा विदेश पलायन हुँदा जनशक्ति अभाव र सरकारले पूँजीगत खर्च गर्न नसक्नुलाई समेत मुख्य चुनौती मानिएको छ ।

राजनीतिक अस्थिरताका कारण उद्योगहरूले सुरक्षा चुनौती समेत भोगिरहेका छन् । अवैध व्यापार नियन्त्रण गर्न नसक्दा स्वदेशी उत्पादन मारमा परेको देखिएको छ । परम्परागत उद्योगको उत्पादन लागत बढी हुँदा प्रतिस्पर्धात्मक क्षमता बढाउन सकिएको छैन ।

नेपालका अधिकांश सडक अहिले निर्माण चरणमा छन् । तर, ठेक्का लागेको समय अवधिभित्र नसकिने समस्याले ढुवानी लागत बढेको छ । बागमती प्रदेशका उद्योगले जग्गाको चर्को मूल्यका कारण प्रतिस्पर्धी क्षमता घटेको गुनासो गरेका छन् । अधिकांश उद्योग कच्चापदार्थका लागि आयातमा भर पर्नुपर्ने बाध्यतामा नेपाली उद्योग छन् ।

परनिर्भरता हटाउन स्वदेशी उद्योगमा जोड दिन सकिने सम्भावना

राष्ट्र बैंकले आफ्नो अध्ययनमा औद्योगिक विकासका लागि सम्भावना समेत उजागर गरेको छ । प्राकृतिक स्रोत उपलब्धता, तुलनात्मक सस्तो जनशक्ति, बढ्दो बैकिङ पहुँच, घट्दै गरेको ब्याजदर, स्वदेशी वस्तु उत्पादन र प्रयोगमा सरकारको प्राथमिकता, बढ्दै गएको प्रविधि प्रयोग, कृषिजन्य उत्पादन प्रचुर हुने भएकाले नेपालमा औद्योगिक विकासको राम्रो सम्भावना रहेको देखाएको छ ।

सिमेन्ट, स्टिल, चिया, जस्तापाता, पेन्ट, विद्युतीय केबुल तथा कन्डक्टर लगायत उद्योग आत्मनिर्भरतातर्फ उन्मुख रहेको समेत देखिएको छ । यसबाट यी वस्तुको आयात घट्दै निर्यात प्रवर्द्धन गर्न सकिने सम्भावना औँल्याइएको छ ।

अध्ययनले कोशीमा जडीबुटी प्रवर्द्धनको सम्भावना आँैल्याएको छ । मधेशमा औद्योगिक जोन विकास गर्न सकिने सम्भावना देखाइएको छ । बागमतीमा बजारीकरण र खपत सम्भावना अधिक देखिएको छ । गण्डकीमा मध्यपहाडी लोकमार्ग छेउछाउका स्थानलाई आर्थिक केन्द्रका रूपमा विकास गरी साना तथा मझौला उद्योग विकासको सम्भावना औँल्याइएको छ ।

लुम्बिनीमा प्राकृतिक वस्तु र खनिज निकासी सम्भावना देखाइएको छ । कर्णालीमा समेत खानी र जलविद्युत् क्षेत्रको विकासको सम्भावना छ । सुदूरपश्चिम प्रदेशमा विदेशबाट फर्केका युवाको सिप उपयोग गरी उद्यम विकास गर्दै अर्थतन्त्र उकास्न सकिने सम्भावना देखाइएको छ ।





Read More