― Advertisement ―

Crunchyroll BMW र Mini Vehicles मा 40 अन्य ब्रान्डहरू पछ्याउन आउँदैछ – र म मेरो कारमा एनिमे हेर्न पर्खन सक्दिन।

Minchyatroll मा आउँदैछ सवारी साधनहरूयो अटोमोटिभ एप डिस्ट्रिब्युसन प्लेटफर्म Appning सँगको नयाँ साझेदारीको अंशको रूपमा आएको हो४० भन्दा बढी कार ब्रान्डहरूले लोकप्रिय एनिमे स्ट्रिमिङ...
HomeLatest newsबन्लान् कागामे, हुभर र लि क्वान ? – KhabarHost

बन्लान् कागामे, हुभर र लि क्वान ? – KhabarHost



कल्पना गर्नुस् त, जम्मा ७० लाख जनसंख्या रहेको कुनै देशमा १०० दिनकै अवधिमा १० लाख मानिसको हत्या भयो भने बाँचेकाहरूको हविगत कस्तो हुन्छ ? त्रसित जनता र रगत लत्पतिएको देशको अवस्था कस्तो हुन्छ ? कल्पना मात्रै गर्दा पनि शरीरमा काँडा उम्रन्छ । तर, अफ्रिकी देश रुवाण्डाले सन् १९९४ मा यो त्रासदी प्रत्यक्ष भोगेर आएको छ । अकल्पनीय जनधनको क्षति, द्वेषपूर्ण र विभक्त समाज, शून्य अर्थतन्त्र अनि जताततै खरानीको थुप्रो !

यस्तो अवस्थाबाट आफ्नो यात्रा शुरु गरेको रुवान्डा २० वर्षकै अवधिमा आफूलाई विश्व मानचित्रमा ‘अफ्रिकाको सिंगापुर’को रूपमा चिनाउन सफल भएको छ । रुवाण्डा विकसित मुलुक भइसकेको छैन तर त्यो पथमा अवश्य छ । तीव्रतर आर्थिक वृद्धि, तीव्र औद्योगिकीकरण र कृषिमा आधुनिकीकरण गर्ने दिशामा अघि बढिरहँदा रुवाण्डा अफ्रिकाको सफल राष्ट्र भने बनिसकेको छ । सन् २०५० को लक्ष्य तोकेर अतिविकसित देशको रूपमा दर्ज हुने जबर्जस्त यात्रामा छ ।

१० वर्षे सशस्त्र द्वन्द्व र २०६३ सालको शान्तिपूर्ण व्यवस्था उलटपलटको जगमा टेकेर शुरु भएको नेपालको लोकतान्त्रिक यात्रा पनि २० वर्ष पुग्नै लागेको छ । तर अहिलेसम्म नेपाल लयमा आउन सकेको छैन । रुवाण्डाले राष्ट्र विकासको लागि दीर्घकालीन दृष्टि बनायो, बहसलाई कम गर्दै परिणाममा जोड दियो ।

नेपालमा बहस मात्रै व्यापक भयो तर परिणाम भने न्यून । रुवाण्डाले आन्तरिक उत्पादनमा जोड दियो, नेपालले श्रमशक्ति पैठारीमा । रुवाण्डामा कानूनको डर मान्नुपर्ने अवस्था बनाइयो, नेपालमा कानून नै डराउनुपर्ने अवस्था बन्यो । रुवाण्डामा राज्यका निकाय र प्रशासनसँग अनुशासन छ, तर नेपालमा अनुशासन नै मुख छोपेर हिंड्नुपर्ने अवस्था रहेको छ ।

रुवाण्डाको सफलता कुनै चमत्कार होइन । यो भाषणको परिणाम पनि होइन । यो कठोर निर्णय, अनुशासन र निरन्तरताको नतिजा हो । सन् १९९४ को नरसंहारपछि रुवाण्डा असफल राष्ट्र भइसकेको थियो । दश लाख नागरिकको हत्या, राज्य संरचना ध्वस्त, जातीय दंगा, आपसी अविश्वास, शून्यमा झरेको अर्थतन्त्र, अन्तर्राष्ट्रिय समुदायको चर्को दबाबको बीचमा पल कागामे उदाए । उनले भावनामा होइन, प्रणालीमा हात हाले ।

सन् २००० मा राष्ट्रपति चुनिएका कागामेले पदभार सम्हाल्ने बित्तिकै विज्ञहरूको टोलीलाई विकसित देशहरूको प्रगतिको सूत्र अध्ययन गर्न पठाए । जुन कारणले जातीय हिंसा भड्कियो, त्यसलाई रोक्न जातीय परिचय बदलेर नागरिकहरूलाई रुवाण्डी परिचय दिलाए । कागामेलाई थाहा थियो, विकास राष्ट्रपति वा मन्त्रीले होइन ब्यूरोक्रेसीले गर्छ । नेतृत्वले थिति बसाल्ने हो, मन्त्री हाकिम नभएर समन्वयकर्ता हो भन्ने आभास हुने गरी काम गर्न अह्राए । त्यसले कर्मचारीतन्त्र राजनैतिक नियन्त्रणबाट मुक्त भयो ।

देश विकासको लागि दूरदृष्टि चाहिन्छ, त्यो जुनसुकै सरकार आए पनि परिवर्तन हुनुहुँदैन भन्ने मान्यता स्थापित गराए । जसको लागि उनले एक राष्ट्रिय योजना बनाए जसलाई सबै सरकारले मान्नुपर्ने थिति बसाले । सरकार बदलिए पनि प्राथमिकता बदलिंदैन, बजेट दिशाहीन हुँदैन, परियोजना रोकिंदैन भन्ने कुरा स्थापित गराए ।

नेपालमा नेताको अभाव कहिल्यै भएन तर नेतृत्वको अभाव सधैं भइरह्यो । यही शून्यतामा रवि-बालेन उदाएका हुन्

कागामेको सबैभन्दा प्रभावकारी काम हो, भ्रष्टाचारप्रति शून्य सहनशीलता । ओली, प्रचण्ड र देउवाले जस्तो ओठे सहनशीलता होइन, साँच्चिकै दण्डयोग्य । उनले आफ्नै पार्टीका नेताहरूलाई पनि जेल हाले, ‘मेरो मान्छे’ भन्ने संस्कार समाप्त पारे ।

नेपाल जस्तै ८० प्रतिशत निर्वाहमुखी कृषि प्रणाली रहेकोमा त्यसलाई आधुनिकीकरण गर्न जग हाले, देशको श्रमशक्तिको निर्यात होइन, त्यसको मूल्य निर्माण गर्नुपर्छ भनेर अर्थतन्त्र सबलीकरणको योजना बनाए । सीमित राजनैतिक स्वतन्त्रता र शक्ति केन्द्रीकरणका बाबजुद चुस्त निर्णय, नीतिको निरन्तरता, भ्रष्टाचार नियन्त्रण र चलायमान प्रशासनका कारण रुवाण्डा सफल भयो । अहिले जनसंख्याको बनोट र क्षेत्रफलका हिसाबले नेपालभन्दा असाध्यै सानो राष्ट्र रुवाण्डाको आर्थिक प्रगति दर नेपालको भन्दा तीन गुणा बढी छ ।

रोजगारी दर पनि उन्नत छ । व्यापार गर्न सकिने सूचकांकमा अफ्रिकाकै पहिलो स्थानमा रहेको रुवाण्डाले संसद्मा महिलाहरूलाई ५० प्रतिशत हुनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । वैदेशिक लगानीका लागि आकर्षणको केन्द्र बन्दै गएको रुवाण्डामा अमेरिका, चीन लगायत विकसित देशहरूले करोडौं डलर लगानी गरेका छन् । व्यापार व्यवसाय दर्ता प्रक्रिया कम झण्झटिलो बनाउँदै दुई दिनमै सम्पन्न गर्न सकिने बनाएपछि लगानी व्यापक भित्रिरहेको छ ।

कागामे बन्ने अवसर शुरुमा गिरिजाप्रसाद कोइरालालाई आएको थियो । उनले अन्तरिम संविधानमा अल्पमत र बहुमत राख्न जोडबल नगरेको भए नयाँ संविधान बन्न एक दशक लाग्ने थिएन । मुलुकलाई सही ट्रयाकमा जानबाट रोक्ने काम कोइरालाले गरे । त्यसपछि प्रचण्डको पालो आयो तर उनको अवसर केटाकेटीपनमै बित्यो । २०७४ मा केपी शर्मा ओलीलाई त्योभन्दा ठूलो अवसर आयो । त्यो अवसर अहंकारको डढेलोले भष्म बनायो ।

शेरबहादुर देउवालाई त अवसरको कहिल्यै कमि थिएन । नेतृत्व निदाएर बसे पनि देशको विकास क्रमिक र स्वत:स्फूर्त हुन्छ भन्ने हाइसन्चो मान्यताका नेता हुन् उनी । उनलाई फड्को मार्ने हतार कहिल्यै भएन, उनको उद्देश्य सात पटक प्रधानमन्त्री बनेर नाम लेख्नुबाहेक अर्थोक केही थिएन । जेहोस्, चारै शीर्ष नेताहरूले एकसे एक अवसर गुमाए र असफल भए ।

अब त्योभन्दा ठूलो अवसर कसैलाई आउँदैछ भने त्यो रवि लामिछाने र बालेन शाहलाई हुनेछ । त्यसमा कुलमान घिसिङ र डा. स्वर्णिम वाग्लेले आर्किटेक्टको काम गर्न सक्छन् । पछिल्लो घटनाक्रमले रवि, बालेन र कुलमान एउटै रथका सारथि भएका छन् । उनीहरूका आफ्नै विशेषता छन् ।

नेपालमा नेताको अभाव कहिल्यै भएन तर नेतृत्वको अभाव सधैं भइरह्यो । यही शून्यतामा रवि लामिछाने उदाएका हुन्– कुनै वंश, कुनै परम्परागत पार्टी संरचना र कुनै राजनीतिक उत्तराधिकार विना । उनले सत्ताभन्दा अघि विश्वास कमाए ।

जनतामा रहेको विश्वासले सत्ता जन्माउँछ । रवि राष्ट्रिय राजनीतिमा जबर्जस्त पदार्पण गर्दैगर्दा त्यसअघि नै स्थानीय सत्ताको बागडोर सम्हालेका बालेन शाहले कठोर शहरी व्यवस्थापनको नीति लागू गर्न शुरु गरिसकेका थिए । उनले देखाएको स्पष्ट रोडम्याप के हो भने नेतृत्वमा भ्रष्ट आचरण भएन भने स्थानीय सरकार पनि शक्तिशाली र प्रभावकारी हुनसक्छ ।

दलीय सिन्डिकेट तोडेर स्थानीय सत्तामा विराजमान बालेन शाह बोल्नेभन्दा काम गरेर देखाउने प्रवृत्तिका व्यक्ति हुन् । केही स्वभाव सिंगापुरका ली क्वान यूसँग मिल्ने बालेन आलोचना र दबाब बीच पनि निर्णयबाट पछि नहट्ने स्वभावका छन् भने प्रत्यक्ष जनसम्पर्कबाट अलिक टाढा रहे पनि योजनाको इन्जिनियरिङका दृष्टिमा अब्बल छन् ।

बालेनमा अलोकतान्त्रिक चरित्र होला, तर पनि काठमाडौं महानगरमा अघिल्ला मेयरको पालामा जस्तो अनियमितता, भ्रष्टाचार, लफडा र ढिलासुस्ती भएको छैन । अर्थात्, काठमाडौं अपेक्षित सुधारमा ढिला छ होला तर गलत बाटोमा छैन । भावी प्रधानमन्त्रीको रूपमा घोषित बालेन शाह प्रधानमन्त्रीमा निर्वाचित भएसँगै निरकुंश बन्न खोजे पार्टीले उनलाई लोकतान्त्रिक बाटोमा हिंड्न लगाउनेछ नै ।

रवि र बालेन ती प्रतिनिधि पात्र हुन् जसले दशकौंदेखि जरा गाडेर बसेको तीनदलीय सिन्डिकेट तोड्ने प्रयास गरे । एउटा केन्द्रीय सत्तामा र अर्को स्थानीय सत्तामा हस्तक्षेपकारी भूमिकामा हुँदा देखिएको सामान्य परिवर्तनले जनतामा ठूलो आशा पलाएको हो । हुनत सत्ता जन्मिंदैमा राष्ट्र निर्माण भइहाल्दैन, राष्ट्र त सही समयमा सही निर्णय क्षमताले निर्माण हुन्छ ।

पार्टीको आन्तरिक कलह, अन्तरपार्टी लडाइँ र निर्णय क्षमताको अभावमा ओली, प्रचण्ड र देउवाहरू असफल रहे । उनीहरू नीतिमा चलेनन्, भागबण्डामा चले । दीर्घकालीन योजना होइन, आफ्नो कार्यकालमुखी सोच मात्रै बनाएर काम गरे जसले गर्दा नेपाल एक पाइला अघि बढ्ने तर दुई पाइला पछि सर्ने जस्तो अवस्था बन्यो ।

इतिहासले के देखाउँछ भने, राष्ट्र रूपान्तरण गर्न नेता राजनीतिज्ञ नै हुनुपर्छ भन्ने छैन । दृष्टि, नैतिकता र निर्णय क्षमताले ठूलो भूमिका खेल्छ ।

नेपालको राजनीतिमा समस्या नयाँ होइन, तर नेतृत्वको खडेरी भने गहिरिंदै गयो । यही खडेरीको बीच २०७९ को स्थानीय चुनावमा बालेन र आम चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीले आकर्षक मत प्राप्त गर्‍यो । बालेन र रास्वपाका सभापति रवि लामिछाने संस्थापनविरोधी आवाज, जनआक्रोशको प्रतिनिधि र परम्परागत राजनीतिप्रतिको असन्तुष्टिको प्रतीक बने । दुवै लोकप्रिय बने । तर इतिहासले एउटा कठोर सत्य उजागर गरेको छ, लोकप्रियता सत्तामा पुग्ने सिंढी हुन सक्छ; राष्ट्र बदल्ने औजार हुन सक्दैन ।

लोकप्रियताकै आवरणमा युक्रेनमा जेलेन्स्कीको सत्ता जन्मियो तर समस्या झन् गहिरो भयो । भूराजनीतिक भुमरीमा परेको युक्रेन जस्तै नेपाल पनि रणभूमि बन्छ कि भन्ने डरमा बालेन र लामिछानेमाथि बेला–बेला ‘जेलेन्स्की प्रवृत्ति’ भन्दै आरोप लाग्ने गरेको छ । जेलेन्स्कीले सिक्नका लागि विश्व अनुभव थिएन वा उनी आफैंले जानेनन्, उनै जानून् तर बालेन र रवि लामिछानेमाथि ‘जेलेन्स्की’ को आरोप लागिसकेपछि अब पक्कै उनीहरू सचेत हुनेछन् र नेपाल युक्रेन बन्ने छैन ।

नेपाली राजनीतिमा दशकौंपछि दुई यस्ता पात्र देखिएका छन्, जसले सत्ता होइन प्रणालीसँग प्रश्न गरे । एक जना स्थानीय शासनमा र अर्को राष्ट्रिय राजनीतिमा उदाए जसको एउटै संकेत हो– पुरानो पार्टी संस्कृतिप्रति जनताको अस्वीकार ।

सिंगापुरका आर्किटेक्ट ली क्वान यू पनि वकिल पेशा छोडेर राजनीतिमा आएका थिए । जर्मनीकी पूर्व चान्सलर भौतिकशास्त्रकी वैज्ञानिक थिइन्, चेक रिपब्लिक बनाएका भाक्लाभ हावेल पनि लेखक तथा नाटककार थिए । जापानका शिन्जो आबे पनि प्रशासनिक पृष्ठभूमिबाट राजनीतिमा आएका थिए । इतिहासले के देखाउँछ भने, राष्ट्र रूपान्तरण गर्न नेता राजनीतिज्ञ नै हुनुपर्छ भन्ने छैन । दृष्टि, नैतिकता र निर्णय क्षमताले ठूलो भूमिका खेल्छ । सञ्चारकर्म र गीत–संगीत तथा इन्जिनियरिङको क्षेत्रबाट राजनीतिमा उदाएका रवि र बालेनलाई पनि विगतको पेशाका आधारमा मूल्यांकन गरिनुहुँदैन ।

ली क्वान यूले सिंगापुरलाई भाषणले होइन, संस्थागत सुधार गरेर अब्बल बनाए । उनको सन्देश स्पष्ट थियो– पहिले राज्य सक्षम बनाऊ, लोकतन्त्र आफैं बलियो हुन्छ । साधनस्रोतविहीन, जातीय रूपमा विभाजित र गरिब बन्दरगाहको परिचय बनाएको सिंगापुरलाई विश्वकै सक्षम, स्वच्छ र प्रतिस्पर्धी राष्ट्र बनाउन ली क्वान यूले योग्यतामा आधारित शासन चलाए, भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाए, दीर्घकालीन दृष्टि र नीतिलाई निरन्तरता दिए ।

कागामे र ली क्वान यूले फरक–फरक बाटोबाट आफ्नो देश बनाए । तर एउटा समानता के हो भने दुवैले आफ्नो करिश्मालाई राज्य पुनर्संरचनाको मोडेलसँग जोडे, जनउत्तरदायी तथा पारदर्शी शासनपद्धति अपनाए, दूरदृष्टिलाई मन्त्र बनाए । आफ्नो कार्यकाल मात्रको लागि नीति बनाएनन् । संघीय लोकतान्त्रिक गणतन्त्रको यात्रामा रहेको नेपाललाई रवि र बालेनले पनि आफ्नो र पार्टीको करिश्मालाई संस्थागत सुधारसँग जोड्न सके भने नेपालले छोटो समयमै छलाङ मार्नेछ ।

रवि र बालेनसँगको सहयात्रामा जोडिएका कुलमान घिसिङलाई अमेरिकाका पूर्व राष्ट्रपति हर्बर्ट हुभरसँग तुलना गर्न सकिन्छ । हुभर एक उत्कृष्ट इन्जिनियर र व्यवस्थापक थिए । युरोपमा खानी इन्जिनियरिङमा क्रान्ति नै गरेका हुभरले ठूला पूर्वाधार परियोजनाहरूको सफल नेतृत्व गरेका थिए । दोस्रो विश्वयुद्धअघि अमेरिकाका राष्ट्रपति बनेका हुभर सफल राजनीतिज्ञ भने बन्न सकेनन् । महामन्दीको बेला बजार आफैं ठिक हुन्छ भन्ने विश्वासमा सरकारी हस्तक्षेप गर्न ढिला गर्दा उनीमाथि जनताको विश्वास गुम्यो र रुजबेल्टले नेतृत्व हत्याए ।

नेपाल विद्युत् प्राधिकरण सुधारमा सफल कुलमान घिसिङले देखाएको ‘डेटा ड्रिभन’ शैली राजनैतिक क्षेत्रमा पर्याप्त हँुदैन । राजनीतिमा संवेदनशीलता, संवाद र धैर्य उत्तिकै महत्वपूर्ण हुन्छ । नेपाल जस्तो असमान र कमजोर अर्थतन्त्रमा प्राविधिक समाधान मात्रले पुग्दैन । हुभर प्रशासकका रूपमा प्रभावशाली थिए तर भावनात्मक नेतृत्वमा असफल रहे । हुभरका सबल पक्ष र कमजोरीबारे पर्याप्त अध्ययन गर्न कुलमान घिसिङलाई समय छ ।

हुभरको नाम असफल राष्ट्रपतिको रूपमा चिनिए पनि विश्व चर्चित र सफल परियोजना हुभर ड्यामका लागि उनी प्रख्यात छन् । उनको सीप र कौशल जस्ता सकारात्मक पाटोलाई घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी र सरकार मार्फत लागू गराउन सके भने उनको नाम पनि स्वर्ण अक्षरले लेखिनेछ ।

नेपाली समाज कसैमाथि आरोप लगाउन र कुनै व्यक्तिको विवादास्पद छवि बनाइदिन ढिला गर्दैन । समाजको यो कुण्डली बुझेर तीन युवा नेताहरू सम्हालिंदै अघि बढ्दा असम्भव कुरा पनि सम्भव हुन सक्छ ।

रवि, बालेन र कुलमान मिलेर नेपालको मार्गचित्र कोर्नुपर्नेछ तर त्यसका लागि राजनीति गर्र्ने तरिका भने बदल्नैपर्छ । व्यक्तिगत इगो र प्रतिशोधलाई पाइतालाले कुल्चनुपर्नेछ । पछिल्ला घटनाक्रम अनुसार रविलाई पार्टी र बालेनलाई सत्ताको बागडोर सम्हाल्ने जिम्मेवारी आउने सम्भावना नकार्न सकिन्न । यो मिलन स्वार्थको गठजोड नबनोस् । उनीहरू प्रतिस्पर्धी होइन, एकअर्काका पूरक बने भने नेपालको राजनीतिक इतिहासमा एउटा टर्निङ पोइन्ट आउनेछ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More